Comments Add Comment
साहित्य-वार्ता :

मधेशी जीवन बाँचेको छु, यहींको कथा लेख्छु

प्रत्येक संरचनाहरू आफैंमा एउटा बन्धन हो

पहिलो कथासंग्रह ‘अब्बा’ प्रकाशन भएको पाँच वर्षपछि श्याम साह (३५) दोस्रो संग्रह ‘पथेर’ लिएर प्रस्तुत भएका छन् । मधेशी जनजीवनको खाँटी यथार्थ उनको कथाको मूल विषय हो । जात व्यवस्था, गरीबी, असमानता र राज्य आतंकले थिलथिलो बनाइएका मानिस उनको कथाका नायक हुन् ।

‘फेन्टासी र स्वैरकल्पना’का कथाहरूको बाढी आइरहेको पछिल्लो दशकमा साहका कथा भने तीभन्दा ठीक विपरीत शैलीका छन् । उनका कथा पढ्दै जाँदा मान्छेले भोग्नुपर्ने अन्याय सम्झेर पाठक स्तब्ध मात्र हुँदैन विद्रोही चेतले जागृत भइसकेको हुन्छ । नेपाल राज्यमै बसेर पनि पुस्तौंदेखि (अ)नागरिक हुन बाध्य पारिएका मानिसको कथाले पाठक उद्वेलित बनिसकेको हुन्छ ।

थोरै कथा लेख्ने परिचय बनाएका साहका दुई संग्रहमा गरी २५ थान कथा सार्वजनिक छन् । जसमध्ये ‘लाटीको छोरा’ कथामा नाटक प्रदर्शन भइसकेको छ ।

नेपाल सरकारको शाखा अधिकृत रहेका साहको जन्मथलो सिरहा गोलबजार हो । दोस्रो कथासंग्रहसम्म आइपुग्दा उनी कुशल कथाकारका रूपमा चिनिइसकेका छन् । तर अझै पनि नेपाली साहित्यले श्याम साहहरूको विद्रोही विचार स्वीकार्न सकेको छैन ।

कथासंग्रह ‘पथेर’ र नेपाली समाजको संरचनागत विभेदबारे युवा कथाकार साहसँग गरिएको कुराकानी :

पहिलो कथासंग्रह जस्तै दोस्रोमा पनि मधेशको सेरोफेरोबाहेक नयाँ विषयका कथा आएनन् भन्ने पाठकको प्रतिक्रिया छ नि !

पहिलो कथासंग्रहमा बरू मधेशको परिवेशभन्दा भिन्न कथा पनि थिए । तर ‘पथेर’का ११ वटै कथा मधेशकै सेरोफेरोमा छन् ।

यो प्रतिक्रिया किन आयो भने, चर्चा मधेशको सेरोफेरो बोकेका कथाहरूले बढी भयो । ‘लाटीको छोरा’मा नाटक पनि बन्यो । आखिर म यहींको जीवन भोगेर आएको हुँ । सामाजिक असमानताका खाडल मधेशमै धेरै छन् । संरचनागत विभेदको आयाम केलाउने हो भने पनि तराई-मधेशमै धेरै छ । यति गम्भीर विषयहरू हुँदाहुँदै म आफूले नभोगेको विषयमा किन लेखूँ !

भनेपछि योजनाबद्ध लेखन गर्नुभयो ?

मेरो रुचि, सोच र ज्ञानको दायराले गर्दा स्वाभाविक रूपमा मधेशकै कथा बढी लेखियो । त्यही कथामा मैले आफूलाई बढी अभिव्यक्त गर्न सकें । कुनै एजेण्डा तय गरेर लेखेको होइन । संरचना, समय तथा शैलीको हिसाबले योजनाबद्ध लेखन होइन । विषयवस्तु तथा मुद्दाका हिसाबले भने योजनाबद्ध लेखन भन्न सकिन्छ ।

‘पथेर’को ब्लर्ब(पछाडिको गाता) मा तपाईंलाई ‘समाजशास्त्री लेखक’ भनिएको छ । यो किन भनिएको ?

‘समाजशास्त्री लेखक’ मेरो भर्सन होइन, प्रकाशकको हो ।

यद्यपि, यसलाई मैले दुई तरिकाबाट लिएको छु । पहिलो म समाजशास्त्रको विद्यार्थी हो । समाजशास्त्रको क्लासिकल मान्यतालाई आधार मान्दा यसको सिद्धान्तका आधारमा ज्ञान उत्पादन गर्ने र यससँग सम्बन्धित संरचनागत संस्थाले मान्यता दिएपछि मात्र समाजशास्त्री होइन्छ । यसको प्रक्रिया भनेको अध्ययन, अन्वेषण, अनुसन्धान, प्रकाशन तथा त्यसको संस्थागत मान्यता जस्ता विषयवस्तु जोडिन्छ । जस्तैः जर्नल लेखहरू, अनुसन्धानमूलक किताबहरू ।

अर्को विषय भनेको समाजशास्त्रले नै के भन्छ भने एउटा समाजशास्त्रीले समाजको बाहिरी पत्र मात्र देख्दैन । यसले त्यसभित्रका वास्तविकतालाई पनि सतहमा ल्याउने कार्य गर्दछ । त्यस दृष्टिकोणले हेर्ने हो भने सामाजिक विषयवस्तुसँग जोडिएर लेखिनेे कथा, कविता, उपन्यास, निबन्ध आफैंमा बलियो समाजशास्त्री लेखन हो ।

किनकि यसले निकै सजिलो र प्रभावशाली तरिकाले ती वास्तविकतालाई सतहमा ल्याउन मद्दत गर्छ । यस अर्थमा समाजसँग जोडिएर लेखिने साहित्यलेखन आफैंमा समाजशास्त्रीय लेखन हो ।

शायद समाजका विषयवस्तुमा लेखिएका कथा भएका कारणले प्रकाशकले मलाई समाजशास्त्री लेखक भन्नुभएको होला । जसमा मेरो आग्रह वा कुनै योजना छैन ।

एक वर्षअगाडि अन्तर्वार्तामा ‘म आत्मसन्तुष्टिका लागि कथा लेख्दिनँ’ भन्नुभएको थियो । अनि कथा केका लागि लेखिन्छ ?

समाजमा भएका संरचनागत विभेद र विकृतिमाथि एउटा सजग नागरिक हुनुको नाताले पनि बोल्नुपर्छ भनेर आत्मसन्तुष्टिको लागि लेख्दिनँ भनेको थिएँ । हामीले आजका समस्यासँग जुध्दै तिनलाई परिवर्तन गर्न खोज्नुपर्छ भनेको हुँ । शायद त्यसैले समाज परिवर्तनशील हुन्छ भनेको हो ।

व्यक्ति पनि त्यही समाजको अंग हो । एउटा व्यक्ति, परिवार, छिमेक, गाउँ एकअर्कासँग जेलिएको हुन्छ । हामी जति नै वैयक्तिक भए पनि सरकारको एकै निर्णयले कसैलाई दुःखी बनाइदिन सक्छ । कसैलाई खुशी दिनसक्छ । यसर्थ अहिलेको समयमा मान्छे नितान्त ‘व्यक्तिगत’ मात्र बन्न सक्दैन ।

त्यसैले अरूले केका लागि लेख्नुहुन्छ भन्न सक्दिनँ । तर मैले समाजमा भएका विकृति, विसंगति, विभेद, असमानता हटनुपर्छ, समाजमा परिवर्तन हुनुपर्छ भनेर लेख्ने हो । अझ खगेन्द्र संग्रौलाका कुरा सापटी लिएर भन्ने हो भने, हाम्रै जुनीमा ‘समाजवाद’ आउँछ भनेर लेख्ने हो ।

सरकारको कुरा गर्नुभयो । तपाईं सरकारी जागिरमै हुनुहुन्छ । एउटा विद्रोही चेत भएको सृजनशील व्यक्ति सरकारी संरचनाचित्र अटाउन कति सहज छ ?

यसलाई दुईवटा पाटामा हेर्न सकिन्छ । एउटा प्रत्येक संरचनाहरू आफैंमा एउटा बन्धन हो । उसका आफ्ना नीति, नियम, मूल्यमान्यताहरूले बाँधेको हुन्छ । जस्तो एउटा स्वतन्त्र पत्रकारलाई त्यसको प्रकाशन गृहको अवस्था, नीति, नियम तथा मूल्य-मान्यताहरूले बाँधेको हुन्छ । त्यस हिसाबले एउटा सिर्जनशील व्यक्ति सरकारी मात्र होइन कुनै पनि संरचनामा बस्न गाह्रो हुन्छ ।

साहित्य, रचना वा सिर्जना जे भनौं, एउटा घेराभित्र सीमित हुनै सक्दैन । सामाजिक सञ्जाल तथा सूचनाप्रविधिले गर्दा सबैतिर पुग्छ

तर आजको युवा पुस्ता यसै संरचनाभित्र रहेर पनि रचनात्मक क्रियाकलाप गर्न सक्छ । बौद्धिक कर्म गर्न सक्छन् । त्यसका पनि दायराहरू होलान् । तर ती दायराहरू पनि नेपालको संविधानले दिएको परिधिसम्म छन् । त्यसअन्तर्गत आलोचना तथा समीक्षा गर्न स्वतन्त्र छन् ।

नयाँ पाठक वा साहित्यकारसँग त्यति देखिनुहुन्न । एउटै समूहमा बसेर साहित्य लेख्दा आम पाठकसम्म पुग्न अप्ठेरो हुँदैन ?

अहिलेको समयमा साहित्य, रचना वा सिर्जना जे भनौं, एउटा घेराभित्र सीमित हुनै सक्दैन । सामाजिक सञ्जाल तथा सूचनाप्रविधिले गर्दा सबैतिर पुग्छ ।

चिया खाने, गफ गर्ने सवालमा मात्र सीमित साथीहरूको निश्चित समूहमा बसेको देखिने हो । विचार मिल्ने समूहमा मानिस बढी देखिनु स्वाभाविक पनि हो । तपाईं मलाई मन नपराउन पाउनुहुन्छ । नपढ्न सक्नुहुन्छ तर मेरा कथा पाठकसम्म नपुग्ने भन्ने कुरा हुँदैन !

एक समय खुँखार मार्क्सवादी हुनुहुन्थ्यो । अहिले चाहिँ यथार्थवादलाई केन्द्रमा राख्दै आउनुभएको छ, किन ?

मार्क्सवाद खुँखार हुने वा नहुने भन्ने सवाल नै होइन ! यो विचार मान्ने भएको हुनाले त्यसलाई केन्द्रमा राखेर हामी लेख्छौं भन्ने हो । आजको समाज, आजको विश्व व्यवस्थालाई विश्लेषण गर्न मार्क्सवादलाई आधार मान्छौं भनेको हो ।

मार्क्सवादी विचार आफैंमा जमेको पोखरी होइन यो बग्ने नदी वा पानीढलो जस्तो हो । त्यो भनेको मार्क्सवादको जगमा अन्य विचारधारा निर्माण पनि हो । मूलतः यो परिवर्तनको विचारधारा हो । जसले केन्द्रमा शोषण, वर्ग, वर्गीय विभेद, समाजको तहगत संरचना जस्ता विषयका आधारमा समाजको विश्लेषण गर्ने गर्छन् । म पनि यही विचारलाई केन्द्रमा राखेर आफ्नो दृष्टिकोण बनाउने गर्छु ।

मार्क्सवादमा निकै जोड दिनुभयो । नेपालको कम्युनिष्ट पार्टीलाई समर्थन गर्नुहुन्छ कि हुँदैन ?

मार्क्सवादलाई विचारको फ्रेममा राखेर हेर्दा नेपालमा कम्युनिष्ट पार्टी नै छैन ।

कुमार नगरकोटी वाद, सिद्धान्त केही काम छैन भन्नुहुन्छ । युवापुस्ता इन्स्टलेसन कथासम्म पुगिसक्यो । तपाईंचाहिं समाजकै कथा नै सबैथोक हो भनिरहनुभएको छ नि ?

कुमार नगरकोटीको लेखन मलाई पनि मन पर्छ । उहाँ पाठकलाई मनोरञ्जन (इन्जोयमेन्ट) दिनुपर्छ भन्ने सोचले लेख्नुहुन्छ । यो नराम्रो कुरा पनि होइन ।

तर, आजका दर्जनौं शक्तिशाली लेखकहरू सामाजिक यथार्थमै टेकेर लेखिरहनुभएको छ । किनभने सामाजिक यथार्थले समाजमा भएका यथार्थलाई चित्रण गर्ने हो, जसले समाज यथास्थितिमा हुनुपर्छ भन्दैन । सामाजिक यथार्थले त समाज निरन्तर प्रगतिशील हुनुपर्छ भन्ने मान्यता राख्छ । समाजभित्र कुरीति छ, विभेद छ भन्ने कुरा स्वीकारेपछि मात्र त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने मान्यता स्थापित हुने हो । समाजमा भएका असमानताहरूको खाडललाई सतहमा ल्याएपछि मात्र त्यहाँ अन्तरविरोध सिर्जना हुन्छ । र त्यसले संघर्ष एवं परिवर्तनको बाटो तय गर्छ । यो हाम्रो समयको यथार्थ हो । यसलाई सबैथोक भने पनि धेरैथोक भने पनि यही हो ।

एक सामान्य पाठकले ‘पथेर’ किन पढ्ने ?

पहिलो कुरा त तपाईं नेपाली समाज बुझ्न चाहनुहुन्छ कि हुँदैन ? समाजमा विभेद छ, असमानता छ भन्ने कुरा नजिकबाट नियाल्न चाहनुहुन्छ कि हुँदैन ?

नेपालमा सबैभन्दा बढी संरचनागत विभेद कहाँ छ, त्यसलाई नजिकबाट हेर्न ‘पथेर’ पढ्यो भने सहज हुन्छ । मैले उत्पीडनका पनि भित्री कुरा फरक तरिकाले भन्न खोजेको छु । मधेशको समाजमा भएका विभेद उतार्न प्रयत्न गरेको छु । यसले गर्दा नेपाली पाठकलाई ‘पथेर’ पढेर पक्कै घाटा छैन !

मिथिलाको कुरा गर्दा ‘हामीलाई जनकपुरको सत्ता र काठमाडौंको सत्ता उही हो’ भन्नुभएको थियो । कसरी यी दुई एकै भए ?

सीता, सावित्री धर्मको सत्ता स्थापना गर्न बनाइएका यस्ता पात्र हुन्, जसले आदर्श नारीको परिकल्पना गरी पितृसत्ताको नैतिक धरातल निर्माण गर्ने काम गरेका छन् । र अहिले चेतनाले त्यसलाई प्रतिरोध गर्नु स्वाभाविक थियो

यसलाई सीधै भन्दा पनि सन्दर्भका आधारमा बुझ्नुपर्छ । पहिलो त ‘काठमाडौं’ राज्य सत्ताको मूल प्रतीक हो । जसको इतिहास निकै लामो भए पनि मूलतः वर्तमान रूपमा स्थापित सत्ताको इतिहास २५० वर्षको इतिहास हो । जसले भाषा, धर्म तथा नश्लका आधारमा विभेदलाई संस्थागत गर्दै राज्यका पहुँचमा सीमित जाति, भाषा र धर्मलाई प्रश्रय दिंदै आयो । त्यसले एकखालको सामाजिक संरचना तथा त्यसमा आधारित असमानता र संरचनागत विभेदको अवस्था सिर्जना गर्‍यो । अर्को हो, आफ्नै सामाजिक संरचना । जस्तैः धर्म, जात व्यवस्था तथा पितृसत्तात्मक संरचना, जसले सदियौंदेखि दलित तथा महिलालाई विभेद गर्दै आएको छ ।

मैले जोडेको सन्दर्भ सपना सञ्जीवनीको कविता र त्यसका विरुद्धमा जनकपुर साहित्य महोत्सवमा उठेका विषयका सन्दर्भमा हो । उनको कविता सदियौंदेखि समाजमा रहेका महिलामाथिको विभेदविरुद्ध थियो । सीता, सावित्री धर्मको सत्ता स्थापना गर्न बनाइएका यस्ता पात्र हुन्, जसले आदर्श नारीको परिकल्पना गरी पितृसत्ताको नैतिक धरातल निर्माण गर्ने काम गरेका छन् । र अहिले चेतनाले त्यसलाई प्रतिरोध गर्नु स्वाभाविक थियो । तर त्यस विषयलाई जनकपुरको सभ्यता माथिको आक्रमणको रूपमा चित्रण गर्नु आफैंमा सत्ताकै मानसिकता हो ।

जसको अर्को उदाहरण भानुभक्त रामायण र त्यसले नेपालको एक भाषा, एक भेषको भाष्य निर्माण गर्न राज्यले गरेको प्रयोगको कुरा राख्दा त्यस्तै समूहबाट समीक्षक गुरुङ सुशान्तलाई पनि आलोचना गरिएको थियो । र त्यसका विषय पनि सीता, जनकपुर र राज्यका सम्बन्धसँग जोडिएको थियो ।

अब मधेशमाथि अरू विभेदसँगै भाषिक विभेद छ पनि भन्ने र सीता जोडिएको छ भन्दैमा भानुभक्त रामायणको आलोचना सहन नसक्ने ? दुवै कुरा एकैसाथ हुन सक्दैन । फेरि सीता र जनकलाई अहिले होइन राज्यले राष्ट्रिय विभूति महेन्द्रमालाकालदेखि बनाएकै छन् ।

तसर्थ मैले जोडेको विषय भनेको संरचनागत विभेदविरुद्ध उठेको आवाजलाई दबाउन जुन भाष्यको निर्माण गरियो र अझै पनि गरिंदैछ । त्यो आफैंमा सत्ताको भाषा हो । मैले भनेको सन्दर्भ त्यही थियो ।

यस अर्थमा तपाईं आफूलाई विद्रोही कथाकार मान्नुहुन्छ ?

मेरोनिम्ति विद्रोही निकै गह्रुँगो शब्द हो । तर परिवर्तनको पक्षमा भने म सधैं प्रतिबद्ध छु ।

(तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment