Comments Add Comment

एएफसी कप : आर्मीसँग दशरथ रंगशालामा खेल्दा श्रीलंका पुलिस क्लबका चार चुनौती

२४ चैत, काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ ।

एएफसी कपको दक्षिण एसियाली समूहमा स्थान बनाउनका लागि यो पहिलो खुड्किलो समेत हो । यससहित तीन खेल जित्ने टिमले समूह डीमा स्थान बनाउनेछ ।

घरेलु टोली आर्मीले लगातार प्रशिक्षण गरिरहेको छ । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले आफूहरुको तयारी राम्रो रहेको र खेलका लागि तयार रहेको बताए ।

जितको विकल्प छैन : प्रशिक्षक न्यौपाने

आर्मीले एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि नै यस खेलका लागि तयारी शुरु गरेकाले टिमको तयारी राम्रो रहेको प्रशिक्षक नवीन न्यौपानेले बताए । ‘हामीले क्लब लाइसेन्स पाएको दिनदेखि हामीले तयारी शुरु गरिसकेका थियौ । यस बीचमा हामीले तयारी स्वरुप एक खेल खेल्न पनि पायौं,’ उनले भने, ‘किर्गिस्तान यू–२३ टोलीसँग खेलेपछि हामीले कमीकमजोरी पनि थाहा पायौं । त्यसैले पनि हामी श्रीलंकन टोलीसँगको खेलमा नतिजा हाम्रोमा आउँछ भन्ने आशा छ ।’

उनले श्रीलंकन टिममा विदेशी खेलाडी रहेपनि आफूहरुले नकआउट प्रतियोगितामा क्यामरुनी टिमसँग खेल्दै त्यसका लागि समेत तयारी रहेको बताए ।

प्रशिक्षक न्यौपानेले श्रीलंका पुलिसविरुद्ध जितको विकल्प नरहेको बताए । ‘हामीलाई जितको विकल्प छैन । हामी जितका लागि खेल्छौं । हाम्रो टिम सेट पनि छ । फिजिकल्ली र मेन्टल्ली पनि हामी तयार छौं ।’

उनले मोर्डन फुटबल खेल्दै नेपाली दर्शकलाई जितको खुसी दिने अपेक्षा व्यक्त गरे । ‘हामीले मोर्डन फुटबल खेल्ने हो । हामी मोर्डन फुटबल खेलेर दर्शकलाई पनि खुसी दिलाउन चाहन्छौं,’ न्यौपानेले भने, ‘यो प्रतियोगिता पहिलो चरण हो । हामी पहिला पहिलो चरणलाई पार गर्न चाहन्छौ । त्यसपछि अर्को खेलको बारेमा योजना बनाउने छौ ।’

उनले टोलीमा सुमन अर्याल र टेकबहादुर बस्नेत घाइते रहेको बताए । तर सुमनले खेल्ने सम्भावना रहेको उनले बताए ।

कप्तान भरत खवासले पनि टिम तयार रहेको बताए । ‘हाम्रो तयारी राम्रो छ । हामी सधैं यही टिम खेल्ने हो । बीचमा कोरोनाले प्रशिक्षण गर्न नपाएपनि तयारी राम्रो छ,’ खवासले भने, ‘हाम्रो लागि यो अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यो हाम्रा लागि अवसर र चुनौती पनि हो । हामीले यसलाई अवसरका रुपमा लिएको छौं ।’

श्रीलंका टिमलाई चार चुनौती

श्रीलंका पुलिस टिमका कप्तान र प्रशिक्षकले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेकाले उत्साहित रहेको बताए । श्रीलंकाका प्रशिक्षक झिलाउ अलपेन्सुले नेपालमा खेल्दा मुख्य गरी चार चुनौती रहेको बताए ।

खेल नेपाली समयअनुसार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

अलपेन्सुले आर्मीसँग दशरथ रंगशालामा खेल्नु चुनौती रहेको बताए । ‘हामीलाई विशेषगरी चार चुनौती छ । वरियतामा दक्षिण एसियामा श्रीलंकाभन्दा नेपाल अघि छ । नेपाल तेस्रो र श्रीलंका सातौं स्थानमा छ । हुन त यो क्लब गेम हो । यो पहिलो चुनौती हो,’ उनले भने, ‘दोस्रो चुनौती मौसमको छ । श्रीलंका र यहाँको मौसम फरक छ । तेस्रो हामीसँग कुनै राष्ट्रिय टिमका खेलाडी छैनन् । र चौथो नेपाललाई दर्शकको राम्रो साथ हुनेछ ।’

उनले कोभिड–१९ को कारण क्लबले लामो समय प्रशिक्षण गर्न नपाएपनि खेलका लागि भने तयार रहेको बताए ।

श्रीलंका पुलिसमा राष्ट्रिय खेलाडी नभएपनि तीन विदेशी खेलाडी छन् । उनीहरुबाट राम्रो प्रदर्शनको आशा राखेको छ ।

टिमका कप्तान चामिका कुमारले थोरै समय प्रशिक्षण गरेपनि नेपालमा खेल्न आउँदा खुसी लागेको बताए । ‘हामीले थोरै समय टिममा प्रशिक्षण गर्ने अवसर पाएपनि खेल्न पाएका छौं,’ उनले भने, ‘त्यसमा खुसी छौ । अझ नेपालमा खेल्न पाउँदा खुसी छौ ।’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment