Comments Add Comment

विद्यालयमा कोरोनाको दोस्रो लहरको डर

१३ चैत, काठमाडौं । कोरोना संक्रमण फेरि फैलन सक्ने जोखिम रहेको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने काम र व्यवसाय नगर्न सार्वजनिक अपिल गरेको छ ।

भिडभाड हुने स्थानमध्ये विद्यालय पनि एक हो । पुसदेखि अधिकांश विद्यालयले विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा पठनपाठन गराइरहेका छन् । फेरि कोरोना संक्रमण फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न भने पनि विद्यालयहरु भने सञ्चालनमा छन् ।

विद्यालयहरु जनस्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चालन गरिरहेको बताउँछन् । विद्यालयहरुले मास्क अनिवार्य, सेनिटाइजर प्रयोग, हात धुनुपर्ने नियम त बनाएका छन् । तर, बालबालिकाले सामाजिक/भौतिक दुरी कायम राख्न भने नसकेको शिक्षकहरुको भनाइ छ ।

काठमाडौंका एक आधारभूत विद्यालयका शिक्षक भन्छन्, ‘विद्यालयको आफ्नै स्रोत छैन । संस्थाले सहयोग गरेकाले केही समय मास्क दियौं । अब त्यो पनि सकियो ।’

‘हाम्रो विद्यालयमा मास्क अनिवार्य बनाएका छौं । तर लागु गर्न सकिरहेका छैनौं । किनकी अधिकांश विद्यार्थी सुकुम्बासी क्षेत्रका छन्’, काठमाडौंका एक आधारभूत विद्यालयका शिक्षक भन्छन्, ‘विद्यालयको आफ्नै स्रोत छैन । संस्थाले सहयोग गरेकाले केही समय मास्क दियौं । अब त्यो पनि सकियो ।’ उनको विद्यालयले पानीको समेत अभाव भोगिरहेको बताए ।

भक्तपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा लागु गराउन समस्या हुने बताउँछन् ।

विद्यालयहरुले मास्क अनिवार्य गरेका छन् । तर बालबालिकाले हराउने, चुँडाउने, छिटो फोहोर पारिरहेका हुन्छन् । त्यस्ता विद्यार्थीलाई विद्यालयले फेरि मास्क दिनुपर्छ ।
तर विद्यालयको सीमित स्रोतले त्यो धान्न गाह्रो भइरहेको निरौलाको भनाइ छ । उनी भन्छन् ‘हामीलाई दिइने सीमित बजेटले मास्क, सेनिटाइजर, साबुन किनेर पुर्‍याउन मुश्किल छ ।’

विद्यार्थीको संख्या धेरै भएका कारण सामाजिक/भौतिक दुरी कायम राख्न मुश्किल रहेको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् । यो विद्यालयले मास्क अनिवार्य गरेको छ । संक्रमण घटेसँगै हात धुने बानी छुटेका विद्यार्थीहरुलाई फेरि हात धुन र सेनिटाइजर प्रयोग गर्न लगाउन थालेको कँडेलले बताए ।

उनले भने ‘मास्कलाई हामीले निरन्तर अनिवार्य गरेका छौं । हात धुने र सेनिटाइजरको प्रयोगलाई फेरि बढाउँछौं । विद्यार्थी संख्या बढी भएको कारण भौतिक दुरी कायम राख्न चाहिँ सकेका छैनौं ।’

थापाथलीस्थित गुहेश्वरी माविमा कक्षाकोठाको अभावका कारण धेरै वर्षदेखि दुई सिफ्ट पढाइ हुँदै आइरहेको छ । विद्यार्थीको संख्या पनि कम भएकोले भौतिक दुरी कायम राख्न सम्भव भएको प्रधानाध्यापक निता पोख्रेल बताउँछिन् ।

उनले मास्क अनिवार्य गरेको र सेनिटाइजरको प्रयोग भइरहेको बताइन् । विद्यालयमा पानीको भने अभाव रहेको उनको भनाइ छ । उनले भनिन् ‘हाम्रोमा धारा छ तर पानी आउँदैन । शौचालयका लागि अन्यत्रबाट ल्याउँछौं । पानी अभावका कारण हात धुन भन्दा सेनिटाइजरको प्रयोग गराइरहेका छौं ।’

कुपन्डोलस्थित प्रगति उच्च माविले पनि विद्यार्थीलाई मास्क अनिवार्य गरेको छ । गेटमा मास्क नलगाउने विद्यार्थीलाई मास्क दिने, ज्वरो नापिने प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे बताउँछन् । विद्यालयमा विद्यार्थीको स्वास्थ्य सुरक्षा भइरहे पनि आउने जाने क्रममा हुने जोखिम उच्च रहेको उनको भनाइ छ । घिमिरे भन्छन् ‘अहिले सार्वजनिक बस, बाटोमा अत्यधिक भिडभाड छ । विद्यार्थीलाई विद्यालय आउँदा जाँदा उच्च जोखिम छ ।’

कोरोनाको संक्रमण बढ्दै जाँदा दोस्रो लहरको संकेतको आशंका विज्ञहरुले गरिरहेका छन् । उनीहरुले लापरबाहीले गर्दा भयावह स्थिति आउन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरिरहेका छन् ।

छिमेकी मुलुकको अवस्था हेर्दा जोखिम उच्च देखिन्छ । तर, सर्वसाधारण सचेत हुनुको साटो लापरबाह भएको ललितपुरको एक विद्यालयका शिक्षक गणेश पौडेलको अनुभव छ । उनी भन्छन् ‘बाटोमा हेर्नुस् मास्क नलाई हिँड्नेहरु धेरै देख्नुहुन्छ । उनीहरुलाई कोरोना केही होइन भन्ने लाग्छ । बालबालिकामा पनि त्यसैको प्रभाव परिरहेको छ जुन गलत हो ।’

केन्द्र सरकारले तत्काल रणनीति बनाउनुपर्ने

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अभिभावकमा भने त्रास बढेको छ । बालबालिकाले समाजिक/भौतिक दुरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग लगायतमा ध्यान दिन नसक्ने अवस्था रहन्छ । त्यसबेला विद्यालयले पनि उचित निगरानी राख्छ भन्ने कुरामा विश्वस्त हुन नसक्दा अभिभावक डराइरहेका नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।

ललितपुरको एक विद्यालयका शिक्षक गणेश पौडेल भन्छन् ‘बाटोमा हेर्नुस् मास्क नलाई हिँड्नेहरु धेरै देख्नुहुन्छ । उनीहरुलाई कोरोना केही होइन भन्ने लाग्छ । बालबालिकामा पनि त्यसैको प्रभाव परिरहेको छ जुन गलत हो ।’

महासंघले अभिभावकलाई त्रसित नभई आफ्ना बालबालिकालाई स्वास्थ्य सुरक्षाका मापदण्डको महत्व बुझाउन र विद्यालयले पनि कडाइका साथ पालना गर्न/गराउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्न अनुरोध गर्दै विज्ञप्ति जारी गरेपछि अभिभावक थप त्रसित बनेका हुन् ।

विद्यालय जोखिम क्षेत्र भएकोले केन्द्रीय स्तरमा शिक्षा क्षेत्रलाई मात्रै निगरानी गर्ने छुट्टै निकाय बन्नुपर्ने महासंघका अध्यक्ष सुप्रभात भन्डारी बताउँछन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भने स्थानीय सरकारले जोखिमको अवस्था हेरेर विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा अनुसार काम गर्नुपर्ने बताउँछन् । उनी भन्छन् ‘जोखिम बढेको अवस्था छ । तर सबै क्षेत्रमा एउटै अवस्था छैन । त्यसैले आफ्नो क्षेत्रको स्थिति अनुसार स्थानीय सरकारले निर्णय लिनुपर्छ ।’

अहिले उच्च जोखिम क्षेत्र विद्यालय भएकाले समयमा नै सचेत भई केन्द्र सरकारले सरोकारवाला निकायसँग बसेर रणनीति बनाउनुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । उनी भन्छन् ‘कोरोनाको नयाँ स्वरुप फैलने जोखिम बढ्दै गइरहेकोले अब विद्यालय क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर रणनीति बनाउनुपर्छ । नत्र भोलि भयावह स्थिति आउन सक्छ ।’

स्थानीय सरकार पर्ख र हेरको स्थितिमा

विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा, २०७७ ले स्थानीय तहलाई आफ्नो क्षेत्रको अवस्था अनुसार विद्यालय सञ्चालन गर्ने वा त्यससम्बन्धी रणनीति बनाउन पाउने अधिकार दिएको छ ।

कार्य ढाँचामा प्रदेश सरकार तथा स्थानीय तहहरुले आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयार गर्नेलगायतका विषयमा स्थानीय आवश्यकता अनुकुल रणनीति तयार गरी थप क्रियाकलापहरु गर्न सक्ने भनिएको छ ।

उपत्यकामा संक्रमितको संख्या बढ्दै गइरहे पनि स्थानीय तहहरु भने पर्ख र हेरको स्थितिमा देखिन्छन् । अहिलेसम्म केही निर्णय नभएको काठमाडौं महानगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले भने ‘सबै विद्यालयलाई सतर्क हुन र जनस्वास्थ्यको मापदण्ड अपनाउन भनेका छौं । अरु ठोस निर्णय गरेका छैनौं ।’

पुसदेखि पूर्ण रुपमा सञ्चालन भइरहेका विद्यालयहरु अहिले यथावत चलिरहेका छन् । काठमाडौं महानगरले आउने साता सामुदायिक विद्यालयका शिक्षकहरुसंग गोष्ठी गर्न लागेको र त्यहाँ थप छलफल गर्ने जनाएको छ ।

ललितपुर महानगरपालिकाको शिक्षा शाखाले महानगरभित्रका सामुदायिक विद्यालयहरुलाई आवश्यक मास्क, सेनिटाइजर उपलब्ध गराइरहेको छ । विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य लागु गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयबाट हालै सूचना आएकाले केही निर्णय गरिनसकेको शाखा प्रमुख महेन्द्र क्षेत्रीले बताए ।

थप जोखिम बढे कोरोना विद्यालय सञ्चालन कार्य ढाँचा अनुसार आलोपालो प्रणालीमा जान सकिने सम्भावना भएको उनको भनाइ छ । उनले भने ‘भर्खरै स्वास्थ्य मन्त्रालयको विज्ञप्ति जारी भएको छ । अझै जोखिम बढे आलोपालो प्रणालीमा जान सकिन्छ ।’

भक्तपुर नगरपालिकाले पनि अहिलेसम्म केही निर्णय गरेको छैन । शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला पर्ख र हेरको स्थितिमा रहेको बताउँछन् । उनले भने ‘अहिलेको अवस्था हेर्दा जोखिम बढ्दै गएको छ । संक्रमितको संख्या पनि बढिरहेको अवस्था छ । हामीपर्ख र हेरको अवस्थामा छौं । केहीदिन हेरेर त्यसपछि निर्णय गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment