+
+

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : तिमी भन्दा शक्तिशाली जनता हुन्

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते २०:०७

१४ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा पोखरेलले मुलुकलाई अस्थिरता धकेल्नेगरी फैसला आएको भन्दै असहमति रहेको बताए ।

‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सवैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने । तर, लोकतन्त्र र शक्ति पृथकीकरणमा विश्वास गर्ने भएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पोखरेलले बताए ।

सर्वोच्चको फैसला प्रति असहमति रहेको जनाउँदै पोखरेलले भने, ‘तिमी भन्दा शक्तिशाली न्यायाधीशहरु जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी । त्यसको तयारीमा छौं ।’

सर्वोच्च अदालतको फैसलाबारे बोल्नु हुन्न भन्ने सोचाइ राख्नेहरुको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘यो विरुद्धमा होइन, हाम्रो असहमति हो । विश्लेषणको आधारमा गरेको हाम्रो अहसमति । हामीले भनेका छौं– तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।’

पोखरेलले सर्वोच्चको फैसलाकै कारण मुलुक विकास र समृद्धिमा बाधा पुग्ने जिकिर गरे । अराजकतालाई बढावा दिनेगरी फैसला आएको भन्दै पोखरेलले मुलुकलाई घिनलाग्दो राजनीतिक खेलतर्फ धकेलेको पनि बताए । उपप्रधानमन्त्री पोखरेलले सर्वोच्चको फैसला प्रति दुख व्यक्त गर्न पनि आह्वान गरे ।

कार्यक्रममा पोखरेलले के भने ? 

हामी लोकतन्त्रमा विश्वास गर्छौ, शक्ति पृथकीकरणमा विश्वास गर्छौ । तर, अदालतको फैसलालाई त्यस हिसाबले मान्दामान्दै पनि हामी भन्न चाहन्छौं– सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश यो सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन् ।

जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामीहरु । हामी लोकतन्त्रमा विश्वास गर्ने भएको हुनाले, शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने भएको हुनाले, सर्वोच्च अदालतले गरेको फैसलालाई मान्दछौं ।

त्यो मान्दछौं भनेको अर्थ हामी त्यसलाई कार्यान्वयन पनि गर्छौ । तर, हामी के विश्वास व्यक्त गर्दछौं भने तिमी भन्दा शक्तिशाली न्यायाधीशहरु जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी । त्यसको तयारीमा छौं । यो कुरामा जोड दिन चाहन्छौं ।

अहिले पनि सर्वोच्च अदालतले गरेको फैसलामा बोल्न हुँदैन भन्ने यस्ता खाले सोचाइ राख्ने मान्छेहरु पनि छन् । यो विरुद्धमा होइन, हाम्रो असहमति हो । विश्लेषणको आधारमा गरेको हाम्रो अहसमति । हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।

यो अदालतको फैसलाले त्यही कुरा गरेको छ । त्यसकारणले राजनीतिक अस्थिरता निम्त्याउने, यो अस्थिरताका कारणले आर्थिक विकास र समृद्धिमा बाधा पुर्‍याउने , अराजकतालाई बढावा दिने, मुलुकुको एउटा राष्ट्रियता र स्वाभिमानलाई कमजोर बनाउने काम हुनेछ ।

अब राजनीतिमा हिजो ५२ सालपछि जुन ढंगको घिनलाग्दो खेल सुरु भयो । त्यही खेलको पुनरावृत्ति हुनेछ । दुखका साथ भन्न चाहन्छु, सम्मानित सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई त्यही फोहोरी आहालतिर धकेलेको छ । यसप्रति म दुख व्यक्त गर्न चाहन्छु । हामी सबैले त्यो फैसलालाई त्यस हिसाबले दुख व्यक्त गर्नुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?