Comments Add Comment

बाल स्वास्थ्यमा वायु प्रदूषणको असर

वितेको केही साता अत्यधिक बढेको वायु प्रदूषणलाई हामीले भोग्यौं । वितेका वर्षहरूमा भन्दा यस वर्ष अधिक मात्रामा वायु प्रदूषण भयो । जंगलमा लागेको आगो, धुवाँ–धूलोका कारण पुस–माघ महीनाको कुहिरो, हुस्सु जस्तो प्रदूषण देखियो । सरकारले चार दिन सम्पूर्ण शैक्षिक संस्था बन्द गरेर आम नागरिकलाई पनि घरबाट ननिस्कन आह्वान समेत गर्‍यो ।

केही दिन हल्का सुधार देखिएको प्रदूषणको अवस्थामा केही सुधार त भयो तर अहिले पनि अवस्था लगभग उस्तै छ । पानी वा उच्च बहावको हावा नचलेसम्म वायु प्रदूषणमा कमी आउने देखिंदैन । देशका केही पहाडी भागमा पानी परेर डढेलोमा त कमी आएको छ तर अझै पनि पूर्ण रूपमा मौसम सफा भएको छैन । तराईका जिल्लामा अझै पनि प्रदूषण कायम छ ।

संसारभर नै वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्छ । तर गम्भीर रूपमा नलिइएको यो एक आपतकालीन अवस्था हो । संसारमा वर्षमा लगभग ४२ लाख असामयिक निधनको कारण वायु प्रदूषण बन्ने गरेको छ । त्यसमध्ये लगभग तीन लाख मृत्यु पाँच वर्ष मुनिका बालबालिकाको हुने गरेको छ ।

वायु प्रदूषणको स्रोत
घरभित्र हुने वायु प्रदूषणको मुख्य स्रोतका रूपमा चुरोट सेवन, मट्टीतेल, कोइला, दाउराबाट खाना पकाउने, फोहोर बालेर गरिने विसर्जन, हावाको आवतजावत कम हुने, खाना पकाउँदा निस्कने प्रदूषण हो ।

बालबालिकाको फोक्सोको विकास जन्मपछि युवा अवस्थासम्म नै हुने गर्छ । धूलोको कणले फोक्सोको विकास र काममा गम्भीर असर पर्दछ ।

घर बाहिर हुने वायु प्रदूषणको मुख्य स्रोतमा औद्योगिक प्रक्रिया धेरै हुनु र पुराना गाडीहरूको प्रयोग, फोहोर विसर्जनका नाममा गरिने आगलागी, सडकको धूलो–धुवाँलगायत हुन् ।

जोखिममा बालबालिका
आमाको गर्भमा रहँदादेखि नै बालबालिका वायु प्रदूषणको उच्च जोखिममा हुन्छन् । बालबालिकाको फोक्सोको विकास जन्मपश्चात युवा अवस्थासम्म नै हुने गर्छ । धूलोको कणले फोक्सोको विकास र काममा गम्भीर असर पर्दछ । साथै बालबालिकाको श्वास दर वयस्कको भन्दा बढी हुने हुनाले बढी दूषित हावाका कणहरू फोक्सोमा पुग्छन् ।

बालबालिकाले मुखबाट सास फेर्ने गर्नाले धूलोका कणहरू नाकमा रोकिन पाउँदैनन् । यसबाहेक साना बालबालिका प्रायः धूलोमा खेल्ने र नवजात शिशु वा साना बालबालिका धुवाँ–धूलो भएको ठाउँबाट आफैं अन्यत्र जान नसक्ने हुनाले पनि उच्च जोखिममा हुन्छन् । कोइला बालेर बच्चा सेक्ने चलनले गर्दा पनि नवजात शिशु वायु प्रदूषणको गम्भीर असरमा रहेका हुन्छन् ।

बाल स्वास्थ्यमा वायु प्रदूषणको असर
गर्भावस्थामै हुने वायु प्रदूषणले कम तौलको शिशु जन्मने, महीना पुग्नु अगावै शिशु जन्मनुका साथै कहिलेकाहीं मृत शिशुको पनि जन्म हुनसक्छ । वायु प्रदूषणले आँखा, घाँटी, फोक्सोको एलर्जी गराउने, सुक्खा बनाउने र फोक्सोको दम निकाल्ने वा बढाउन सक्छ ।

पाँच वर्ष मुनिका बालबालिकाको निमोनियाबाट हुने मृत्युको आधाभन्दा बढी कारण वायु प्रदूषण हो । बालबालिकाको कान पाक्ने, स्नायुको विकासमा अवरोध, बाल क्यान्सर, मुटुको रोग र फोक्सोको दीर्घ रोगहरू प्रदूषित वायुले निम्त्याउने गर्छ ।

न्यूनीकरणका उपाय
० खाना पकाउन दाउरा, कोइला, मट्टीतेलको सट्टा बिजुली, सोलार वा ग्याँसको प्रयोग गर्ने
० खाना पकाउने कोठामा हावा खुला रूपले बहने व्यवस्था मिलाउने
० नवजात शिशुलाई कोइला बालेर नसेक्ने
० बच्चालाई ढाडमा बोकेर खाना नपकाउने
० झ्याल, ढोका सबै बन्द गरेर कोठामा आगो बालेर नबस्ने
० जथाभावी आगो नबाल्ने
० घरमा कसैले पनि चुरोट सेवन नगर्ने
० गर्भवती महिलाले चुरोट सेवन नगर्ने
० हरित शहर व्यवस्थित, औद्योगीकरणमा जोड दिने
० सवारी साधन, यातायातको उचित व्यवस्थापन गरी वायु प्रदूषणको दीर्घकालीन समाधान खोज्ने ।

(लेखक भरतपुर अस्पतालका बालरोग विशेषज्ञ हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment