Comments Add Comment

भारतमा संक्रमण निरन्तर बढ्दो, मृत्युदर भने कम

अस्पतालहरुमा बेड पाउन मुश्किल

२९ चैत, काठमाडौं । भारतमा पछिल्लो एक महिनायता कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । सन् २०२० को सेप्टेम्बर महिनामा सबैभन्दा उच्च विन्दुमा पुगेको कोरोना संक्रमण त्यसपछि घट्न थलेको थियो । तर सन् २०२१ को मार्चदेखि भने यो संख्या निरन्तर बढ्न थाल्यो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को तथ्यांकअनुसार गत सेप्टेम्बरमा संक्रमित संख्या दैनिक ९७ हजार पुगेर घट्दो क्रममा थियो । तर भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांक अनुसार आइतबार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ नयाँ संक्रमित भेटिएका छन् ।

महामारी सुरु भएपछि भारतमा पहिलोपटक एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् । आइतबार एकै दिन ८३९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहर

गत सेप्टेम्बरमा संक्रमित संख्या ९७ हजार विन्दुमा पुग्दा एकदिनमा ११ सयभन्दा धेरै संक्रमितको मृत्यु भएको थियो । त्यसपछि निरन्तर रुपमा संक्रमित र मृतक संख्या घट्दै गई गत फेब्रुअरी २ मा संक्रमित संख्या आठ हजार ६ सय र मृतक संख्या ९४ मा झरेको थियो ।

महाराष्ट्रको मुम्बईका अस्पतालहरुमा केवल तीन प्रतिशत आईसीयू बेड मात्र खाली छन् । भारतीय समाचारपत्र मिन्टका अनुसार मुम्बईका केही अस्पतालमा अहिले नै आईसीयू बेड र अक्सिजनको अभाव भइसकेको छ ।

करिब एक महिनासम्म भारतमा कोरोना संक्रमणको अवस्था करिब स्थिरजस्तै रह्यो । गत मार्च २ मा भारतमा दैनिक नयाँ संक्रमितको संख्या १२ हजार थियो भने दैनिक मृत्यु हुनेको संख्या पनि ९१ थियो ।

मार्चदेखि शुरु भएको कोरोना संक्रमणको नयाँ लहर अहिले पनि जारी छ । यो लहरमा तुलनात्मक हिसाबमा संक्रमण धेरै फैलिएको छ । तर, दैनिक परीक्षणको तुलनामा संक्रमणको दर भने कम छ ।

संक्रमण दर

भारतमा कोरोना संक्रमणको पहिलो लहर उत्कर्षमा पुगेको बेला अर्थात् २०२० को सेप्टेम्बर ७ देखि १४ को बीचमा ६ लाख ४६ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका थिए भने ८ हजार १६६ जनाको मृत्यु भएको थियो । यो अवधिमा कोरोना संक्रमणबाट हुने मृत्युदर एक दशमलव २६ प्रतिशत थियो ।

तर सन् २०२१ को अप्रिल ५ देखियताको एक सातामा आठ लाख ७३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । यो अवधिमा मृत्यु हुनेको संख्या पनि चार हजार ६५२ छ । पहिलो लहर उत्कर्षमा पुगेका बेला एक सातामा पुष्टि भएका कोरोना संक्रमितको संख्या भन्दा पछिल्लो एक सातामा संक्रमण पुष्टि भएकाको संख्या बढी देखिन्छ । तर, मृत्यु हुनेको संख्या भने कम छ ।

पछिल्लो एक साताको मृत्युदर ०.५३ प्रतिशत मात्र छ । यो दर पहिलो लहरको उत्कर्ष विन्दुको तुलनामा आधा कम हो ।

संक्रमित संख्या घटेका बेला अर्थात् सन् २०२१ को फेब्रुअरी २ देखि ८ सम्मको अवधिमा ७८ हजार ५७७ संक्रमित थपिएका थिए । सो अवधिमा मृत्यु हुनेको संख्या पनि ६४६ थियो । अर्थात् मृत्युदर ०.८२ प्रतिशत थियो ।

सन् २०२० को सेप्टेम्बर, २०२१ को फेब्रुअरी र पछिल्लो एक साताको तथ्यांक हेर्दा संक्रमित तथा मृतकको संख्यामा उतारचढाव त देखिन्छ, तर मृत्युदर कम छ । यसको अर्थ संक्रमण बढे पनि जोखिम घटेको आँकलन गर्न सकिन्छ ।

कोरोनाको नयाँ प्रकार

भारतमा दोस्रो लहर फैलिनुको एक कारण कोरोनाको नयाँ प्रकार (भेरियन्ट) को संक्रमणलाई पनि मानिएको छ । विशेषज्ञहरु कोरोनाको नयाँ प्रकार पनि नयाँ लहर फैलाउन सहायक बनेकोमा सहमत छन् ।

भारतीय संक्रामक रोग विशेषज्ञ साहिद जमिलका अनुसार गत मार्च २४ मा पञ्जाबमा भेटिएका नयाँ संक्रमितमध्ये ८० प्रतिशतमा बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारको भाइरस देखिएको थियो ।

त्यस्तै एउटै भाइरसमा दुई किसिमको परिवर्तन ‘डबल म्युटेट’ को संक्रमण पनि बढ्दो क्रममा देखिएको छ । यस्तो संक्रमण महाराष्ट्रका १५ देखि २० प्रतिशत संक्रमितमा देखिएको विशेषज्ञहरुको भनाइ छ । कोरोनाको नयाँ प्रकारबारे थप अध्ययन हुनुपर्नेमा संक्रामक रोग विशेषज्ञहरुले जोड दिएका छन् ।

भारतमा बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको कोरोनाको नयाँ प्रकार भेटिइसकेको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै फैलिन किसिमको पाइएको छ ।

अस्पतालमा चाप

संक्रमितको संख्या बढेसँगै भारतका अस्पतालहरुमा दबाब भने स्वाभाविक रुपमा बढेको छ । धेरै संक्रमित फेला परेका महाराष्ट्रमा संक्रमित संख्या नघटे अस्पतालले उपचार धान्न नसक्ने अवस्थामा पुगेका छन् ।

महाराष्ट्रको मुम्बईका अस्पतालहरुमा केवल तीन प्रतिशत आईसीयू बेड मात्र खाली छन् । भारतीय समाचारपत्र मिन्टका अनुसार मुम्बईका केही अस्पतालमा अहिले नै आईसीयू बेड र अक्सिजनको अभाव भइसकेको छ ।

उत्तर प्रदेशको लखनऊमा पनि कोभिड बेड र आईसीयू बेडको अभाव सुरु भएको छ । आइतबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कम्तीमा दुई हजार आईसीयू बेड र आगामी एक सातामा दुई हजार कोभिड बेडको प्रबन्ध गर्न निर्देशन दिएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरिबिन्द केजरीवालले पनि अस्पतालले थेग्न नसक्ने गरी कोरोना संक्रमण बढ्न सक्ने भन्दै सतर्क रहन चेतावनी दिएका छन् । उनले अस्पतालले बिरामी धान्न नसक्ने अवस्था आए लकडाउन हुन सक्ने बताएका छन् ।

खोप अभियान

भारतमा अहिलेसम्म आठ करोड ८८ लाखभन्दा धेरैले कम्तीमा एक डोज कोरोना खोप लगाइसकेका छन् भने एक करोड २७ लाखभन्दा बढीले पूरा दुई डोज खोप लगाइसकेका छन् । समग्रमा भने भारतमा १० करोड १५ लाखभन्दा बढी डोज कोरोना खोप लगाइसकिएको छ ।

खोप अभियान चलिरहने तर कोरोना संक्रमण नरोकिने विषय अहिले भारतमा चर्चाको विषय बनेको छ । संक्रामक रोग विशेषज्ञ टी जाकोब जोनले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भारतले कोरोना खोप अभियान निकै ढिला सुरु गरेको र यो अभियानले कुनै नतिजा निकाल्ने लक्ष्य नराखेको बताएका छन् ।

आवश्यकता नै नभएका मानिसले पनि खोप पाएको तर जोखिमपूर्ण अवस्थामा रहेका मानिस भने अझै खोपको प्रतीक्षामा रहेको जोनको भनाइ छ ।

उनले भारतले गत वर्ष नै खोप खरिदका लागि अग्रिम भुक्तानी दिएर कम्पनीलाई उत्पादन गर्न नलगाएको भन्दै आलोचना गरेका छन् । जसको कारण अहिले पर्याप्त मात्रामा कोरोना खोप उपलब्ध नभएको उनको बुझाइ छ ।

अर्का संक्रामक रोग विशेषज्ञ जमिलका अनुसार भारतमा पाँच प्रतिशत मानिसले मात्र कम्तीमा पहिलो डोज खोप लगाएकाले संक्रमण नियन्त्रणमा खोप प्रभावकारी नदेखिएको हो । त्यस्तै मानिसहरुले मास्क लगाउनेलगायतका स्वास्थ्य सावधानीका मापदण्ड पालना नगरेको कारण पनि कोरोना संक्रमणमा उल्लेख्य बढेको जमिलको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment