Comments Add Comment

पार्टीको निर्णय फिर्ता हुन्न, नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : ओली

१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनको निर्णय फिर्ता नहुने प्रष्ट पारेका छन् । साथै स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल समूहका नेताहरुको जवाफ नकारात्मक आएकाले कारबाही गर्ने बताएका छन् ।

यसअघि ७ चैतको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको नेपाल समूह शुक्रबार बोलाइएको एमाले संसदीय दलको बैठकमा उपस्थित भएको थियो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्न अध्यक्ष एवं दलका नेता ओलीलाई आग्रह गरे । विगतको तीतामीठा बिर्सिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै नेताहरुले २ जेठ २०७५ को स्थितिमा फर्किनुपर्ने बताएका थिए ।

बैठकपछि सांसद भट्टराईले सञ्चारकर्मीहरुसँग भने, ‘सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार जसरी संसदीय दल पूर्ववत् अवस्थामा फर्कियो, पार्टी केन्द्रीय कमिटी र मातहतका कमिटीहरु २०७५ जेठ २ अको अवस्थामा फर्किऔं र नयाँ ढंगले पार्टीलाई एकताबद्ध बनाएर लैजाऔं भनेका छौं ।’

तर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीका पछिल्ला निर्णय फिर्ता नहुने बताएका छन् । आफूहरुले जेठ २ मै फर्किएर सरकार र पार्टीको पक्षमा उभिएका माओवादी केन्द्रका नेताहरुको व्यवस्थापन मात्र गरेको उनले बताए । एमालेको २४१ सदस्यमा २३ जना थपेर २६४ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यसले गरेको निर्णय विधिसम्मत भएको भन्दै ओलीले भनेका छन्, ‘त्यो (२८ फागुनको) बैठकले गरेको विधिसम्मत निर्णयबाट फर्किन सकिंदैन ।’

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार केही सांसदले उठेर ‘तपाईंले यसमा पुनर्विचार गर्नुपर्छ । हाम्रो फरक मत होला, बहुमतले निर्णय होला । हाम्रा कुरा फरक मतमा राखौंला तर हामीलाई बैठकमा भाग लिने अवसर प्राप्त होस् भनेका थिए’ भनेका थिए । तर प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरेका छन् ।

उनले भनेका छन्, ‘बैठकमा भाग लिने अवसर हिजो पनि थियो, तपाईंहरु आउनुभएन । पार्टीमा मिल्ने अवस्थामा चासो राखेर आउन सक्नुहुन्थ्यो, आउनुभएन । त्यसपछिका कैयौं बैठकमा पनि अउनुभएन । आज आउनुभयो तपाईंहरुलाई स्वागत छ । तर पछाडि फर्किन सकिंदैन, पार्टीका निर्णय उल्टिंदैनन् ।’

साथै उनले पार्टी केन्द्रीय कमिटीले निर्णय गरेर चार जनालाई स्पष्टीकरण सोधेकोमा दुई जनाको जवाफ आएको बताए । ‘दुई जनाको स्पष्टीकरण आएको छ, तर त्यो अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागिदार छ’ उनले भने, ‘अरु बाँकी दुई जनाको पार्टीलाई एक ढिक्का राख्न सकारात्मक कोणबाट आओस् ।’

प्रमुख सचेतक भट्टराईका अनुसार कुन प्रकृतिको कारबाही गर्ने भन्ने आगामी केन्द्रीय कमिटी बैठकले निर्णय गर्नेछ ।

स्पष्टीकरण सोधेकामध्ये वरिष्ठ नेता नेपाल र भीम रावलले बिहीबार जवाफ दिएका थिए । जवाफमा उनीहरुले पार्टीको विधान आफूहरुले नभई अध्यक्ष केपी ओलीले उल्लंघन गरेकाले उनीमाथि नै अनुशासनको कारबाही गर्नुपर्ने माग गरेका छन् ।

स्पष्टीकरण सोधिएकामध्ये घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले जवाफ दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment