+
+
Shares

कसरी अघि बढ्दैछ अफ्रिकामा कोरोना खोप कार्यक्रम ?

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १५:०८

१० फागुन, काठमाडौं । अहिले विश्वका धेरै देशबीच कोभिड–१९ विरुद्धको खोप आफ्ना लागि सुरक्षित गर्ने प्रतिस्पर्धा चलिरहेको छ ।

धनी मुलुकले आफ्ना लागि खोप सुरक्षित गरिरहँदा अफ्रिकी देशका वासिन्दाले भने छिटै कोभिड–१९ विरुद्धको खोप पाउनेमा आशंका उत्पन्न भएको छ ।

किनभने सामान्य हिसाबमा अफ्रिकी मुलुकले धनी मुलुकले जस्तै खोप आफ्ना लागि सुरक्षित गर्न सक्दैनन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को क्षेत्रीय निर्देशकले अफ्रिकी मुलुकहरु धनी मुलुकमा कम जोखिममा रहेका मानिस सुरक्षित हुने प्रतीक्षामा बस्नुपरेको टिप्पणी गरेका छन् ।

किनभने धनी मुलुकका कम जोखिमका मानिससमेत सुरक्षित नभई उनीहरुले विश्वबजारमा खोप पाउने सम्भावना कम छ ।

यो अवस्थालाई ध्यानमा राख्दै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले धनी मुलुकलाई आफूले किनेको पाँच प्रतिशतसम्म खोप गरिब मुलुकलाई दिन प्रस्ताव गरेका थिए ।

अफ्रिकाका केही मुलुकले चीन, रुस, यूएई र भारतबाट प्रत्यक्षरुपमा अनुदान तथा खरिद प्रक्रियाबाट पाएका छन् । यद्यपि धेरै अफ्रिकी मुलुकहरु अन्तर्राष्ट्रिय तथा क्षेत्रीय योजनाबाट खोप आउने आशामा छन् ।

अफ्रिकी मुलुकले खोप पाउन सक्ने अन्तर्राष्ट्रिय योजनामध्येको एउटा कोभ्याक्स हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले फेब्रुअरीको अन्तिमसम्ममा खोप वितरण कार्य सुरु हुने बताएको छ । सुरुआती चरणमा वितरण गरिने खोपले यो महादेशको तीन प्रतिशत जनसंख्यालाई खोपको माग पूरा गर्न सक्ने अपेक्षा छ ।

यो योजनाले सबैभन्दा धेरै आवश्यकता भएका मानिसलाई खोप पुग्नेछ । यो कार्यक्रमअनुसार सन् २०२१ को अन्तिमसम्ममा अफ्रिकाले ६० करोड डोज कोरोना खोप पाउनेछ । जुन यहाँको समग्र जनसंख्याको २० प्रतिशत हो ।

यद्यपि यस किसिमको खोप वितरणले अफ्रिकामा महामारी नसकिने अफ्रिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का प्रमुख जोन नकेन्गासोङले महामारी अन्त्यको लागि कम्तीमा ६० प्रतिशत मानिसलाई खोप लगाउनु जरुरी हुने बताए । यद्यपि अहिले यस वर्षको लागि राखिएको लक्ष्यले भने केवल ३५ प्रतिशत मानिसलाई खोप लगाउन सकिने उनको भनाइ छ ।

अफ्रिकी संघले पनि अफ्रिकाका सबै ५५ मुलुकमा कोरोना खोप पु¥याउने उद्देश्यसहित खोप खरिदको प्रयास गरिरहेको छ । अफ्रिकाको मोबाइल नेटवर्क प्रदायक एमटीएनले ७० लाख डोज खोप किन्नलाई पुग्ने गरी दुई करोड ५० लाख डलर अनुदान दिएको छ ।

फेब्रुअरीको अन्तिमसम्ममा एमटीएनले दिएको रकमबाट खरिद गरिएको खोपमध्येको सुरुआती चरणमा आउने १० लाख डोज खोप २० मुलुकमा वितरण गर्ने योजना छ । अहिलेसम्म यो खोप कुन मुलुकले पाउँछन् भन्नेचाहिँ अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

कुन कुन अफ्रिकी मुलुकमा खोप कार्यक्रम सुरु भयो ?

केही अफ्रिकी मुलुकमा गत महिना वा त्यसयता कोरोना खोप कार्यक्रम सुरु भइसकेको छ । यद्यपि अधिकांश अफ्रिकी मुलुकमा भने अझै कोरोना खोप कार्यक्रम सुरु भएको छैन ।

अफ्रिकामा कोरोना खोप कार्यक्रम सुरु भइसकेका मुलुकहरु –

  • मोरक्को (एस्ट्राजेनेका र सिनोफर्म)
  • अल्जेरिया (स्पुतनिक भी)
  • इजिप्ट (सिनोफर्म)
  • दक्षिण अफ्रिका (जोन्सन एण्ड जोन्सन)
  • सेसेल्स (सिनोफर्म र एस्ट्राजेनेका)
  • रुवाण्डा (फाइजर र मोडेर्ना)
  • मोरिसस (एस्ट्राजेनेका)
  • जिम्बावे (सिनोफर्म)

सेनेगल र गिनिमा पनि सिनोफर्मको कोरोना खोप पुगिसकेको छ । तर, यी मुलुकले कोरोना खोप कार्यक्रम भने सुरु गरेका छैनन् ।

दक्षिण अफ्रिकाको खोप कार्यक्रम कहाँ पुग्यो ?

अफ्रिका महादेशको सबैभन्दा प्रभावित मुलुक दक्षिण अफ्रिकाले सुरुमा प्रभावकारिताको विषयलाई लिएर कोरोना खोप कार्यक्रममा ढिलाइ गरेको थियो ।

दक्षिण अफ्रिकामा फैलिएको नयाँ प्रकार (भेरियन्ट)मा कोरोना खोप कम प्रभावकारी हुने एक अध्ययनमा देखिएसँगै दक्षिण अफ्रिकाले कोरोना खोप कार्यक्रम केही समय पर सारेको थियो ।

जोन्सन एण्ड जोन्सन कम्पनीबाट सुरुआती ८० हजार डोज कोरोना खोप पाएसँगै दक्षिण अफ्रिकाले फेब्रुअरी १७ बाट कोरोना खोप कार्यक्रम सुरु गरेको थियो ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले ९० लाख रुपैयाँ डोज कोरोना खोप सुरक्षित गरिसकेको बताएका छन् । फाइजरले पनि दक्षिण अफ्रिकालाई दुई करोड डोज खोप दिने बताएको छ । फाइजरको खोप मार्चको अन्तिमसम्ममा दक्षिण अफ्रिका आइपुग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?