Comments Add Comment

त्रिदेशीय कपपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

१० चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले आजदेखि सुरु हुने थ्री नेशन्स कप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् ।

पछिल्लो समय राष्ट्रिय टिममा पर्न असफल भइरहेका विराजले घरेलु मैदान र दर्शकको अगाडि खेल्दै सन्यास घोषणा गर्न लागेका हुन् ।

उपाधि जितेको हिसाबले नेपालको सफल कप्तानको रुपमा विराजलाई लिइन्छ । उनकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं साग फुटबल जितेको थियो ।

यस्तै एएफसी सोलिडारिटी कपमा अनिल गुरुङ कप्तान भए पनि अधिकांश समय विराजले नै आर्मब्याण्ड लगाएर नेतृत्व गरेका थिए । सोलिडारिटी कपमा पनि नेपाल च्याम्पियन बनेको थियो ।

दशरथ रंगशालमा नेपालको सिनियर टिम करिब ६ वर्षपछि खेल्दैछ । नेपाली टिमको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने पक्का छ । तर, अहिलेसम्म नेपालको अन्तिम टोली घोषणा भएको छैन ।

विश्वकप छनोटको तयारीका लागि प्रशिक्षणमा रहेका ३२ खेलाडीबाटै टिम छनोट गरिनेछ ।

स्वीडिस प्रशिक्षक योहा कालिनको आगमनपछि विराज राष्ट्रिय टिममा पर्न संघर्षरत थिए । फिटनेसको कारण देखाउँदै उनलाई टिम बाहिर राखिएको थियो ।

२०२२ को फिफा विश्वकप छनोट अन्तर्गत नेपालले ५ खेल खेलिसक्का विराज टिममा पर्न सकेनन् ।

अहिले घरेलु मैदानमै थ्री नेशन्स कप फुटबल हुँदैछ र विराजले पनि यसलाई उपयुक्त अवसरको रुपमा लिएका छन् । विराजले यस विषयमा अखिल नेपाल फुटबल संघ एन्फासंग पनि कुरा गरिसकेका छन् ।

अहिलेलाई नेपालको अन्तिम टोली घोषणा नभएकोले विराजले खेल्ने नखेल्ने निर्णय भएको छैन । तर अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार विराज थ्री नेशन्स कप खेल्ने टिममा हुनेछन् ।

यस्तोमा विराजले दशरथ रंगशालमा नेपालको राष्ट्रिय टिमको जर्सी लगाएर घरेलु दर्शकमाझ बिदा लिनेछन् ।

‘नेपालमै थ्री नेशन्स कप हुँदैछ । यही खेलपछि मैले सन्यास लिने निर्णय लिएको छ । किनकि यसपछि घरेलु मैदानमा कहिले खेल हुने थाहा छैन,’ विराजले अनलाइनखबरसँग भने । त्यसैले विराजले यसबारे एन्फा पदाधिकारीलाई जानकारी गराएर निर्णय लिएको बताए ।

यो पनि पढ्नुहोस तीन फरक क्लबबाट लिग जित्ने भाग्यमानी विराज

विराजले घरेलु मैदानमा खेलेर बिदा लिनु सबैभन्दा उपयुक्त हुने ठानेका छन् । विराजको यस निर्णयबारे एन्फामा पनि छलफल भएको र एन्फा सकरात्मक रहेको स्रोतले जनाएको छ ।

प्रशिक्षकले पनि आफ्नो लागि अवसर दिने विराजले बताए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि विराजको निर्णयलाई सम्मान गर्दै सम्मानपूर्व बिदाइ गरिने बताए ।

थ्री नेशन्स कपमा नेपालले पहिलो खेल बिहीबार किर्गिस्तानको ओलम्पिक टिम अर्थात यू-२३ टिमसँग खेल्नेछ । त्यसपछि शनिबार नेपालले बंगलादेशसँग खेल्नेछ ।

विराज डेढ वर्षयता राष्ट्रिय टिममा छैनन् । कोरोना महामारीको कारण यो एक वर्ष फुटबल प्रभावित बनेकोले विराजको सन्यासको समयसमेत लम्बिएको हो ।

सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उक्त खेल विराजसँगै गोलकिपर किरण चेम्जोङ फरवार्ड भरत खवासले पनि डेब्यु गरेका थिए । किरण र भरत अहिले राष्ट्रिय टिमको अनुभवी खेलाडीको रुपमा रहँदा विराज भने टिममा पर्न संघर्षरत छन् ।

नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका विराजले ७२ क्याप जितेका छन् । सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा विराजले राजुकाजी शाक्यको ६८ खेलको कीर्तिमान तोड्दै नेपालका लागि धेरै खेल्ने खेल्ने कीर्तिमान बनाएका थिए ।

विराजले नेपालको राष्ट्रिय टिमका लागि एक गोल गरेका छन् । सन् २००९ मा दशरथ रंगशालमा भएको एएफसी च्यालेन्ज कप छनोटमा विराजले किर्गिस्तानविरुद्ध गोल गरेका थिए ।

विराजले घरेलु फुटबलमा थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेका छन् । २०५७ मा एन्फा एकेडेमी जोइन गरेका विराजले त्यसयता विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिमसम्मा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment