
१८ फागुन, काठमाडौं । सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मलको पहिलो खेप बुधबार कोलकात्ताबाट नेपालतर्फ हिडाइँने भएको छ । पहिलो खेप अन्तरगत २२ हजार ५ सय मेट्रिकटन मल बुधबार रेलमा लोड भएर नेपालतर्फ आउने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।
सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ ।
बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो खेप कोलकात्ता भोली रेलमा लोड हुने कम्पनीका प्रबन्ध सञ्चालन नेत्रबहादुर भण्डारीले बताए ।
बल्क कार्गोमा ल्याइएको मल आइतबार नेपाल आइपुग्ने उनको भनाइ छ । कोलकात्ताबाट रेल मार्गमार्फत नेपालको तीन वटा नाकामा मल आइपुग्ने छ ।
भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा उक्त मल आइपुग्ने कम्पनीले जनाएको छ ।
बंगलादेशसँग सरकारले ५० हजार मेटि्रकटन युरिया मल खरिद गर्ने प्रक्रिया गत भदौंमा सुरु गरेको थियो ।
भदौ १६पछि मल खरिदको औपचारिक प्रक्रिया सुरु भएको थियो । बाँकी २७ हजार ५ सय मेटि्रकटन युरिया पनि १५ दिनपछि बंगलादेशको चटगाउँ पोर्ट भएर भित्रिने कम्पनीले जनाएको छ ।
हाल कम्पनीसँग ९ हजार ४३८ मेट्रिकटन युरिया, ३० हजार ६७१ मेट्रिकटन डीएपी र ६ हजार ६७९ पोटास मौज्दात रहेको र मलको कुनै अभाव नरहेको दाबी कम्पनीको छ ।
प्रतिक्रिया 4