Comments Add Comment

कोरोनाको दोस्रो लहर : तंग्रिन लागेको अर्थतन्त्रलाई अर्को खड्गो

फाइल तस्वीर

२७ चैत, काठमाडौं । सरकारले बिहीबार रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न अनुरोध गर्दै विज्ञप्ति जारी गर्‍यो । कोभिड–१९ को प्रकोप पुनः बढ्दो क्रममा रहेकाले सरकारले यस्तो अनुरोध गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक सार्वजनिक मञ्चबाटै कोरोना भयावह हुनसक्ने बताए ।

उनले छिमेकी मुलुकमा कोरोनाको त्रास बढेको भन्दै सजग रहन आग्रह मात्रै गरेनन् पुनः लकडाउन हुनसक्ने चेतावनीसमेत दिए । शुक्रबार त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जस्ता बढी भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस नै गरेको छ । २५ जनाभन्दा बढी भीडभाड हुनै दिन नहुने स्वास्थ्य मन्त्रालयले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई गरेको सिफारिसमा उल्लेख छ ।

पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत हुन उनले आग्रह गरे । बेलैमा सतर्क नभए जनजीवन ठप्प पार्ने स्थिति आउने उनले चेतावनी दिए । ‘हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने,’ उनले भने ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्रमा भने पुनः एक किसिमको त्रास दोहोरिएको छ । गत वर्षको ११ चैतपछि लामो समय लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा निकै मार्का खेपेका साना तथा ठूला उद्योगी व्यवसायीहरू सरकारीस्तरबाटै लकडाउन हुनसक्ने चेतावनीपछि थप त्रसित बनेका छन् ।

‘हामीले लामो समय कोरोना महामारी झेल्यौं, जसको कारण अझै पनि हामी तंग्रिन सकेका छैनौं’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष भन्छन्, ‘पुनः लकडाउन त हामी थेग्नै सक्दैनौं, लकडाउन गर्ने हो भने हाम्रो अर्थतन्त्र तहसनहस हुनसक्छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिपछि निजी क्षेत्रमा भने पुनः एक किसिमको त्रास दोहोरिएको छ । गत वर्षको ११ चैतपछि लामो समय लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा निकै मार्का खेपेका साना तथा ठूला उद्योगी व्यवसायीहरू सरकारीस्तरबाटै लकडाउन हुनसक्ने चेतावनीपछि थप त्रसित बनेका छन् ।

कोरोनाबाट बच्न सतर्कता भने अपनाउनुपर्ने उनले बताए । तर सतर्कताका नाममा मुलुकको अर्थतन्त्र नै तहसनहस पार्ने गरी जनजीवन नै ठप्प पार्ने विषय भने कल्पनासम्म गर्न नसकिने उनले बताए ।

गत वर्ष पहिलो चरणमा चैतमा र त्यसपछि पटक–पटक सरकारले लकडाउन गरेको थियो । पछिल्लो पटक सरकारले सबै जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । लामो समय व्यापार व्यवसाय ठप्प हुँदा दैनिक गुजारा चलाउन नै समस्या भएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघकै अगुवाईमा विरोध प्रदर्शन भएको थियो । सरकारले लकडाउन नखुलाएको भन्दै महासंघले त्यसबेला पसल खोलेर सरकारी निषेधको उल्लंघन नै गरेको थियो ।

‘उद्योग व्यवसाय पूर्ण रूपमा बन्द हुँदा हामीलाई घरभाडा, बैंकको किस्ता र ब्याज तिर्न तथा कर्मचारीको तलब खुवाउन मात्रै होइन दैनिक गुजारा चलाउन नै समस्या परेको थियो,’ महासंघ अध्यक्ष कटुवाल भन्छन्, ‘अति नै हुन्छ भन्ने भएपछि हामी सडकमै उत्रिएर लकडाउनको विरोध गर्न बाध्य भयौं, हामी चाहन्छौं अब त्यस्तो अवस्था सिर्जना नहोस् ।’ कोरोना संक्रमणबाट बच्न सर्वसाधारण आफैं सचेत हुनुपर्ने उनी बताउँछन् ।

सबै जना सचेत भएर सुरक्षा सावधानी अपनाउने हो भने जनजीवनमै असर पुग्ने कुनै पनि निर्णय गर्नु नपर्ने उनको भनाइ छ । सरकारले के भन्छ भन्दा पनि आफू कति सुरक्षित छु भनेर हरेक नागरिकले सोच्नुपर्ने उनले बताए । ‘मुख्य कुरा हामी स्वास्थ्यबारे गम्भीर बन्नुपर्छ, हेल्थ प्रोटोकल गम्भीरताका साथ पालना गर्ने हो भने धेरै तनाव लिनु पर्दैन,’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ कोरोनाका कारण अर्थतन्त्रलाई निकै ठूलो असर परेको बताउँछन् । मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा नरहेको उनले बताए ।

‘कोभिड संकट शुरू भएको एक वर्षभन्दा बढी समय भइसके तापनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ’ बिहीबार आयोजित चेम्बरको वार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘पर्यटनलगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद छैन ।’

विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद छैनन् भन्ने देखिने उनी बताउँछन् । यति मात्र हैन, हाम्रै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार आर्थिक वृद्धि करीब २ प्रतिशतले ऋणात्मक भएको देखाएको छ ।

३९ खर्ब ४३ अर्बको आकार आफैंमा त्यति ठूलो नभएकाले हाम्रो अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरूरी देखिने चेम्बर अध्यक्ष श्रेष्ठले बताए । विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहत सम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति बेहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिंड्न सकेको छैन ।

‘प्रधानमन्त्रीज्यूसमक्ष म आग्रह गर्न चाहन्छु कि कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रूपमा नेपालको नाउँ सारा विश्वले चिन्न सक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार छौं,’ उनले भने । सरकारले ठूलो लगानी गर्नुभन्दा पनि केही नीतिगत सहजीकरणमार्फत यसो गर्न सक्छ भन्ने निजी क्षेत्रको विश्वास रहेको उनको भनाइ छ ।

फाइल तस्वीर

देशलाई पारालाइसिस हुन दिनुभएन’

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर पुनः लकडाउन हुनु अर्थतन्त्रका लागि घातक हुने बताउँछन् । लामो समय लकडाउन हुँदा त्यसले अर्थतन्त्रलाई निकै गहिरो असर परेको भन्दै उनले पुनः लकडाउन देशले थेग्न नसक्ने बताए । लकडाउन गरेर देशलाई अस्वस्थ बनाउने भन्दा पनि सचेतना फैलाउनेतिर सरकारले ध्यान दिनुपर्ने अध्यक्ष मोरको भनाइ छ ।

‘पहिले लकडाउन हुँदा १० प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भए अब पुनः भयो भने यसको दोब्बर बन्द हुन्छन्’ उनले भने, ‘आर्थिक क्रियाकलापलाई अति बाधा हुन दिनुहुँदैन, यस विषयमा सबैले ध्यान दिनुपर्‍यो ।’

‘अब लकडाउन कुनै पनि किसिमले धान्न सकिंदैन, पहिलेकै लकडाउनको असर अहिलेसम्म समाधान हुनसकेको छैन’ उनले भने, ‘पुनः लकडाउन हुने हो भने त अर्थतन्त्र निकै ठूलो समस्यामा पर्छ, देशलाई पारालाइसिस बनाएर अर्थतन्त्र समस्यामा पार्नुहुँदैन ।’ कोरोना संक्रमणबाट जोगिन सरकारले चेतनामूलक कार्यक्रमहरूमा जोड दिनुपर्ने उनको सुझाव छ ।

यसअघि लामो समय लकडाउन गर्नुको एउटा बाध्यता भनेको त्यसबेला कोरोनाको उपचार थिएन । अहिले भने कोरोनाविरुद्धको भ्याक्सिनसमेत बनिसकेको छ । कतिपय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूले समेत कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेका छन् । केही दिनअघि मात्रै चीनबाट समेत भ्याक्सिन नेपाल भित्रिएको छ । अब सरकारले आफ्ना नागरिकलाई भ्याक्सिन लगाउनेतर्फ सोच्नुपर्ने अध्यक्ष मोरले बताए ।

जतिसक्दो धेरै भ्याक्सिन चाँडो ल्याएर लगाउने हो भने कोरोनाको धेरै चिन्ता गर्नु नपर्ने उनी बताउँछन् । ‘अहिले भ्याक्सिन बनिसकेको छ, सबैले लगाउने र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने हो भने अर्थतन्त्रलाई असर पुग्ने कुनै निर्णय गर्नुपर्दैन’ उनले भने, ‘बरु अलिकति महँगो नै किन नपरोस् सरकारले भ्याक्सिन ल्याउनेतर्फ अलि धेरै सोच्नुपर्ने हुन्छ ।’

अर्थविद् डा. चन्द्रमणि अधिकारी कोरोनाबाट बच्नका लागि लकडाउन अब उपर्युक्त नहुने बताउँछन् । नयाँ भेरियन्टको भाइरस देखिएकाले त्रास अलि बढी रहेको भए पनि लकडाउन नै गर्नुपर्छ भन्ने सोच्न नहुने बताउँछन् । पुनः लकडाउन भए अर्थतन्त्र थला पर्ने उनी बताउँछन् ।

‘पहिलेको जस्तो लकडाउन गर्नै हुँदैन, आर्थिक क्रियाकलाप भइराख्नुपर्छ’ उनले भने, ‘बढी भीड हुने ठाउँमा अलि ध्यान दिनुपर्छ, कसरी बच्ने भन्ने विषयमा चेतना जगाउनुपर्छ, लकडाउन गरेर तंग्रिन लागेको अर्थतन्त्रलाई पुनः थला पार्नुहुँदैन ।’

गत पुसमा केन्द्रीय बैंकले गरेको अध्ययन अनुसार कोरोना महामारीका कारण बन्द भएका उद्योग–व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् ।

अध्ययनअनुसार उद्योग–व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको पाइएको छ । चैत अन्तिम सातासम्म आइपुग्दा अधिकांश उद्योग–व्यवसाय सञ्चालनमा आइसकेको राष्ट्र बैंक बताउँछ ।

यस्तो अवस्थामा पुनः लकडाउन गरिए अर्थतन्त्र उकासिनै नसक्ने गरी थला पर्न सक्ने अर्थविद् अधिकारी बताउँछन् । कोरोनाबाट बच्नका लागि जबर्जस्त भन्दा पनि चेतनामूलक काम गर्नुपर्ने उनको सुझाव छ ।

‘मुख्य कुरा त हामी आफैंमा लापरबाही भइरहेको छ, यसको क्षति हामीलाई बढी हुन्छ’ उनले भने, ‘यो विषयमा हामी सचेत हुनुपर्‍यो, सरकारले पनि यो विषयमा बुझाउनुपर्‍यो ।’

फाइल तस्वीर

छिमेकी मुलुकमा पनि संक्रमणको दर निकै बढ्दो मात्रामा छ । अन्य देशमा पनि त्रास छ । नयाँ भेरियन्ट आएकोले अलि डर पनि धेरै रहेको उनले बताए । नेपाल भित्रिने नाकाहरूमा कडाइ गर्नुपर्ने उनको सुझाव छ । तर कडाइका नाममा मान्छे तर्साउन भने नहुने उनले बताए ।

‘बाहिरबाट आउने मानिसको स्क्रिनिङ राम्रो हुनुपर्छ, तर्साएर वा नाकामा रोकेर होइन परीक्षण गराएर सहजता गर्नुपर्छ ।’ दूरी कायम गरेर आर्थिक क्रियाकलापका कामकारबाही गर्नुपर्ने उनले बताए ।

‘पहिले लकडाउन हुँदा १० प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भए अब पुनः भयो भने यसको दोब्बर बन्द हुन्छन्’ उनले भने, ‘आर्थिक क्रियाकलापलाई अति बाधा हुन दिनुहुँदैन, यस विषयमा सबैले ध्यान दिनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment