+
+

घुस दिने व्यक्तिविरुद्ध पनि भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते २०:०१

१६ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिने व्यक्तिलाई पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतलाई ३७ लाख ५० हजार रुपैयाँ घुस दिएको आरोपमा झापाको विर्तामोड नगरपालिका- ६ बुट्टाबारीका उमानाथ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले झापाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण तथा थप कामको लागि कार्यालय प्रमुख बस्नेतलाई घुस दिएका अख्तियारले जनाएको छ ।

खतिवडाले बस्नेतको बैंक खातामा रकम हालिदिएको प्रमाणको आधारमा अख्तियारले बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । खतिवडालाई अख्तियारले बस्नेतविरुद्धको मुद्दामा साक्षीका रुपमा प्रयोग गरेको थियो ।

तर उनले विशेष अदालतमा बयान दिँदा अख्तियारलाई फाइदा नहुने गरी बयान दिएकाले उनीविरुद्ध पनि मुद्दा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

‘सरकारी साक्षीलाई सजाय छुट गर्न सकिने व्यवस्था अनुसार उनीविरुद्ध मुद्दा दायर गरिएको थिएन, तर उनले अभियुक्तलाई फाइदा हुने गरी बयान दिएका कारण भ्रष्टाचार मुद्दा दायर गरिएको हो’ रिसालले भने । खतिवडाविरुद्ध ३७ लाख ५० हजार विगो माग गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुस लेनदेन मुद्दामा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतविरुद्धको मुद्दा पनि विशेष अदालतमा विचाराधीन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?