Comments Add Comment

म्यानमारमा सैन्य कूविरुद्ध लडिरहेका मानिसको कथा

८ चैत, काठमाडौं । सेनाले शासन हातमा लिएको विरोधमा म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आएको छ । आन्दोलन लम्बिँदै जाँदा सेनाले दमन पनि बढाएको छ । म्यानमारमा प्रजातन्त्रवादीलाई सेनाविरुद्ध लड्नु एक कठिन काम बनेको छ ।

म्यानमारका धेरै नागरिक प्रजातान्त्रिक पद्धतिबाट चुनिएको सरकार चाहन्छन् । सेनाले पनि प्रजातन्त्र रक्षाकै लागि सत्ता हातमा लिएको दाबी गरेको छ ।

यद्यपि शान्तिपूर्ण प्रदर्शनमा भइरहेको व्यापक दमनले भने मानिसहरु झन् सशंकित बनेका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सेनाले शक्ति आफ्नो हातमा लिएपछि अहिलेसम्म म्यानमारमा १४९ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । यद्यपि यो आन्दोलनमा मारिनेको वास्तविक संख्या यो भन्दा निकै बढी हुन सक्ने अनुमान छ ।

यहाँ म्यानमारमा भइरहेको सेनाविरुद्धको प्रदर्शनमा सहभागी केही मानिसको कथा उल्लेख गरिएको छ –

छोरीको भविष्य खोजिरहेकी महिला

न (नाम परिवर्तन) म्यानमारको एक प्रदर्शनकारी समूहकी नेतृ हुन् । उनी आफ्नी एक वर्षकी छोरीको भविष्यको लागि यो आन्दोलनमा सहभागी भएको बताउँछिन् । उनको चाहना छोरीलाई राम्रो भविष्य दिनु हो ।

उनी करेन नामक धार्मिक अल्पसंख्यक समुदायकी महिला हुन् । त्यसैले आन्दोलन आफ्ना लागि नौलो कुरा नभएको उनको भनाइ छ । अहिले म्यानमारमा प्रदर्शनकारी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र राष्ट्रपति विन मिन्टको रिहाइको माग गरिरहेका छन् ।

साथै उनीहरु सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनलाई मान्यता दिनुपर्ने मागमा अडिग छन् । उक्त निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको बताउँदै आएको छ ।

उनी भन्छिन्, ‘हामी धार्मिक अल्पसंख्यकका भने अन्य मागहरु पनि छन् । हाम्रो लक्ष्य म्यानमारका सबै समुदायका मानिस अटाउने प्रजातान्त्रिक प्रणाली स्थापना गर्नु हो ।’
म्यानमारका विभिन्न समुदाय अहिले विभाजित अवस्थाबाट एक भएर सेनाविरुद्ध आन्दोलनमा आएको उनको बुझाइ छ ।

उनले आफ्नी सानी छोरी पनि आफू आन्दोलनमा होमिएको बताइन् । आफूले भोगेको दुःख उसले भोग्न नपरोस् भन्ने आफ्नो चाहना भएको उनले सुनाइन् । ‘यो आन्दोलनमा जोडिनुभन्दा पहिला मैले श्रीमान्सँग पनि यस विषयमा छलफल गरेकी थिएँ’, उनले थपिन्, ‘यो आन्दोलनमा म पक्राउ परेँ वा मरेँ भने बच्चाको ख्याल गर्न मैले उनलाई आग्रह गरेकी छु ।’

भाग्न सहयोग गर्ने चिकित्सक

नन्द (नाम परिवर्तन) मियेएक सहरको एक अस्पतालमा काम गर्छन् । म्यानमारको आन्दोलनमा स्वास्थ्यकर्मी सबैभन्दा अगाडि छन् । यद्यपि नन्दाका अनुसार अझै पनि धेरै मानिस सेनाको डरले लुकिरहेका छन् ।

मार्च ७ को राति कफ्र्यु सुरु हुनुभन्दा केही समयअघि नन्दले एक अर्थोपेडिक सर्जन र अर्का फिजिसियनका साथै उनीहरुको परिवारलाई पनि रातको समयमा कसैले नदेख्ने गरी सामान प्याक गरी सुरक्षित घरमा पुर्‍याए ।

एकदिन अघि मात्र सरकारी अधिकारीले मियेएक सहरका अस्पताललाई आन्दोलनमा सहभागी भएका चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम मागेको थियो ।

उनीहरुले किन विवरण मागे भन्ने आशंका मानिसहरुमा थियो । उनीहरुले अब कस्तो कदम चाल्छन् भन्ने डर सबैमा थियो । सरकारका लागि काम गरिरहेका सबै डाक्टरले पक्राउ पर्ने डरले लुक्ने निर्णय गरे । उनीहरुमध्ये केही डाक्टरहरुलाई भागाउने जिम्मा नन्दले पाए ।

‘म बिरामी पनि थिएँ । मैले जीवनमा कुनै कसुर नभएका डाक्टरलाई लुकाउनुपर्छ भनेर कल्पना गरेको थिइनँ’, उनले भने । अहिले अस्पतालमा पर्याप्त चिकित्सक छैनन् । यो आन्दोलनमा स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए, तर अहिले उनीहरु लुकिसकेका छन् ।

क्यामेरा पछाडिका व्यक्ति

माउङ याङ्गुनका एक फिल्म निर्माता हुन् । आन्दोलन सुरु हुँदा उनले यो आन्दोलन कसरी चल्छ भनेर प्रत्येक दिनको विवरण तयार पार्ने निर्णय गरेका थिए । फेब्रुअरी २८ मा उनी आन्दोलन भइरहेको सडकको रेलिङनजिक थिए । उनले मोबाइलबाट आन्दोलनको दृश्य कैद गरिरहेका थिए ।

त्यत्तिकैमा करिब एक सय मानिस उनीतर्फ आए । ती मानिस प्रहरी वा सेना को हुन् भनेर पनि माउङले चिनेका थिएनन् । तर, उनीहरु नजिकै आएपछि कुनै चेतावनी पनि नदिई गोली चलाउन थाले । माउङ सुरक्षित बाटोबाट भागे । उक्त आन्दोलनमा सहभागीमध्ये अधिकांश मानिस भाग्न सफल भए ।

अहिले माउङ आन्दोलनमा जाँदा सधैं हेल्मेट र हात नपोल्ने पञ्जा लगाउँछन् । आन्दोलनमा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्याँस समाएर उनीहरुतर्फ नै फ्याँकिदिन्छन् । अश्रुग्यासको असर कम गर्न चिसो कपडाले त्यसलाई छोपिदिन्छन् र पानी हालिदिन्छन् ।

धेरैले सस्तो खालको मास्क लगाउँछन्, जसले उनीहरुलाई अश्रुग्यासबाट बचाउन सक्दैन । उनले प्रत्येक दिन आन्दोलनको केही दृश्य कैद गर्छन् । अहिले आफूले बनाएका पुराना भिडियो हेर्दा उनलाई आन्दोलन कसरी शान्तिपूर्ण ढङ्गले सुरु भएर हिंसात्मक बन्न पुग्यो भन्ने पुनः अनुभूति हुन्छ ।

सेनाको फन्दामा परेकी महिला

प्यो (नाम परिवर्तन) एक शोधकर्ता हुन् । उनी यान्गोनको सान्चुआङ जिल्लामा सेनाबाट थुनिएका दुई सय आन्दोलनकारीमध्येकी एक हुन् । उनीहरुलाई सेनाहरुले घेरेर बाहिर जानबाट रोक लगाएको थियो । जसमध्ये ४० जना पक्राउ परेका थिए । मार्च ८ तारिखको दिउँसो दुई बजे सैनिक आएर उनीहरुलाई चारैतिरबाट घेरे । सैनिकहरु प्योलगायतका मानिस घरबाट बाहिर आउने प्रतीक्षामा बसिरहेका थिए । प्यो भएको घरमा ६ जना महिला र एक पुरुष थिए ।

घरधनी निकै असल थिए । उनले प्योलगायतका मानिसलाई खाना पनि खुवाएका थिए । तर, सैनिकहरु त्यहाँबाट गएनन् । बेलुका साढे ६ बजेपछि उनीहरु डराउन थाले । अझै पनि सेना त्यहाँबाट गएका थिएनन् । त्यसपछि उनीहरुले भाग्ने योजना बनाए ।

त्यसपछि उनीहरुले घरधनीसँग सल्लाह गरेर कुन बाटो सुरक्षित हुन्छ भन्ने सोधेर सुरक्षित बाटो र लुक्ने स्थान सोधेर स्थानीयले जस्तै कपडा लगाएर निस्किए । ‘मैले मोबाइलमा रहेका धेरै एपहरु पनि हटाएँ’, प्योले भनिन् । उनीहरुले त्यो रात अर्कै सुरक्षित स्थानमा बिताए । भोलिपल्ट सैनिकहरु उक्त स्थानबाट हिँडिसकेको उनीहरुले थाहा पाए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment