Comments Add Comment

२७ महिनापछि घरेलु क्रिकेट खेल्दै सन्दीप

२३ फागुन, काठमाडौं । विश्वभर फ्रेन्चाइज्ड क्रिकेट टुर्नामेन्ट खेलेर ग्लोबल स्टारको छवि बनाइसकेका नेपालका युवा लेगस्पीनर सन्दीप लामिछानेले २७ महिनापछि घरेलु क्रिकेटमा पुनरागमन गर्दैछन् ।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको सहयोगमा शनिबारदेखि सुरु भएको काठमाडौं मेयर्स कप २०७७ मा सन्दीपले काठमाडौं मेयर्सक ११ टिमको कप्तानी गर्दैछन् । मेयर्स ११ ले मुलपानी क्रिकेट मैदानमा आइतबार बागमति प्रदेशविरुद्ध खेल्दैछ ।

यसअघि विदेशी लिगहरुमा व्यस्त हुँदा वा अन्य व्यक्तिगत कारणले गर्दा सन्दीपले दुई वर्ष घरेलु क्रिकेट खेलनन् ।

गत माघमा भएको प्रधानमन्त्री कप पनि सन्दीपले खेलेनन् ।

पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेल्न गएका सन्दीप कोरोनाका कारण लिगनै अनिश्चितकालको लागि स्थगित हुँदा शुक्रबार नेपाल फर्किएका थिए ।

त्यसपछि क्यानले सन्दीपलाई यसअघि नै घोषित भइसकेका काठमाडौं मेयर्स ११ टिमको कप्तान नियुक्त गरेको हो । सन्दीपले शनिवार कीर्तिपुर पुगेर ट्रेनिङसमेत गरेका थिए । यसअघि नै १५ जना टिममा भए पनि सन्दीप समावेश भएपछि केयर्स ११ को टिम १६ सदस्यीय हुने क्यानले जनाएको छ ।

सन्दीपले पछिल्लो पटक २०१८ डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सबाट घरेलु क्रिकेट खेलेका थिए । उनले सुरुआती दुई खेलमा ५ विकेट लिएका थिए । त्यसपछि सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया पुगे । यो बीचमा सन्दीपले अष्ट्रेलिया, भारत हुँदै क्यानडासम्म खेले । तर घरेलु प्रतियोगिता खेल्ने मिति बल्ल जुरेको छ ।

सन्दीपले घरेलु मैदानमा भने गत वर्ष फेब्रुअरीमा भएको विश्वकप लिग २ मा नेपालका लागि खेलेका थिए ।

सन्दीप बाहेक प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका बागमति बाहेक ६ प्रदेशका उत्कृष्ट खेलाडी काठमाडौँ मेयर ११ टिममा छन् ।

सन्दीपको आगमनपछि थप बलियो बनेको काठमाडौं मेयर्स ११ टिम प्रतियोगितामा विजयी सुरुआत गर्न चाहन्छ । बागमति पहिलो खेलमा नेपाल पुलिससँग २ रनले पराजित भएको थियो । बागमती पनि पहिलो जितको खोजीमा छ ।

यस्तै पहिलो दिन जित हात पारेका नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच टीयू मैदानमा प्रतिस्पर्धा हुनेछ । दुवै टोली लगातार जितसहित फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

५ टिम सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगका खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

काठमाडौँ मेयर ११ टिम :

सन्दीप लामिछाने (कप्तान) , सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दीप रजाली, खड्गबहादुर बोहरा, हरिशंकर शाह , विवेक यादव, कृष्ण कार्की, रविन्द्रजंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी र अनुज चुनारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment