Comments Add Comment

२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना

आइतबार भारतबाट ल्याइएको खोप । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

९ फागुन, काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो ।

सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिहं तिकंरी बताउँछन् ।

यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोपबाटै नेपालमा माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । अहिले खरिद गरेको थप १० लाख डोज खोप उपलब्ध भएपछि अभियान निरन्तर चल्ने भएको छ र सरकारले समुदायस्तरमै पुगेर नागरिकलाई खोप दिनेछ ।

अनुदानमा उपलब्ध खोप सुरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालकसहित फ्रन्टलाइनरलाई दिइएको थियो । त्यसपछि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई दिइएको थियो । हाल उक्त खोप बैंक तथा वित्तीय संस्थाका कर्मचारी, नापी विभाग, जिल्ला प्रशासन कार्यालयका कमर्चारीले लगाइरहेका छन् । अनुदानमा प्राप्त १० लाख खोपबाट शनिबार साँझसम्म ४ लाख २ हजार जनाले खोप लगाएका छन् ।

अब फागुन २३ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजानिक यातायातमा कार्यरत कर्मचारीलाई खोप दिने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्रिपरिषदको बैठकले ५५ वर्षमाथिका नागरिकलाई दोस्रो चरणमा खोप दिने निर्णय गरेको थियो, मन्त्रालयले ६० वर्षमाथिकालाई मात्र अहिले खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । यद्यपि खोपको उपलब्धता हेरेर प्राथमिकता हेरफेर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल बताउँछन् ।

करिब २७ लाख जेष्ठ नागरिकहरुलाई खोप लगाउने मन्त्रालयले योजना बनाएको छ । यो तथ्यांकमा केही घटबढ हुन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी बताउँछन् । ‘सरकारका तथ्याकंमा भएका सबै मानिसले खोप लगाउँछन् भन्ने हुन्न, हामीले अनुमान गरेको २७ लाख हो’ उनले भने ।

‘तथ्यांकमा भएका सबै मानिस आउने/नआउने अर्को कुरा तर हाम्रो योजना २७ लाख नागरिकलाई खोप दिने हो’ डा. अधिकारीले भने ।

पहिले अनुदानमा आएको र खरिद गरिएको २० लाख डोज खोप पनि अपुग भए कोभ्याक्समार्फत थप २२ लाख डोज खोप आउने अधिकारीले बताए । ‘ त्यसैले हामी खोप पुग्नेमा ढुक्क छौं’ उनले भने ।

कसरी सञ्चालन हुन्छ खोप अभियान ?

बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार देशभर रहेका स्वास्थ्य चौकीबाट खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ । ज्येष्ठ नागरिकले आफ्नो स्थानीय तहकै स्वास्थ्य संस्थाबाट खोप पाउनेछन् । ‘पुरानै संरचना अनुसार खोप वितरण हुन्छ हामी यसपटक स्थानीय तहमै पुगेर खोप अभियान सञ्चालन गर्छौ’ सहप्रवक्ता डा. अधिकारीले भने ।

देशव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी भइसकेको खोप महाशाखा प्रमुख डा. गौतम बताउँछन् ।

पहिलो चरणमा जिल्ला अस्पताल र राजधानीको पनि निश्चित स्थानमा मात्र खोप केन्द्र भएका कारण लक्षित समूहका धेरै जना खोपको पहुँचमा आउन नसकेका कारण यो पटक समुदायस्तरमै खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

कसले लगाउनु हुँदैन खोप ?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना महामारीको जोखिममा वृद्ध वृद्धा र दीर्घरोगीहरु बढी छन् । त्यसैले ६० वर्षमाथि उमेर समूहका सबैले खोप लगाउन मिल्ने खोप महाशाखा प्रमुख डा. गौतम बताउँछन् । ‘रगत पातलो बनाउने औषधि खाएका, संक्रमण भएको ८ हप्ता ननाघेका र खोप/औषधिको गम्भीर एलर्जी हुनेबाहेक अरु सबैले खोप लगाउन मिल्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment