
१७ चैत, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै माघदेखि हालसम्म दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ ।
खोप अभियानमा प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुरामा लगाएका छन् । कैलालीमा सबैभन्दा बढी ६३ हजार ३९७ जनालाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
यस्तै, कञ्चनपुरमा ३० हजार २२३, अछाममा २० हजार ५७४, दार्चुलामा १७ हजार १७९, बझाङमा १६ हजार ९७३, बैतडीमा १६ हजार १९५, डोटीमा १४ हजार ६९७, बाजुरामा १२ हजार ३२६ र डडेल्धुरामा ११ हजार २४४ जनाले खोप लगाएका छन् ।
अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो ।
सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि खोप अभियान शुरु गरिएको थियो ।
प्रतिक्रिया 4