Comments Add Comment

रवीन्द्र अधिकारीको निधनपछि अलपत्र परेको चुहानडाँडा विमानस्थल

१६ फागुन, काठमाडौं । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी १५ फागुन २०७५ बिहान तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडा विमानस्थल पुगेका थिए । उनको हातमा थियो ८७ करोड रुपैयाँको लागत अनुमानको कागज र विमानस्थलको नक्सा ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थलसमेत रहेको आठराईमा पुगेर त्यो दिन मन्त्री अधिकारीले भनेका थिए, ‘म प्रधानमन्त्रीले नै पठाएर यहाँ आएको हुँ, तीन वर्षभित्र विमानस्थल बन्छ, यो स्थानको समृद्धिको ढोका खुल्छ ।’

चुहानडाँडामा ११ मिनेट भाषण गरेर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि पुगेका मन्त्री अधिकारीसहित पर्यटन क्षेत्रका ६ जना चढेको हेलिकप्टर त्यही दिन दुर्घटनामा पर्‍यो । उक्त दुर्घटना भएको शनिबार दुई वर्ष पूरा भएको छ । तर त्यस दिनदेखि चुहानडाँडा विमानस्थल पुनः प्रधानमन्त्री र सरकारको प्राथमिकतामा परेको छैन ।

तत्कालिन पर्यटनमन्त्री अधिकारीले ३ वर्षमा काम सक्ने लक्ष्य सुनाएको २ वर्ष पूरा हुँदा पनि चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन पनि सुरु भएको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि यो वर्ष बजेट विनियोजन भएको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि यो विमानस्थललाई समावेश गरेको थियो ।

तेह्रथुमको आठराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेका अनुसार यो आयोजना केन्द्र सरकारकै जिम्मामा रहेका कारण स्थानीय तहले काम अघि बढाउन सक्दैन ।

न प्रधानमन्त्रीले सुने, न मन्त्रीले

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिन तेह्रथुमको आठराईमै मनाएका थिए । जन्मदिन मनाउन हेलिकप्टर चढेर पुगेका प्रधानमन्त्रीले भनेका थिए, ‘चुहानडाँडा विमानस्थलको काम छिट्टै सम्पन्न हुन्छ ।’

विमानस्थल आयोजना सरोकार समितिका संयोजक तथा प्रदेश सांसद तेजमान कन्दङ्वाका अनुसार यो विमानस्थल आयोजना २०३२ सालदेखिकै हो । तर, कुनै पनि सरकारले प्राथमिकता नदिँदा जहाँको त्यहीँ रह्यो ।

केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएपछि पुनः विमानस्थल आयोजनाले गति लिने संकेत देखिएको थियो । तर, तत्कालिन पर्यटनमन्त्री अधिकारीको निधनपछि प्रधानमन्त्री र त्यसपछिका पर्यटनमन्त्री योगेश भट्टराईले त्यति प्राथमिकता नदिएको गुनासो जनप्रतिनिधिको छ ।

‘हामीले रवीन्द्र माननीयको दुर्घटनापछि केन्द्रमा गएर योगेश भट्टराईलाई भेट्यौं,’ सांसद कन्दङ्वाले भने, ‘उहाँले वातावरणीय प्रभाव अध्ययनको काम वन मन्त्रालयमा रोकिएको जानकारी गराउनुभयो, त्यो भन्दा अरु काम केही भएको छैन ।’

आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वाका अनुसार सबै काम संघीय सरकारकै हातमा छ । स्थानीय तहले जग्गा व्यवस्थापनलगायतको काम गरेको छ ।

स्थानीय वासिन्दाले तत्कालिन प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र सुशील कोइरालालाई भेटेर विमानस्थल निर्माण अगाडि बढाउन आग्रह गरेको थियो । प्रदेश सांसद कन्दङ्वाका अनुसार वर्तमान पर्यटनमन्त्री भानुभक्त ढकाल पनि तेह्रथुमकै भएकाले विमानस्थल निर्माण हुने आशामा स्थानीय वासिन्दा छन् ।

वन मन्त्रालयमा गएर अड्किएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन र सम्भाव्यता अध्ययनको कामलाई गति दिन स्थानीय स्तरबाट दबाव दिने कन्दङ्वाले बताए । विमानस्थलका लागि छुट्याइएको कुल २ सय ७१ रोपनी जग्गामध्ये १० रोपनी निजी जग्गा हो । उनीहरुसमेत विमानस्थललाई जग्गा दिन तयार रहेको सांसद कन्दङ्वा बताउँछन् ।

तीन जिल्लाका बासिन्दालाई फाइदा

यो विमानस्थल निर्माण भएपछि ताप्लेजुङ, तेह्रथुम र पाँचथरका अधिकांश भेगका वासिन्दा लाभान्वित हुनेछन् । सोही कारण व्यक्तिगत जग्गासमेत दिएर स्थानीयले आयोजनाको स्वागत गरिरहेको प्रदेश सांसद कन्दङ्वाले बताए ।

‘यो आवश्यकताका आधारमा अगाडि बढेको विकास आयोजना हो’, उनले भने ‘जुनसुकै परिस्थिति आएपनि आयोजना अगाडि बढाउनुपर्छ, हामी निरन्तर दबाव दिइरहनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment