Comments Add Comment

म्युजिक भिडियो : लगानीकर्ता डुबे पनि अन्यलाई आम्दानी

कसले किन खर्चिंदैछन् म्युजिक भिडियोमा पैसा ?

व्यापारको आधारभूत शर्त हो, लगानी अनुरूप प्रतिफल प्राप्त गर्नु । अचम्म, एकाधलाई छोडेर म्युजिक भिडियोमा गरिने लाखौं लगानी ‘बालुवामा पानी’ हुने गरेको छ । तर्क उठ्न सक्छ- सिर्जनशील कुरामा किन अंकगणितको लेखाजोखा ?

सिर्जनशीलताको कसीमा जाँच्ने हो भने पनि ती म्युजिक भिडियोहरू नाजुक छन् । अब मूल प्रश्नमै जाऔं, विना प्रतिफल किन म्युजिक भिडियोमा लगानी गरिंदैछ ? अर्को अहम् प्रश्न, कसले खर्चिंदैछ यसरी बेहिसाब लाखौं रुपैयाँ ?

म्युजिक भिडियो निर्माणमा सरोज ओली एक चल्तीको नाम हो । उनको एकाध गीतले बजार पनि पिटेकै छ । उनी भन्छन्, ‘मैले एउटा म्युजिक भिडियो बनाउँदा पाँचदेखि दश लाखसम्म खर्च गर्ने गरेको छु ।’ यत्तिका खर्च कसले किन गरिरहेका छन् त ?

ओली भन्छन्, ‘मेरो म्युजिक भिडियोको लागि म आफैं खर्च जुटाउँछु ।’ यद्यपि कतिपयको हकमा भने ‘विदेशबाट लगानी’ हुने उनी बताउँछन् । ‘यसो अहिलेको माहोल बुझ्दा बाहिरबाट धेरै लगानी भइरहेको छ’, ओली भन्छन्, ‘यसरी लगानी गर्नेहरू नेपाली गीत/संगीतलाई माया गर्नेहरू हुन् जस्तो लाग्छ ।’

सम्बन्धित गीतका गीतकार/संगीतकार, गायक/गायिकाले म्युजिक भिडियोमा लगानी गरिरहेका पाइन्छन् । पछिल्लो समय कलाकारका आफ्नै युट्युब च्यानल भएका कारण धेरै कलाकार आफैंले लगानी गरेर पनि म्युजिक भिडियो निर्माण गरिरहेका छन् ।

स्टेजमा व्यस्त हुने गायक/गायिकालाई स्टेजमा गाउनकै लागि पनि नयाँ गीत चाहिने हुँदा उनीहरू आफैंले लगानी गरेर भिडियो निर्माण गर्ने गरेको बताइन्छ ।

तर, पछिल्लो समय स्टेज कार्यक्रम सुस्ताउँदा गायक/गायिकाबाट म्युजिक भिडियोमा लगानी कमै भएको बताउँछन् निर्देशक काजिश श्रेष्ठ । उनी पनि म्युजिक भिडियोमा विदेशमा रहेका नेपालीबाट लगानी भइरहेको बताउँछन् । विदेशबाट हुने लगानीमा सांगीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू नै बढी हुने गरेको काजिशले बताए ।

‘मैले विदेशमा हुनुभएका धेरै जनाको काम गरिरहेको हुन्छु । उहाँहरू विदेशमा बसेर आर्थिक उन्नति गरे पनि गीत-संगीतमा रुचि राख्दै आउनुभएको हुन्छ । उहाँहरू लगानी गर्न तत्पर हुनुहुन्छ’, काजिश भन्छन्, ‘त्यो बाहेक गायक/गायिका, म्युजिक कम्पनीबाट लगानी भइरहेको छ ।’

विदेशमा आर्थिक रूपमा सम्पन्न हुनेहरूले ‘नाम र गुडविल’का लागि म्युजिक भिडियोमा लगानी गर्ने गरेको गायक पशुपति शर्मा बताउँछन् ।

‘विदेशमा भएर पनि सांगीतिक क्षेत्रलाई माया गर्नेहरू म्युजिक भिडियोमा खर्च गर्नुहुन्छ । आम्दानीको आशा गर्नुहुन्न । नाम, गुडविलका लागि उनीहरूले लगानी गर्नुहुन्छ’, शर्मा भन्छन्, ‘नेपालको सांगीतिक क्षेत्र, त्यसमा पनि म्युजिक भिडियो निर्माणमा उनीहरूको ठूलो योगदान भएजस्तो लाग्छ ।’

म्युजिक भिडियोमा नव-कलाकारहरूको लगानी उत्तिकै हुन्छ । कोही नव-कलाकार नामका लागि, कोही रहरका लागि, कोही आफ्नै लगानीबाट स्थापित हुने र पछि आफूमाथि लगानी हुने आशामा म्युजिक भिडियोमा लगानी गरिरहेको निर्देशकहरू बताउँछन् ।

एउटा प्रसंग

दुई महिना अगाडि एक म्युजिक भिडियो सार्वजनिक भयो । चलेकी गायिका र त्यसअघि केही गीत गाएका गायकको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा महिला मोडल चिरपरिचित थिइन्, पुरुष मोडल नयाँ ।

नयाँ पुरुष मोडलले म्युजिक भिडियोका लागि ६ लाख रुपैयाँ लगानी गरे । ती मोडलले नाम उल्लेख नगर्ने शर्तमा अनलाइनखबरसँग भने, ‘मेरो पहिलो भिडियो थियो । त्यसमाथि मैले यो क्षेत्रबारे केही पनि बुझेको थिइनँ । त्यत्तिकै भिडियोमा अभिनय गर्न नपाउने भएपछि लगानी गरेर भिडियो खेलें ।’ उनले आफूले नबुझेकाले धेरै खर्च गर्न बाध्य भएको बताए ।

‘त्योभन्दा सस्तोमा पनि राम्रो भिडियो बन्दोरहेछ । मलाई थाहा भएन र धेरै खर्च गर्न लगाइयो’, उनले सुनाए । उनलाई लागेको थियो शुरुआतमा आफूले लगानी गरेर भिडियो खेले पनि त्यसपछि अरूको भिडियोमा अभिनय गर्न पाइन्छ ।

‘अहिले पनि धेरै व्यक्तिसँग भिडियोमा अभिनयका बारे कुरा त हुन्छ तर सबैले लगानी गरेर अभिनय गर्नुस् भन्नुहुन्छ’, उनी गुनासो गर्छन् । ठीक यसैगरी नै महिला मोडलहरू म्युजिक भिडियोमा अभिनय गर्न आउँछन् ।

नयाँ गायक/गायिका पनि यसैगरी लगानी गर्छन् । अहिले लोकदोहोरीमा चलेका एक गायक भन्छन्, ‘मकहाँ गायिका र लगानीकर्ता आउनुहुन्छ । उहाँहरूसँगको बसाइपछि गीत र भिडियो निर्माणमा कसरी काम गर्ने छलफल हुन्छ ।’ उनका अनुसार नयाँ गायिकाले रेकर्डिङदेखि भिडियोसम्मको खर्च गर्छन् । चलेका गायिकाकहाँ नव-गायकहरू यसैगरी पुग्ने गरेको ती गायक सुनाउँछन् ।

शिव विकले भने- विरलै भिडियोले मात्र लगानी उठाउँछन् । कि ‘सालको पात’ जस्तो हुनुपर्‍यो, कि प्रकाश सपूतको ‘गलबन्दी’ टाइपको गीत हुनुपर्‍यो

निर्देशक शिव वि.क ती गायकले भनेजस्तै गरी म्युजिक भिडियोमा लगानी भइरहेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘जसले एल्बम निकालिरहेको हुन्छ, उसले लगानी गरिरहेको हुन्छ । कुनैमा गायक-गायिकाले आफैं लगानी गर्छन्, त्यसमा नयाँ गायक-गायिका पर्छन् । चलेका गायक-गायिका भए उनीहरूले लगानीकर्ता खोजेका हुन्छन्, आफ्नै युट्युब च्यानलमा भिडियो राख्ने भए आफैंले पनि लगानी गरिरहेका हुन्छन् । नयाँ मोडल भए उनीहरूले लगानी गरिरहेका हुन्छन् । कोही युट्युब च्यानल भएकाहरूले लगानी गरिरहेका हुन्छन् । विदेशमा रहेकाहरू धेरैले म्युजिक भिडियोमा लगानी गरिरहेका हुन्छन् । केही म्युजिक कम्पनीहरूले पनि लगानी गरिरहेका हुन्छन् ।’

चलेका गायक-गायिकाले निरन्तरताका लागि म्युजिक भिडियोमा लगानी गर्ने गरेको शिवको भनाइ छ ।

प्रतिफल के ?

विभिन्न प्लेटर्फमको कुरा भए पनि नेपालमा म्युजिक भिडियोको आम्दानी युट्युबमा आश्रति छ । तर, युट्युबमा सार्वजनिक भएका ९५ प्रतिशत भिडियोले लगानी उठाउँदैनन् ।

निर्देशकहरूका अनुसार म्युजिक भिडियोमा गरिएको लगानी ‘बालुवामा पानी’सरह छ । ‘लगानी उठाउन निकै गाह्रो छ । लकडाउनपछि सयौं म्युजिक भिडियो सार्वजनिक भए । त्यसमा लगानी कतिले उठाए होलान् र ?’ प्रश्नपछि आफैं उत्तर दिन्छन् सरोज, ‘त्यही १५ देखि २० वटाले ।’ निर्देशक शिव पनि म्युजिक भिडियोमा गरिएको ९५ प्रतिशत लगानी डुबिरहेको स्वीकार्छन् ।

‘विरलै भिडियोले मात्र लगानी उठाउँछन्’ शिवले भने, ‘कि सालको पात जस्तो हुनुपर्‍यो, कि प्रकाश सपूतको गलबन्दी टाइपको गीत हुनुपर्‍यो ।’

विन्ध्यवासिनी म्युजिक प्रालिका सुवास रेग्मी पछिल्लो समय म्युजिक भिडियोमा देखासिकी बढेको बताउँछन् । ‘अहिले एउटाले राम्रो भिडियो ल्यायो भने उसले भन्दा बढी खर्चेर अर्कोले भिडियो ल्याउने लहड चलेको छ । अर्कोलाई देखाउनकै लागि लाखौं खर्चिरहेका छन् । यो एकदमै नराम्रो प्रवृत्ति हो’, सुवासले भने ।

लगानीकर्ताबाहेक अरू मालामाल

‘म्युजिक भिडियोका कारण एउटा कुरा भने राम्रो भएको छ’ निर्देशक सरोज भन्छन्, ‘निर्देशक, प्राविधिकदेखि कलाकारहरू खाली बस्नुपरेको छैन ।’

उनका अनुसार लगानीकर्ताबाहेक प्राविधिकदेखि कलाकार, निर्देशकहरू सबैले काम पाइरहेका छन्, उनीहरूलाई आम्दानी भइरहेको छ । निर्देशक शिव पनि म्युजिक भिडियोबाट धेरैको रोजीरोटी चलेको बताउँछन् ।

‘अहिले त चलचित्रतिर पनि काम छैन । चलचित्रका कलाकारलाई म्युजिक भिडियोबाट लाभ भएको छ’ उनले भने, ‘म्युजिक भिडियो क्षेत्रका प्राविधिकदेखि निर्देशकसम्म खाली बस्नु परेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment