११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान समूह इ को दुई खेल हुँदैछ । जसमा जर्मनीले इक्वेडर र आइभरी कोस्टले कुरासाओसँग खेल्नेछ ।
समूह इ बाट जर्मनीले नकआउट चरणमा स्थान पक्का गरिसकेको अवस्थामा नकआउट चरणमा पुग्नका लागि बाँकी तीन टोली प्रतिस्पर्धामा छन् ।
जर्मनी लगातार दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बनिसकेको छ ।
अब समूह उपविजेता बन्नका लागि आइभरी कोस्ट, इक्वेडर र कुरासाओ होडमा छन् ।
आइभरी कोस्ट एक जित र एक बराबरीबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।
इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओको समान १ अंक छ र तेस्रो र चौथो स्थानमा छन् । दुवैले एक खेल बराबरी गर्दा एक खेलमा पराजित भएका छन् ।
जर्मनी भर्सेस इक्वेडर : इक्वेडरलाई जित निर्विकल्प
जर्मनी र इक्वेडरबीचको खेल अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा नेपाली समय अनुसार बिहान पौने २ बजे सुरु हुनेछ ।
जर्मनीले समूहको पहिलो खेलमा कुरासाओलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसपछि दोस्रो खेलमा सुपर सब डेनिस उन्डाभ नायक बन्दा जर्मनीले अन्तिम समयमा आइभरी कोस्टलाई २-१ ले पराजित गरेको थियो ।
लगातार दुई खेल जितेर नकआउट चरणमा पुगेपछि जर्मनी आरामदायी अवस्थामा छ । यस्तो अवस्थामा जर्मनीले इक्वेडर विरुद्ध नयाँ खेलाडीहरुलाई अवसर दिन सक्नेछ ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप उपाधि जितेपछि जर्मनी पछिल्लो दुई विश्वकपा समूह चरणबाटै बाहिरिएको छ । १२ वर्षपछि नकआउट चरणमा पुगेकोले जर्मनी टिम निकै उत्साहित छ ।
अर्कोतर्फ इक्वेडरको कथा भने फरक छ । दुवै खेलमा जितविहिन इक्वेडरलाई जितको विकल्प छैन ।
जर्मनीसँग बराबरी वा हारले इक्वेडर समूह चरणबाट बाहिरिनेछ ।
इक्वेडर पहिलो खेलमा आइभरी कोस्टसँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा कुरासाओसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
इक्वेडर सन् २००६ मा जर्मनीमा भएको विश्वकापमा अन्तिम १६ मा पुगेको तियो । त्यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो । २० वर्षपछि फेरि नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको इक्वेडरले त्यसका लागि जर्मनीलाई नै स्तब्ध पार्नुपर्छ ।
जर्मनी र इक्वेडर विश्वकपमा दोस्रो पटक आमने सामने हुन लागेका हुन् । सन् २००६ को समूह चरणमा भेट हुँदा जर्मनी ३-० ले विजयी भएको थियो । समग्रमा भने दुई टोलीबीच यो तेस्रो खेल हुनेछ । यसअघिको दुवै खेलमा जर्मनीले जितेको थियो ।
फिफा वरियतामा जर्मनी १०औं र इक्वेडर २३औं स्थानमा छ ।
आइभरी कोस्टलाई बराबरी पर्याप्त, ऐतिहासिक जितको लक्ष्यमा कुरासाओ
समूह इ कै अर्को खेलमा कुरासाओ र आइभरी कोस्टबीचको खेल अमेरिकाको फिडाडेल्फिया स्टेडियममा हुनेछ । यो खेल पनि बिहान पौने २ बजे सुरु हुनेछ ।
आइभरी कोस्टले पहिलो खेलमा अन्तिम समयमा इक्वेडरलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
दोस्रो खेलमा पनि आइभरी कोस्टले जर्मनीसँग सुरुमा अग्रता लिएको थियो तर अन्तिम समयमा गोल खाँदा जर्मद्दीसँग २-१ ले पराजित भएको थियो ।
विश्वकपमा डेब्यु गरिरहेको कुरासाओ भने पहिलो खेलमा जर्मनीसँग ७-१ को फराकिलो हअन्तरले पराजित भएको थियो । उक्त खेलमा कुरासाओले विश्वकपको पहिलो गोल गरेको थियो । दोस्रो खेलमा इक्डेरलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक अंक जोडेको थियो ।
अब कुरासाओ विश्वकपमा ऐतिहासिक जित निकाल्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । त्यसका लागि आइभरी कोस्टको चुनौतीलाई पार गर्नुपर्नेछ ।
आइभरी कोस्टले पनि अहिलेसम्म समूह चरण पार गर्न सकको छैन । त्यसैले यस पटक नआउट चरण पुग्ने अवसर छ । कुरासाओलाई पराजित गर्दै पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।
आइभरी कोस्ट र कुरासाओ इतिहासमै पहिलो पटक आमने सामने हुँदैछन् ।
फिफा वरियतामा आइभरी कोस्ट ३३औं र कुरासाओ ८२औं स्थानमा छ ।
समूह इ को उपविजेता बन्ने टोलीले समूह आईको उपविजेतासँग खेल्नेछ ।
प्रतिक्रिया 4