Comments Add Comment

दक्षिणपूर्वी एसियालाई एक अर्ब डोज कोरोना खोप दिने क्वाडको निर्णय

१ चैत, काठमाडौं । अमेरिका, अस्ट्रेलिया, जापान र भारतसहितको समूह ‘क्वाड’ले दक्षिणपूर्वी एसियाका मुलकका लागि सन् २०२२ को अन्तिमसम्म एक अर्ब डोज कोरोना खोप उपलब्ध गराउने भएको छ । क्वाडमा आबद्ध मुलुकका प्रमुखबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अमेरिकी जोन्सन एण्ड जोन्सनले विकास गरेको एक डोज मात्र लगाए पुग्ने कोरोना खोपको उत्पादन भारतमा पनि सुरु गर्ने तयारी गरिएको छ । अमेरिकाले क्वाडका मुलुकबीच भएको सम्झौताअनुसार सुरुआतमा यो खोप दक्षिणपूर्वी एसियाका मुलुकहरुलाई प्रदान गरिनेछ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले दिएको जानकारीअनुसार अहिले घोषणा गरिएअनुसारको खोप दक्षिण पूर्वी एसियाली मुलुकको संगठन (आसियन) का साथै प्यासिफिक तथा त्यसवरपरका मुलुकमा वितरण गरिनेछ । १० मुलुकको संगठन आसियनको समग्र जनसंख्या ५० करोड छ ।

क्वाडको बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार भारतको खोप उत्पादनको क्षमता जापान, अमेरिका र अष्ट्रेलियाको सहयोगमा थप विस्तार हुने बताएका छन् । बैठकपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले यो सम्मेलनले नयाँ बिहानीको सुरुआत गरेको बताएका थिए । जापानका प्रधानमन्त्री योसिहिडे सुगाले चीनको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेका थिए ।

यद्यपि चीनले भने क्वाडको आलोचना गरेको यो सम्मेलनमा प्रत्येक मुलुकले सामुहिकभन्दा पनि आफ्नै स्वार्थको विषय मात्र उठाएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment