Comments Add Comment

विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

प्रकाण्डको डायरीमा ७ करोड चन्दा दिनेको सूची

Photo Credit : फाइल फोटो

२६ फागुन, काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले शुक्रबार साँझ ट्वीट गरे, ‘केही दिनअघि ५ र ७ नम्बरका जिल्ला पुगेर आइयो । फेरि अशान्ति चर्किन्छ भन्ने आंशकाले गाउँमा बस्नेहरु त्रसित छन्, पुरानै दिन फर्किन्छ भनेर । सबै सहिष्णु बनौं, नेपाल र नेपालीका बारेमा छातीमा हात राखेर सोचौं ।’

अपराध अनुसन्धानमा पोख्त सुरक्षा अधिकारीले लेखेको यो ट्वीटले मुलुकको दुरदराजका गाउँमा विप्लव समूहप्रति कति त्रास छ भन्ने देखाउँछ । जुन अहिले विस्तारै शहरी क्षेत्रमा फैलिँदैछ । दिनहुँ शक्तिशाली विष्फोटका घटना सार्वजनिक हुन थालेका छन् । मान्छेको ज्यानै जान थालेका छन् ।

तर, सुरक्षा अधिकारीहरु भने अझै पनि विप्लव समूहलाई सामान्य रुपमै आँकिरहेका छन् । न त यसमा राजनीतिक नेतृत्व नै संवेदनशील छ । प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई लुटेरा भनेर भाषण दिइरहेका छन् भने प्रहरीले पनि नख्खु घटनालाई भवितव्य ठानेर सामान्य रुपमै आँकिरहेको छ ।

शनिबार सुर्खेतमा तीनवटै अंगका सुरक्षा प्रमुखहरु समेत सहभागी भएको प्रदेशस्तरीय सुरक्षा बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि बाहिर प्रचार गरिएजस्तो विप्लव समूह बलियो नभएको दाबी गरिरहेका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘ठूलो मास आएर घटना गराउने विप्लव समूहको ‘स्ट्रेन्थ’ होइन । यो ‘हिट एण्ड रन’ प्रकृतिको घटना हो ।’ आतंक सिर्जना गर्नु नै समूहको उद्देश्य भएको सुवेदीको बुझाइ छ ।

के पड्कियो बसुन्धरामा ?

एनसेल प्रा.लि.को मुख्यालयमा एकजनाको मृत्यु र दुईजना गम्भीर घाइते हुने गरी ११ फागुनमा भएको विस्फोटको अनुसन्धान नसकिँदै शुक्रबार राति बसुन्धारामा शक्तिशाली विष्फोट भएको छ । त्यसो त एनसेल कार्यालय अगाडि भएको विष्फोटकै समय आसपास कमलपोखरीमा रहेको आँगन रेस्टुरेन्टमा पनि शंकास्पद वस्तु भेटिएको थियो । तर, समयमै प्रहरीले जानकारी पाउँदा ठूलो क्षति हुन पाएन ।

यो पनि पढ्नुहोस विप्लवका नेता भन्छन्- बम हान्दा मरेकालाई राहत दिन्छौं, प्रहरी भन्छ- बोल्न सक्दैनौं !

बसुन्धारामा वैदेशिक राजेगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरलाई लक्षित गरेर भएको विष्फोटमा ४ जना घाइते भए । हालसम्म प्रहरीले कसरी, कुन किसिमको बम प्रयोग गराएर विष्फोट भयो भन्ने भेउ पाउन सकेको छैन । तर, घटनाको जिम्मेवारी विप्लव निकट युवा संगठन नेपालले लिइसकेको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार हालसम्म पड्किएको वस्तु के हो भन्ने नै निक्र्यौल हुन सकेको छैन ।

‘राति ठूलो आवाज आएपछि हामी त्यहाँ पुगेका थियौं’, उनले अनलाइनखबरसँग भने, ‘विष्फोटपछि आगलागी भएको थियो । तर, विष्फोट कहाँबाट भयो भन्ने अझै खुलिसकेको छैन ।’ न त त्यहाँ कुनै विष्फोटक पदार्थको अवषेश नै भेटिएको छ, न त बारुदको गन्ध नै आएको छ । नयाँ किसिमको विष्फोटक पदार्थ प्रयोग गरिएको हुनसक्ने आशंकामा नेपाली सेनाको पोस्ट ब्लास्ट इन्भेन्टिगेसन (पीबीआई) जारी छ ।

प्रहरीले पनि सबुतहरु संकलन गरेर केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । प्रयोगशालाको रिपोर्टपछि त्यो कस्तो किसिमको विष्फोटक पदार्थ हो भन्ने निक्र्यौल हुँदै जाला तर, पछिल्लो समय विप्लव समूहको गतिविधि दिनप्रतिदिन हिंस्रक हुँदै गएको देखिन्छ ।

प्रकाण्ड पक्राउ परेपछि सुरक्षा संयन्त्रले विप्लवको हार्डकोर सूचना हात परेको थियो । जसका कारण विप्लव र प्रकाण्डबीचको सम्बन्धामा दरार आएको समेत विश्लेषण गरिएको थियो । किनकि, नागढुंगा नाकाबाट समातिएका उनलाई विप्लवले बसमार्फत राजधानी नछिर्न सुझाएका थिए

के छ गुप्तचरी संयन्त्रको विश्लेषण ?

मुलुकको जासुसी संयन्त्रको रिपोर्टलाई आधार मान्ने हो भने विप्लव समूहले छिटै नै अझै ठूलो विध्वंस मच्चाउने खतरा देखिएको छ ।

विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई २३ साउनमा पक्राउ गरेयता मुलुकका विभिन्न जासुसी संयन्त्रको संयुक्त अध्ययन टोली बन्यो । जसमा नेपाल प्रहरीको विशेष ब्यूरो, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाली सेनाको डीएमआई संलग्न थिए ।

यो संयुक्त टोलीले माघ अन्तिम साता सरकारलाई बुझाएको रिपोर्टमा विप्लव समूहले यही हिसाबमा गतिविधि बढाउँदै लाने हो भने ठूलो खतरा निम्तिने विश्लेषण गरिएको छ । त्यसबेलै एनसेल प्रा.लि.को मुख्यालयसहित विभिन्न स्थानमा रहेका टावर विप्लव समूहको निशानामा रहेको रिपोर्ट सरकारलाई पेश गरिएको दाबी गुप्तचरका अधिकारीहरुको छ ।

विप्लवपछि सिके राउत पनि राष्ट्रिय सुरक्षाका लागि खतराको रुपमा मूल्यांकन गरिएको थियो । यद्यपि, राउतलाई तत्कालका लागि नभई भविश्यको खतरा भनिएको थियो । शुक्रबार दिउँसो मात्रै एक औपचारिक कार्यक्रममा सरकारसँग सम्झौता गरेर राउत खुला राजनीतिमा आएका छन् ।

तर, सरकारको तर्फबाट विप्लव समूहप्रति स्पष्ट नीति नहुँदा अप्रिय घटना भइरहेको जासुसी संयन्त्रको विश्लेषण छ । प्रकाण्ड पक्राउ परेपछि सुरक्षा संयन्त्रले विप्लवको हार्डकोर सूचना हात परेको थियो । जसका कारण विप्लव र प्रकाण्डबीचको सम्बन्धामा दरार आएको समेत विश्लेषण गरिएको थियो । किनकि, नागढुंगा नाकाबाट समातिएका उनलाई विप्लवले बसमार्फत राजधानी नछिर्न सुझाएका थिए ।

विप्लव समूहको लेखा विवरणदेखि सम्पूर्ण आन्तरिक दस्तावेज झोलामा बोकेर हिँडेका प्रकाण्डलाई जब प्रहरीले नियन्त्रणमा लियो, तब प्रहरीले डरलाग्दो सूचना हात पारेको थियो । एउटा डायरीसँगै भएको सेतो पन्नामा ७ करोड रुपैयाँ चन्दाको फेहरिस्त थियो । जुन प्रहरीले प्रमाणका रुपमा जिल्ला अदालत, काठमाडौंमा पनि पेश गरेको थियो । त्यति हुँदाहुँदै पनि प्रकाण्डलाई अदालतले छाडेको थियो ।

त्यस पन्नामा उल्लेख भएअनुसार विप्लव समूहले क्रान्तिका नाममा ५ हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म उठाएको भेटिएको थियो । युनाइटेड इन्स्युरेन्सका रविभक्त श्रेष्ठले २५ लाख दिएका छन् भने काठमाडौं कलेज अफ लका युवराज संग्रौलाले २० हजार रुपैयाँ दिएको सो कागजमा भेटिएको थियो । चन्दा दिनेमा चिकित्सक, गोल्छा समूह, सिमेन्ट उद्योगदेखि नोबेल मेडिकल कलेज र जेम्स स्कुलसम्म थिए ।

बरामद दस्तावेजमा खर्च विवरण पनि उल्लेख थियो । कोड भाषामा लेखिएको कमाण्डरका नामसँगै उनीहरुलाई दिइएको रकम विवरण प्रकाण्डबाट बरामद डायरीमा पाइएको थियो । त्यसमा दुई सय रुपैयाँ खाना खर्चदेखि हतियार किन्न दिइएको रकमको विषयमा समेत उल्लेख छ । कामको प्रकृति अनुरुप रकम बाँडिएको छ ।

करिब २५ पन्ना लेखिएको डायरीमा विप्लव समूहको सैद्धान्तिक विषय पनि उल्लेख गरिएको थियो । त्यसमा समूहको अन्तिम गन्तव्य जनयुद्ध नै भनिएको छ । समूहको दस्तावेजको विश्लेषण गरेका खुफिया एजेन्सीका एक अधिकारी भन्छन्, ‘यदि यही पाराले विप्लव समूहलाई अघि बढ्न दिने हो भने चाँडै उसले चौकी हान्न थाल्छ ।’

अहिले उनीहरुको अवस्था भनेको मूलतः पैसा जम्मा गर्ने नै देखिन्छ । ‘काहीँ मान्छे भर्ना गरेर सैद्धान्तिक र सैन्य तालिम पनि दिइएको भेटिएको छ’, स्रोत भन्छ, ‘तर, ०५२ सालपछिको पुस्ता ऊसँग छैन । माओवादी द्वन्द्वकै फ्रस्टेसनमा रुमल्लिरहेका जमात नै उसको शक्ति हो । समयमै उनीहरुलाई सम्बोधन गर्न नसक्दा अहिले यो स्थिति आइलागेको हो ।’

यो पनि पढ्नुहोस नख्खु बमकाण्ड : ‘पङ्गु’ गुप्तचरी संयन्त्रको परिणाम

विप्लव समूहको क्षमता कति ?

चुनाव ताका फाट्फुट्ट हुने विष्फोटका घटनामा ठूलो क्षति हुँदैनथ्यो । त्यतिवेला आतंक सिर्जना गर्ने उद्देश्यले कयौं ठाउँ ‘होक्स’ राखिन्थे । तर, नख्खुस्थित एनसेल मुख्यालय अगाडि १० फागुनमा भएको शक्तिशाली विष्फोटपछि सुरक्षा संयन्त्र झस्किएको छ ।

घटनामा एकजनाको ज्यानै गयो भने दुईजनाको अझै उपचार जारी छ । ठीक त्यही समयमा कमलपोखरीको आँगन रेस्टुरेन्ट अगाडि राखिएको बम झन् शक्तिशाली भएको भेटिएको छ । समयमै प्रहरीले जानकारी पाउँदा सेनाको बम डिस्पोजल टोलीले डिफ्युज गर्न सफल भयो ।

दुवै घटनापछि सेनाको पोस्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले गरेको अनुसन्धानका क्रममा गम्भीर तथ्य बाहिर आएको छ । नख्खुमा राखिएको रिमोट कन्ट्रोल बम थियो भने कमलपोखरीको टाइम बम थियो ।

नख्खुमा साँझ ७ बजेर ५१ मिनेट जाँदा एनसेल गेट अगाडि ३ वटा मोटरसाइकल आउँछन् । त्यसमध्ये दुई वटा मोटरसाइकल गेटबाट भित्र छिर्छन् । एउटा बाइक मुल गेटमै रोकिन्छ । भित्र गएका मध्ये एक जना युवक झोला बोकेर सुरक्षागार्डको छेऊमा राखिदिन्छन् ।

नख्खुमा राखिएको रिमोट कन्ट्रोल बम थियो भने कमलपोखरीको टाइम बम थियो

त्यो देखेर आत्तिँदै सुरक्षागार्डले झोलालाई गेट बाहिर फ्याक्छन् । जसको केहीवेरमै ठूलो आवाज आउने गरी विष्फोट हुन्छ । यो दृश्य देखेर प्रारम्भमा प्रहरीले घटनामा सुरक्षागार्डको भूमिका शंकास्पद देखिएको बतायो । यद्यपि, सुरक्षागार्ड विप्लव समूहसँग जोडिने कुनै ‘नेक्सस’ अहिलेसम्म फेला परेको छैन ।

तर, एउटा तथ्यचाहिँ के हो भने त्यो एनसेल कार्यालयभित्र बम पड्किएको थियो भने झन् ठूलो क्षति हुन सक्थ्यो । त्यहाँ राखिएको बम प्रेसर कुकुरमा फिट गरिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । प्रहरीको अनुसन्धानका क्रममा यो पनि खुल्यो कि एनसेलसँग मागिएको डेढ अर्ब चन्दा नदिएपछि घटना भएको हो । तर, आवरणमा भने विप्लव समूहले सरकारलाई कर नतिरेका कारण कारबाही गरिएको बताउँदै आएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जसमध्ये एक जना विप्लवकै पूर्वअंगरक्षक छन् । हाल उपत्यका ब्यूरो सदस्य बताउने पूर्वअंगरक्षक सूर्य भुजेल, किसान महासंघका केन्द्रीय संयोजक राजु कार्की र ब्यूरो सदस्य केदार खड्कालाई गरिएको छ । प्रहरी अधिकारीका अनुसार भुजेल घटनाका योजनाकार हुन् । कार्कीले कमलपोखरीस्थित आँगन रेस्टुरेन्टबाट आफ्ना दुई कार्यकर्तालाई निकालेको भन्दै सञ्चालकलाई धम्की दिएका थिए ।

कमलपोखरीको आँगन रेष्टुरेन्टमा अज्ञात व्यक्तिले रेष्टुरेन्टको टेबलमा बम छाडेर बाहिरिएका थिए । वेटरले ग्राहक निस्किसकेपछि खोलेर हेर्दा त्यहाँ प्रेसर कुकुर र तार देखिएपछि हल्लीखल्ली मच्चिएको थियो ।

सैनिक स्रोतका अनुसार कमलपोखरीमा राखिएको बम ७ लिटरको प्रेसर कुकरमा फिट गरिएको थियो र त्यसको विष्फोटका लागि टाइम तोकिएको थियो । कुकुरमा १० भोल्टका ३ वटा र ९ भोल्टको दुई वटा ब्याट्री प्रयोग गरिएको भेटिएको छ । दुईवटा डेटोरनेटर र दुई किलो विष्फोटक पदार्थ पनि त्यहाँ प्रयोग गरिएको भेटिएको थियो, जुन विष्फोट भएको भए झन् ठूलो क्षति हुनसक्ने सुरक्षाअधिकारीहरु बताउँछन् ।

समुहले नख्खु प्रकरणदेखि यता प्रयोग गरेको विष्फोटक पदार्थ बढी क्षति हुने किसिमका छन् । ‘यो पहिले द्वन्द्वकालमा मात्रै प्रयोग गरिन्थ्यो’, एक सैनिक अधिकारीले भने ।

घटनापछि समूहसँग भएको हतियार खोजीलाई प्रहरीले तीब्रता दियो । त्यसक्रममा २३ फागुनमा कपिलवस्तको सिम्बरी डाँडामा रहेको विप्लवको घरलाई लक्षित प्रहरीले ९ घन्टासम्म चलाएको सर्च अपरेशनका क्रममा विप्लवले सैन्य शिविर सञ्चालन गरिरहेको भेटियो ।

सैन्य तालिम दिइरहेको ब्यानर र पर्चा भेटिएपछि प्रहरी झस्किएको थियो । त्यसो त पूर्वसूचना अनुरुप ठूलो परिमाणमा आधुनिक हतियार फेला पर्ने प्रहरीको आशंका थियो । तर, सोचे अनुरुप नतिजा हात परेन ।

खुट्टामा गोली हानेर पक्राउ गरिएको दुर्गाबहादुर रोकाको घरबाट दुईवटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउन्ड गोली मात्रै बरामद भयो । केही तार, रिमोट डिभाइस, डायरी, कागजपत्र र महत्वपूर्ण दस्तावेज बरामद भएको प्रहरीको दाबी थियो ।

शान्ति सम्झौतापछि हतियार व्यवस्थापनका क्रममा लुकाइएका ठूलो परिमाणमा लुकाइएको हतियार अहिले विप्लव समूहसँग पुगेको सुरक्षा निकायको विश्लेषण छ ।

‘अहिले बरामद भइरहेको अत्याधुनिक हतियारहरु नेपाली सेनासँग मात्रै थियो’, स्रोतले भन्यो, ‘द्वन्द्वमा सेनाबाट लुटिएका हतियारहरु अहिले बरामद भइरहेका छन् । त्यसबाहेक तत्कालिन माओवादी लडाकुले खरिद गरेको हतियारको लेखाजोखा नै छैन ।’ जुन विप्लव समूहलाई हिंसात्मक गतिविधि सञ्चालनमा सहयोगी साबित भएको छ ।

सेना, सशस्त्र, नेपाल प्रहरी र गुप्तचरको संयुक्त टोलीले बुझाएको एउटा रिपोर्टलाई मान्ने हो भने अहिले मुलुकका ७७ वटै जिल्लामा समूहको १० देखि १३ जनासम्मको हार्डकोर कमिटी बनेका छन् । जसले मासिक तलब नै बुझ्न गरेका छन् ।

प्रकाण्ड छुटिसकेपछिको रिपोर्ट अनुसार पश्चिम क्षेत्रका हरेक जिल्लाहरुमा ५० देखि एक सयको हाराहारीमा सक्रिय कार्यकार्ता छन् । ‘बेरोजगारीले आक्रान्त समाजमा १५ देखि २० हजार दिने भनेर लागेपछि युवा पुस्ता ह्वारह्वार्ती आउने भइहाले’, एक उच्च सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘यस्तै अवस्था हो भने केही समयमा भर्नाको मारामार हुन्छ ।’

ती अधिकारीका अनुसार विप्लवसँग चन्दा उठाएर सङ्कलित रकम एक अर्ब बढी पुगिसकेको छ । तर, त्यो रकम कहाँ राखिएको छ त ? सुरक्षा निकायले अहिलेसम्म अत्तोपत्तो पाएको छैन । संकलित रकम अहिले सैन्य दस्ता निर्माणमै विप्लव समूहले खर्च गरिरहेको गुप्तचरी निकायको विश्लेषण छ ।

कहाँ छन् विप्लव ?

समूहका नेतृत्वकर्ता विप्लव चाहिँ कहाँ छन् त ? अहिले प्रशासनमा चासोको विषय बनेको छ ।

विप्लव र समूहका दोस्रो तहका नेता प्रकाण्ड हाल नेपालमै रहेको सुरक्षा निकायको रिपोर्ट छ । पार्टी पुनर्गठन दिवसको अवसरमा ७ मंसिरमा भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका दिन विप्लवको लोकेसन कीर्तिपुरमा देखिएको थियो । नख्खु विष्फोटका बेला विप्लव वनस्थलीमा देखिएको र त्यहाँबाट चितवन पुगेको सूचना प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै पाएको थियो ।

प्रहरी विप्लव र प्रकाण्डहरुको लोकेशन त पत्ता लगाउने गरेको छ । तर, आफैंले फोन नबोक्ने हुँदा उनीहरु बच्ने गरेका छन् । त्यसो त प्रकाण्ड पक्राउ परेपछि प्रहरीले पाएको सूचनाको आधारमा सुरक्षा अधिकारी विप्लव नजिक पुगिसकेका थिए । विप्लवलाई पक्राउ गर्ने तयारीमा सुरक्षा निकाय थियो । तर, सरकारी पक्षबाट ‘ग्रीन सिग्नल’ नपाउँदा टोली ब्याक भएको थियो । पछि वार्ता गर्ने भनेर सरकारले नरम नीति लिँदा त्यसको फाइदा विप्लव समूहलाई नै भयो ।

नेपाल प्रहरीको प्रतिआतंकवाद सेलको एउटा रिपोर्टलाई मान्ने हो भने अहिले भइरहेको विष्फोटक घटनाको आवरणमा जिल्लास्तरका नेताहरु योजनामा भएको देखिए पनि यो केन्द्रीय नीति अनुसार नै भएको हो ।

विप्लव समूहलाई सरकारकै सहयोग ?

चुनावताका शेरधन राई, रामशरण महत, गगन थापाहरुलाई लक्षित गरेर विष्फोट गराउँदा कारवाही नगरी बसेको सरकारी पक्षको लाचारीको फाइदा उठाउँदै विप्लव समूहले आफ्नो क्षमता विस्तार गर्दै गएको देखिएको छ ।

प्रकाण्डबाटै बरामद दस्तावेजमा भएका केही बैठकको निर्णयलाई आधार मान्दा पनि समूह संगठन विस्तारको अन्तिम चरणमा छ । दस्तावेजमै विभिन्न उपसमूह र तिनका सदस्यहरुको नाम पनि उल्लेख छ तर, कोड भाषामा । तीमध्ये केही नामलाई प्रहरीले नोट पनि गरेको थियो यद्यपि, थुप्रैको पहिचान खुलेन ।

सफाया गर्र्ने भनेर डायरीमै एउटा सूची पनि थियो, ती नाम पनि कोड भाषामै थिए । सुरक्षा निकायको हात नलागोस् भनेर उनीहरुले कोड प्रयोग गरेका हुन् । त्यति मात्रै होइन, टार्गेट भनेर छुट्टै सूची समेत प्रहरीले फेला पारेको थियो ।

त्यो सूचीमा भारतीय लगानीका प्रोजेक्ट अरुण तेस्रो, अपर कर्णाली, म्यानपावर, समयमै ठेक्का पूरा नगर्ने कन्स्ट्रक्सन लगायत छन् । अरु त अरु एउटा खुफिया एजेन्सीको विश्लेषण के छ भने विप्लव समूहलाई हाल सरकारमा रहेको नेकपाकै उच्च स्तरीय नेताको पनि समर्थन छ । विश्लेषणले तत्कालीन माओवादी केन्द्रका केही नेतालाई लक्षित गरेको बुझिन्छ ।

‘हाम्रो रिपोर्टमा ती कुरा स्पष्टसँग उल्लेख छन् । तर, नजरअन्दाज गरिएको छ’, एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘जसको परिणाम हामी माझ छ ।’

यो पनि पढ्नुहोस विप्लव समूह: ‘माओवादी समस्या’ को दोस्रो संस्करण !

प्रहरी प्रवक्ता भन्छन् – विप्लवले आतंक मात्र सिर्जना गर्ने हो

विप्लव समूहको विध्वांसात्मक गतिविधि बढिरहेका वेला नेपाल प्रहरीको नेतृत्वले पनि यसलाई गम्भीरतापूर्वक नलिएको देखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै विप्लवले आतंक सिर्जना गर्न मात्रै खोजेको बताए ।

‘नख्खुमा भएको घटना पनि हिट एन्ड रन मात्र हो’, सुवेदीले भने, ‘ठूलो मास आएर आगजनी गर्ने उसको क्षमता छैन ।’ उनले नख्खु घटनामा ‘एक्सिडेन्ट्ली’ मान्छेको ज्यान गएको भन्दै हलुका टिप्पणी गरे ।

‘गाउँ प्रशिक्षण दिएको भन्ने कुरा त आएको छ । तर, त्यसरी त विगतमा पनि प्रशिक्षित गरेका हुन् नि । त्यो कम्ब्याटवाला होइन’, सुवेदीले भने, ‘कार्यक्रम गर्नै नपाइने भन्ने पनि होइन । नत्र, भृकुटीमण्डपमै कार्यक्रम भएकै हो । धेरै हस्तक्षेप पनि गर्नु पनि भएन ।’

भोलि पक्राउपूर्जी दिने बेलामा अदालतले प्रमाण खोज्ने उनले बताए । उनले विप्लव समूह अहिल्यै गम्भीररुपमा आइनसकेको बताउँदै समयमै उपचार भने खोज्नुपर्ने बताए । उनले भने, ‘निमोठ्नुपर्छ, नत्र, गतिविध बढ्न सक्छ ।’

उनले यो वर्ष बैशाखदेखि हालसम्मको अवधिमा मुलुकभरबाट ३८२ जना विप्लव कार्यकर्तालाई पक्राउ गरिसकिएको दाबी गरे । यद्यपि, कति छुटे र कति जनामाथि मुद्दा चल्यो भन्ने चाहिँ बताउन सकेनन् ।

संगठित गतिविधि बढ्दै जाँदा सामान्य रुपमा ‘डिल’ गरेर हुँदैनः बमबहादुर भण्डारी, पूर्वएआईजी

आतंकवाद र आन्तरिक भूमिगत समूहमाथि निगरानी र अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) बमबहादुर भण्डारी विप्लव समूहको संगठित गतिविधि बढ्दै जाँदा सामान्य रुपमा ‘डिल’ गरेर नहुने बताउँछन् ।

‘केन्द्रीय नीति अनुरुप क्षेत्रदेखि जिल्लाजिल्लामा बम पड्काइरहँदा र मान्छेको ज्यान गइरहँदा सामान्य रुपमा डिल गरेर मात्र हुँदैन’, भण्डारीले अनलाइनखबरसँग भने, ‘गैरकानुनी गतिविधिलाई निस्तेज पार्न निगरानी र कारबाही बढाउनुपर्छ ।’

केही सुरक्षा अधिकारीले विप्लव समूहमाथि कारबाहीका लागि पर्याप्त कानुनको अभाव हुने गरेको पनि बताउने गरेका छन् । यद्यपि, भण्डारी भने त्यसमा असहमत छन् । ‘अहिलेकै स्थितिमा हाल भएकै कानुनले उनीहरुको गतिविधिलाई रोक्न गर्न सक्छ, प्रमाण जुटाउने काम प्रहरीको हो’, उनले भने ।

समूह सशस्त्र गतिविधिमै गइसकेको अवस्थामा भने फरक ढंगले जानुपर्ने उनी बताउँछन् । ‘कुनै संगठन राष्ट्रिय सुरक्षालाई असर गर्ने गरी तीब्र रुपमा बढ्छ भने त्यसलाई छुट्टै तरिकाले सम्बोधन गर्नुपर्ने पनि हुनसक्छ’, उनले भने, ‘पहिले पनि ती समूहलाई एड्रेस गर्न आतंककारी विधेयकदेखि अन्य इन्डिभिज्यूल कानुन ल्याइएको उदाहरण छन् । तर, यो सरकारले गर्ने काम हो ।’

हाल समूहको गतिविधि बढिरहेको भने उनी पनि स्वीकार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment