Comments Add Comment

घरमै बसेर थाहा पाउन सकिनेछ खेतबारीको माटोको गुणस्तर

१२ फागुन, काठमाडौं । कृषकले घरमै बसीबसी आफ्नो जमिनको गुणस्तर थाहा पाउन सक्ने प्रविधि सरकारले बुधबारबाट प्रयोगमा ल्याएको छ ।

नेपालको माटोको डिजिटल नक्सामार्फत किसानहरुले आफ्नो घर मै बसेर मोबाइल तथा कम्प्युटरको सहायतामा जमिनको गुणस्तर थाहा पाउन सकिने नेपाल कृषि अनुसन्धान परिषद् नार्कले जनाएको छ ।

दक्षिण एसियामै नेपालमा पहिलोपटक तयार पारिएको दाबी गरिएको उक्त नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

माटोको डिजिटल नक्साकंनपछि नेपालको कृषि डिजिटल युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले यसको फाइदा लिन कृषकहरुलाई आग्रह पनि गरे ।

नार्ककाअनुसार डिजिटल नक्सामार्फत माटोमा रहेका विभिन्न तत्व वा गुणहरु जीपीएसका माध्यामबाट कम्प्युटर प्रविधिबाट थाहा पाउन सकिन्छ ।

माटोमा रहेका तत्वहरु र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभावलाई गणितीय तथा तथ्यांकीय मोडलको माध्यमबाट प्रयोगशाला विश्लेषण गरी माटोको नतिजाको आधारमा यस्तो नक्सा तयार गरीएको नार्कले जनाएको छ ।

नक्सामा के छ ?

इन्टरनेट प्रयोगकर्ताले डब्लु डब्लु डब्लु डट सोइल डट नार्क डट जीओभी डटकम डट एनपीमा गएर यो नक्सा भित्र प्रवेश गर्न सकिन्छ । जहाँ देशभरका ५६ जिल्लाका २३ हजार २७३ वटा माटोको नमूनाका आधारमा तयार पारिएको नक्सा छ । स्याटेलाइट चित्रका आधारमा माटोको गुणहरु निर्धारण गर्न भूमिका खेल्ने वातावरणीय कारक तत्वहरु मध्ये १६८ वटा तत्वहरुलाई मध्यनजर गर्दै उक्त नक्सा तयार गरिएको छ ।

नक्साबाट भौगोलिक स्थान विशेषका माटोका प्रकार थाहा पाउन सकिन्छ । साथै माटोमा रहेका अम्लीयपना, प्राङ्गरिक पदार्थको मात्रा, नाइट्रोजन, फस्फोरस तथा पोटासको मात्रा थाहा पाउन सकिने नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए ।

यस्तै माटोको सूक्ष्म पोषकतत्व, जिङ्क तथा बोरोन जस्ता तत्वको मात्रा थाहा नक्सामार्फत किसानले थाहा पाउन सक्छन् ।

फाइदा लिन सकिने

खेतिपातीसँग सम्बन्धित कुनै पनि काम गर्नुअघि किसानलाई आफ्नो जमिनको गुणस्तर जान्नु जरुरी हुन्छ । माटोको गुणस्तर नबुझी गरिने कृषिमा दुःख मात्रै नहोस भनि अहिले पनि माटोका गुणस्तर जाँच गर्न किसानहरु जिल्ला सदरमुकाम वा पालिकाको कार्यालयसम्म धाउनु पर्ने बाध्यता छ । तर माटोको डिजिटल नक्सांकनपछि भने घरमै बसेर किसानले यो सुविधा लिन सक्ने नार्कले जनाएको छ ।

इन्टरनेट र मोबाइल एप प्रयोग गर्न जान्ने किसानले सोही माध्यम र नजान्ने किसानले फोन गरेरै आफ्नो जमिनमा कुन खेती लगाउने तथा जमिनको स्वथ्थताबारे जानकारी लिन सक्ने राष्ट्रिय माटो विज्ञान केन्ऽका वरिष्ठ माटो वैज्ञानिक डा.श्रीप्रसाद विष्ट बताउँछन् ।

नार्कससहित कृषि मन्त्रालय माताहतका सबै तल्ला तहहरुबाट पनि यो प्रविधिमार्फत किसानलाई सुविधा दिइने मन्त्रालयले जनाएको छ । नार्क, मन्त्रालय, प्रदेशस्थित कृषि कार्यालय र स्थानीय कृषि ज्ञान केन्द्रमार्फत पनि किसानले यो सेवा निःशुल्क पाउने छन् ।

ठूलो लगानीमा गरिने कृषि परियोजना सञ्चालन गर्न, नयाँ प्रविधि र बिउ प्रयोग गर्न माटो सुहाउँदो खेती गर्नका लागि यो प्रविधि महत्वपूर्ण मानिएको छ ।

व्यवसायिक कृषि विकास गर्न, मलको आवश्यकता सम्बन्धमा नीति बनाउन तथा माटोको उपचार गर्न पनि माटोको डिजिटल नक्साले सहयोग गर्ने नार्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment