Comments Add Comment

कथा : बिसौनी

‘नमस्कार हजुरआमा !’

कुनै पनि हालतमा अब वृद्ध नजरबाट लुक्न सकिँदैन भन्ने निश्चित भएपछि युद्धमा आत्मसमर्पण गरेजत्तिको मनस्थितिमा युवक भरतले हात जोडेर विनम्रतापूर्वक भन्यो ।

अभिवादनको प्रतिउत्तरमा उठेका वृद्ध हात युवकतर्फ फर्किएका भए पनि नजर भने युवकसँगैकी युवतीमा थिए ।

लुम्बिनी मायादेवी मन्दिर घुमेर पोखरीको सामुन्नेको पीपलबोटनिर पुग्दाको अप्रत्यासित भेट थियो त्यो ।

भरत कलेजको हिउँदे बिदामा काठमाडौँबाट घर आएको थियो । त्यही मौकामा त्यो जोडी लुम्बिनी घुम्न गएको थियो । तर त्यतिबेला उनीहरू चोर्दाचोर्दै समातिएका चोरजस्ता भएका थिए ।

के पिताम्बर चाहिँ बफादार थियो त ? परस्त्रीसँग संसर्ग उसको पनि भएको थियो । तर इन्द्रमायासँग नारीअंग, गर्भाशय भएको हुँदा उनी गर्भवती भइन् र उनको परसम्बन्ध समाजमा देखियो । पिताम्बर पुरुष, उसको देखिएन

के बोलूँ–के नबोलूँको स्थितिमा युवतीबाट दुई कदम टाढा भएर युवकले यत्ति सोध्यो– ‘हजुरआमा कहिले आउनुभएको ?’

‘तीन दिन भयो’ उनीहरुतर्फ हेर्दै नहेरी चश्मा निकालेर पुछ्दै वृद्धाले जवाफ दिइन् ।

‘हजुर अब यतै बस्ने गरी आउँदै हुनुहुन्छ भन्ने सुनेको थिएँ । आइसक्नुभयो भन्ने थाहा थिएन’ भरतले भन्यो ।

‘बुढेसकाल भयो, अब काठमान्डू छाडेर आफैसँगै बस्नुपर्छ भनेर जिद्दी गर्छे छोरी । मैले उसलाई आउजाउलाई नजिक पनि पारेर लुम्बिनी रोजें’ वृद्धाले भरतलाई जवाफ दिँदादिँदै सँगै बसिरहेका सन्यासीतर्फ पनि हेरिन् ।

‘हवस्, अहिलेलाई बिदा । पछि फेरि भेटूँला’ भनी भरत बिदा हुन सकेन ।  न सकिरहेको थियो स्थिर भएर उभिइरहन । परिस्थिति बुझेर पीपलको शीतल छायाँ र आफ्ना साथीहरू छाडेर वृद्धा नै विपरित दिशातर्फ अघि बढिदिइन्, मुसुमुसु हाँस्दै ।

केही पाइलाको दूरी निश्चित भएपश्चात् धर्तीले बिस्तारै सोधी– ‘को हजुरआमा हो र ?’

भरतले पछाडि फर्किएर हे¥यो । वृद्ध पुगेको स्थानसम्म उनीहरूको भलाकुसारीको स्वर नपुग्ने विश्वस्त भएपछि बोल्यो भरत– ‘उहाँ रमाकाकीको आमा ।’

भरतको कान्छो काकाको जीवनसंगिनी थिइन्, रमाकाकी ।

धर्ती र भरतले एउटै माध्यमिक विद्यालयबाट एक वर्ष अघि–पछि भएर एसएलसी गरेका । धर्तीको घर नयाँमिल । भरतको मणिग्राम, विद्यालयभन्दा पश्चिम पुरानो सडकनिर । सामाजिक कार्यमा एकै ठाउँमा जुट्ने दूरीको दुई गाउँ । त्यस निकटताले गर्दा रमाकाकीलाई धर्तीले पनि चिनेकी थिई ।

त्यतिञ्जेलसम्म गोप्य राखेको प्रेम सम्बन्धको अब पर्दा खस्यो भन्नेमा धर्ती निकै चिन्तित थिई । भरतले भन्यो– ‘कति डराएकी ? ढुक्क हौ, हजुरआमाले कसैलाई भन्नुहुन्न ।’

‘कसरी भन्न सक्छौ तिमी, उहाँले कसैलाई भन्नुहुन्न ?’ धर्तीले सोधी ।

‘यसरी भन्न सक्छु कि, उहाँले हामीले भन्दा राम्रोसँग प्रेम बुझ्नुभएको छ’ भरतले भन्यो ।

‘त्यस्तो बूढीमान्छेलाई के भनेको त्यस्तो ?’ भरतको कुरामा असहमति जनाई धर्तीले ।

– ‘बूढीमान्छे कुनैबेला युवती हुँदैनन् । युवा नभई वृद्ध हुन्छन् ?’

– ‘अनि सबै युवायुवती के प्रेम गर्छन् ?’

‘एक पटक सबैको हृदयमा प्रेमको बीउ रोपिएको हुन्छ । कसैको अंकुराउँछ । फल्न फुल्न पनि दिन्छन् । कसैले शुरूमै निमोठेर मिल्काउछ्न्, फरक त्यति हो’ भरतले भन्यो ।

‘सबैमा तिम्रो यो सिद्धान्त लागू हुन्न’ धर्तीले असहमति जनाई ।

– ‘तर ती हजुरआमामा लागू भएको थियो । प्रेम ढकमक्क फुलेको थियो र लटरम्म फलेको पनि थियो ।’

त्यो जोडी अशोकस्तम्भमा पुगेपछि अगाडिबाट मूलबाटोमा ननिस्किएर, पछाडिको जंगलको बाटो समात्ने निर्णयमा पुग्यो, ताकि अब अरू परिचितसँग जम्काभेट नहोस् ।

‘त्यो समयमा उहाँको प्रेम, उहाँको हिम्मत सुन्दा, पढ्दा मलाई अचम्म लाग्छ’ भरतले भन्यो ।

‘होइन कहाँबाट पढ्यौ उहाँको प्रेमपत्र तिमीले ?’ धर्तीले सोधी ।

कुरा सुनेर धर्तीले आश्चर्य मान्दै भरतको अनुहारमा हेरी ।‘प्रेमपत्र होइन, अक्षर–अक्षर उहाँको प्रेमजीवन पढेको छु’ भरतले भन्यो ।

‘मेरो काकाले उहाँकी छोरीसँग प्रेमविवाह गर्नुभएको । तर मेरो हजुरबुबाले धेरै वर्षसम्म स्वीकार्नुभएको थिएन ।’

‘नस्वीकारेको किन ? के कारणले ?’ धर्तीले सोधी ।

भरतले अब भने गम्भीर भएर बोल्यो– ‘यो हजुरआमाको लोग्ने पिताम्बरसँगै मेरो हजुरबुबालगायत अरू धेरै जना साथी राजनैतिक कारणले गिरफ्तार हुनुभएको रे ! हजुरबुवाहरूलाई लामो समय जेल सजाय भएछ, तर रमेश भन्नेचाहिँ बयानपछि छिट्टै छुटेछ । हजुरबुवाको साथी पिताम्बर, जेलमै भएको बेला छुटेर आएको त्यही रमेशको पेट बोकेर जन्मिएकी रे हाम्री रमाआन्टी ।’

‘के भनेको होला रमेशको पेट बोकेर जन्मिएकी ?’ भरतको घटना प्रस्तुतिको शैलीमा तत्काल आपत्ति जनाई धर्तीले ।

‘रमेशको गर्भधारण गर्नुभयो, अब भयो ?’ भरतले सुधार गर्दै भन्यो ।

‘कुरा पेट बोक्नु या गर्भाधारण गर्नुजस्ता शब्दको मात्र होइन । फलानाको पेट बोकेको या फलानाको गर्भाधारण गरेको भन्नु नै सरासर गलत हो । गर्भ आइमाईको हो, होइन र ?’ धर्तीले विमतिसाथ रिसाएर भनी ।

‘ल बाबा, तिमी गर्भवती भएपछि तिम्रो मात्र भनौंला, खुस ?’ धर्तीलाई खुसी तुल्याउने अभिप्रायमा बायाँ कुमले धकेल्दै जिस्क्याएर भन्यो भरतले ।

धर्तीले मुस्कुराउँदै, माथि उडिरहेको चरातर्फ हेरी ।

एकछिनमा बोल्यो भरत– ‘तिमीलाई अझ स्पष्ट चिनाइदिउँला, उहाँ को हो ?’

‘जे भन्न छ, स्पष्ट अहिले नै भन ! यो किस्ताबन्दीमा कुरा नगर !’ हिँडेका पाइला रोकेर धर्तीले भनी ।

–‘एउटा पुस्तक पढ ! अनि मैले मौखिक चिनाउनु पर्दैन ।’

‘कुन–कस्तो पुस्तक, कहाँ पाइन्छ ?’ धर्तीलाई आफ्नो कलेजको कोर्सकोभन्दा बाहिरको पुस्तक पढ्न रुचि नै छैन । त्यसकारण निकै आलस्य मान्दै सोधी ।

‘पढ्ने भए किन्न जानु पर्दैन, म उपहारमा दिउँला !’ भरतले अगाडि भन्यो– ‘साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती भन्ने उपन्यास ।’

‘ए, त्यो भनेको ? त्यो  त मैले पनि पढिसकेछु नि ! कोर्समै पढ्न पर्छ हामीले । पख पख… इन्द्रमाया, उनको  लोग्ने पिताम्बर, रमेश अनि छोरी रमा ।’ एक–एक पात्र स्मरण गर्दै बोली धर्ती ।

‘हो, उहाँ नै त हो इन्द्रमाया । आजभोलि माया भनेर चिन्छन् हजुरआमालाई ।’ भरतले भन्यो– ‘यो उमेरसम्म तीन मात्र होइन, अझै अरू पनि अप्ठ्यारा घुम्ती पार गर्नुभयो यो हजुरआमाले । तर हार मान्नुभएन । बिना बाबुकी छोरी भनी जुन आरोप समाजले रमाकाकीलाई लगायो, त्यसको निम्ति सिङ्गै समाजसँग लड्नुभयो ।

हिँडेर होइन बसेर सुन्न चाही धर्तीले । बाटोछेउ सिसौको छायाँमा बसी र भरतलाई पनि बस्ने इशारा गरी । एक हातले टेकेर बस्दै भन्यो भरतले– ‘रमेशले जतिसुकै सफाइ दिए पनि दरबारसामु आफूहरूको गोप्य सूचना चुहाउने रमेश नै हो भन्नुहुन्थ्यो हजुरबुबाले ।’

हजुरबुबाको अन्य अभिव्यक्ति स्मरण गर्दै भन्दै गयो, ‘पिताम्बर जेल परेपछि बेसहारा भएकी थिइन् इन्द्रमाया । जन्मघरबाट भागेर पिताम्बरसँग गएकी हँुदा माइतीले पनि सधैंको लागि त्यागेका थिए इन्द्रमायालाई । रमेश सबैभन्दा अघि छुटेर इन्द्रमायालाई भेट्न गयो । बेसहारालाई सहारा दिएर र त्यो द्रोहीले एक्ली इन्द्रमायाबाट फाइदा लिएको थियो भन्नुहुन्थ्यो हजुरबुबाले ।’

‘जसको लागि जन्मघर छाडेर गइन्, जसलाई पतिवरण गरिन्, उसलाई चटक्क बिर्सिएर पतिले नै भाइजस्तो मानेको राजनैतिक साथीसँग त्यो कस्तो प्रेम हो ?’ भरत रिसाएको भावमा बोल्यो । यसरी बोल्यो कि त्यो प्रेम इन्द्रमायाको होइन, धर्तीको हो ।‘होइन, मेरो बुझाइमा इन्द्रमायाले सहाराका लागि मात्र आफूलाई समर्पण गरेकी होइन । त्यहाँ प्रेम थियो । लोग्नेको गिरफ्तारीअघिदेखि नै भित्र–भित्र प्रेम गर्थिन् इन्द्रमाया रमेशलाई’ धर्तीले असहमति जनाई ।

‘इन्द्रमायाले कुनै पल आफ्नो पिताम्बरलाई बिर्सिएकी थिइनन् । तर प्रेमको निम्ति जन्म दिएका आमा–बाबु, जन्मघर, सम्पूर्ण त्याग गरेर पिताम्बरको शरणमा गएकी इन्द्रमायाको हृदयलाई त्यो परपुरुषतर्फ कदम बढाउन बाध्य बनाएको पिताम्बरकै व्यवहारले हो’ परीक्षाको बेला दोहो¥याएर पढेको पुस्तकभित्रका एक–एक घटना स्मरण गर्दै भनी धर्तीले ।

‘तिमी के भन्दै छौ ? भोलि म व्यस्त भएँ, काम प्राथमिकतामा पर्‍यो भने तिमी मलाई बिर्सिएर अरूसँग… ?’ रिसाउँदै भरतले बीचमै वाक्य छाड्यो ।

‘यहाँ कुरा तिम्रो र मेरो छैन । बिल्कुल फरक परिस्थितिको कुरा हुँदै छ । इन्द्रमायाले आफूलाई रोक्न नखोजेको हो र ? तर पिताम्बरको उदासिनताले पनि बाध्य बनायो । के पिताम्बरचाहिँ बफादार थियो त ? परस्त्रीसँग संसर्ग उसको पनि भएको थियो । तर इन्द्रमायासँग नारीअंग, गर्भाशय भएको हँुदा उनी गर्भवती भइन् र उनको परसम्बन्ध समाजमा देखियो । पिताम्बर पुरुष, उसको देखिएन’ धर्तीले प्रस्ट्याउन खोजी ।

निकै आश्चर्यका साथ हेरिरहेको थियो, बोलिरहेकी धर्तीलाई भरतले ।

‘विचार गर ! प्रेमको सम्मान गर्न सिक ! सबैभन्दा भरोसा गर्न नसकिने पनि आफ्नो मनको नै हो । त्यही मन नै नियन्त्रणबाट फुत्किएर आफ्नै विपरीत भैदियो भने जे पनि हुन सक्छ । त्यो दुर्घटना कसले रोक्न सक्छ ?’ धर्तीले हाँस्दै भनी र बसेको ठाउँ छाडेर उठी । अनि भरतलाई उठ्नको निम्ति आफ्नो एक हात दिई ।

‘बधाई छ, धम्कीको भाषा बोल्न सिकिछौ’ हात समाएर उठेपछि धर्तीलाई बायाँतर्फबाट अँगालेर साथ–साथ  हिँड्दै भरतले भन्यो ।

०००

बुटबल बसपार्क । दिन ढलेर साँझ उठ्दै गरेको समय । भरत काठमाडौंको निम्ति रात्रिबस पर्खिरहेको थियो । सानो झोला हातमा अनि ठूलो झोला पिठ्यूँमा बोकेर एक्लै आइरहेकी धर्ती ल्याम्पोष्टनिर देखापरी ।

‘तिमी कहाँ हिँडेकी ?’ देख्नासाथ भरत धर्ती आएतर्फ गएर नजिक पुगेपछि सोध्यो । दिउँसो भेटको बखत पनि धर्तीले साँझ कहीं जाँदै छु भन्ने योजना सुनाएकी थिइन । त्यसकारण पनि भरत आश्चर्यमा प¥यो ।

उस्तै आश्चर्यभावमा फेरि सोध्यो– ‘तिमी, कहाँ जान लागेकी ?’

‘काठमाडौं ।’ धर्तीले जवाफ दिई ।

भरतले परपरसम्म नजर तानेर सोध्यो– ‘एक्लै ?’ धर्तीले कहिल्यै रात्रिबसको एक्लै यात्रा गरेकोबारे उसलाई थाहा थिएन ।

‘तिमी के त !’ धर्तीले भनी– ‘म पनि तिमीसँगै जान आएकी ।’

‘किन जान लागेकी काठमाडौं ? कुन ठाउँ जाने तिमी त्यहाँ ? कसको घरमा ? को  छ र तिम्रो त्यहाँ ?’

धर्तीको कुनै नातेदार–आफन्त काठमाडौंमा छन् भन्ने भरतलाई त्यस दिनसम्म थाहा थिएन । भरतले प्रश्नको ताँती लगायो ।

‘तिमी के त मेरो !’ धर्तीले उसरी नै जवाफ दिई ।

त्यो यात्रा प्रयोजन बुझ्न नसकेर भरत निकै अलमल परेको देखेर धर्तीले भनी– ‘म मेरो सर्टिफिकेटहरू लिएर आएकी छु । म त्यहीं गएर जागिर गर्छु । तिमी पढौला’ धर्तीले भनी ।

‘के भन्दैछौ तिमी ? ठट्टा गरेकी ?’ भरतले सुन्नासाथ प्रतिक्रिया दियो  ।

‘ठट्टा होइन । आमा कसम ! म मेरो घर छाडेर आएँ । अब जे पर्छ समाधान गर्दै जाउँला !’ पूर्णतः विश्वस्त पार्न कसम खाएर भनी धर्तीले ।

‘अनि मेरो पढाइ ?’ भरत आत्तियो ।

महाराजगञ्ज, चिकित्साशास्त्र दोस्रो वर्षको विद्यार्थी थियो ऊ ।

‘मैले भनिसकें नि, तिमी खुरुखुरु पढ । म जागिर  गर्छु’ धर्तीले भनी ।

‘काम पाउन त्यति सजिलो छ, त्यहाँ ?’ भरतले ठूलो स्वरमा भन्यो ।

‘ढिलो–चाँडो पाइन्छ । नपाउँदासम्मको लागि म बन्दोबस्तसाथ आएकी छु’ धर्तीले भरतको एउटा हातमाथि आफ्नो हात राखी ।

‘कस्तो बन्दोबस्त ? बुबा–आमाको पैसा–गहना चोरेर आयौ ?’ जवाफमा केही बोलिन धर्ती ।

‘एक्कासि के भयो ? दिउँसोसम्म यस्तो कुनै सनक थिएन त !’ भरत नै अलिक झोक्किँदै बोल्यो ।

‘यो सनक होइन, मेरो बाध्यता हो । हो, सबै एक्कासि भयो । तिम्रै ब्याचको, त्यो तिम्रो घरछेउको ,त्यो जुँगे दिवाकरसँग मेरो विवाह निश्चित भयो । पर्सि बिहेको रातो लाउने रे ! त्यो बिहे छल्न मसँग योभन्दा अर्को उपाय छैन’ धर्तीले भरतको बाटो पछ्याउँदै आउनुको कारण बताई ।

–‘तर तिमीले यसरी घर छोडेर हिँड्नु राम्रो होइन ।’

‘तर अहिले नै म तिमीलाई लान सक्दिनँ’ भरत एक पाइला पछाडि स¥यो ।‘के त्यसो भए ऊसँग बिहे गरी जानु राम्रो हो त ?’ धर्तीले रिसाएर भनी ।

‘तिमीले लान पर्दैन । म आफैं बसमा बसेर जाने हो’ धर्ती भरततिर एक पाइलो अघि बढी ।

‘मजाक नगर ! मेरो घरपरिवार कति कट्टर हुनुहुन्छ, तिमीलाई थाहा छ ?’ अलि चर्को बोलेपछि भरतले दायाँ–बायाँ हेर्‍यो, बसको अन्य प्रतीक्षारत यात्रीको कानसम्म पुग्यो कि भन्ने निश्चित गर्न ।

‘पहिले नै मैले तिम्रो र मेरो मिलन सम्भव छैन भन्दा तिमीले नै होइन सम्भव छ भनेको ?’ धर्ती कड्किई ।

‘सम्भव छ भन्नुको अर्थ यो होइन । के म यत्तिकै छाडिदिनु यतिका वर्षको मिहिनेत र लगानी, तिम्रो पागलपनमा ?  हाम्रो अन्तरजातीय विवाहको निम्ति परिवारलाई तयार पार्न बाँकी छ, धेरै कुरा बाँकी छ ।

म मेरो पढाइ पूरा गर्छु, आफ्नो खुट्टामा उभिन्छु अनि बिस्तारै परिवारलाई सम्झाएर विवाहको निम्ति राजी बनाउनेछु भन्ने थियो । एक्कासीको तिम्रो यस्तो एक्लो निर्णयले कसरी सम्भव हुन्छ ?’ भरतले प्रश्न खडा ग¥यो ।

त्यहीबेला यात्री लिन बस आइपुग्यो, ‘आउनुहोस्, नारायणघाट–काठमाडौं’ भन्दै । भरतले ध्यानपूर्वक बस नम्बर हे¥यो र आफ्नो टिकट पनि हे¥यो । र, भन्यो– ‘मेरो बस आयो । तिमी फर्किएर घर जाऊ !’

‘म फर्किएर जाँदिन । सक्न पनि सक्दिन । आज म फर्किजानु तिमीसँग सधैंको निम्ति टाढा हुनु हो’ धर्तीले भनी ।

यात्रीहरू बसमा हतार–हतार उक्लिए । बसका सहचालक ‘छिटो गर्नुस्, छिटो’ भन्दै उक्लन मुस्किल हुनेलाई पछाडिबाट धकेल्दै थिए । ती दुईबाहेक बाँकी सबै बसमा चढिसकेका थिए । भुइँमा रहेको भरतको झोला सहायकले नै टिपेर भित्र लग्दै भन्यो– ‘छिटो आउनुहोस्, यहाँ धेरैबेर रोक्न मिल्दैन ।’

बसले पनि छुट्नै लागेको संकेतमा लामो हर्न बजायो । भरत बसतर्फ अघि बढ्यो ।

‘दिदी छिटो आउनुस् !’ सहायकले ढोकाबाट धर्तीलाई बोलायो । बोलाएन भरतले । तर पनि धर्ती अघि बढ्दै थिई । उक्लिन सहयोग गर्न ओर्लंदै गरेको सहायकलाई रोकेर भरतले भन्यो– ‘ऊ यो बसमा जाने होइन ।’

तत्कालै सहायकले औंला मुखमा राखेर सिठी बजाउँदै चालकलाई सूचित ग¥यो अगाडि बढ्न ।

धर्ती छुटी यात्रामा, त्यहींनिर । भरतलाई लिई गएको बस पर पुग्दा रातो पिलपिल बत्ती मात्र देखी । अनि त्यही पनि छेकिदियो, आँसुको पर्दाले ।

आमा–बाबुको विरुद्धमा उठाएका कदम चौराहामा पुगेर जडवत् उभिए । आफूलाई कतिबेला तिनाउ नदीको पुलमा पु¥याई, उसैलाई पत्तो थिएन ।

तल शान्त बगिरहेको पानीमा पनि रातको आधा शहर टक्लिरहेको थियो । आउने–जाने गाडी पनि प्रकाशमान थिए । शहरमा बत्तीको उज्यालो झलमल थियो, उसको मन भने औंसीको रातजत्तिकै अन्धकार ।

‘तेरो जीवन, तँ आफू जेसुकै गर’ भनेभैmं आफूबाट अलग्याएर भरत अघि बढिसकेको थियो । धर्ती विश्वस्त थिई, जन्मघर छाडेर आएकी इन्द्रमायालाई छातीको सहारा दिएर पिताम्बरले आफ्नो गृहप्रवेश गराएजस्तै भरतले जीवनमा निःशर्त प्रवेश दिनेछ । तर सबै मित्थ्या । विश्वासको अग्लो पर्खाल भत्किएको थियो, गल्र्याम्म ।

प्रेमको अपमानबोधले घाइते, धर्तीले बगिरहेको तिनाउ हेरी । नदीको सुसेली सुनी । रोकिनु हुन्न, जस्तो परिस्थितिमा पनि निरन्तर बग्नु, नदीको धर्म । नदीजस्तै सुसेल्दै बग्नु त हो जीवन ।

गह्रुङ्गो पिठ्यूँको झोला उतारेर पुलबाट तल खसालिदिई । तमाम सपनासाथ बोकी आएको झोला रातको समयमा नदीको गहिराइमा विलय भयो ।

बेगसँग आएको मालबाहक गाडीले पुल कम्पन हुन्थ्यो । पुलले बाटो मात्र जोडेको हुन्न, भार पनि खेपेको छ, निरन्तर । म पनि खेप्छु ।

नदीबाट उठेर आएको चिसो हावामा गहिरो श्वास फेरेर– पाइला अघि बढाई धर्तीले । जति अघि बढ्थी पाइला–पाइलामा पश्चात्ताप बढ्दै जान्छ । ‘कि त्यहाँ प्रेम नै थिएन ?’ सोध्छे आफूलाई । ‘के थियो त त्यतिका वर्ष बिताएका प्रेमिल समय ?’ सरकारी अस्पताल अगाडिसम्म पुग्दा भरतको प्रेमभन्दा तिरस्कारको तराजु भारी हुँदै गएको प्रतीत हुन्थ्यो ।

उसको घरतर्फ जाने बसहरूले रातको विश्राम लिइसकेका थिए । हिँडेर नै घर पुग्न तम्सिई । मुख्य कुरा, ठूलो झोला बोकेर नै फर्किएको अवस्थामा धेरै प्रश्नको सामना गर्नुपथ्र्यो । त्यो आशकाबाट मुक्त भएकी थिई ।

सबैभन्दा भरोसा गर्न नसकिने पनि आफ्नो मनको नै हो । त्यही मन नै नियन्त्रणबाट फुत्किएर आफ्नै विपरीत भैदियो भने जे पनि हुन सक्छ । त्यो दुर्घटना कसले रोक्न सक्छ ?

तर झोला बिसर्जन गरेको भए तापनि अरू यावत् ऊभित्र नै थियो । अनुहार मनग्गे बोल्नेछ । ज्वारभाटा शान्त पार्न पनि त्यो रात गोलपार्कमा डेरा गरी बसेकी सहपाठी साथी मीराकहाँ बिताउने निर्णय गरी । त्यसअघि पनि साथीको कोठामा पढ्न आएर दुई–चार रात बिताएकी पनि थिई । स्मरणमा झल्याँस्स भई । हुन पनि मीरासँग जान्छु भनेर खबर भदैनीसँग छाडेर आएकी थिई । भोलि साथीलाई पनि साथ लिएर घर जाने ठहर गरेर सहपाठीको डेरातर्फ हिँडी ।

‘तर त्यति राति कहाँ गएर आएँ भन्नु साथीलाई ?’ प्रश्नको उत्तर आफैंसँग खोज्दै थिई । हुन त भरत र धर्तीको प्रेमसम्बन्ध बारेमा त्यस साथीबाट छिपेको थिएन । तर ऊसँग भरतले भरोसा भत्काएको, प्रेम लत्याएको कुरा कसरी गर्ने ? कति उच्च गर्वका साथ आफ्नो प्रेमको सन्दर्भमा कुरा गर्थी ऊसँग । धर्तीले हिँड्दाहिँड्दै सुनसान रातमा निकास निकाली, ‘भन्नेछु, भरतलाई बिदाइ गर्न आएको फर्किन गाडी पाइनँ ।’

धर्ती डेरामा पुग्दा साथी थिइन । साथीका दाजुले ढोका खोलेका थिए । भित्र पसेपछि दाजुले भनेका थिए, ‘नन्द–भाउजू नेपालगञ्जबाट हिँडिसके । पाँच बजे बिहान आइपुग्छन् ।’

घडी हेरी, अझ ६ घन्टा बाँकी छ ।

‘फर्की जा’ भन्दैमा छाडेर भागी आएको घर कसरी फर्कीजाली भन्नेसमेत भरतको हेक्का रहेन । त्यो बेवास्तालाई प्रेमको तिरस्कार सम्झिएर निकै घाइते थिई धर्ती । तथापि त्यति छिटो प्रेमलाई घृणामा रूपान्तरण गर्न कहाँ सक्थी ? ऊसले सोची, त्यो चोट बिर्साउन अर्को चोट होस् । त्योभन्दा भयानक चोट । चोट पाउनको निम्ति छटपटाई ऊ । अनि निस्कने तरखरमा भनी– ‘म घर जान्छु ।’

‘मसँग बाइक भए पुराइदिन्थेँ । साधन पाइँदैन, कसरी जान्छौ यतिबेला ? बिहानै बहिनी आइपुगिहाल्छे’ साथीका दाजुले भने ।

बाहिरी ठूलो कोठा, एकातर्फ काउच राखेर बैठक तुल्याइएको थियो । दाजुको सुत्ने कोठा पनि त्यही थियो । त्यही कोठा भएर जाने अर्को भित्री कोठा, जहाँ थियो एकातर्फ भान्सा, अर्कोतर्फ मीरा सुत्ने एउटा खाट अनि पढ्ने पुस्तक र लाउने लुगाको आलमारी । धर्तीको निम्ति आफ्नो पलङमा छाडेर दाजु भित्र सुत्न गए ।

बिताएका पलको सम्झना लामबद्ध आएको हुँदा धर्ती असह्य पीडामा रन्थनिएर बसिरहेकी थिई ।

धेरैबेरमा दाजु बाहिर निस्किएर भने– ‘किन नसुतेकी ? के सोचेर बसेकी यसरी ? बत्ती निभाइदिऊँ ?’ भनिसक्दा बिजुलीबत्तीको स्वीच बन्द गरी पनि सकेको थियो ।

‘केही समस्या प¥यो हो ?’ टाढैबाट दाजुले सोधे ।

धर्तीले जवाफ दिइन ।

‘केही त अवश्य भएको छ  । भन, के भयो ?’ यो पटक भने आवाज ज्यादै निकटबाट आएको थियो । अति मायालु आफन्त प्रश्नले मात्र पनि धर्तीको रोकिराखेको आँशुको बाँध फुटाइदियो ।

झ्यालको छिद्रबाट अँध्यारोमा निकै मधुरो गरी जून पसेको थियो । तर त्यस समयको धर्तीको अन्धकार छाएको मनको तुलनामा त्यो जून कति हो कति उजेलो !

‘सबै सकियो । भरोसा टुटेपछि केही बाँकी रहँदैन रहेछ । तिरस्कारभन्दा ठूलो चोट निकै गहिरो हुने रहेनछ’ धर्तीले भक्कानिएर भनी । अनि पलङको बारमा अडेस लागी चौतारीमा सम्पूर्ण थकाइ बिसाए झैं भयाे ।

०००

प्रहरले बिहान भए पनि उजेलोको अर्थमा पूर्ण बिहान भएकै थिएन । ‘दाइ !’ आवाजले धर्तीको निद खुल्यो । मुख छोपेको सिरक हटाई उसले । सामुन्ने साथी मीरा थिई, अलि पर उसकी भाउजू थिइन् ।

‘तिमी पो ? दाइ नै सुतिराख्नुभएको जस्तो लागेको थियो’ मीराले आश्चर्य मान्दै भनी ।

पासालाई बिदाइ गर्न आएको फर्किन गाडी नपाएको कुरा योजनामुताबिक सुनाई धर्तीले । पासाको वास्तविक अर्थ मीराले मात्र स्पष्ट बुझ्थी ।

‘दाइ हामीलाई लिन बसपार्क आउने कुरा थियो, आउनुभएन । कहाँ जानुभयो त ?’ मीराले सोधी ।

‘खोई, म भुसुक्कै निदाएछु । केही थाहा पाइनँ’ धर्तीले भनी ।

मीरालाई पनि साथ लिएर घर जाने धर्तीको उद्देश्यमा फेरबदल भएको थियो ।

निकै गाह्रो मान्दै उठेर भनी– ‘अब त बस पाइन्छ, म घर जान्छु ।’

धर्ती घरमा पुग्दा भाउजूले भर्खर ढोका उघार्दै थिइन् । ‘नसोधी कहाँ जानुभएको ? दाजु रिसाउनुभएको छ’ भाउजूले सतर्क बनाइन् ।

‘म मीराकहाँ गएकी थिए । नानीलाई भनिदिनु भनेकी थिएँ । भनिन र ?’ सानी भदैनीको टाउकोमा राखेर ऊ उम्किएकी थिई ।

‘त्यसरी खबर मात्र छाडेर हुन्छ ? सोध्न पर्दैन ?’ अनुमति नलिएको आफूखुसी अवगत मात्र गराएकोमा आपत्ति जनाइन् भाउजूले ।

त्यसअघि कहिल्यै धर्तीले परिवारको बिना स्वीकृति कुनै रात बाहिर बिताएकी थिइन ।

काठमाडौं पुगेर मात्र सबै कुरा अवगत गराउने योजना थियो, त्यतिञ्जेल आफ्नो खोजी नहोस् भन्ने उद्देश्यका साथ मीराको डेरामा पढ्न गएको बहाना छाडेकी थिई ।

हरेक घरमा टेलिफोन उपलब्ध थिएन । चोकको दोकानमा मात्र थियो फोन । भरतले गर्दा धर्तीलाई कÞेटाको फÞोन आयो भन्ने पर्छ भनेर कुनै केटीमान्छेलाई फोन गर्न लाउँथ्यो, अनि मात्र आफू बोल्थ्यो । धर्तीले चाहेर–नचाहेर त्यो फोनको प्रतीक्षा गरिरही ।

सकुशल घर पुगी–पुगिनसम्मको पनि चासो भएन उसलाई ? आमा–बाबुको खुसी नाघेर त्यस मान्छेलाई मैले जीवन सुम्पन हिँडेकी ?… संघार नाघेर उठाएका पाइलाप्रति फेरि पनि निकै पश्चात्ताप भयो धर्तीलाई ।

अनि त दिवाकरसँग विवाह हुने निश्चितताको भोलिको रातो टीका पनि टाढा लाग्यो धर्तीलाई ।

०००

डेढ महिनापछिको राम्रो साइत जुर्‍यो । दुई परिवारले प्रतिबद्धतामा रातो टीका लाए । विवाहको मिति तय भयो ।

धर्तीले सकेसम्म खुसी हुने प्रयत्न गरी । हुनुभन्दा पनि खुसी देखिन । भगवानसँग उसको प्रार्थना थियो, ‘हे ईश्वर, म सबै–सबै बिर्सिएर मनबाट, शरीरबाट दिवाकरको अर्धाङ्गिनी हुन सकूँ !’

सबै बिर्सनेको निम्ति सम्झनामा बलियो पर्खाल लाउन प्रयास गरी । तर अवशेष मेटाउन नसकेको अतीतले छिनछिनमा चियाउँथ्यो र व्याकुल भने अवश्य तुल्याउँथ्यो ।

भागी जान खोज्ने नाजुक मनलाई, मनकै बलियो साङ्लोले बाँधेर विवाहमण्डपमा बसी ।

विवाहपछिका लोग्ने–स्वास्नीको एकान्त पनि भंग गर्न खोज्यो अतीतले । असहज मान्थी । ‘बाहिरबाट कसैले हेरेको छ’ उसले भन्थी ।

‘सधैं तिम्रो भ्रमले मात्र हेर्छ’ लोग्ने दिवाकरले हाँस्दै भन्थ्यो, ‘झ्यालढोका सबै थुनेको छ ।’

उसले प्रयत्न गर्थी, एक फल्याक अझ थुन्न नसकेको उसको मनको ढोका पनि थुन्न । तर सक्थिन र त्यसमा उसलाई निकै ग्लानि हुन्थ्यो ।

धर्तीको प्रयत्न हुन्थ्यो, म आफ्नो सम्बन्ध इमान्दारिताका साथ निभाउँ ! तर कहिले नीदमा आत्तिएर उठ्थी । दिवाकरले सोध्थ्यो, ‘के भयो, नराम्रो सपना देख्यौ ?’

यो पनि सोध्थ्यो, ‘मसँग खुसी छौ नि ?’

‘दुःखी हुनुपर्ने कारण छ र ? यति धेरै माया दिनुभएको छ ।’ धर्तीले बिस्तारै भन्थी ।

दिवाकरको खुसी र उत्साह देख्दा धर्तीलाई निक्कै आनन्द महसुस हुन्थ्यो । जति–जति धर्तीको गर्भाशयको उचाइ बढ्दै जान्थ्यो, त्यति नै दिवाकरको खुसीको लम्बाइ र गहिराइ बढ्थ्यो ।

‘यो माया अहिले पलाएको होइन । तिमीले पहिला महसुस गरेकी थिइनौ’ दिवाकरले भन्थ्यो, ‘हो ! तिम्रो निम्ति प्रेमपत्र कतिले लेखे–लेखे ! तिम्रो हठी स्वभावले कोही पनि तिम्रो नजिक पर्न सकेनन् । स्कुलमा तिमीलाई पत्र दिने एक जनालाई हेडसरकहाँ पु¥याएर कुटाएकी थियौ । अर्कोलाई भलिबल ग्राउण्डमै गएर झापड हानेकी थियौ । अनि म बिचराको हिम्मत कहाँ ? मेरा दिदी–भिनाजुले मेरो भित्री इच्छा बुझेर तिम्रो घरमा कुरा चलाउनुभयो । तिमीले स्वीकार ग¥यौ भन्ने सुनेपछि मेरो त प्वाँख नै पलायो ।’

‘खोई त अहिले ती प्वाँख ? कि उडेका बेला खसे ?’ धर्तीले हाँस्दै सोधी ।

‘मेरो जन्म धन्य भएको छ । ईश्वरले मेरो प्रार्थना सुने । तिमीलाई प्राप्त गर्न नसकेको भए मेरो जीवन व्यर्थ हुने थियो । संसार जितेजस्तो लागिरहेछ साथीहरूसामु । सबै साथीलाई हाम्रो विवाहमा निमन्त्रणा गरी भोज खुवाउँदा कति आनन्द अनुभूति भयो होला मलाई ? तर भरत भने छुट्यो । तर ऊ छुट्नु त्यति दुःख लागेन ।’

धर्तीले सम्झी, विवाहमा मेरो पनि मीरालाई निमन्त्रणापत्र गएन । खाममा लेखिसकेर पनि पठाइन । निमन्त्रणा नपाएर कुँडिएको चित्तले मीरा र धर्तीको दूरी बढ्यो । छोट्याउने प्रयास दुवैले गरेनन् । उसको प्रेमको साक्षीका फाइल त्यही बन्द भएको थियो ।

‘किन भरत छुटेकोमा दुःख नलागेको ?’ भन्ने धर्तीले प्रश्न नगरी दिवाकरबाट जवाफ पाई, ‘भरत मात्र थियो तिमीलाई प्रेमपत्र नलेख्ने । नत्र साराका सारा तिम्रो पछाडि… । भरतले हाम्रो विवाहबारे थाहा पाएर आफैंले फोन गरेको थियो । निक्कै खुसी भएको थियो । परीक्षाको कारण आउन पाएन भन्थ्यो ।’

धर्तीले पहिलो पटक लोग्नेको मुहारका रेसा–रेसा केलाएर हेरी । बोलीमा निष्कपट थियो । ऊ विभोर भई ।  लोग्नेलाई त्यस्तै खुसीमा राख्ने प्रण गरी ।

दिवाकरको पोल्टामा अर्को खुसी पनि थपियो ।

डाक्टरी परीक्षणपश्चात् जब धर्ती गर्भवती भएको नतिजा आयो, दिवाकरले भन्यो– ‘म उडूँ–उडूँ भएको छु ।’

दिवाकरको खुसी र उत्साह देख्दा धर्तीलाई निक्कै आनन्द महसुस हुन्थ्यो । जति–जति धर्तीको गर्भाशयको उचाइ बढ्दै जान्थ्यो, त्यति नै दिवाकरको खुसीको लम्बाइ र गहिराइ बढ्थ्यो । ऊ भन्थ्यो, ‘के नाम राख्ने ? के बनाउने ?’

‘नाम हाम्रो इच्छामा राखौंला ? तर के बनाउनेभन्दा पनि ऊ आफैं के बन्ने भन्ने उसैको रोजाइमा छाड्नुपर्छ’ धर्तीले भन्थी । ऊ सहमत हुन्थ्यो धर्तीका कुरामा  ।

‘छोरा या छोरी के होला है ?’ एक दिन धर्तीले दिवाकरलाई सोधी ।

‘जे भए पनि के भयो र ? स्वस्थ हुनुप¥यो’ दिवाकरको यस्तो जवाफमा धर्तीको लोग्नेप्रतिको सम्मान चुलिन्थ्यो । भिडियो एक्स–रे गरेर छोरा या छोरी के जन्मँदै छ, गर्भमा हुँदैमा थाहा पाउने प्रविधि भर्खर–भर्खर नेपालमा भित्रिएको थियो । तर उनीहरूले जन्मअघि थाहा नपाउने निर्णय गरे ।

दिवाकर हरेक पटक जँचाउन लिएर जान्थ्यो । गर्भवती भएको बेला के गर्न हुन्छ, के गर्न हुन्न, पौष्टिक आहार के खानुपर्छ, परामर्श लिने गथ्र्यो ।

‘स्वास्नीको माया कति हो ?’ भाउजूहरू कुरा गर्थे ।

‘स्वास्नीले बच्चा पाउने भएपछि लोग्नेमान्छे स्वास्नीको चासो धेर राख्छन् । बच्चाको माया हो कि स्वास्नीको, छुट्ट्याउनै गाह्रो’ सासूआमा भन्थिन् ।

‘दुवैको होला नि ! त्यस्तो हिरिक्क गरेर बिहे गरेकी स्वास्नी गर्भवती भएकी छ, के चाहियो ?’ आमाजूले भन्थिन् ।

धर्तीभित्रको सानो मान्छेको ढुकढुकी सुन्थ्यो दिवाकरले । निकै हर्षित हुन्थ्यो । त्यो खुसीमा उल्लास चम्किएको मुहार देखेर धर्ती पनि निकै सन्तुष्ट हुन्थी ।

एक रातको समय ।

गर्भाशय पीडा भयो धर्तीलाई । नसुती छटपटीमा धर्तीसँगै बसेर बिहान बनायो दिवाकरले पनि ।

क्लिनिकमा डाक्टरबाट परीक्षण गरेपछि निर्देशन मिल्यो, ‘डेलिभरिको निम्ति अस्पतालमा भर्ना गर्न लैजानुपर्छ !’

ढिला नगरी अस्पताल भर्ना गरेपछि अवस्था अवगत गराउँदै घरमा खबर ग¥यो दिवाकरले । उसका दिदी र भाउजू पनि हतारिँदै अस्पताल पुगे । प्रतीक्षा कक्षमा भेला भएका सबै चिन्तित थिए, बच्चाको स्वास्थ्य अवस्था कस्तो हुने भन्नेमा । भाउजू, दिदी आशङ्कित थिए, कतै बच्चा तुहिन लागेको त होइन ?

तर भित्रबाट खबर आयो, धर्तीले छोरालाई जन्म दिई  ।

नातिको जन्म भएको खबरले घरबाट दिवाकरकी आमा पनि आइन् । अरू छिमेकी सदस्य पनि थपिए । दिवाकर छोराको बाबु भएको खुसीयालीमा, उसलाई अबिर लगाइदिए ।

प्रसूति कक्षभित्रबाट नर्स निस्किइन् ।

– ‘सिस्टर बच्चाको स्वास्थ्य कस्तो छ ? मेसिनमा राखेको छ हो ?’

‘सबै राम्रो छ । कसले भन्यो, मेसिनमा राखेको छ ?’ अलमलमा परी नर्स ।

‘कोहीले भनेको होइन । महिना नपुगी जन्मिएको बच्चालाई केही दिन मेसिनमा राख्न पर्छ भन्छन् । त्यसैले सोधेको’ भाउजूले स्पष्ट पारिदिँदै भनिन् ।

‘कसले भन्यो पूरा महिना नपुगी जन्मिएको बच्चा ?’ नर्सको प्रतिप्रश्नले सबै स्तब्ध भए । सबैले दिवाकरको मुख ताके ।

विवाह गरेर भित्र्याएको दिनदेखि वर्तमान समयसम्म दिन, हप्ता, महिना गने । पटक–पटक गने । जति पटक, जति जनाले औंला भाँचेर गने पनि गर्भ रहेको सात महिना अघिल्लो बिहिबार पूरा भएको भन्ने हिसाब निकाले ।

फेरि सबैका आँखा दिवाकरको मुहारमा गएर रोकिए । रातै अबिरले छोपिएको, आँखा मात्र टल्किएको अनुहारमा अरू भाव छेकिएको थियो । ऊ चुपचाप थियो । अरू पनि कोही केही बोलेनन् । बरु एक–एक गर्दै प्रतीक्षास्थल जुन अघिसम्म भीड थियो, खाली भयो ।

धर्तीलाई प्रसव वेदनाबाट निस्किनासाथ दिवाकरलाई भेट्ने लालसा थियो । यतिका महिना गर्भभित्र राखेको उपहार सुम्पिन आतुर पनि । धर्ती चाहन्थी, आमा–बाबु दुवैका आँखाले एकसाथ हेरौं छोरालाई । दिवाकरलाई उछिनेर पहिलो हेराइ आफूले एक्लै हेर्न चाहन्थिन् । पटक–पटक अनुरोध गर्दा पनि नर्सले दिवाकरलाई भित्र आउन अनुमति दिएनन् भन्ने सोचेर नर्ससँग भित्र–भित्र निकै क्रोध पनि जागेको थियो धर्तीमा ।

‘अघिसम्म सिन्दूरजात्रा थियो, अहिले कोही छैनन् बाहिर’ नर्सले भनी ।

सुत्केरी धर्तीलाई भेट्न आउने प्रथम व्यक्ति भइन् आमाजू । दिवाकर अति आवश्यक कामले काठमाडौं  जानुपरेको व्यहोरा उनैले सुनाइन् । के होला त्यो अति महत्वपूर्ण काम ? जवाफ पाउन सकिन धर्तीले । कहिले फर्की आउलान् र आफ्नो आँखाले हेर्लान् छोरालाई ? प्रतीक्षा लम्बियो ।

एक पटक सासू आइन् । कोक्रोमा सुताएको नातिलाई घाँटी तानेर हेरिन्, तर काखमा लिइनन् ।

धर्तीको निकै रगत बग्न लाग्यो मध्यरातदेखि । तल्लो पेटमा दुखाइ फेरि असह्य भयो । र, उच्च ज्वरो पनि आयो । सालको एक टुक्रा पाठेघरमा नै छुटेका कारण रगत बगेको रहेछ । अप्रेसनकक्षमा लगेर छुटेको टुक्रा निकालियो । अर्को दिन पनि अस्पतालबाट बिदा हुन् नपाउने भई ।

नसाबाट रगत चढाएपछि शरीरमा रगतको मात्रा मिसियो । सुईबाट एन्टिबायोटिक्स दिएपछि तीन दिनमा बल्ल ज्वरो नियन्त्रणमा आयो । प्रसवमा  छटपटाउँदा दिवाकरलाई जति सम्झिएकी थिई त्यसभन्दा बढी स्मरण गरी, ज्वरोले लगलगी काँपेको बेला । आफ्नो निकटको साथको अपेक्षा हुने नै भयो, आफूलाई असह्य र कमजोर भएको बखत । तर साथ पाउन सकिन त्यस घडीमा उसले ।

पाँच दिनपछि धर्तीले अस्पतालबाट बिदा पाई । देवर र जेठानी आएका थिए घरमा लिएर जान ।

११ दिनमा न्वारन हुने, त्यतिबेलासम्म कसैलाई नछोई अलग बस्ने चलन भएको हुँदा बरण्डासँगैको बाहिरी कोठामा धर्ती र उसको छोरालाई राख्ने बन्दोबस्त गरिएको थियो । निकै कष्टसाथ छोरालाई जन्म दिएर, त्यसपछि भएको शारीरिक कठिनाइलाई जितेर घर पुग्दासम्म पनि दिवाकर नआएको हुँदा धर्तीलाई निकै नमीठो अनुभूति भयो ।

–‘छोराको छैटी गर्न जरुर आइपुग्लान् ।’

तर न दिवाकर आयो, न छोराको छैटी नै भयो । भावीले भाग्य लेख्ने समय एउटा बत्तीसम्म बलेन छोराको सिरानमा । ‘हाम्रो छैटी गर्ने चलन छैन’ जिज्ञासामा आमाजूले भनिन् ।

एउटी सहायक राखिदिएका थिए । अरूको परिवारको सदस्य सुत्केरीको कोठामा त्यति आउँदैन थिए । गाउँ छिमेककाहरू भने बच्चा हेर्न आउँथे । बच्चालाई एक नजर हेरेपछि साथ आएको साथीको मुहार हेर्थे, नबोली मनग्ये बोल्थे एकापसमा । माइतीतर्फका भने न्वारान नहुँदासम्म छोरीको घर आउन नमिल्ने परम्पराको डोरो समाएर बसेका थिए ।

धर्ती एक्लै पलपल दिवाकरको प्रतीक्षा गर्थी । आँगनमा कोही हिँडे पनि दिवाकर नै आएको हो कि भनी सास रोकेर आवाज सुन्थी ।

‘डिलरसीपको लागि विदेशी नयाँ कम्पनीसँग सम्झौता गर्नु छ’ भन्थे । शायद त्यही कामले भुलेको हुनुपर्छ । धर्तीले यसरी आफ्नो हृदयलाई बुझाएकी हुन्थी । तर जसरी भए पनि न्वारानको दिन त पक्कै आउँछन् । यही विश्वासमा समय बिताई ।

न्वारानको दिन बिहानै आँगनमा झलक्क दिवाकरलाई देखेजस्तो लागेर धर्ती ढोकासम्म पुगी । देखिन, दृष्टिभ्रम सम्झिएर पÞmर्किई ।

नाति जन्मिएको कारणले पनि होला यतिका मान्छे आमन्त्रित ।… एक–एक गर्दै आएका मान्छेहरू भित्रबाट देखेर उसले सोची ।

यो पटक फेरि दिवाकरको जस्तो आवाज सुनेजस्तो मानी । तर फेरि सुनिन ।

विवाहको दिनदेखि यतिका लामो समय अलग भएका थिएनन् उनीहरू । एकाएक धर्तीका आँखामा आँशु आयो ।

‘ल अब बुहारीलाई बाहिर बोलाउन पर्‍यो’ कसैले भनेको सुनी ।

ऊ तयार नै थिई । तर एकपटक दिवाकरसँग भेट नभइसकेको अवस्थामा बाहिर निस्किन मन थिएन । जेठानी लिन आइन् । ‘छोरा पनि बोकेर हिँड’ उनले भनिन् ।

चौबन्दी चोली, टाउकोमा मजेत्रो बाँधेकी सुत्केरी धर्ती बाहिर निस्किई । उसको निम्ति ठीक पारिएको बरण्डाको एकछेउको कुर्चीमा बसी, काखमा छोरा लिएर । धर्तीको नजर दिवाकरमाथि प¥यो । ‘मैले देखेको र आवाज सुनेको भ्रम थिएन रहेछ ।’ तर उनी कहिले आए ? आएर पनि मलाई भेट्ने आवश्यकता ठानेनन्, किन ? किन छोराको मुहार हेर्दैनन् ?…

कौतूहलले जवाफ पाउन धेरै समय प्रतीक्षा गर्नु परेन ।

आमा, बुबा, दाजु र भाउजू पनि आइपुग्नासाथ वडासचिव मूल मुद्दामा प्रवेश गरे, ढिला नगरी ।

‘यो बच्चा दिवाकरको होइन भन्ने उजुरी प¥यो । त्यसमा अब आमाचाहिँले नढाँटी यो समाजसामु स्पष्ट पारिदिनुप¥यो’ धर्तीतर्फ हेरेर भनिएको थियो ।

धर्तीको निम्ति अप्रत्यासित आश्चर्यजनक वाक्य थियो । प्रतिक्रियाका निम्ति धर्ती दिवाकरलाई हेरेर एकदम मौन बसिरही ।

‘खाऊँला भैmँ गरेर मेरो भाइलाई हेर्ने होइन, यसको बाबु को हो ? त्यो प्रश्नको जवाफ चाहियो’ आमाजू कड्किइन् ।

आफ्ना दाजु र बाबुतर्फ चाहेर पनि हेर्न सकिन धर्तीले ।

धर्तीको काखबाट बच्चा लगेर आँगनको बीचमा नाङ्गै पारेर राखे । ‘ल भन्नुहोस्, यो महिना नपुगी जन्मिएको बच्चा हो, यही आँगनमा सबैले बिहेभोज खानुभएको हो । बिहे भएको कति भयो ? प्रमाण पेश गर्नुपर्ने छैन नै ।’

विवाह गरेर भित्र्याएको दिनदेखि वर्तमान समयसम्म दिन, हप्ता, महिना गने । पटक–पटक गने । जति पटक, जति जनाले औँला भाँचेर गने पनि गर्भ रहेको सात महिना अघिल्लो बिहीबार पूरा भएको भन्ने हिसाब निकाले ।

‘यो कसको पापको थुप्रोलाई मेरो सोझो छोराले कसरी सकार्ने ?’ ससुराले भने ।

‘पापको थुप्रो !’ आफ्नो छोरालाई ससुराको सम्बोधन सुनेर ऊ विचलित भई ।

उसले भिजेका आँखाले यताउता हेरी । नारी उत्थानका अगुवा, विभिन्न पेशामा आबद्ध गाउँका भलाद्मी कहलिएका व्यक्तिहरू, छिमेकी युवा वयस्क वृद्ध थिए त्यहाँ । पर्खालनिर उभिने दर्शकमा भरत पनि थियो । दुवैका आँखा ठोक्किए । तर विगतमा धर्तीलाई हेर्ने आँखा ती होइनन् । र, ती आँखालाई पनि धर्तीको जवाफको व्यग्र प्रतीक्षा रहेको ठम्याई ।

उसले दिवाकरतर्फ हेरी । भरतकी रमाकाकी पनि त्यहींनिर थिइन् ।

‘आफ्नी छोरी होइन भन्नेमा पूर्ण निश्चित हुँदाहुँदै पिताम्बर बरु अस्पतालमा इन्द्रमाया र रमालाई लिन गएको थियो । तर दिवाकर भने छोरा र आफूलाई छाडेर अस्पतालबाट भागी हिँडे ? इन्द्रमायाको रमाजस्तै मेरो छोरो, मेरो गर्भको गौरव हो’ धर्तीले आफैंसँग भनी ।

बुबा र दाजुको मुहारमा आफूप्रति उच्च घृणा देखी । उनीहरू हिँडे ।

धर्तीकी आमा भने त्यही थिइन् । भन्दै थिइन्, ‘बोल छोरी, केही बोल ! यतिबेला नबोले कहिल्यै बोल्न सक्दिनौ ।’

‘सत्य बोल ! जबरजस्तीमा प¥यौ कि ?’ धर्तीलाई अक्षर चिनाएकी गुरुआमाले सोधिन् ।

‘भनिदेऊ, यो बच्चा कसको हो ? हामी सबैले साथ दिनेछौं । यस्तो साथ मिल्दैन फेरि–फेरि ।’ अर्को कसैले भन्यो ।

त्यहाँ बोल्नुपर्ने धर्ती थियो । पटक–पटक सोधे । आश्वासन दिए । नारीउत्थानकी अगुवाले भनिन्– ‘भन, तिमीलाई पेट बोकाएर धोका दिने को हो ? त्यस लोग्नेमान्छेलाई हामी छाड्दैनौं । तिम्रो र छोराको न्यायको निम्ति हामी पूरै समाज लड्नेछौं । तिमीलाई त्यही घरमा भित्र्याइदिनेछौं, जहाँ यसको बाबु छ ।’

‘मलाई जबरजस्ती परपुरुषको घर भित्र्याइदिने, जो मेरो छोराको बाबु प्रमाणित हुन्छ ? ल मानौं, मेरो लोग्नेभन्दा अरू कुनै पुरुषको बीज मिल्न गयो मेरो बीजसँग र गर्भवती भएकी थिएँ रे ! कुनै लोग्नेमान्छेको त्यही आधा बीजको निम्ति मलाई त्यसको स्वास्नी बनाइदिने ? किन म उसकी स्वास्नी हुने ? कारण मेरो छोरामा केही अंश उसको पनि छ ? कति प्रतिशत ? फगत, आधा कप्टेरा बीज ? र आधा बीजका कारण जबरजस्ती जीवनभर लोग्ने–स्वास्नी ? स्नेहका साथ जीवनभर दुःख–सुख निभाउने सम्बन्ध हो लोग्ने–स्वास्नी । बीजका कारण बन्ने नाता होइन ।’

मनमा आएको यी सोच चिच्चाएर सबैका सामु भन्न सक्ने थिई धर्तीले । भन्न खोजी पनि, तर आफूलाई रोकी ।

दिवाकरलाई एक पटक हेरी । मूकदर्शक बनेर खोकिलामा हात चेपेर एक शब्द नबोली बसेको थियो । धर्ती जुरुक्क उठेर आँगनको बीचमा रोइरहेको छोरा उठाई । अनि भनी– ‘यहाँहरू सबैलाई थाहा छ, यो छोरा मेरो हो । मेरो । र, यसको बाबु सोध्ने अधिकार कसैलाई छैन’ खुट्टा बजार्दै ऊ भित्र पसी ।

कुनै लोग्नेमान्छेको त्यही आधा बीजको निम्ति मलाई त्यसको स्वास्नी बनाइदिने ? किन म उसकी स्वास्नी हुने ? कारण मेरो छोरामा केही अंश उसको पनि छ ? कति प्रतिशत ? फगत, आधा कप्टेरा बीज ? र आधा बीजका कारण जबरजस्ती जीवनभर लोग्ने–स्वास्नी ? स्नेहका साथ जीवनभर दुःख–सुख निभाउने सम्बन्ध हो लोग्ने–स्वास्नी ? ।

कोही बोलेकी सुनी, ‘घिसारेर ल्याउनुपर्छ ।’

तर त्यसो गर्न त्यहाँ कसैले रोक्यो । एक नारीले भनेको आवाज सुनी, ‘समाज हुँ भन्दैमा यसरी जबरजस्ती गर्न मिल्दैन । ऊ बोल्नुपर्छ र पक्कै बोल्ने पनि छ । समय दिनुहोस् !’

‘गाउँको कुरा गाउँमै मिल्यो भने सहज हुन्छ । पुलिस–चौकी, अड्डा–अदालत पुगे मुस्किल पर्ला ।’

त्यो बसाइमा छिनाफानो हुन सकेन । र, त्यस दिन पण्डितबाट बच्चाको न्वारन, नामाकरण केही पनि भएन । धर्तीको मनले अघि नै रोजेको नाम थियो, ‘दिग्विजय !’ त्यही नाम लिएर छोरालाई छातीमा चेपी र भनी– ‘मेरो छोरा । मेरो दिग्विजय !’

भरतबाट उसलाई धेरै अघिदेखि कुनै आश बाँकी रहेन, न प्रेम न घृणा । यतिका महिनापछि बल्ल एक्कासि रमिते बन्न आएछ । भर्खर विवाह हुँदाताका धर्तीले आँखा बन्द गर्नासाथ भरतको मुहार सामुन्ने नआएको होइन । तर दिवाकरको चित्र हृदयमा कोरेर भरतलाई बल्लतल्ल विस्थापित गरेको सत्य हो ।

छोरालाई स्तनपान गराउँदै अघिको घटनाबाट ध्यान भंग गर्न कोशिश गरी धर्तीले । तर अटेर गरेर आँखा सामुन्ने आउँथ्यो । आफैंसँग बोली, ‘हो, म दिवाकरकी स्वास्नी भएका दिनदेखि आजन्म हर कर्तव्य निभाउँछु भन्ने प्रणमा थिएँ । निभाएकी थिएँ । उसलाई कहिले निराश बनाइनँ । उसका खुसी नै आफ्नो सर्वस्व स्वीकार गरें । तर आज त्यही दिवाकरले जीनलाई यो रमिता बनायो ?’

‘भारतमा बेचिएकी चेली’ समाचार शीर्षक देखाएर धर्तीले एक दिन सोधेकी थिई दिवाकरलाई, ‘त्यो घटना ममा घट्यो भने के गर्छौ ?’ उसले भनेको थियो, ‘उद्धार गरेर ल्याउँछु र फेरि सम्मानसाथ उही पहिलाकै स्थानमा राख्नेछु ।’

धर्तीले नचाहँदा नचाहँदै धेरैपछि सम्झना थन्क्याएको भरतलाई पनि सम्झी ।

‘समाजमा बलात्कारको घटना बढिरहेको छ । म पनि एक दिन त्यसको शिकार भए भने के गर्छौ ?’ भरतलाई सोधेको बेला उसले जवाफमा भनेको थियो, ‘जस्तोसुकै अवस्थामा मेरो मायामा कमी हुने छैन । म हर हालतमा तिमीलाई स्वीकार गर्नेछु । र दोषीलाई सजाय पनि दिलाइनेछु ।’

कति–कति अपशब्द आँगनभरि ओकलिरहेका थिए धर्तीको विरुद्धमा । चुपचाप सुनिरहेका थिए उसका प्रेमले । पीडाले विशेषतः भरतलाई नछोएको देख्दा धर्तीलाई एक प्रकारको सन्तोष भने मिलेको थियो । तर दिवाकर ?

‘मैले सोचेको थिएँ, तिमी मसँग विवाह गर्न राजी हुँदिनौ कि ! तिमीसँग विवाह पक्का भएको दिन आधा संसार जितेको थिएँ । तिम्रो सिउँदो रङ्गाएको दिन पूरा संसार जितें । अब मेरो निम्ति अप्राप्य केही रहेन’ बिहेको रात दिवाकरले भनेको पनि सम्झी ।

भन्नका निम्ति भनिने कुरा रहेछ प्रेमसंवाद । जतनसाथ सम्हालिराखेको सम्झनाको पाना च्यातेर बसिरही धर्ती । दिनभर ढोका पनि खोलिन । अपमानले अघाएकी हुँदा भोक थिएन ।

धर्तीलाई एक पटक दिवाकरसँग भेट्ने उच्च आकांक्षा थियो । केही प्रश्न सोध्न मन थियो । केही भन्न थियो ।

रातिसम्म प्रतीक्षा रह्यो । समाजको सामु बोल्न नसके पनि एकान्तमा ऊ जरुर भेट्न आउनेछ । अझ विश्वासको झीनो दियो निभेको थिएन   ।

दिन निदायो रातमा । धर्ती निदाउन सकिन । मास्तिर हेर्छे, सिलिङ पंखा थियो । एक फन्को पूरा गर्दै फेरि अर्को नयाँ फन्कोमा घुमिरहेको । झ्याल खोली र फेरि छोरालाई स्तनपान नै गराउन लागि । अघिल्ला दिनभन्दा धेरै आज पटक–पटक स्तनपान गराइरहेकी हुन्छे ।

बिहानै उसको आँखा प¥यो ऊ रहने गरेको कोठातिर आइरहेको एउटा आकृतिमा । झ्यालमा आँखा टाँसेर हेर्छे  । हर्षले सीमा पार गर्छ । ढकढक्याउनुअघि ढोका खोलिदिन्छे ।

‘नातिले अवश्य सोध्न पठाएको थियो । मकहाँ आएर सबै घटना बताएर भनेको थियो, धर्तीले पक्कै ढाँट्ने छैन हजुरलाई । भन्नेछ, उसको छोराको बाबु को हो ? तर म यतिबेला उसको प्रश्न बोकेर आएकी होइन’ इन्द्रमायाले भनिन् ।

उभिइरहेकी धर्तीलाई प्रेमपूर्वक खाटमा बसाइन् र अगाडि भनिन्– ‘म कदापि सोध्दिनँ, तिम्रो छोराको बाबु को हो ? त्यो तिमीलाई जानकारी भएको तिम्रो निजी कुरा हो । यो स्पष्ट छ, आमा को हो ? यही पर्याप्त होइन  र ? कसैको घरमा भित्र्याइदिँदैमा कोही कसैको अर्धाङ्गिनी हुन सक्दैन । र मलाई विश्वास छ, तिमी अपेक्षा पनि राख्दिनौ होला त्यस्तो सम्बन्धको ।’

धर्तीले चुपचाप सुनिरही ।

इन्द्रमाया हजुरआमाले एकछिनमा सोधिन्– ‘दिवाकरले तिमीसँग केही भने ?’

‘अस्पताल भर्ना भएको दिनदेखि दिवाकरसँग दोहोरो संवाद भएको छैन’ धर्तीले निदाइराखेको छोराको अनुहार हेर्दै भनी ।

इन्द्रमायाले भनिन्– ‘संवादको ढोका तिमी आफ्नै प्रयासले पनि खोल्न सक्छौ ।’

धर्तीले तत्काल जवाफ दिई– ‘तर त्यो केका निम्ति ? स्पष्टीकरणका निम्ति या छोराको लागि नाम र हाम्रो भरणपोषणको याचनाको निम्ति ?’

इन्द्रमायाले भनिन्– ‘जुन घुम्तीमा पुगेर निर्णय लिइन्छ त्यसअघिका बाटा पनि सहज हुँदैनन् । तर आफ्नो सत्प्रयासले बनाउँदै हिँड्ने बाटो त्यति अप्ठ्यारा पनि हुन्नन् । स्वाभिमान गुमाएर तिरस्कारमा दुई छाक पालिनु बाँच्नु होइन भन्ने हिजोको मेरो सोचमा फेरबदल भएको छैन ।’

‘रमाछोरीलाई रमेशको जिम्मा लाएमा या अनाथालयमा पठाएमा, आफूसँग राख्छु भन्दै पिताम्बरले एउटा अन्तिम बाटो दिएको थियो । तर पिताम्बरको सिरानीमा चिट्ठी राखेर छोरी लिएर हजुरले पतिगृह त्याग गर्नुभएको थियो । त्यसपछिका यहाँका संघर्षका श्रृङ्खला पनि थाहा पाएकी छु । बाबुको नाम नहुँदा रमाकाकीको सामाजिक लडाइँ पनि स्पष्ट रूपमा थाहा पाएँ’ धर्तीले भनी ।

‘नाघेर हिँड्नेलाई सामुन्ने देख्ने र छुनसमेत इच्छा नराख्ने, पिताम्बरबाट छोरीको निम्ति बाबुको माया अपेक्षा गर्न अर्थहीन सम्झिँदै थिएँ । जब दुई रोजाइ सामुन्ने आयो, मैले छोरी लिएर गृहत्याग गरेकी थिएँ । निर्णय गर्दा जीवनभर पछुताउने गरी गर्नुहँुदैन । स्वाभिमान ठीकठाक राख्दा जीवन केही कष्टकर हुन्छ, तर सुन्दर अवश्य हुन्छ । र, आफ्नो अधिकारको निम्ति प्रथम योद्धा आफैं हुनुको अर्थ बेग्लै हुन्छ । त्यो आफ्नो युद्धमा लडियो भने पनि आफैं उठ्न सहज लाग्छ  । वर्षौंअघि म हिँडेको बाटो र आजमा निश्चित रूपमा केही पृथकता आएको भन्ने थियो, तर हिजो बिहानको यो आँगनको भीडबारे सुन्दा, बाटा र घुम्तीहरू उस्तै प्रतीत भएको छ’ इन्द्रमायाको अनुहारमा मलिनता देखियो ।

‘मैले जे गरें, हृदयबाट गरें । र, सम्बन्धलाई प्रेमपूर्वक निभाएँ । मलाई थाहा छ, म कानुनी लडाइँ लड्न सक्छु र निश्चित रूपमा जित्न पनि । तर लड्ने केका निम्ति ? मैले भनिसकेको छु, मेरो छोराको बाबुको नाम माग्ने अधिकार कसैसँग छैन । अब त स्वयं दिवाकरसँग पनि छैन’ निदबाट भर्खर बिउँझिएको छोरालाई काखमा लिएर धर्तीले स्तनपान गराउँदै निश्चयका साथ भनी ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment