Comments Add Comment

…जब घन बोकेका नागरिक कमलपोखरी पसे

१४ फागुन, काठमाडौं । शुक्रबार बिहान सडक विस्तारबाट पीडित उपत्यकावासी ‘हाम्रो भूमि फिर्ता गर’ भन्दै माइतीघर मण्डलामा आइपुगे । उनीहरू बृहत नागरिक आन्दोलनद्वारा आयोजित ‘विकासको नाममा जारी प्रतिगमनविरूद्ध संघर्ष’ कार्यक्रममा सहभागी हुन आएका थिए ।

धिमे बाजा, झ्याम्टा बोकेर आएका उपत्यकावासीले विकासको नाममा स्थानीयलाई उठिबास गरेपछि त्यसको विरोधमा आएका हुन । उनीहरूले बालाजु, बाइपासमा भएको सडक विस्तारमा सरकारले निर्मम दमन गरेको भन्दै त्यस विरुद्ध चर्को नारा लगाए ।

यो पनि पढ्नुहोस ‘सिनेमा हल जोगाउन मन्त्रीज्यूले ढाँटेका दश प्रमाण’

बालाजु, बाइपासमा विभेदपूर्ण सडक विस्तार हुँदा ३८ परिवार घरविहीन भएका छन् । पहुँचवालाको घर जोगाउन एकतर्फी रुपमा घर भत्काएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस मन्त्रीज्यूको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास !

विरोध प्रदर्शन केहीबेरमा सभामा परिणत भयो । उज्जवल प्रसाईं, नरेश ताम्रकार, विद्या श्रेष्ठले स्थानीयलाई विस्थापित गर्ने विकासको चर्को विरोध गरे । नेपाल भाषाका कवि राजभाइ जकःमीले नेवाः भूमि अतिक्रमणविरूद्ध कविता सुनाए ।

बुधबार बालाजुबाट पक्राउ परेका अधिकारकर्मीलाई अबिलम्ब रिहाइ गर्नुपर्ने माग राखे । कानुन विपरीत भएको सडक विस्तारको विरोध गर्दा प्रहरीले उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी, विरोचन श्रेष्ठ, महेश मानन्धर, मीन शाही लगायत आठ जनालाई पक्राउ गरेको छ । सुमन सायमी र विरोचन श्रेष्ठलाई अहिले सोह्रखुट्टे हिरासतमा राखिएको छ ।

प्रहरीले मातृभाषामा बोल्न पाउने संविधानप्रदत्त हक खोसेको प्रति उनीहरूले कडा आपत्ति जनाए ।

यो पनि पढ्नुहोस बालाजु बाइसधारामा स्थानीयमाथि दमन गर्नु प्रतिगमन हो : वृहत नागरिक आन्दोलन

सभा सकिनेबित्तिकै विरोध–र्याली एकाएक कमलपोखरीतर्फ सोझियो । रातारात पोखरीमा सिमेन्ट ढलान गरिएको सूचना पाएका नागरिक अभियन्ता तथा संरक्षणकर्मीहरू कमलपोखरी बचाउको माग राख्दै अघि बढे ।

‘कमलपोखरी मास्न पाइँदैन’ भन्दै उनीहरू टुँडिखेलबाट रानीपोखरी हुँदै कमलपोखरी पुगे ।

अधिकारकर्मीमध्ये केहीले कमलपोखरीकै माटोको टिका लगाए भने केहीले त्यहाँको माटोलाई ढोगेर सम्मान गरे । यसपछि निर्माणस्थलमा राखिएका फलामे घन टिपेर उनीहरू पोखरीको बीच भागमा पुगे ।

पोखरीको बीचमा खाल्डो खनेर सिमेन्टको कमल बनाउन लागिएको थियो भने छेउछेउमा सिमेन्टका स्ल्याब राखिएका थिए । घन बोकेका नागरिकहरूले कमलपोखरीमा कंक्रिट राख्न नहुने भन्दै ढलान फुटाउन थाले ।

उपस्थित स्थानीय पनि ‘कमलपोखरीलाई जबरजस्ती ढलानपोखरी’ बनाउन खोजेको भन्दै सिमेन्टका संरचना फुटाउन लागे । प्रहरीले तत्कालै नागरिकहरूको हातबाट घन खोस्न खोज्यो । घन खोसिए पनि अभियन्ताहरू लात्ति र हातले सिमेन्टको ढलान भत्काइरहेका देखिन्थे ।

घन प्रहरीले खोसेपछि अभियन्ताहरूले प्रहरी दमनको प्रतिवाद गर्दै विकासको नाम सम्पदा मास्ने सरकारविरूद्ध नाराबाजी गरे । प्रहरीले पनि ‘माथिको आदेश छ, हामीलाई पनि आफ्नो माटोको माया नभएको होइन’ भन्दै सम्पदा संरक्षणकर्मीलाई सम्झाउने प्रयास गरे ।

कंक्रिट फुटाइरहेका संरक्षणकर्मी इञ्जिनियर सुसन वैद्यका अनुसार काठमाडौं महानगरले रातारात छापामार शैलीमा सिमेन्ट ढलान गर्न खाजेकाले ढलान फुटाइएको हो ।

कमलपोखरीकै स्थानीय वैद्य भन्छन्, ‘कमलपोखरी आफैंमा एउटा सीमसार हो । यसलाई स्वीमिङ पुल बनाउन खोजिँदैछ । जुन कुरा हामीलाई सह्य छैन ।’

यता संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले पनि कमलपोखरीको इतिहास मेटाउन सरकार लागि परेको बताए । श्रेष्ठका अनुसार प्राकृतिक गुणले भरिएको पोखरीलाई विकासको नाममा कंक्रिट बनाउन खोजिएकाले प्रतिकार गरिएको हो ।

नागरिक समाजको तर्फबाट मन्तव्यक्त राखेका लेखक तथा पत्रकार नारायण वाग्लेले सरकार माटो र मातृभाषाको सम्मान गर्न असमर्थ भएको बताए । उनले भने, ‘संविधानले माटोको सम्मान गर भनेकाले हामीले सांकेतिक रुपमा प्राकृतिक सम्पदा बचाउन यहाँ आएका हौं ।’

यसअघि माघ १२ गते बालुवाटार मार्च गरेको बृहत् नागरिक आन्दोलनले पनि कमलपोखरीको माटोको टिका लगाएर मार्चमा गएको थियो । माघ १२ झैं शुक्रबार पनि नागरिक अभियन्ता विमल अर्याल आन्दोलनकारीहरूलाई माटोको टिका लगाइदिँदै थिए ।

अनलाइनखबरसँग कुरा गर्दै अर्यालले भने, ‘प्रतिरोधको निरन्तरता दिन माटोको टिका लगाएका हौं । यसले हामीलाई विरोध गर्ने थप तागत दिने विश्वास गरेका छौं ।’

अर्यालले कमलपोखरी प्राकृतिक तवरले नै पुनर्निर्माण गरिनुपर्ने मुद्दामा नागरिक समाज र संरक्षणकर्मी अडिग रहने बताए । त्यसका लागि चरणबद्ध आन्दोलन गर्ने तयारी भइरहेको उनी बताउँछन् ।

कमलपोखरीलाई कृतिम पोखरी बनाउन लागिएको भन्दै विरोध गरिएको यो पहिलोपटक भने होइन । यसअघि पोखरीमा रातारात डोजर लगाइएको थियो । त्यसबेला पनि डोजर चलाउन नहुने भन्दै सम्पदा संरक्षणकर्मीले विरोध गरेका थिए । तर महानगरले एकतर्फी रुपमा डोजर लगाएर काम सुरु गरिरहेको थियो ।

यो पनि पढ्नुहोस कमलपोखरीको निर्माणकार्य रोक्न मेयरलाई गगन थापाको पत्र

महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरी नयाँ संरचना बनाउन २०७६ असारबाट सुरु गरेको हो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको ‘धनञ्जय–कँडेल जेभी’ले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

पोखरीको पूर्वतर्फ भ्युप्वाइन्ट राखेर संरचना बन्दैछ । पोखरीमाथि व्यायाम गर्ने, ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने योजना छ । त्यसका लागि रानीपोखरीमा जसरी नै पानी सुकाएर काम गरिँदैछ ।

कमलपोखरीको माटोको टिका लगाएका अभियन्ता तथा संरक्षणकर्मी आउँदो आइतबार काठमाडौं महानगरपालिकामा धर्ना दिने निधो गर्दै कमलपोखरीबाट बाहिरिए ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment