Comments Add Comment

वैशाखमा ट्राई सिरिज गर्ने योजना बनाउँदै क्यान

७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आगामी नयाँ वर्षको शुरुवातमा ट्राई सिरिज आयोजना गर्ने तयारी गरिरहेको छ । यही चैतमा ओमानमा तय भएको आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल ओमान र अमेरिका सम्मिलित अनिश्चित कालका लागि स्थगित भएपछि नेपालको अहिले कुनै अन्तर्राष्ट्रिय खेल छैन ।

त्यसैले क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा फागुनमै काठमाडौंमा काठमाडौं मेयर्स कप क्रिकेट आयोजना गरेको थियो । अब नेपालले खेल्ने अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिज नै हो । तर स्थगित भएको सिरिज भने कहिले हुने टुंगो छैन ।

क्यानले दुई महिनामा दुईवटा ५० ओभरको क्रिकेटको आयोजना गरेपनि आफ्नै राष्ट्रिय प्रतियोगिता भने गरेको छैन । यस्तै महिलातर्फ पुसमा दाङमा प्रधानमन्त्री कप गरेको क्यानले यही चैतमा ललितपुर मेयर कप महिला टी–२० क्रिकेट आयोजना गर्दैछ । त्यसको लागि छिट्टै मिति तय गरिने क्यानले जनाएको छ ।

यस्तै २०७८ साल वैशाखमा क्यानले अन्तर्राष्ट्रिय ट्राई सिरिज गर्ने योजना पनि बनाइरहेको छ । क्यानले यसअघि पनि नेपालमा विभिन्न टिम बोलाएर सिरिज गर्ने पहल गरेपनि कोभिडका कारण ट्रायस इस्यु र बजेटले गर्दा आयोजना गर्न सकेन ।

यद्यपि क्यान अझै पनि ओडिआई मान्यता प्राप्त टिमलाई नेपाल बोलाएर सिरिज गराउने तयारीमा छ ।

‘त्रिदेशीय सिरिज नेपालमा गर्ने तयारी छ । अप्रिल १५ देखि मे २० सम्म (वैशाख–जेठ) महिनामा सिरिज गर्ने तयारी गरिरहेका छौँ । तर पूरै निर्णय भइसकेको छैन । नयाँ वर्षको पहिलो महिनामा गर्ने योजना हो ।’ स्रोतले भन्यो, ‘कम्तीमा पनि ओडिआई मान्यता भएको देशलाई ल्याउने प्रयास हो । ओडिआई वरियताको शीर्ष २० भित्रको टिम ल्याउने र अर्को एक टिम ल्याएर ट्राई सिरिज खेल्ने योजना बनाइरहेको हो । त्यसो भयो भने ओडिआई सिरिज र टी–२०आई सिरिज खेल्ने भन्ने लक्ष्य छ ।’

सिरिज गर्नका लागि गोजीमा रकम हुनुपर्ने र त्यसले जाँगर आउने स्रोतले बताएको छ । क्यान आइसीसीबाट पूर्ण रुपमा निलम्बन फुकुवा नभइसकेकाले नेपालबाट कार्यक्रम गरेर बिल पठाएपछि मात्र उताबाट पैसा आउनेछ ।

ओमानमा हुने सिरिजका लागि क्यानले यसअघि क्याम्प राखेर खेलाडीलाई दुई चरणमा प्रशिक्षण समेत गराएको थियो । नवनियुक्त प्रशिक्षक डेभ वाटमोरले खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए । तर ओमान सिरिज अनिश्चितकालका लागि स्थगित भएपछि क्यानले क्याम्प पनि स्थगित गरेको छ ।

अब वैशाखमा सिरिज हुने पक्का भएमा क्यानले खेलाडीको प्रशिक्षण पनि शुरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment