Comments Add Comment

के हामी बेहोसीमा बाँचिरहेका छौं ?

त्यो बेला म भर्खर योग सिक्न थालेकी थिएँ । बनेपाको एक आश्रममा योग सिकाउने काश्मिरी गुरु हुनुहुन्थ्यो । उहाँले आसन, प्राणायाम सिकाउनुहुन्छ भन्ने लागेको थियो । तर जब गुरुको सम्मुखमा पुगें, उहाँले भन्नुभयो, ‘बाहिर ठूलो रुख छ, त्यस रुखलाई पन्ध्र मिनेट जति हेरेर आउँ । रुखले केही बोलिरहेको छ ।’

म आज्ञाकारी बालक झै नजिकै गएर एउटा रुखलाई टुलुटुलु हेरिरहेँ । रुख जति हेरेपनि उही हो । त्यो कसरी बोल्छ ? के बोल्छ ? कतिबेला बोल्छ ? म रनभुल्लमा परें ।

फर्किएर गुरुकहाँ आएपछि सोध्नुभयो, ‘के पायौं त रुखमा ?’

म चुपचाप उभिरहें । गुरुले अलि हप्काए झै गरेर भन्नुभयो, ‘मूर्ख ! रुखले तिमीसँग कति धेरै कुरा भन्यो । तर, तिमीले बुझेनौं । किनभने तिमी होशमा छैनौं ।’

मलाई उहाँको कुरा रहस्यमयी लाग्यो । उत्तिकै द्विविधाग्रस्त पनि । मैले केही बुझिरहेको छैन । गुरुले विस्तारमा भन्नुभयो, ‘रुखको फेदमा हाँगाबिगा र पातहरु झ्याम्मिएका छन् । त्यो ठूलो वृत्तमा छ । क्रमस त्यसको टुप्पोतिर सानो हुँदै गएको छ । र, टुप्पोमा पुगेपछि त्यो सानो सुइरो जस्तो भएको छ ।’

म सुनिरहें ।

‘यसरी नै हामीले आफ्नो ज्ञान, दक्षता, क्षमता, सीप निखार्दै जानुपर्छ । अनाश्यक कुराहरुलाई छाड्दै अग्लिनुपर्छ । अनि त्यो सर्वोच्वमा पुग्नुपर्छ ।’ रुखको प्राकृतिक बनौटलाई उदाहरण दिदै उहाँले यसै भन्नुभयो । त्यसपछि फेरी थप्नुभयो । ‘रुखले हामीलाई अक्सिजन दिन्छ, फल दिन्छ, घाँस दाउरा दिन्छ, पातपत्तिङ्गार वा मल दिन्छ । तर, उसले त्यस बापत कुनै अपेक्षा राख्दैन । केवल दिन्छ ।’

उहाँको कुरा घतलाग्दो भएपनि योगसँग यसको कुनै सम्बन्ध छैन भन्ने लाग्यो । तर, दिनहरु बित्दै जाँदा मैले थाहा पाएँ कि, वास्तवमा योग भनेकै यही रहेछ । अर्थात कुनैपनि कुरालाई सचेतपूर्वक हेर्नु, बुझ्नु र महसुष गर्नु नै योग रहेछ । सुरुमा मैले रुखलाई केवल जड आँखाले हेरें । रुख मेरो लागि एक रुख भन्दा केही थिएन । तर, जब गुरुले रुखलाई सचेतपूर्वक हेर्ने विधी सिकाउनुभयो, त्यसपछि रुखलाई मैले आँखाले मात्र होइन, मन र भावनाले पनि हेर्न थालें ।’

योगको शाब्दिक अर्थ जोडिनु हो । शरीर र मन आपसमा जोडिनु । रुखपात, जीवजन्तु, किरा फट्याङ्ग्रासँग भावनात्मक रुपले जोडिनु । अर्थात चराचर जगतसँग जोडिनु ।

तर, जोडिने कसरी त ?

सृजना शर्मा

यसका लागि सुरुमा त आफुलाई शुद्धिकरण गर्ने हो । शरीर र मनको विकारलाई पखाल्नुपर्छ । शरीर जीर्ण र रोगी भएको छ । हाम्रो विचार, भावना अनेकथरी कुराले भरिएको छ । चेतनाको भण्डार अनावश्यक कुराहरुको डस्बिन भएको छ । यी सबै कुरालाई हटाएर, पखालेर शुद्धिकरण गर्नुपर्छ ।

शुद्धिकरण कसरी हुन्छ त ?

सही खानपान, सही जीवनशैली, सही चिन्तनले शरीर र मन शुद्धिकरण हुन्छ । यसका लागि व्यायाम, योग आसन, प्राणायाम, ध्यानका विधी अपनाउनुपर्छ ।

सही खानपान र जीवनशैलीले शरीरको विकार हट्छ । व्यायामले शरीर जीर्ण हुँदैन । जोर्नी र मांशपेशी लचिलो हुन्छ । योग–आसनले शरीरका अंग–प्रत्याङ्ग जागरुक र तन्दुरुस्त हुन्छ । प्राणायामले शरीरमा शुद्ध वायु प्राप्त हुन्छ । त्यसपछि ध्यानले हामीलाई तन्द्राबाट ब्युँझाउँछ । बेहोसीबाट ब्युँझाउँछ ।

सारमा भन्नुपर्दा योगले होसमा बाँच्न सिकाउँछ । कुनैपनि कुरालाई सचेतनापूर्वक हेर्न सिकाउँछ ।

चाहे त्यो रुख होस् वा जीवजन्तु । धर्तीमा जे–जति अस्तित्वमा छन्, ति सबैसँग एकाकार हुनुपर्छ । सबैसँग भावनात्मक रुपले एकढिक्का भएर बाँच्नुपर्छ । रुख बिरुवासँग पनि चेतना छ, कुकुर–बिरालोसँग पनि भावना छ । हामीलाई जसरी दुख्छ, उनीहरुलाई पनि त्यसरी नै दुख्छ । योगले यसै भन्छ । र, यी सबैसँग आपसमा जोडिएर बाँच्न प्रेरित गर्छ ।

योग भन्नसाथ धेरैले यसका आसन मात्र हो भनेर बुझ्छन् । आसन र त्यसबा विधीहरु, प्राणायाम अनि ध्यान भनेको योगको एउटा अंश मात्र हुन् । चराचर जगतसँग जोडिएर वर्तमानमा बाँच्नु नै योगको ध्येय हो ।

हामी विगत सम्झेर बिलौना गर्छौं । पछुतो गर्छौं । भविष्यसँग डराउँछौं । वर्तमानमा कसरी बाँच्ने ? भेउ पाइरहेका हुँदैनौं । योगले हामीलाई वर्तमान अर्थात आजको दिनमा, अहिलेको क्षणमा, अहिलेको पलमा होसपूर्वक बाँच्न भन्छ ।

यो पल मात्र हाम्रो हो । हिजोको कुरा कहिल्यै फर्केर आउँदै । भोलि अनिश्चित छ । हिजो र भोलिबाट किन बिचलित हुने ? आजको पललाई सचेत र आनन्दपूर्वक अनुभव गर्ने हो ।

भोलिलाई सोचेर हामी यति डराइरहेका हुन्छौं कि, वर्तमानको खुसी पनि त्यसले हरण गरिरहेको हुन्छ । आज भात खाने फुर्सद हुँदैन । भातको स्वाद अनुभव गर्ने फुर्सद हुँदैन । आज आरमसाथ बालबच्चासँग रमाउने फुर्सद हुँदैन । किन ?

किनभने हामीलाई भविष्य सुरक्षित गर्नुछ । भविष्यकै खातिर हामी यसरी भागदौड गरिरहेका हुन्छौं कि, वर्तमान एवं आजको पल यत्तिकै गुज्रिन्छ । साथीभाई बैरी बनाउँछौं । आफन्तसँग टाढिन्छौं । धनदौलतको थुप्रो लगाउँछौं । यो चक्करमा हामी यति धेरै भुल्छौं कि, जीवनको घडी समाप्त भएको भेउ नै पाउँदैनौं । मृत्यु हुँदा त हामी रित्तो हुन्छौं ।

मेरो भनाईको अर्थ के भने हामी हिजो र भोलिको चक्करमा होइन, आजको पलमा बाँच्नुपर्छ । सचेतपूर्वक बाँच्नुपर्छ । होशमा बाँच्नुपर्छ । सबैप्रति मेत्रीभाव राख्नुपर्छ । खासमा योगले यही भन्छ ।

लेखक वेलनेस अस्पताल बाँसबारीकी अध्यक्ष एवं योग गुरु हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment