११ असार, काठमाडौँ । नेपालमा फिफा विश्वकपको स्ट्रिमिङ गरिरहेको डिगो एपले विश्वकप हेर्ने दर्शकका लागि नयाँ योजना (स्किम) ल्याएको छ।
यसअनुसार अब डिगोमार्फत ‘एङ्कर पास’ र ‘मोबाइल पास’ किन्ने ग्राहकले विश्वविख्यात खेलाडीहरू लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारका आधिकारिक हस्ताक्षर भएका जर्सीहरू उपहार पाउनेछन्।
विश्व फुटबलका स्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर डिगो एप र हिमालयन स्पोर्ट्सले फुटबलप्रेमीहरूका लागि यो उपहार योजना सार्वजनिक गरेका हुन्।
अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलमार्फत फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ सुरु गरिएको हो।
‘एङ्कर पास’ खरिद गर्ने विजेताहरूलाई लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी, क्रिस्टियानो रोनाल्डोको हस्ताक्षर भएको पोर्चुगलको जर्सी र नेयमार हस्ताक्षरित ब्राजिलको आधिकारिक जर्सी प्रदान गरिनेछ।
यसका साथै सिजन पास विजेताले एक जोडीका लागि भियतनाम टुर प्याकेज, ५५ इन्चको स्मार्ट टिभी र मौलाकालिका रिसोर्टमा एक रातको डिलक्स बसाइसमेत जित्न सक्नेछन्।
त्यसैगरी, ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकलाई लक्षित गरी आयोजकले छुट्टै पुरस्कारहरूको व्यवस्था गरेको छ। मोबाइल पास विजेताहरूले पनि एक जोडीका लागि भियतनाम टुर प्याकेज, ५५ इन्च र ४३ इन्चका स्मार्ट टिभीहरू तथा नयाँ स्मार्टफोनहरू प्राप्त गर्न सक्नेछन्।
यस गिभअवेमा सहभागी हुन चाहने ग्राहकले तीनवटा सरल प्रक्रिया पूरा गर्नुपर्नेछ। पहिलो चरणमा डिगो एप डाउनलोड गर्ने, दोस्रो चरणमा आफ्नो अकाउन्ट रजिस्टर गर्ने र तेस्रो चरणमा एपबाट सिधै फिफा विश्वकप २०२६ हेर्नका लागि ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्नुपर्नेछ।
यो अभियान आगामी १५ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ। यस प्रतियोगितामा नेपालभित्र बसोबास गर्ने सक्रिय डिगो प्रयोगकर्ता मात्र योग्य मानिने बताइएको छ। आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता र उनीहरूका परिवारका सदस्यहरूलाई यस योजनामा सहभागी हुन वर्जित गरिएको छ।
विजेताहरूको छनोट र प्रमाणीकरण प्रक्रिया डिगोको आन्तरिक टोलीद्वारा पूर्ण रूपमा निष्पक्ष ढङ्गले गरिने स्पष्ट पारिएको छ। साथै, विजेताले प्राप्त गरेको पुरस्कारलाई नगद वा अन्य कुनै सामानसँग साट्न नपाइने नियमसमेत लागु गरिएको छ।
प्रतिक्रिया 4