Comments Add Comment
अन्तर्वार्ता :

‘ओलीले राजीनामा दिए नेकपाकै बहुमतको सरकार बन्न सक्छ’

'ओली पक्षका नेताले पहिले प्रधानमन्त्रीलाई राजीनामा गराउनुपर्‍यो'

१४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता रघुजी पन्त राजनीतिक विश्लेषक एवं लेखक पनि हुन् । माधव नेपालका पालामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको भूमिका निभाएका पन्त अझै पनि नेकपाकै बहुमतको सरकार बन्ने सम्भावना देख्छन् । तर, यसका लागि केपी ओलीबाटै पहल हुनुपर्ने पन्तको सुझाव छ ।

‘अहिले पनि राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने कुराको मुख्य एक्टर प्रधानमन्त्री हो’ पन्तले अनलाइनखबरसँग भने, ‘ओलीसँग अहिले सुवर्ण अवसर छ, उहाँले फुटाएको पार्टीलाई फेरि मिलाउने । यसका लागि उहाँले राजीनामा दिने । पहिलाको सहमति कार्यान्वयन गर्न तयार छु, तपाईं प्रधानमन्त्री बन्नुस् भनेर प्रचण्डजीलाई प्रस्ताव गर्ने । त्यसपछि अरु कुरामा छलफल गर्न सकिन्छ ।’

आफैंले मारेको संसदसँग विश्वासको मत लिन्छु र संसद फेस गर्छु भन्दै केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न नमिल्ने पन्तको धारणा छ ।

प्रस्तुत छ- प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य पन्तसँग सामयिक राजनीतिक परिस्थितिबारे गरिएको कुराकानीको सम्पादित अंश :

संसद पुनर्स्थापना भइसकेपछि अबको राजनीतिक कोर्स कता जान्छ भन्नेबारे सघन बहस भइराखेको छ । तपाईंको विचारमा संविधानको धारा ७६(१) अन्तरगत नेकपाकै बहुमतको सरकार बन्ने सम्भावना छ कि छैन ? त्योखालको कसरतमा तपाईं पनि लाग्नुभएको छ भन्ने सुनिन्छ, के हो ?

म त अहिलेसम्म कुनै कसरतमा लाग्या छैन । बिहान-बिहान मर्निङवाक गर्ने हो कहिलेकाहीँ । जहाँसम्म राजनीतिज्ञहरुले कस्तो भूमिका खेल्ने भन्ने कुरा खेलको नियमअनुसार हुन्छ । तपाईं फुटबल खेल्दा भलिबल खेल्न सक्नुहुन्न । तपाईंले गोल गर्न खुट्टैले बल हान्नुपर्छ ।

हाम्रो जुन सिस्टम छ, यो सिस्टमभित्र राजनीतिक खेल खेल्नुपर्छ । त्यो राजनीतिक खेल खेल्ने भनेको संविधानको स्पिरिट र भावनाअनुसार हुनुपर्छ । हाम्रो संसद, संविधान, हाम्रो राजनीतिक प्रणाली र अहिलेको अदालतको फैसलाले के भन्छ त भन्दा यो सुधारिएको संसदीय व्यवस्था हो । हामी संसदीय व्यवस्थामा छौं । संसदीय व्यवस्थाका आधारभूत कुरा सबैले स्वीकार्नुपर्छ । माधवले पनि स्वीकार्नुपर्छ, प्रचण्डजीले पनि स्वीकार्नुपर्छ । केपीले पनि स्वीकार्नुपर्छ र शेरबहादुरले पनि स्वीकार्नुपर्छ । अरु पार्टीका  नेताहरुले पनि स्वीकार्नुपर्छ ।

यो समयमा अब प्रधानमन्त्री ओलीले खेल्नुपर्ने भूमिकाचाहिँ के हो ?

तपाईंले आफूले असमयमा प्रतिनिधिसभालाई झुक्याएर घाँटी रेट्नुभयो । यो संसदलाई अस्पतालको बेडमा उपचार गरेर ज्युँदो बनाएर सर्वोच्च अदालतले पठायो । तपाईं कुन नैतिकताले यो संसदसँग विश्वासको मत माग्नुहुन्छ ? अलिकति विचार गर्नुपर्दैन प्रधानमन्त्रीले ? प्रधानमन्त्रीको त कुनै नैतिक ग्राउण्ड नै छैन, अहिले प्रधानमन्त्री भएर बस्ने । जुन प्रतिनिधिसभालाई उहाँले मार्नुभयो, कुन नैतिक ग्राउण्ड छ र मलाई सपोर्ट गर भन्ने ठाउँ छ उहाँले ?

जुन साँझ सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गर्‍यो, उहाँले तत्काल राष्ट्रपतिकहाँ राजीनामा गरेर आउनुपर्थ्यो । अहिलेको हामीले अपनाएको राजनीतिक प्रणाली र संविधानको स्पिरिट यो हो । तर, केपीजीलाई त लाग्दैन कुनै पनि कुरा । मलाई त अचम्म लाग्छ, कि त्यहाँ त केपीजीसँगै बुझ्ने साथीहरु छन् । किन केपीजीले राजीनामा दिनुपर्छ भन्न सकिरहेका छैनन् ? किन सार्वजनिकरुपमा बोल्न सकिरहेका छैनन् ? केपीजीको विरोध गर्दा तुरुन्तै कट्टु नै भिजाउनुपर्ने अवस्था किन आएको ती साथीहरुमा मैले बुझ्या छैन । यो बडो दुःखद अवस्था हो ।

हिजो माधव नेपालसँग बहुमत हुँदा तपाईंले राजीनामा दिनुपर्छ भनेर सल्लाह दिनेमा सुवास नेम्वाङ पनि हुनुहुन्थ्यो । प्रदीप ज्ञवाली र विष्णु रिमालले गएर राजीनामा दिनुस् भन्नुभयो । संविधानसभा त्यतिकै संविधान नबनाई भंग हुन्छ भने बरु तपाईंले छोड्नु उपयुक्त हुन्छ भनियो । माधव नेपाललाई त्यति सजिलो गरी सल्लाह दिन सक्ने, त्यसो भन्न सक्ने साथीहरु केपीजीलाई अब राजीनामा दिनुस् भन्न किन सक्दैनन् ?

जबकि त्योबेला त माधव नेपालसँग मज्जाले संविधानसभामा बहुमत थियो । उहाँलाई समर्थन गरेका कुनै पनि दलले समर्थन फिर्ता लिएका थिएनन् । म छोडौं कि भन्दा पनि नछोड भनिरहेका थिए । त्यस्त्ाो बेलामा पनि माधव नेपालले ‘ल मेरो कारणले डेडलक नहोस् र संविधान बन्छ भने म छोड्छु भनेर छोड्नुभयो । ६/७ महिनासम्म सरकार बन्न सकेन । अहिले केपी ओलीजीले राजीनामा दिनुस्, २४ घण्टाभित्र अर्को सरकार बन्छ । यो एउटा प्वाइन्ट भयो ।

अर्को, केपी ओलीसँग अहिले सुवर्ण अवसर छ, उहाँले फुटाएको पार्टीलाई फेरि मिलाउने । यसका लागि उहाँले राजीनामा दिने । पहिलाको सहमति कार्यान्वयन गर्न तयार छु, तपाईं प्रधानमन्त्री बन्नुस् भनेर प्रचण्डजीलाई प्रस्ताव गर्ने । त्यसपछि त अरु कुरामा छलफल गर्न सकिन्छ नि । त्यो पहिलो स्टेप केपीजीले चाल्नुपर्छ । केपीजीले राजीनामा गरेर प्रचण्डजीलाई म समर्थन गर्छु, तपाईं प्रधानमन्त्री हुनुस् भन्नुपर्छ । त्यसपछि बसेर छलफल गर्ने ठाउँ बन्छ ।

भनेपछि, ओलीले प्रधानमन्त्रीबाट, संसदीय दलको नेताबाट र नेकपाको अध्यक्ष तीनै ठाउँबाट दिनुपर्यो ?

होइन, कोर्ष करेक्सन गर्ने दिशातिर जाने हो भने त्यही ढङ्गले सबैले सोच्नुपर्छ । पछि के गर्ने, अगाडि के गर्ने, पछि बसेर छलफल गरौंला । तर, पहिलो स्टेप भनेको उहाँले आफूले राजीनामा दिने, प्रचण्डजीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने । त्यो भयो भने अरु विषयमा बसेर छलफल गर्न सकिन्छ नि । त्यो भयो भने त बस्ने वातावरण बन्छ नि । अहिले त बस्ने वातावरण नै छैन ।

मलाई लागिरहेको छ कि केपीजीले कोर्ष करेक्सन गरेर वामपन्थीकै सरकार बन्यो भने यो जनताको भावनाअनुरुप, जनादेशअनुरुप हुन्छ । तर, शीर्ष नेताहरुका बीचमा कुनै कुराकानी छैन । अहिले त कस्तो छ भन्दा शेरबहादुरजी गजक्क फुलेर बस्नुभा’छ । उहाँलाई प्रधानमन्त्रीको अफर गर्यागर्यै छ । तर, यसो हेर्दा उहाँको सेटिङ ओलीजीकै समर्थनमा बन्ने हो कि भन्ने आशंका देखिन्छ ।

देउवाको भन्दा पनि ओलीकै कुरो गरौं । ओलीले प्रतिनिधिसभा विघटन गरे, पार्टीलाई यत्रो तहस-नहस बनाए, अब फेरि माधव नेपाल र प्रचण्डले केपीसँग तपाईं प्रधानमन्त्रीबाट राजीनामा दिनुस्, हामीलाई प्रधानमन्त्री बनाउनोस् भन्दै जाने स्थिति छ त ? केपी ओलीले दिन्छन् जस्तो लाग्छ अझै तपाईहरुलाई ?

माधव नेपाल र प्रचण्ड जानुहुन्न । यो समस्या सुरु भएको त केपी ओलीको संसद विघटन गर्ने कामबाट हो नि । त्यसैले करेक्सन उहाँ (ओलीजी) ले गर्नुपर्यो ।

गर्नुहुन्छ जस्तो लाग्छ केपी ओलीले करेक्सन ?

होइन, भनिदिने हो हामीले । गर्नुहुन्छ, गर्नुहुन्न । उहाँको स्वभाव हेर्दा गर्नुहुन्न । तर, उहाँले अझै पनि देश, जनता र पार्टीको हित सोच्छु, बामपन्थी आन्दोलनको हितमा सोच्छु, मैले गर्नुपर्छ भन्ने उहाँलाई लाग्यो भने उहाँले राजीनामा गर्ने र उहाँले अफर गर्ने हो । वार्ताको पहल पनि उहाँले गर्ने हो । ल, म राजीनामा गर्छु, तपाईंहरुमध्ये कोही एकजना प्रधानमन्त्री बन्नुस् भनेर प्रस्ताव पनि उहाँले गर्ने हो । त्यसो हो भने जनादेशअनुरुपको निर्णय हुन्छ ।

मैले बोलिरहेको कुरा सम्भवतः प्रचण्ड, माधवजीलाई पनि मन नपर्ला । तर, हामी त नेता पनि हौं । हाम्रो त सबैभन्दा टड्कारो कुरा, देश र जनताको हितमा ध्यानमा राख्ने हो । राजनीतिक स्थिरतालाई ध्यानमा राख्ने हो । मुलुकको संविधान राम्ररी क्रियाशील होस् भन्ने कुरालाई ध्यानमा राख्ने हो । त्यो कुरालाई ध्यानमा राख्ने हो भने यो गर्नुपर्छ । र, गर्ने मान्छे अरु होइन, माधव, प्रचण्ड, शेरबहादुरजी होइन, गर्ने मान्छे त केपीजी हो ।

पुस ५ मा संसद भंग भएपछि धेरै पानी बगिसकेको छ । तपाईं आफैँ पनि नागरिक आन्दोलनमा जानुभएको थियो, तपाईं पनि पानीमा भिज्नुभयो प्रहरीको कुटाइ खानुभयो । अझै पनि तपाईंहरु के भन्दै हुनुहुन्छ भने, केपी ओली सच्चिनुपर्छ र राजीनामा दिनुपर्छ । केपी ओलीले वातावरण बनाउनुपर्छ । अझै पनि तपाईहरुलाई केपी ओली सच्चिने आश छ है ?

आश होइन । तपाईंले इमान्दार भएर मुलुक र जनतालाई ध्यानमा राख्दा के भन्नुहुन्छ ? तपाईं आम कार्यकर्ता र आम मतदाताको बीचमा जानुभयो भने उनीहरु के भन्छन् ? ‘सम्भव छ भने अझै पनि मिल भन्छन् । मिल्न धेरै गाह्रो छ । तर, कार्यकर्ता र आम जनताको चाहना यही छ । हामी नेताहरु, केपी ओलीबाट पीडित मान्छे म पनि हुँ नि एउटा । तर, त्यो मेरो पीडा महत्वपूर्ण हो कि, देश र जनताको आवश्यकताको कुरा महत्वपूर्ण हो ?

त्यसोभए ओलीजीले राजीनामा दिनुभयो र नेकपाकै सरकार बनोस् भनेर प्रस्ताव गर्नुभयो, पार्टीले प्रधानमन्त्री जसलाई बनाउँछ, बनाओस् भन्नुभयो भने संविधानको धारा ७६ -१) अन्तरगतको बहुमतको नेकपा सरकार बन्छ ?

अहिलेको जटिलता के हो भने पार्टी विभाजित भयो संगठनात्मक रुपबाट । पार्टी विभाजित भयो राजनीतिक रुपबाट । तर, संवैधानिक र कानुनीरुपले पार्टी विभाजन भएको छैन भन्ने एउटा तर्क बलबान रुपमा आइरहेको छ । तर, उहाँले त्यो गर्नुभयो भने  राजनीति भनेको त हेर्नुस, नेताहरुको कामले पोसिसी निर्माण गर्ने हो । सार्मथ्यशाली नेता, बुद्धिमान नेता त्यही हो, जसले आफ्नो काम र आफ्नो कामकारबाहीले राजनीतिक परिस्थितिलाई बदल्छ ।

सार्मथ्यशाली र बुद्धिमान त संसद विघटन गर्दैखेरि….

केपी ओलीजीको स्टेप त असंवैधानिक भनेर अदालतले भनिसक्यो नि । तिमीले असंवैधानिक स्टेप चाल्यौ भनेको मान्छेले म अझै पनि रहिरहन्छु भन्न मिल्छ ? मिल्दैन नि लोकतन्त्रमा । यो त रियलाइज गर्नुपर्यो नि उहाँले ।

असंवैधानिक तिम्रो स्टेप भन्ने कुरा त सर्वोच्चले एकमतले भन्यो त । उहाँले जब त्यो स्टेप चाल्नुभयो नि, सर्वोच्चले असंवैधानिक भनेपछि नैतिकरुपमा उहाँ (प्रधानमन्त्री) मा बस्न मिल्दैन । बस्न हुँदैन । भनेपछि, फोहोरी खेल किन खेल्ने राजनीतिको ? उहाँको त दाउ म के देख्छु भन्दा अझै पनि यो संविधानलाई असफल पार्ने गतिविधिमा उहाँको इन्ट्रेस्ट छ । संसदभित्र सरकार बन्न नदिएर फेरि पनि निर्वाचनमा जाने र यो संविधानलाई असफल बनाउने प्रयत्न पो हो कि उहाँको ? मलाई शंका लागिरहेको छ ।

केपीजीसँग जति साथीहरु रहेका छन्, ती सबै खराब छन् भन्ने म ठान्दिनँ । आफ्नो रुची, आ-आफ्नो मन परेका कारणले कन्भिन्सका कारणले कोही यता लागे, कोही उता लागे । यता र उता लाग्दैमा यिनीहरुका बीचमा कुनै संवाद नै हुनुहुन्न भन्ने पनि म ठान्दिनँ । तर, यसरी ती साथीहरुले पनि सोच्ने हो भने उहाँहरुले भन्नुपर्छ । सुवास नेम्वाङले भन्नुपर्‍यो । ईश्वर पोखरेलले भन्नुपर्‍यो । शंकर पोखरेल, प्रदीप ज्ञवालीले भन नसक्नुपर्‍यो नि- कि तपाईं राजीनामा गर्नुस् । पार्टी एकताको सम्भावना छ भने एकतातिर पहल गर्नुस् । र, त्यसको आधार भनेको तपाईंले राजीनामा दिने हो । राजीनामा दिएपछि धेरै कुराहरु खुल्छ भनेर भन्नपर्‍यो । तर, भन्न सक्दैनन् ।

हामी त भन्छौं । मैले माधव नेपाल र प्रचण्डलाई नेता मान्या हो । तर, माधव नेपाल र प्रचण्डको सामू बोल्नै नसक्ने भएको होइन नि । उहाँहरुसँग तर्क गरिन्छ । उहाँहरुका अगाडि तर्क गरिराख्या पनि हो ।

प्रधानमन्त्री ओलीले आफैं नैतिकरुपमा जान्नुपर्ने । नभए, उहाँका नजिककाले उहाँलाई राजीनामा दिनोस् भन्नुपर्ने र उहाँले तत्काल राजीनामा दिएर अर्को वातावरण बनाइदिने । यो लोकतन्त्रको स्पिरिट हो भन्ने कुरासम्म मानियो । तर, ओलीजीले भनिसक्नुभयो, म राजीनामा दिँदै दिन्नँ । के जितेर लड्डु खाएका हुन्, म हेर्छु भनिसक्नुभयो । प्रधानमन्त्रीजीले छोड्नु नै भएन भने उहाँलाई कसरी हटाउनुहुन्छ तपाईंहरु ?

यसका संवैधानिक पाटा पनि छन्, राजनीतिक पाटा पनि छन् । यसलाई म विस्तृतमा भन्न चाहन्नँ । उहाँले राजीनामा दिन्नँ, म फेस गर्छु भन्नुभयो भने त्यो टसल हो । अर्काे टसलको बाटो हो । त्यो टसलको संवैधानिक पाटो पनि छ, राजनीतिक तरिकाले टसल गर्ने पाटो छ । संवैधानिक र राजनीतिक एक ठाउँमा आएर टसल गर्ने बाटो छ । त्यसकारण अनेक उपायहरु छन् । त्यो आइसकेपछि त्यसबारेमा चर्चा गरौंला । उहाँले लानै खोजेको चाहीँ त्यतै देख्छु म । तर, म भन्छु, जनमतले बलियो गरी बोल्नुपर्‍यो । नागरिक समाजले पनि बोल्नुपर्‍यो । अब त तिमी नैतिकरुपमा पनि राजनीति गर्ने अधिकार राख्दैनौ भन्न सक्नुपर्‍यो क्या !

यति भइसकेपछि पनि उहाँलाई संसद फेस गर्ने अधिकार छैन । उहाँलाई त्यस्तो लाग्छ भने राजीनामा गरेर उहाँकै आफ्नो समूहको अर्को प्रधानमन्त्री अगाडि सार्नुस न । तर, उहाँले त्यो स्टेप डाउन गर्नुपर्‍यो । उहाँले त नैतिकरुपमा बस्ने ठाउँ नै छैन ।

ओलीले आफ्नो समूहबाट ईश्वर पोखरेललाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गर्नुभयो भने नि ?

सक्नुहुन्छ । ल म राजीनामा गर्छु भन्नुपर्‍यो । उहाँले आफूलाई निरन्तर रहने त आधारै छैन । न संवैधानिक आधार छ, न राजनीतिक आधार छ । न नैतिक आधार छ । सर्वोच्च अदालतको फैसलाले प्रष्ट भन्यो, प्रधानमन्त्रीको यो कदम असंवैधानिक छ ।

नैतिक, राजनीतिक, संवैधानिक आधारहरु टेकेर काम गर्ने भए त केपी ओलीजीले अहिलेसम्म यस्तोे गर्नु नै हुन्नथ्यो । संवैधानिक परिषदमा नियुक्तिदेखि लिएर संसद विघटनसम्म हेर्दा सबै देखिइसक्यो ।  अब फेरि नागरिक आन्दोलन पो जरुरी भयो कि क्या हो ?

। उहाँले संविधानको बाटो छोड्नुभयो । राजनीतिक बाटो छोड्नुभयो । नैतिकताको बाटो छोड्नुभयो । तर, हामीले त छोड्ने होइन नि । हामीले संविधानमा आधारित भएर, राजनीतिमा आधारित भएर, नैतिकतामा आधारित भएर उहाँसँग राजीनामा माग्ने हो । यी मोरल ग्राउण्डमा तपाई प्रधानमन्त्री हुने ठाउँ छैन, छोड्नुस् तपाई राजीनामा गर्नुस् भन्ने हो । पार्टी एक प्रकारले फुटिसकेको छ, तपाईं आफ्नो उम्मेदवार सार्नुस् ।

प्रधानमन्त्रीले राजीनामा दिन्नँ त भनिसक्नुभयो । अब राजनीतिक कोर्स कसरी अगाडि बढ्छ ?

दिन्नँ भनेर त उहाँले प्रष्ट भन्नुभएको छैन, उहाँका वरपरका मान्छेले भनेका छन् । उहाँको गतिविधि हेर्दा संसद फेस गर्ने नै देखिन्छ । अथवा फेस गर्ने, के गर्ने, उहाँ हिसाब-किताबमा हुनुहुन्छ ।

मेरो भनाइ के हो भने राजनीति सबै हिसाब-किताब र सेटिङमा मात्रै चल्दैन । उहाँहरुले जसरी सेटिङमा षडयन्त्रको राजनीति सुरु गर्नुभयो, यसले हाम्रो लोकतन्त्रलाई कमजोर बनायो । हाम्रो संविधानलाई कमजोर बनायो । अहिलेको संविधान र लोकतन्त्रलाई बलियो बनाउने, संवैधानिक निकायहरुलाई बलियो बनाउने हो उहाँ (केपी) ले स्टेप डाउन गर्नुपर्‍यो । ठीक छ, प्रचण्ड माधवजीलाई नै बनाउन परेन …. ।

ओलीलाई हटाउन चाहिँ सकिँदैन ?

त्यो प्रक्रियामा पनि जान्छौं हामी ।

पार्टीको संसदीय दलले नसके सिधै प्रतिनिधिसभाले हटाइदिन्छ ?

उहाँले स्टेप डाउन गर्नुभएन भने त्यो प्रक्रियामा जान बाध्यात्मक अवस्था आइलाग्छ ।

यी सबै नमिठा कुराहरु हाम्रा अगाडि छँदैछन् । यी तीता दृश्यहरु, अलिकति नराम्रा दृश्यहरु श्रङ्खलावद्ध भएर फिल्मको रिलझैँ आइराख्छन् । तर, राजनीतिकज्ञ त्यो हो, जसले ती दृश्यका ठाउँमा अर्को दृश्य ल्याउन सक्छ कि सक्दैन । त्यो ल्याउने ठाउँमा केपी ओली हुनुहुन्छ ।

संसद पुनस्थापना भयो भने सांसद किनबेच लगायतको फोहोरी खेल हुने र प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री दिन नसक्ने भनेर ओलीजीले पहिलेदेखि नै भन्दै आउनुभएको छ । अब प्रचण्ड-माधव समूहमा प्रधानमन्त्रीको विषयमा झगडा हुन्छ कि हुँदैन ? नयाँ प्रधानमन्त्री दिन तपाईंहरु सक्नुहुन्छ ?

झगडा हुँदैन । प्रधानमन्त्री दिन हामी सक्छौं । प्रधानमन्त्री हुने उम्मेदवार त हामीसँग छन्, तीनजना प्रधानमन्त्री भइसक्या मान्छे छन् । तर, अहिले प्रचण्डजी, माधवजी र झलनाथजी पनि आफूहरु नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मान्यतामा हुनुहुन्न । उहाँहरुको कुरा के छ भने प्रतिगमनको दिशातर्फ उन्मुख भएको कदमको विरुद्धमा जो जति शक्तिहरु छन्, तिनीहरुको साझा सरकार बनोस् । ता कि संविधानलाई बलियो बनाउन सकियोस् । लोकतन्त्रलाई बलियो बनाउन सकियोस् । त्यसका लागि मै प्रधानमन्त्री हुनुपर्छ भन्ने मान्यतामा हामी जानुहुन्न । हामी प्रधानमन्त्री नलिन तयार छौं । उहाँहरु प्रधानमन्त्री छोड्न सहर्ष तयार हुनुहुन्छ ।

उहाँहरुको प्रयत्न जसपा, कांग्रेस, नेकपा लगायत अरु साना दलहरु, जो संसदभित्र छन्, तिनीहरुको साझा सरकार बन्छ भने बनाउने भन्ने छ । उहाँहरु कसैले पनि आफूलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुभएको छैन ।

तपाईको कुरामा अलिकति विरोधाभाष देखियो । एकातिर भन्दै हुनुहुन्छ, ओलीजीले राजीनामा दिएर मार्गप्रशस्त गरेपछि नेकपाकै बहुमतको सरकार बन्न सक्छ । अर्कोतिर भन्दै हुनुहुन्छ, प्रतिगमनविरुद्ध लागेकाहरुको संयुक्त राष्ट्रिय सरकार बनाउनुपर्छ । प्राथमिकता कुनलाई दिने त ?

होइन । म त केपीजीले गर्नुपर्छ भन्ने सन्दर्भमा गएको हो । उहाँ कम्युनिस्ट आन्दोलनको हितमा अनेक कुरा गर्नुहुन्छ नि त । त्यो कुरा गर्ने हो भने, उहाँ देश, जनता र जनादेशको पक्षमा हो भने उहाँले गर्ने काम त्यो (राजीनामा) हो ।

त्यो सम्भावना कति छ ?

त्यो सम्भावना कम छ ।

उसोभए, राष्ट्रिय सरकार बन्ने सम्भावना नै बढी देख्नुहुन्छ ?

राष्ट्रिय सरकारभन्दा पनि संयुक्त सरकार । संयुक्त सरकार बन्ने सम्भावना बढी देख्छु म ।

नेकपाकै बहुमतको सरकार बनाउने-नबनाउने चाहिँ केपी ओलीकै कोर्टमा छ भन्ने तपाईको निश्कर्ष हो ?

ओलीजीको कोर्टमा छ । अहिले पनि राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने कुराको मुख्य एक्टर प्रधानमन्त्री हो । प्रधानमन्त्रीको पदमा रहेका कारणले ओली जी हो ।

एकातिर ओलीजी राजीनामा दिन्नँ, अझै भिड्छु भन्दै हुनुहुन्छ । अर्कोतिर शंकर पोखरेललगायतका केही नेताहरु नेकपालाई मिलाएर लानुपर्छ भन्दै हिँड्नथाल्नुभएको सुनिन्छ । फेरि नेकपाकै सरकार चाहने हो भने पहिले ओलीलाई राजीनामा गराउनुपर्छ या ओलीकै नेतृत्वमा तपाईहरु पनि जाने ?

भित्रभित्र के गर्नुभएको छ थाहा छैन । मेरो ठोस कुराकानी भएको छैन । ओलीजीसंँ रहेका कतिपय साथीहरु उहाँहरुको संवेदनशीलताको म कदर गर्छु । पार्टी नफुटिदिए हुन्थ्यो, पार्टी मिल्ने ठाउँ कतै छ भने त्यसलाई खोजौं भन्ने चिन्तनमा केही मान्छेहरु त पक्कै पनि होलान् । तर, यसका लागि पहिले ओलीजीलाई राजीनामा गराउनुपर्‍यो । ओलीजीले त संसदीय व्यवस्थाको स्पिरिटअनुसार कसरी प्रधानमन्त्री पदमा बस्ने ? उहाँको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसक्यो ।

उहाँहरु, प्रदीप ज्ञवालीजी, शंकर पोखरेलजी, सुवास नेम्वाङजी, ईश्वर पोखरेलजीहरुले प्रधानमन्त्रीलाई सबैभन्दा पहिला तपाईंले नैतिकताका आधारमा राजीनामा गर्नुस् भन्नुपर्छ । म माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो भने यसै भन्थेँ । अरु प्रोसेस त्यसपछि सुरु गर्ने हो ।

किनभने, देशले त उहाँलाई प्रधानमन्त्री मानिराख्नुपर्ने कुनै नैतिक आधार छैन । उहाँ बसिराख्नुभएको छ, त्यो अलग कुरा हो । त्यसकारण ओली नजिकका मान्छेहरुले भन्ने पहिलो कुरा यो हो- प्रधानमन्त्रीले राजीनामा गर्नुस् ।

तपाईंले यी कुराहरु ओलीजीका मान्छेहरुसँग भनिदिनुभएको छैन ? उहाँहरुसँग संवाद हुँदैन ?

यसलाई अहिले सार्वजनिक रुपमा नभनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment