Comments Add Comment

बैंकमा निक्षेप भन्दा कर्जा लगानी बढी, के तरलता अभाव हुँदैछ ?

३४ अर्ब कर्जा लगानी हुँदा २३ अर्ब निक्षेप संकलन

३० चैत, काठमाडौं । एक साताको अवधिमा ‘क’ वर्गका बैंकहरुको कर्जा लगानी ३४ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साता २० चैतसम्म ३५ खर्ब १ अर्ब रुपैयाँ रहेको बैंकहरुले कर्जा लगानी एक सातामै ३४ अर्ब रुपैयाँले बढेर ३५ खर्ब ३५ अर्ब रुपैयाँ नाघेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

संघका अनुसार कर्जा जुन अनुपातमा बढेको हो त्यो अनुपातमा निक्षेप संकलन भने भएको छैन । २० चैतसम्म वाणिज्य बैंकहरुमा ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप थियो । २७ चैतसम्म आइपुग्दा निक्षेप जम्मा २३ अर्ब रुपैयाँले मात्रै वृद्धि भएर ३९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

कोरोना नियन्त्रण गर्न भन्दै सरकारले अघिल्लो वर्षको चैतमा गरेको लकडाउन पछि बैंकहरुमा लगानी योग्य रकम थुप्रिएको थियो । निक्षेप आउने क्रम बढे पनि कर्जा लगानी लकडाउनका बेला ठप्प प्रायः भएको थियो । कर्जा लगानी नहुँदा चिन्तित बनेका बैंकहरुलाई यतिबेला भने तरलता व्यवस्थापन गर्न समस्या पर्ने हो कि जस्तो देखिएको छ । कर्जाको माग बढ्दै जाने तर निक्षेप कम आउने हुँदा समस्या हुने देखिएको हो ।

यद्यपि तरलता अभाव भने भइहाल्ने अवस्था नरहेको राष्ट्र बैंकले बताएको छ । तुलनात्मक हिसाबले तरलता ‘टाइट’ हुँदै गए पनि अभाव नै भने भइनहाल्ने राष्ट्र बैंकको भनाइ छ । फागुन पहिलो साता र चैतको अन्तिम साताको तुलना गर्ने हो भने कर्जा लगानी २ खर्ब रुपैयाँले वृद्धि भएको छ । तर निक्षेप रकम भने १ खर्ब १४ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ ।

संघका अध्यक्ष भुवनकुमार दाहाल पनि तरलता अभाव भइहाल्ने अवस्था नदेखिने बताउँछन् । कर्जाको माग बढेर बैंकहरुले राम्रै कर्जा लगानी गरिरहेपनि त्यस्तो खतरा नरहेको उनी बताउँछन् । ‘चैत मसान्तस्म्म त अभाव हुने सम्भावना छैन नै, त्यसपछि हुने सरकारी खर्चको अवस्थामा भरपर्छ’, अध्यक्ष दाहालले भने, ‘सरकारी खर्च राम्रै भयो भने समस्या हुँदैन ।’

कर्जा लगानीसँगै ब्याजदर थोरै बढेको उनले स्वीकार गरे । तर पहिलाको जस्तो १२–१३ प्रतिशत ब्याजदर पुग्ने सम्भावना नरहेको उनले बताए । तरलता अभाव हुन नदिन सरकारले समयमै खर्च गर्नपर्ने बताउँदै उनले भने, ‘उठाएको पैसा खर्च नगरी थुप्रिँदा समस्या हुन्छ ।’

पूर्वबैंकर अनलराज भट्टराई पनि तरलताका विषयमा डराइहाल्नु पर्ने अवस्था नरहेको बताउँछन् । छिमेकी मुलुकहरुमा कोरोना संक्रमण बढ्दै गएकाले तरलता व्यवस्थापनका विषयमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment