Comments Add Comment

क्याम्पस भवन निर्माणमा ढिलाइ भएको भन्दै ठाकुररामका विद्यार्थी आन्दोलित

७ फागुन, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीए संकायमा अध्ययनरत विद्यार्थीले शुक्रबार प्रदर्शन गरे । एक वर्षभित्र भवन निर्माण गर्ने भनेर क्याम्पस प्रशासनले आश्वासन दिएकोमा २ वर्ष बितिसक्दा समेत भवन नबनाएको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् ।

विरोधमा उत्रिएका विद्यार्थीले ‘हामी बाचा हैन, परिणाम चाहान्छौं’, ‘बीबीए भवन खोई ?’, बीबीए प्रशासनले हाम्रो भविष्य खायो लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

नेपालको तराईमा स्थापित पहिलो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस विसं. २००९ सालमा स्थापना भएको हो । तराईकै शैक्षिक धरोहरको रुपमा रहेको ठाकुररामले दुई वर्षअघि बीबीएको कक्षा सुरु गरेको थियो । तर बीबीएको छुट्टै भवन नहुँदा विद्यार्थी समस्यामा छन् । उनीहरु आधुनिक तथा सुविधा सम्पन्न कक्षाकोठामा पढ्न चाहान्छन् । तर क्याम्पसले त्यो वातावरण निर्माण गर्न सकेको छैन ।

चौथो सेमेस्टरमा ६४ र दोस्रो सेमेस्टरमा ६६ जना गरी १ सय ३० जना विद्यार्थी बीबीए अध्ययनरत छन् । प्रत्येकले भर्नाको समयमा ४८ हजार र प्रत्यके सेमेस्टरमा ३८ हजारका दरले रकम समेत बुझाएका छन् । विभिन्न समयमा लिने गरिएको परीक्षाको शुल्क छुट्टै लाग्छ ।

तर उनीहरुलाई बीबीएस, बीए अध्ययन गर्ने विद्यार्थीहरुलाई भन्दा बढी सुविधा छैन । अझ क्याम्पसको लाइब्रेरीमा बीबीएको योगदान नरहेको भन्दै किताब दिने त परको कुरा रिडिङ रुममा समेत बस्न नदिने गरेको विद्यार्थीको दुखेसो छ ।

क्याम्पस प्रशासनको उदासिनताका कारण किताब हुनुपर्ने हातमा विरोधका नारा बोक्नुपर्ने अवस्था बनेको बीबीए चौथो सेमेस्टरमा अध्ययनरत सचिन पटेलले बताए । क्याम्पस प्रशासनले माग सुनुवाइ नगरेकोले त्रिभुवन विश्व विद्यालयलाई माग तथा समस्याहरु समावेश गरी ज्ञापन पत्र पठाउने योजना आफूहरुले बनाएको उनले सुनाए ।

‘२०७५ सालमा भर्ना हुँदा ६ महिनाभित्र नयाँ भवन बनाएर लैजान्छु भनियो, दुई वर्ष बित्न लाग्यो भवन छैन । फरक तरिकाले शिक्षा दिने भनियो । शुल्क महंगो लिइरहेका छन्, बीबीएस र अरुलाई जसरी नै पढाइन्छ,’ उनले भने, ‘शौचालय फोहोर छ । पुस्तकालयको रिडिङ रुममा समेत पस्न दिँदैनन् । कम्युटर ल्याब पनि बन्न सकिरहेको छैन ।’

क्याम्पस प्रशासनले भने आफूहरुले चाहेर मात्रै नहुने अवस्थामा रहेको जनाएको छ । निमित्त क्याम्पस प्रमुख सुरेश कुशवाहाले भने ठेक्का दिएको ८ वर्ष भइसक्दा समेत भवन नबनेकोले समस्या भएको बताए ।

‘बीबीएकै लागि नभएर नयाँ भवन बनाउन ८ वर्ष अघि रकम आएको हो । बीबीएलाई कहाँ व्यवस्थापन गर्ने भनेर कुरा चल्दा त्यसमा व्यवस्थापन गर्ने भनिएको थियो,’ उनले भने, ‘विभिन्न कारणले काम सम्पन्न हुन सकेन । त्रिविबाट अनुगमन र प्राविधिक पठाएर जाँच गरिएको छ ।’ भवनका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment