Comments Add Comment
प्रहरीले फेरि समात्नुअघि धर्मेन्द्रको अन्तर्वार्ता :

‘वार्ताका लागि तयार छौं, सरकार इमान्दारीपूर्वक आओस्’

१० फागुन, काठमाडौं । बन्दी प्रत्यक्षीकरणको रिटमा सुुनुवाई गर्दै सर्वोच्च अदालतले पुस २७ मा पक्राउ परेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दियो ।

तर प्रहरीले फेरि पक्राउ गर्दैछ भन्ने सुनेका उनको अनुहारमा खुसी थिएन । यद्यपि आदेशमा पुनः पक्राउ गरे अदालतको अवहेलना हुने भनिएका कारण के होला भनेर रजिस्टारको कार्यकक्षमा बसेर कानून व्यवसायीहरुसँग छलफल गरिरहेका थिए ।

हातमा अदालतको आदेश बोकेर रजिस्टारको कार्यकक्षबाट बाहिर निस्किएका उनले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो पार्टी वार्ताका लागि तयार रहेको बताए । तर त्यसका लागि सरकारले इमान्दारीपूर्वक प्रयास गर्नुपर्ने उनले बताए ।

अन्तर्वार्ता भइरहँदा प्रहरीहरु अदालत परिसरको गेटमा देखेपछि उनको पक्षमा बहस गरेका वकिलहरुले टुंग्याउन लगाए । नभन्दै उनी अदालतको गेटमा पुग्न नपाउँदै  पक्राउ परे । हातमा अदालतको आदेशको प्रति बोकेका उनी ‘ए किन समातेको ?’ भन्दै प्रतिवाद गर्न खोज्दै थिए, प्रहरी टोलीले पक्राउ पूर्जीसमेत नदिई उनलाई नियन्त्रणमा लियो ।

प्रस्तुत छ, पुनः पक्राउ पर्नुपूर्व बास्तोलासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएको छ । तर, गेटबाहिर त प्रहरी तैनाथी ठूलो देखियो नि ?

सर्वोच्च अदालतको आदेशमा गैरकानूनी तरिकाले गिरफ्तार गरियो भने अदालतको मानहानी हुने कुरासमेत उल्लेख गरिएको छ । बारम्बार यो खालको घटना भएकाले अदालतले पनि यो खालको निर्णय गर्नु परेको हो । तर, मलाई फेरि समात्ने कुरा चाहिँ सुनिराखेको छु ।

तपाईहरुका अरु नेतालाई पनि पक्राउ गरेपछि एकपछि अर्को मुद्दामा विभिन्न जिल्लामा घुमाएको देखिन्छ, यसबारे के भन्नुहुन्छ ?

सरकारले राजनीतिक पूर्वाग्रह र कानुनलाई पनि मिचेको जस्तो देखिन्छ । यस्तो नगर्नुपर्थ्यो, तर अलि बढी नै गरेको जस्तो देखिन्छ ।

हामी चाहिँ सरकारसँग छलफल गर्न र वार्ताबाट हाम्रो एजेण्डा बुझाउन चाहन्छौं । देशलाई एउटा निकास दिन चाहन्छौं

तपाईंकै हकमा भन्नुपर्दा, २७ पुसमा प्रहरीको विशेष ब्युरोको टोलीले पक्राउ गर्दा तपाई वार्ताकै क्रममा आउनुभएको थियो भन्ने कुरा बाहिर आएको थियो । के काममा तपाईं त्यहाँ हुनुहुन्थ्यो ?

त्यो विषय चाहिँ अहिले यहाँ गर्ने कुरा होइन । सरकारसँग सम्बन्धित भएको हुनाले त्यतैतिर गर्ने कुरा हो ।

त्यसो भए, पक्राउ पर्दा तपाईं कहाँबाट कता जाँदै हुनुहुन्थ्यो त ?

ठाउँ त अहिले मलाई पनि याद छैन । कार्यक्रम सकेर फर्किँदै गर्दा ललितपुरको दक्षिण भाग गिम्दी र मकवानपुरको सीमातिर पर्ने बागमती किनारमा पक्राउ गरेको हो ।

पक्राउपछि प्रहरीले कस्तो व्यवहार भयो ?

पार्टीको एउटा कार्यक्रम सकेर फर्किँदाखेरि बाटोमा समातियो । त्यसपछि राजनीतिक हिसाबले सम्मानजनक व्यवहार गरिएको छ ।

अहिले वार्ता गर्ने तयारी भइरहेको भनिएको छ । तपाईंहरुको पार्टीका महासचिवले पनि शनिबार वक्तव्य नै निकालेर वार्ताका लागि सकारात्मक छौं भन्नुभएको छ । वार्ताको तयारी पनि भइरहेको हो ?

हाम्रो पार्टी वार्ताद्वारा राजनीतिक समाधान निकाल्न तयार छ । हामीले छलफल बहस गरेर हाम्रा एजेण्डाहरु तयार गरेका छौं । हामी राजनीतिक निकास निस्कियोस्, देशको आर्थिक समृद्धि, राजनीतिक स्थिरता होस् भन्ने चाहन्छौं । हामीसँग एजेण्डा पनि छन् ।

यदि सरकारले वार्ता इमान्दारीपूर्वक गर्ने हो भने त्यो कुराहरु राख्छौं । तर यस्ता क्रियाकलाप (पक्राउ)ले सरकार यसमा कति गम्भीर छ भन्ने प्रश्न पैदा गर्छ । नेपाली जनताले त्यो तरिकाले सोच्न जरुरी छ भन्ने हामीलाई लाग्छ ।

वार्तामा बस्न तपाईहरुको पनि शर्त छन् ?

हाम्रो केही शर्तहरु छैन । सरकारले वार्ता गर्नलाई इमान्दारीपूर्वक आउनुपर्छ ।

प्रतिबन्ध फुकुवा नगरेकै अवस्थामा पनि वार्ता हुनसक्छ ?

छलफलमा बस्न न्यूनतम रुपमा प्रतिबन्ध फुकुवा त गर्नै पर्‍यो । बन्दीहरु रिहाइ गर्नुपर्‍यो । त्यसपछि वार्ता हुन्छ । सरकार सहमत होला नहोला, तर हाम्रो एजेण्डा के हुन्, हामीले कसरी समाधान सोचिरहेका छौं भन्ने सरकारले सुन्नुपर्‍यो ।

सरकारको कुरा त हामीले सुनिरहेका छौं, हामी चाहिँ सरकारसँग छलफल गर्न र वार्ताबाट हाम्रो एजेण्डा बुझाउन चाहन्छौं । देशलाई एउटा निकास दिन चाहन्छौं ।

यो पनि पढ्नुहोस विप्लवका नेताका हैरानीः ९ महिनामा १३ जिल्ला फनफनी

थप, 

विप्लवको दुई वाक्यको विज्ञप्तिले सरकार अल्मलियो

संशयका बीच सरकार-विप्लव समूह संवादको प्रयास

नख्खु जेलमा मन्त्री र विप्लव नेताबीच के कुराकानी भयो ?

प्रतिबन्धपछिको विप्लव समूहः चन्दा असुलीमा केन्द्रित, हिंसातर्फ उन्मुख

विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?

विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !

माइलाको गिरफ्तारीले वार्ता बिथोलिँदैन : सरकार

‘खुला राजनीतिमा आउन तयार छौं’

विप्लवसँग लुकामारी !

नख्खु बमकाण्ड : ‘पङ्गु’ गुप्तचरी संयन्त्रको परिणाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment