Comments Add Comment

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछिका ‘साइड इफेक्ट’

२५ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ वर्षसम्म अस्तित्वमा रह्यो । यो अवधिमा यो पार्टीले केन्द्रदेखि गाउँसम्म अनेकौं निर्णयहरु लिएको छ ।

तर, आइतबार सर्वाेच्च अदालतले नेकपा एकीकरण बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि त्यसका ‘साइड इफेक्ट’ देखिन थालेको छ । संसद र राष्ट्रिय राजनीतिमा मात्र होइन, दुवै दलको आन्तरिक जीवनमा समेत यसका केही असरहरु देखिने भएको छ ।

नेकपाबाट निर्वाचित पद के हुन्छ ?

नेकपाको नामबाट राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभामा नेकपाको नामबाट निर्वाचित भएकाहरु छन् ।

एमाले र माओवादी ब्यूँतिएपछि उनीहरुको कानुनी हैसियत के हुन्छ ? यस सम्बन्धमा राजनीतिक दल र कानूनविदका फरक फरक मत छ । यद्यपि पद खारेज नहुनेमा चाहिँ कानुनविदको एकमत छ ।

संविधानविद विपिन अधिकारी भन्छन्, ‘भोट हाल्ने उनीहरुको अधिकार हुन्छ, जुन बेला चुनाव भयो, त्यो पनि वैधानिक थियो । निर्वाचन जितेको प्रमाणपत्र उनीहरुलाई निर्वाचन आयोगले नै दिएको हो ।’

उनका अनुसार निर्वाचितहरुलाई मुख्य समस्या पहिचानको हो । अधिकारी भन्छन्, ‘अब निर्वाचन आयोग दुवैसँग बस्नुपर्छ, उनीहरुको कुरा बुझनुपर्छ । उनीहरुलाई चाहिने पहिचान दिनुपर्छ ।’

प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल पनि जनप्रतिनिधिले दल बदल गरे मात्र पद जाने बताउँछन् । अहिले नेकपा नै खारेज भएकाले उनीहरु स्वतन्त्र जनप्रतिनिधिका रुपमा रहने र राजनीतिक रुपमा आफूले चाहेको पार्टीमा आवद्ध भएर गतिविधि गर्न सक्ने उनले बताए ।

सन्ध्या तिवारीको एमाले खोसियो, किरातीको दलको नाम र चिन्ह गायब

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि निर्वाचन आयोगमा गोपाल किरातीले नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीले नेकपा एमाले दर्ता गरेका थिए ।

साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि पछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई आयोगले खारेज गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले किरातीको पार्टीको नाम र चुनाव चिह्न पनि नरहेको भन्दै १५ दिनभित्र पार्टीको नयाँ नाम र चुनाव चिह्न पेश गर्न आग्रह गरेको छ । तिवारीलाई भने आयोगले पार्टीको नयाँ नाम पेश गर्न भनेको छ र उनको पार्टीको चुनाव चिह्न कायम राखेको छ ।

खाली भएको नेकपा माओवादी केन्द्र नाममा पार्टी दर्ता गर्दा गोपाल किरातीले गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्न राखेका थिए, जुन नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न थियो । सन्ध्या तिवारीले भने पार्टीको चुनाव चिह्नमा डाँडामाथिको सूर्य राखेकी थिइन् ।

दुवै दललाई महाधिवेशनको चटारो

एमाले र माओवादी दुबैलाई पार्टी पुनर्गठनसँगै महाधिवेशनको तयारीमा जुट्नु पर्ने चटारो पनि हुने भएको छ । संविधानअनुसार प्रत्येक राजनीतिक दलले हरेक पाँच वर्षमा महाधिवेशन गर्नुपर्छ । विशेष कारणले सम्भव नभएमा थप ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई एकताको अघिल्लो दिन २ जेठ २०७५ मा पुर्‍याइदिएको छ ।

एमालेको ९ औं महाधिवेशन २०७१ आसारमा भएको हो । नेकपा बनेको अवधिलाई गणना नगर्ने हो भने एमालेले एक वर्षभित्र दशौं महाधिवेशन गर्नुपर्छ । अध्यक्ष अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले नेकपा विभाजित हुँदा नै २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय भएकाले त्यसको आसपासमै गर्ने बताउँछन् । यद्यपि यसबारे पार्टीमा औपचारिक छलफल हुन बाँकी छ ।

त्यसैगरी माओवादी केन्द्रले पनि अबको दुई वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ ।

एमालेमा ७० वर्षको उमेर हद

एमाले ब्युतिएसँगै शीर्ष नेताहरुलाई अर्को अप्ठ्यारो आइलागेको छ, ७० वर्षको उमेर उमेर हद ।

एमालेको नवौं महाधिवेशनले पारित गरेको विधानमा ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष’ तोकिएको छ । एमाले र माओवादीबीच एकता भएर नेकपाको अन्तरिम विधान यो उमेर हद हटाइएको थियो । अब एमालेसँगै ७० वर्ष उमेर हद ब्युँतिएको छ ।

र यो लागू हुने हो भने केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरु प्रभावित हुनेछन् । नेपाल २३ फागुनमा ६९ वर्ष पुगेका छन् भने ओली ११ फागुनदेखि ७० औं वर्षमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment