Comments Add Comment

काठमाडौं भ्युटावरको चौथो तला बन्यो, बस टर्मिनल चलाउन आनाकानी

१२ फागुन, काठमाडौं । खुलामञ्चमा अतिक्रमण गर्न छुट दिएको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिका यतिबेला खुलामञ्च खाली गर्न प्रयासरत छ । तर, खुलामञ्चको एक तिहाई हिस्सा ओगटेको बसपार्क कता सार्ने ?

विकल्प खोजीरहेको महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको २९ तले ‘काठमाडौं भ्युटावर’ को बस टर्मिनल तयार गराएर बसपार्क फिर्ता गर्न भने ध्यान दिएको छैन । बरु पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरुलाई नयाँ बसपार्क पठाउन छलफल गरिरहेको छ ।

खुलामञ्चमा अस्तब्यस्त बसपार्क चलाउँदा महानगरपालिकाले सार्वजनिक क्षेत्रको संरक्षण र सरसफाइमा उदाशीन बनेको आरोप खेपिरहेको छ । सम्पदाप्रेमी र वातावरणविदहरु खुलामञ्चमा गरिएको ढलान हटाएर घाँसे मैदान बनाउन माग गरिरहेका छन् ।

यहीबेला ‘काठमाडौं भ्युटावर’मा चौंथो तलाको काम हुँदैछ । काम सुरु गराउँदा महानगरले टावरको तीन तला (बेसमेन्ट)को काम सक्नासाथ बस टर्मिनल बनाएर खुलामञ्चको बसपार्क सार्ने भनेको थियो । उसले यही टावर बनाउन बसपार्कलाई खुलामञ्चमा सारेको थियो ।

अहिले भने महानगर र निर्माण कम्पनी जलेश्वर-स्वच्छन्द बिकोइ दुबै टावर तयार भएपछि मात्र बसपार्क सार्न सकिने बताउन थालेका छन् । २०७२ साल कात्तिक २५ देखि निर्माण सुरु भएको टावर ३ वर्षभित्रै बनिसक्नुपर्ने थियो, तर बल्लबल्ल चौंथो तला पुगेको छ । टावर समयमै नबनाउने अनि वर्षौंसम्म खुलामञ्चमै बसपार्क राख्ने अवस्था देखिएको छ ।

ठेकदारसँग महानगरपालिका नतमस्तक
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली अबको अढाई महिनामा ‘काठमाडौं भ्युटावर’ निर्माणको म्याद सकिने बताउँछन् । महानगरपालिकाको कार्यपालिका वा नगरसभाले म्याद थपबारे निर्णय लिने बताउँदै उनी भन्छन्, ‘निर्माणाधीन टावरमा त बस टर्मिनल राख्ने अवस्था छ जस्तो लाग्दैन ।’

महानगरपालिकाले जलेश्वर-स्वच्छन्द बिकोइलाई निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा टावर निर्माणको जिम्मा दिएको थियो । पुरानो बसपार्कको खुला ठाउँलाई ३० वर्षे सम्झौता गरेर टावर बनाउन जिम्मा लगाएको महानगरपालिका काममा ढिलाइ हुँदा पनि कडा रुपमा प्रस्तुत भएको छैन ।

‘बिकोइ सञ्चालक मनोज भेटवालले सबैलाई मिलाएका छन्’, महानगरपालिका स्रोत भन्छ, ‘उनले मेयर विद्यासुन्दर शाक्यलाई नै रिझाएका छन् । त्यसैले बिभिन्न बिबादमा मुछिएपनि भेटवालले सबैको प्रेम पाएका छन् ।’

लगानी जुटाउनै हम्मे
भेटवालले टावर निर्माण थाल्न सुरुमा लगानी जुटाउनै सकेका थिएनन् । विभिन्न बैंकको कालोसूचीमा रहेका उनले बल्लतल्ल गैरआवासीय नेपालीहरुको लगानी ल्याएका थिए । त्यो पनि हुण्डीबाट ल्याएकोमा राजस्व अनुसन्धान विभागले भेटवालविरुद्ध विदेशी मुद्रा अपचलन मुद्दा लगाएको थियो ।

अहिले पनि टावरको लागि आवश्यक लगानी जुटिसकेकोमा शंका छ । टावर निर्माणको पहिलो म्याद २०७५ कात्तिकमा सकिएपछि महानगरले पटक-पटक समय थपिदिदै आएको छ ।
एक वर्षमा ३ तलाको काम सकेर बसपार्कलाई टावरमुनि टर्मिनलमा फर्काउने बाचा गरेका ठेकेदार भेटवाल अहिले चौंथो तलाको काम भइरहँदा भन्छन्, ‘बस टर्मिनल यसअघि पास भएको डिजाइन अनुसार नै बन्छ, टावर बनेपछि त्यहीँ बसपार्क चल्छ ।’

टावर कहिलेसम्म बनिसक्छ त ? उनी भन्छन्, ‘जतिसक्दो चाँडो सक्ने गरी काम भइरहेको छ ।’

२९ हैन, १२ तला !

२०७२ कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट शिलान्यास गराइएको ‘काठमाडौं भ्युटावर’को जग खन्ने काम  सुरु भएको थियो । त्यसपछि भने ठेकेदार जलेश्वर-स्वच्छन्द बिकोइले विभिन्न बहना गर्दै ढिलाई गर्दै आएको छ ।

स्रोतका अनुसार, काठमाडौं महानगरपालिकाका केही अधिकारीले समेत लगानी गरेकाले टावर बनाउन ढिला गरेपनि ठेकेदार कम्पनीले थप म्याद पाइरहेको छ । महानगरका साझेदार अधिकारीहरुकै आडमा ठेकदार भेटवालले खुलामञ्चमा सारेको बसपार्कभित्र पनि सटर बनाएर बिक्री गरेका थिए ।

बागबजारवासीको बिरोधका बाबजद, महानगरपालिकाले ‘विकसित शहरको पहिचानका लागि’ भन्दै २९ तले टावर बनाउन जलेश्वर-स्वच्छन्द बिकोइका भेटवालसँग सम्झौता गरेको थियो । नक्सा पास भने १२ तलाको भएको छ । २०७२ वैशाखको महाभूकम्पपछि भवन निर्माण संहिता परिवर्तन भएका कारण १२ तलाको मात्र बन्ने भनिएको छ ।

२३ रोपनी जमिनमा रहेको पुरानो बसपार्कको ४० प्रतिशत भाग टावरले ओगट्ने, ६० प्रतिशत खुला रहने दावी गरिएको छ । टावरको तेस्रो तलाभन्दा माथि व्यावसायिक प्रयोजनमा लगाउने र सबभन्दा माथिको भाग दृश्यावलोकनका लागि छुट्याइने भनिएको छ ।

तस्वीरःआर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment