Comments Add Comment

ओलीलाई हेर्नेबारे नेकपामा दुई लाइन, वामदेवको बेग्लै लाइन !

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि सत्तारुढ नेकपाभित्र मिल्ने कि औपचारिकरुपमा फुट्ने भन्नेबारे विभिन्नखाले लाइनहरु देखिएका छन् । ओली समूह र प्रचण्ड–माधव दुवैतिर रहेका कतिपय नेताहरुले अब पार्टी एकीकरण हुनुपर्ने बताउन थालेका छन् भने केही नेताहरुचाहिँ आ–आफ्नो बाटो लाग्नुपर्ने लाइनमा छन् ।

सर्वोच्चले केपी ओलीको कदम खारेज गरेकै दिन मंगलबार चितवनबाट एउटा समूहका अध्यक्ष प्रचण्डले प्रतिगामीहरुसँग सहकार्य नहुने भन्दै अब केपी ओलीसँग मिलेर जान नसकिने स्पष्ट पारे ।

प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त अब नेकपा आपसमा मिल्नुपर्ने र बहुमतको सरकार बनाउनुपर्ने बताउँछन् । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएमा पार्टी एकता बच्ने भन्दै पन्तले अझै पनि नेकपाका दुवै समूह एक हुन सक्ने तर्क गरे ।

ओली समूहका नेता महेश बस्नेतले अब पार्टी एकता जगाउनुपर्ने भन्दै यसका लागि वामदेव गौतमले भूमिका खेल्नुपर्ने तर्क अगाडि सारे ।

प्रचण्ड, रघुजी पन्त र महेश बस्नेतका विचारहरु सुन्दा अब नेकपाका दुई समूहवीच एकता गर्ने कि फुट्ने भन्नेबारे दुई लाइन देखापरेको स्पष्ट हुन्छ । अब प्रचण्ड–माधव समूहले ओली पक्षसँग सम्झौतापरस्त नीति अवलम्वन गर्छ या सम्झौताहीन संघर्ष गर्छ ? यो स्पष्ट भइसकेको छैन ।

सर्वोच्च अदालतको फैसलाबाट थिल्थिलो बनेको ओली समूहले पार्टी एकताका नाममा फेरि पनि पार्टी र सरकारमा आफ्नो स्पेस बनाउन खोज्नु अस्वाभाविक होइन । यसका लागि ओली पक्षले पार्टी एकता जोगाउनुपर्ने तर्क गर्दै केपी ओलीको बचाऊ गर्नु पनि अनौठो होइन ।

वामदेव गौतमको शर्त

पार्टी विभाजनपछि बेग्लै एकता अभियान बनाएर बसेका वामदेव गौतमले फेरि प्रचण्ड र ओलीलाई मिलाउने कार्ड खेल्न सुरु गरेका छन् । उनले बुधबार एक वक्तव्य जारी गर्दै पार्टी एकताको प्रस्ताव गरेका छन् । यसका लागि केपी ओलीले राजनीनामा दिनुपर्ने लगायतका केही शर्तहरु गौतमले अघि सारेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ’ नेता गौतमको शर्त छ, ‘सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्तिमार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्छ ।’

पुस ५ यता पार्टी विभाजित भएर एकअर्काविरुद्ध गालीको वर्षा गरिसकेका प्रचण्ड र ओलीलाई सम्झाउँदै वामदेवले वक्तव्यमा भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’

पार्टी विभाजनअघिका नेकपा उपाध्यक्ष गौतमले प्रचण्ड र ओलीलाई धुम्बाराहीमा सचिवालय बैठक बस्न आग्रह गरे पनि यसबीचमा माधवकुमार नेपाल एउटा समूहको अध्यक्ष बनिसकेका छन् भने ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा प्रचण्ड–माधव समूहले गरिसकेको अवस्था छ । नेकपाको विभाजन निकै पर पुगिसकेको छ ।

नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा भने प्रतिगमनका नेतृत्वकर्ता केपी ओली र उनका मतियारहरुसँग सहकार्य हुन नसक्ने बताउँछन् । कतिपय दबावका कारण ओली समूहमा लागेका इमान्दार नेता–कार्यकर्ताहरुलाई भने मिल्न र सहकार्य गर्न आफूहरुले आह्वान गरिसकेको शर्माले बताए ।

शर्माले अनलाइनखबरसँग भने, ‘केपी ओलीसँग मिल्न सम्भवै छैन । प्रतिगमन गर्नेहरुसँग कसरी मिल्न सक्छौं ? त्यहाँ केही सीमित मतियारहरु छन्, तिनीहरुबाहेक इमान्दार साथीहरुलाई त मूलधारमा आउनोस् भनिरहेकै छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment