Comments Add Comment

म नेपाल आउँदैछु

नर्थ होबर्टमा रहेको एक भट्टी !

भर्खरै सकिएको कामको थकानले हो या चिसो मौसमका कारण, म यहाँको एक लोकल भट्टीमा पहिलो गिलास बियरको चुस्की लिंदैथिएँ । कागले घैंटाको पिंधमा रहेको पानी पिउन बगरबाट ढुंगाहरू ल्याउँदै घैंटामा खसालेर प्यास बुझाउँदा जुन मज्जा लिएको थियो, त्यस्तै आनन्द लिइरहेको थिएँ ।

यत्तिकैमा मेरो मोबाइलमा घन्टी बज्यो । मैले ‘इग्नोर’ गर्ने कोशिश गरें । तर नजिकै बसेका करीब ५०–५५ वर्ष जतिका (लुगा हेर्दा उनी पनि भर्खरै काम सकेर आएका झैं लाग्ने) मान्छेले मलाई इशारा गर्दै भने– ‘तपाईंको फोन बजिरहेको छ ।’

मैले हाँस्दै भनें– ‘ओहो ! धन्यवाद ।’

मलाई फोन भने उठाउन मन लागेको थिएन । उनले भनिहाले । मनमनै त लाग्यो– ‘के चासो परेको होला अर्काको फोन बजोस् कि नबजोस् !’ फेरि अर्को मनले भन्यो– ‘बिचरा मैले थाहा पाएन कि भनेर पो भन्यो होला नि !’

मैले नेपाली बोल्ने विदेशी नागरिक पहिलो पटक भेटेको थिएँ । मरुभूमिमा पानीको मुहान भेट्दा कस्तो हुन्छ, त्यो त भोग्नेलाई थाहा होला । म त्यही अवस्थामा नभए पनि विदेशी भूमिमा नेपाली बोल्ने राते भेट्दा मरुभूमिमा पानी भेटेको आभास भएको थियो ।

म उठेर बारतिर गएँ । थप एक गिलास बियर अर्डर गरें । बियर भरिएको गिलास लिएर म फेरि त्यही ठाउँमा आएर के बसेको थिएँ, उनी मेरो नजिक आएर सोध्न थाले– हाउ यु डुइङ मेट ? आर यु अल राइट ?फोनको घन्टी बज्न छोड्नेवाला थिएन । फेरि बजिहाल्यो । अहिले चैं ती मानिसले केही भनेनन् । शायद मेरो नियत थाहा पाए । मैले जानी–जानी फोन नउठाएको हो भन्ने चाल पाए । अब उनी मलाई निकै चाखपूर्वक हेर्न थाले । मैले भने उनलाई नहेरेको जस्तो गरें । उनका आँखा भने मैतिर थिए ।

त्यसका बाजे ! तलाईं किन चासो ? भन्न मन लागेको थियो ।

तर पनि भनें– ‘नट टु ब्याड, योरसेल्फ ?’

उनले भने– ‘आई एम फेन्टास्टिक, लिभिङ माई ड्रिम !’

उनले सोध्न थाले– ‘ह्वाट्स योर नेम, होयर आर यु फ्रम ?’

मैले भनें– ‘सुवास, फ्रम नेपाल ।’

उनी– ओहो तपाईं नेपाली, मेरो नाम रिचार्ड र नेपाली नाम राते ।

म– ओहो ! हजुर नेपाली बोल्नुहुन्छ ?

राते– मैले युनिसेफको लागि नेपालमा १० वर्ष काम गरेको छु । र अलि अलि बोल्न सक्छु ।

म विदेशी भूमिमा बसेको ६ वर्ष भइसकेको थियो । मैले नेपाली बोल्ने विदेशी नागरिक पहिलोपटक भेटेको थिएँ । मरुभूमिमा पानीको मुहान भेट्दा कस्तो हुन्छ, त्यो त भोग्नेलाई थाहा होला । म त्यही अवस्थामा नभए पनि विदेशी भूमिमा नेपाली बोल्ने राते भेट्दा मरुभूमिमा पानी भेटेको आभास भने भएको थियो ।

लेखक भएको भए शब्दमा, कवि भएको भए कवितामा पोख्थें होला । बिचरा म, के नै गर्न सक्थें र ! मेरो मनको भावनामै राखें ।

अब मलाई उनको बारेमा जानकारी लिन मन लाग्यो ।

राते– ‘बाबु, बाबु !’

म झसंग भएँ (मैले उसलाई भेट्दा नेपालमै छु र घर नजिकैको चिया पसलमा चिया खाँदै गाउँघरका बाजेहरूसँग बोल्दै गरेको छु जस्तो भान भयो ।)

‘बाबु, सरी है, मैले डिस्टर्ब गरेको भए, ल रमाइलो गर ।’

‘होइन, त्यस्तो केही भएको छैन’– मैले भनें ।

तर मलाई देशको घर, अँगेनो, खोला–नाला, पहाड, माटो; सबैभन्दा धेरै त मलाई जन्म दिने आमा, कर्म दिने दाजु, अनि मायाले हुर्काउनुहुने दिदीहरूको याद आइरह्यो ।

फेरि मेरो फोनको घन्टी बज्यो । निरन्तर बजिरह्यो ।

विदेश आउँदा घर–जग्गा धरौटीमा राखेर आएको, १० वर्ष भयो । घरमा साहु आइरहन्छ रे !  कि पैसा दे, नत्र घर छोडेर जा भन्छ रे ! म कसरी भनुँ कि ममीलाई पीआरको चक्करमा मैले अस्ट्रेलियामा कमाएको सबै पैसा डुबाएर बसेको छु ।

राते– ‘बाबु फोन उठाएको राम्रो, रेस्पोन्स त गरेको राम्रो । सरी, हुन त तिम्रो निजी जीवन हो, तर बाबु… । केही समस्या भए भन, म केही सकेको सहयोग गर्न सक्छु कि ! केही गर्न नसके पनि तिम्रो मनको कुरा भन्दा मन अलि हल्का हुन्छ ।’

‘खोइ के भन्नु, के नभन्नु बुवा; यो मनको हुटहुटी, बेचैनी…’

मैले बेलिबिस्तार लगाएँ– यो आइरहेको फोन घरबाट हो, मेरो मामुको । विदेश आउँदा घर, जग्गा धरौटीमा राखेर आएको, १० वर्ष भयो । घरमा साहु आइरहन्छ रे ! कि पैसा दे, नत्र घर छोडेर जा भन्छ रे ! म कसरी भनुँ कि ममीलाई पीआरको चक्करमा मैले अस्ट्रेलियामा कमाएको जति पैसा डुबाएर बसेको छु । त्यो दलालले पैसा कुम्ल्याएर भाग्यो । मेरो आजसम्मको कमाइ सबै पैसा खाइदियो । म यही लोभमा घरको न घाटको भएको छु । त्यसमाथि यो कोरोना महामारीका कारण काम पनि हप्तामा एक दिन मात्रै हुन्छ । रुम भाडा, मोबाइलको बिल, दैनिक खर्च चलाउनै मुश्किल भएको छ । म त ठूलो सकसमा परेको छु । फोन उठाएर के भन्नु ममीलाई ! मैले अरू कारणले फोन नउठाएको होइन । ममीलाई कसरी भन्नु आफ्नो वास्तविकता ? म बच्चा हुँदा मेरो हातमा सानो घाउ हुँदा आमा रातभरि सुत्न सक्नुहुन्नथ्यो । बाबु विदेशमा छस्, आफ्नो ख्याल गर भन्नुहुन्छ । उहाँ मेरो बोलीबाटै मेरो सुख र दुःख थाहा पाउनुहुन्छ ।

उनी मलाई एकछिन हेरेको हेर्‍यै भए ।

केही बोल्न खोजे तर सकेनन् वा चाहेनन् । ठूलो सुस्केरा हाले । अर्को बियरको प्रस्ताव गरे ।

मैले ‘हुन्छ’ भनें ।

उनी बियर लिएर आए । हामी एक–अर्कालाई चियर्स भन्दै बियरको घुट्की लिन थाल्यौं ।

उनले भने– ‘बाबु तिमीलाई गाह्रो समय आएको रहेछ, यस्तो समय धेरैलाई आएको छ, देशमा । यो तितो, तर सबैले लुकाएको सत्य हो । म नेपालमा एक दशक बसेको छु । सबै जिल्लाहरू घुमेको छु, सबै खालका मान्छेसँग संगत गरेको छु । थाहा छैन तिम्रो देशका युवा विदेशतिर किन यति धेरै आकर्षित भएका छन् ? विदेशमा ज्ञान लिन आउनु एकदम राम्रो हो, तर पलायन हुनु राम्रो होइन । म कसैको व्यक्तिगत स्वतन्त्रताको बारेमा धेरै बोल्न चाहन्नँ । यति चैं पक्का भन्न चाहन्छु कि नेपालको कुनाकाप्चामा पुग्दा वृद्धवृद्धा मात्रै देख्छु । उनीहरू बिरामी हुँदा अस्पतालसम्म लैजाने मान्छे पनि छैन । यतिसम्म कि कोही मरिहालेछ भने मलामी जाने मान्छे छैन गाउँमा । नेपाली मनको धनी छन्; आदर, सत्कारमा विश्वमै पहिलो नम्बरमा छन् । तिम्रो देश र तिम्रो संस्कार महान् छ बाबु ! जुन मैले आजसम्म कहीं भेटेको छैन । तिमी धनीहरू बस्ने देशको नागरिक हौ । बाँकी रह्यो तिम्रो कुरा, सबै कुरा ममीलाई भन । लुकाएर राखे पीडा झन् बढ्छ । जब पीडाको चुली ठूलो हुन्छ, तब त्यो विस्फोट हुन खोज्छ । यहाँ यति गाह्रो भएको छ भने झन् गाह्रो किन थप्छौ ? सजिलो बाटो खोज । आफ्नै माटोमा फर्क, आफ्नो जीवन बाँच, खुशीसँग बाँच ।’

मैले फोन राखें । मलाई भित्रभित्रै गाह्रो हुन थाल्यो । एकदम चिच्याएर रुन मन लाग्यो । ममीलाई सबै कुरा भनौं भनेर फोन गरें । ममीले फोन उठाउनुभयो । म केही बोल्न सकिनँ । मनले सबै कुरा भन भनिरहेको थियो, ओठहरू खुल्दै खुलेनन् । एउटै कुरा भनें– ‘ममी, म नेपाल आउँछु अब । सधैंको लागि आउँछु । हजुरहरूको काखमै बसेर देशमै सेवा गर्छु ।’बियरको अन्तिम चुस्की सकेर म रातेलाई धन्यवाद दिंदै बिदा भएँ ।

सिड्नीमा रहेका साथीलाई अर्को महिना १५ तारिखको टिकट पक्का गर्न लगाएँ ।

मनमनै रिचार्ड उर्फ रातेलाई धन्यवाद दिएँ– जसले मेरा आँखा खोलिदिए ।

अस्ट्रेलियाको पीआर सपना छोडेर अब म नेपाल आउँदैछु ।

(लेखक होबर्ट, अस्ट्रेलियामा बस्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment