 
																			२ चैत, काठमाडौं । विभाजन उन्मुख नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु पहिलो पटक सोमबार वार्ताको टेबलमा बसे ।
पार्टी कार्यालय, धुम्बाराहीमा भेटेका दुबै समूहका नेताहरुले सुरुवातमा माओवादीसहित पार्टी एकताबारे कुरा गरे । मनका तितो पोखे । तर एउटै पार्टीभित्र भिन्न संरचनाको अभ्यास गरिरहेका दुई समूहबीच अढाइ घण्टा चलेको छलफलले न उनीहरुको मन माझियो, न देशभरका कार्यकर्तालाई कुनै आश जगाउने सन्देश नै दियो ।
ओलीको फोनले जुराएको वार्ता
स्रोतका अनुसार, सोमबार भएको भेटको प्रस्ताव प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले राखेका थिए । आइतबार साँझ परराष्ट्रमन्त्री एवम् ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपाललाई फोन गरी ३ फागुनमा राखिएको चियापानमा आउन आग्रह गरे । तर नेपालले सिधै इन्कार गरिदिए ।
त्यसपछि अध्यक्ष ओली आफैंले फोन गरेर भेटको प्रस्ताव गरे । नेता नेपालले सहजै स्वीकार गरे ।
ओलीले भेटवार्ताको स्थान आफ्नो सरकारी निवास बालुवाटार भनेपछि नेपालले भने, त्यसोभए भेटघाट बन्द ।
ओलीले सोेधे, त्यसो भए कहाँ त ? नेपाल निकट एक नेता भन्छन्, ‘पार्टीको कुरा गर्ने भनेपछि धुम्बाराही हो नि भनेर माधव कमरेडले जवाफ दिनुभयो । अध्यक्ष पनि सहमत हुनुभयो ।’
नेपालले फेरि सर्त राखे– साथीहरु पनि आउनुहुन्छ । यसमा पनि ओली सहमत भएपछि सोमबार विहान विहान ११ बजे धुम्बाराहीमा एमाले नेताहरु भेट्ने तय भयो ।
नेता नेपाल उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, नेताहरु नेता सुरेन्द्र पाण्डे र रघुजी पन्तसहित धुम्बाराही पुगे । एमाले अध्यक्ष ओली पनि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र पूर्वसभामुख सुवास नेम्वाङसहित आए ।
माओवादीसहित एकताको प्रस्ताव
संवादको थालनी ओली आफैंले गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले आफू एकताको पक्षमा भएकाले फेरि पनि माओवादीसहितको पार्टी सभव रहेको बताए । ‘सर्वोच्च अदालतले १५ दिनको समय दिएको छ । हामीसँग समय अझै छ, त्यहीँबाट अगाडि बढ्न सक्छौं । मिलेरै जानुपर्छ’, ओलीको भनाइ थियो ।
तीन वर्षअघि एकता गरेको र २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलापछि छुट्टिएको माओवादी केन्द्रसँगै मिल्न सकिने ओलीको धारणाले बैठकमा नेताहरु उत्साहित देखिए ।
त्यसपछि ओली एमालेको विषयमा आए । एक नेताका अनुसार ओलीले भनेका थिए, ‘हिजो जे भएको थियो, त्यसलाई सच्याऔं । मिल्ने भनेको हिजोको कुरा सम्झेर होइन, बिर्सिएर हो ।’
ओलीकै भाकामा नेता नेपालले पनि आफ्नो कुरा राख्न थाले । ‘फेरि पनि पार्टी एकता गर्नुपर्छ । एकताको निम्ति पहल गर्नुपर्छ’ भन्दै उनले पनि माओवादीसँग फेरि मिल्न सकिने ठाउँ रहेको बताए । जनादेश पनि वाम एकताको पक्षमा भएको बताएका उनले एमालेबारे पनि सकारात्मक सन्देश दिने गरी नै बोले ।

‘सर्वोच्च अदालतको निर्णयलाई हामीले त बेठीक भनेका छौं । तर ३ गते भन्दा (२ जेठ २०७५) पहिलेकै अवस्थाको संगठनात्मक संरचनामा जाने भयौं । एमाले एकताबद्ध एमाले रहन्छ’, नेपालको प्रस्ताव थियो । उनले एमालेका सबै संगठनात्मक संरचना माओवादीसँग एकता हुनुभन्दा अगाडिको अवस्थामा लैजाँदा वाम एकतालाई पनि बल पुग्ने बताएका थिए । अदालतको फैसलाकै कारण एमाले पूर्ववत अवस्थामा पुग्नुपर्ने उनको भनाइ थियो ।
वरिष्ठ नेता नेपालले सरकारबारे पनि बोले । ‘यो सरकारलाई जोगाउनुपर्छ । वामपन्थी सरकारमा जोड दिनुपर्छ, जनमत पनि त्यही हो’, उनको भनाइ थियो । माओवादीसँगको एकता प्रक्रिया सँगसँगै लैजाऔं भनेर ओलीको बोलीमा नेपालले थप भनेका थिए ।
बिग्रियो बातावरण
अध्यक्ष ओली र वरिष्ठ नेपालको अभिव्यक्तिबाट बैठकको वातावरण सकारात्मक बनेको थियो । तर जब वरिष्ठ नेता नेपालले कसरी अगाडि बढ्ने भन्ने प्रस्ताव राखे, ओलीको असहमति सुरु भएको एक नेताले सुनाए ।
उनका अनुसार नेपालको प्रस्ताव थियो– एमालेलाई एकताबद्ध गर्न अदालतको फैसलाअनुसार, अगाडि बढौं । २३ फागुनपछि गरिएका निर्णयहरु बदर गरौं ।
अदालतको फैसलापछि गरिएका निर्णयले एमालेमा समस्या ल्याएको उनको भनाइ थियो । विशेषगरी, २८ फागुनमा पार्टी अध्यक्ष ओलीले आफू निकट केन्द्रीय सदस्यहरु राखेर गरेको निर्णयले पार्टी संकटमा लगेको नेपालको निष्कर्ष थियो । ‘२८ गतको निर्णयले अवस्था बिगारेको छ । त्यसलाई स्वीकार गर्न सकिँँदैन । हामी पुरानै अवस्थामा फर्किऔं’, उनको प्रस्ताव थियो ।
त्यसको जवाफमा ओलीले तितो पोखे । ‘मलाई त चार–चार चोटी पार्टी सदस्यबाट निकालेर चट्टानमा बजारेकै हो । म जोगिएँ, बाँचे । होइन भने मलाई त सिध्याएकै हो । अध्यक्षबाट मात्रै होइन, सदस्यबाट पनि चार–चार पटक निकालेकै हो तपाईंहरुले’ साबिकको नेकपाको विवादमा पुगेका उनले भने ।
ओली यत्तिकैमा रोकिएनन् । नेता नेपालतिर संकेत गर्दै उनले भने, ‘मलाई प्रचण्डले आरोप पत्र लेखेकै हो । त्यो पत्रको कुनै खण्डन गर्नुभएन, त्यसैमा लाग्नुभयो ।’
उनले २८ फागुनमा आफूले गरेको निर्णयले पार्टीलाई फाइदा नै पुगेको तर्क गरेका थिए । बैठकमा सहभागी अर्का नेताका अनुसार, ओलीले रामबहादुर थापालगायत २३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय फिर्ता नहुने अडान लिए । ‘मैले त कम्युनिष्ट एकीकरण गर्न आउनेहरुलाई मिलाएको छु, समेटेको छु । त्यहाँ कहाँ बेठीक भएको छ ? ठीकै भएको छ’, ओलीको तर्क थियो ।
त्यो बैठकले एमालेका कुनै पदाधिकारीलाई भने नहटाएको उनको प्रष्टोक्ति थियो ।
नेपाल पक्षका नेताहरुले भने त्यो दिनको बैठक नभएर गुटको भेला मात्र भएको तर्क गरेका छन् । एमाले एकताबद्ध गर्ने आधार २८ फागुनको निर्णय फिर्ता हुनु नै रहेको उनीहरुले बताए ।
ओलीले भने बैठकमा सबैलाई बोलाएको जवाफ दिए । ‘२८ गतेको बैठक वैधानिक हो । तपाईंहरु नआउनुभएको मात्रै हो । आउन नचाहेको मात्रै हो । अर्याल होटलमा भेला हुनुभयो, गुटबन्दी गर्नुभयो’, अध्यक्ष ओली भनेका छन् ।
जवाफमा नेता नेपालले भने बैठक कसरी बस्छ भन्ने जानकारी छैन ? भनी प्रश्न गरेका थिए । स्रोतका अनुसार लामै समय दुई नेताबीच सवाल जवाफ र घोचपेच चल्यो । बेलाबेला अरु नेताहरुले आआफ्नो पक्ष लिएर तर्क गरेका थिए ।
तर दुवै पक्षले अडान छोडेनन् । चर्काचर्की बढ्दै गएपछि ओली ‘काम छ, म उठेँ’ भन्दै हिँडेका थिए ।
सर्वोच्चको फैसलापछि हामी ३ बर्ष अगाडि एमाले स्थितिमा थियो, त्यही स्थितिबाट सबै गतिविधि काम कारवाही अगाडि बढ्नुपर्छ भन्नेमा आफूहरु प्रष्ट धारणा रहेको भन्दै नेपाल समूहमा रहेका उपाध्यक्ष रावलले भने, ‘हामीलाई खबर नगरिएको, त्यहाँ गरिएको भनिएका निर्णयको प्रभाव पनि शून्य हुन्छ भन्ने तथ्यगत कुराहरु राख्यौं । त्यस तदनुकुल स्वीकार्ने हामीले सुन्न पाएनौं ।’
टर्रो कुरा गर्दै टुंगियो छलफल
माओवादी केन्द्रसँग समेत मिल्ने गरी अगाडि बढौं भन्ने प्रस्तावबाट सुरु भएको शीर्ष नेताहरुको छलफलले एमालेको पुनर्मिलनबारे समेत कुनै निर्णय लिन सकेन ।
‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले भने, ‘सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्वएमालेको संरचना, पादधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौं । पार्टीलाई एकतावद्ध बनाऔं, अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन ।’
ओली निकट नेता ज्ञवालीले सकारात्मक कुराकानी भएको भएको, तर निष्कर्षमा नपुगेको बताए । ‘निष्कर्षमा नपुगे पनि, सारमा आजको छलफल सकारात्मक रहेको छ,’ उनले भने, ‘अब हामी विभिन्न चरणमा बस्छौं, कुराकानीहरु गर्छौं । मलाई विश्वास छ, आजको छलफलले एउटा साझा धरातल निर्माण गरेको छ । त्यसको जगमा नेकपा एमालेलाई एकताबद्ध बनाउँदै नयाँ गतिका साथ अगाडि लैजाने एउटा आधार सिर्जना भएको छ ।’

स्रोतका अनुसार, ओली निकट नेताहरु बैठकमा पनि सकारात्मक सन्देश दिने गरी उठ्नुपर्छ भन्ने पक्षमै थिए ।
ओली निकट नेता सुवास नेम्वाङले दुई घण्टाबढी कुराकानी भएपछि बाहिर सकारात्मक सन्देश दिनुपर्छ भन्ने प्रस्ताव अगाडि बढाएका थिए । भोलि मंगलबार प्रधानमन्त्रीले राखेको चियापानमा सबै नेता आए सकारात्मक सन्देश जाने उनको तर्क थियो ।
नेम्वाङले चियापानमा आउने र ४ गते खनाल र नेपाल समूहले राखेको राष्ट्रिय भेला रोक्न प्रस्ताव गरे । ‘मिलेको कुरालाई मिलेको सन्देश दिऔं । तपाईंहरु चियापानमा आउनुहोस्, राम्रो सन्देश जान्छ । ४ गतको भेला स्थगित गरिदिऔं’, उनले भने ।
त्यसको काउन्टरमा नेपाल समूहका नेता रघुजी पन्तले प्रस्ताव राखे– चियापान पनि रोकौं ।’
पन्तको प्रस्तावमा ओली निकट विष्णुप्रसाद पौडेल पनि सहमत देखिए । वार्ता र सम्वाद जोगाइराख्न दुवैतर्फको कार्यक्रम रोक्नुपर्ने पौडेलको भनाइ थियो । तर, महासचिव ईश्वर पोखरेल सहमत भएनन् । ‘अब चियापानलाई रोक्ने कुरा हुन्छ र ? प्रधानमन्त्रीको निम्तो गइसकेको छ’, पोखरेलको भनाइ उदृत गर्दै एक नेताले भने । त्यसपछि धुम्बाराही छलफलले कुनै सहमति र निष्कर्ष निकाल्न सकेन ।
धुम्बाराहीबाट बाहिरिएका नेपाल समूहका नेताहरुले आफू निकट केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर पूर्वनिर्वाधित कुनै कार्यक्रम नरोक्न निर्देशन दिएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4