Comments Add Comment

कोभिड पछिको ऋण लगानी : कृषिमा बढ्यो आकर्षण

७ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट शिथिल बनेको अर्थतन्त्र विस्तारै लयमा फर्कंदै छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले गरेको कर्जा लगानीले पनि अर्थतन्त्र तन्दुरुस्त बन्दैछ भन्ने देखाउँछ ।

११ चैतदेखि देश लकडाउनमा गएपछि ठप्पप्राय बनेको कर्जा लगानी लकडाउन खुलेसँगै विस्तारै कर्जाको माग हुन थालेको थियो । नेपाल बैंकर संघका अध्यक्ष भुवन दाहाल तिहारपछि भने कर्जाको माग राम्रै बढिरहेको बताउँछन् । कोरोनाको भ्याक्सिन पनि नेपाल आइसकेपछि उद्योगी–व्यवसायीमा आत्मविश्वास बढेको उनी बताउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी ३६ खर्ब ५८ अर्ब रुपैयाँ ३८ करोड ५८ लाख रुपैयाँ पुर्याएका छन् । ६ महिनाको अवधिमा बैंकहरुले १२ प्रतिशत अर्थात ३ खर्ब ९२ अर्ब ३७ करोड ३९ लाख रुपैयाँले कर्जा लगानी बढाएका छन् ।

गत असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ३२ खर्ब ६६ अर्ब १ करोड १९ लाख रुपैयाँमात्रै थियो । कोरोनाको त्रास कम भएसँगै कर्जाको माग बढेको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन् ।

यसैगरी यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ९.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फ ११.९ प्रतिशत वृद्वि भएको छ ।

६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानी गरेको कर्जामध्ये कृषि क्षेत्रतर्फ २०.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ६.९ प्रतिशत र निर्माण क्षेत्रतर्फ ६.३ प्रतिशत वृद्धि भएको छ ।

कोरोनाको त्रासमा लगानी बढाउन वा लगानी थप्न गाह्रो भएकोमा अहिले क्रमशः आत्मविश्वास बढ्दै गएर कर्जाको माग पनि बढ्दै गएको कार्यकारी निर्देशक भट्ट बताउँछन् । ‘अहिले थुप्रै उद्योग–व्यवसाय पुरानै अवस्थामा फर्कंदैछन्,’ उनी भन्छन्, ‘कर्जाको माग पनि क्रमशः बढ्नेछ ।’

राष्ट्र बैंकले दिएको सहुलियतको पनि सकारात्मक असर परेको उनले बताए । पुनरकर्जा तथा सहुलियत ऋणका कारण अप्ठेरामा परेका उद्योग–व्यवसाय लयमा फर्कने क्रममै रहेको डा. भट्टले बताए ।

कृषि क्षेत्रमा दोब्बरले बढ्यो

चालु आवको पहिलो ६ महिनामा कृषि क्षेत्रमा कर्जा लगानी दोब्बर बढेको छ । गत असार मसान्तमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा २ खर्ब २५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्म २० दशमलव २ प्रतिशत अर्थात ४५ अर्ब ६४ करोड ७० लाख रुपैयाँ बढेर २ खर्ब ७१ अर्ब ४१ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

कृषि क्षेत्रमा पनि वन तथा माछा पालन क्षेत्रमा कर्जा वृद्धिदर बढी देखिएको छ । यी क्षेत्रमा ६ महिनामा ६२ प्रतिशत कर्जा लगानी वृद्धि भएर ३ अर्ब ६७ करोड ४६ लाख पुगेको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. भट्ट पछिल्लो समय राष्ट्र बैंकले लिएको नीतिका कारण पनि सकारात्मक असर परेको बताउँछन् । कुल कर्जा लगानीको १० प्रतिशत कृषि क्षेत्रमा जानैपर्ने बाध्यात्मक व्यवस्था रहेकोमा राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा १५ प्रतिशत तोकेको छ ।

पछिल्लो समय ठूला व्यवसायिक कृषि फार्महरु समेत सञ्चालन हुन थालेकाले यो क्षेत्रमा कर्जा लगानी क्रमशः बढ्दै गएको डा. भट्ट बताउँछन् ।

कुन क्षेत्रमा कति लगानी ?

क्षेत्रगत हिसाबले हेर्दा वृद्धिदरमा कृषि क्षेत्र अगाडि देखिए पनि रकमका हिसाबले अन्य व्यवसायमा धेरै कर्जा लगानी भएको देखिन्छ । रकमका आधारमा होलसेल तथा खुद्रा व्यापार र खानी क्षेत्रमा निकै राम्रो लगानी भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनामा होलसेल तथा खुद्रा व्यापार क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको ७ खर्ब २५ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ लगानी रहेको छ । यो क्षेत्रमा गत असार मसान्तसम्म ६ खर्ब ६२ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी थियो ।

असार मसान्तसम्म ६ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ रहेको खानी क्षेत्रको लगानी पनि पुस मसान्तमा ७ अर्ब ११ करोड ७६ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई दवाव दिँदै आएको छ । उत्पादनमूलक क्षेत्रमा असार मसान्तसम्म ५ खर्ब ३३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ लगानी रहेको थियो ।

यो क्षेत्रको लगानीमा ६ महिनाको अवधिमा झिनो सुधार भएर पुस मसान्तसम्म ५ खर्ब ७० अर्ब ३० करोड १ लाख रुपैयाँ पुगेको छ । यसैगरी असार मसान्तसम्म निर्माण क्षेत्रमा रहेको बैंक तथा वित्तीय क्षेत्रको ३ खर्ब ४७ अर्ब ४१ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी बढेर पुस मसान्तमा ३ खर्ब ६९ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

उता मेसिनरी एण्ड इलेक्ट्रिकलको ४६ अर्ब ७ करोड ३२ लाख रुपैयाँबाट कर्जा लगानी विस्तार भएर ५३ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ पुगेको छ । यातायातका साधन उत्पादन गर्ने क्षेत्रमा असार मसान्तसम्म ४९ अर्ब ८२ करोड २० लाख कर्जा लगानी रहेकोमा पुस मसान्तसम्म रु.५१ अर्ब ६२ करोड ७४ लाख पुगेको छ ।

यसैगरी यातायात, सञ्चार र सार्वजनिक क्षेत्रमा असार मसान्तसम्म २ खर्ब ९ अर्ब ७५ करोड २९ लाख रुपैयाँ रहेको कर्जा लगानी बढेर २ खर्ब २४ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

होटल, पर्यटन, शिक्षा लगायतका सेवा मूलक उद्योगमा रहेको कर्जा लगानी यस अवधिमा ३५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ वृद्धि भएको छ । यी क्षेत्रमा असार मसान्तसम्म २ खर्ब ९९ अर्ब २७ करोड ७४ लाख रुपैयाँ मात्रै रहेकोमा पुस मसान्तमा बढेर ३ खर्ब ३५ अर्ब २७ लाख रुपैयाँ पुगेको छ ।

बैंकभन्दा विकास बैंक अगाडि

६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्वि ८.६ प्रतिशत थियो । वार्षिक बिन्दुगत आधारमा हेर्दा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.९ प्रतिशत बढेको छ ।

वाणिज्यले भन्दा विकास बैंकहरुले धेरै कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार, यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.३ प्रतिशत, विकास बैंकहरुको कर्जा प्रवाह १५.३ प्रतिशत र वित्त कम्पनीहरुले ०.३ प्रतिशत कर्जा प्रवाह बढाएका छन् ।

२०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितो र १२.२ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ पुस मसान्तमा धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.९ प्रतिशत र १३.५ प्रतिशत थियो ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक ११.५ प्रतिशत, ओभरड्राफ्ट १३.४ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा १३.६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.० प्रतिशत, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशत बढेको छ । हायर पर्चेज कर्जा भने ४.४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment