
१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिगमनको गलत अर्थ लगाइएको टिप्पणी गरे ।
‘एकथरि मान्छे आफू पधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ’ उनले प्रश्न गरे ‘के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन् ।’
अहिलेको व्यवस्था र यो व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै ओलीले भने, ‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परे र ? केही पनि परेको छैन ।’
उनले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले भने ‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?’
आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीका नेतालाई प्रधानमन्त्री भइदिनुहोस भन्दै हिँड्नेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताए । सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रमन, विकासको लहर सबै कुराहरुलाई जनताले बुझ्ने प्रयास गरिराखेको पनि उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदान, त्याग र पीडादायक भोगाइको सम्मान गरिएको बताए ।
‘सबै सम्मानित तर यस्तो सम्मान जहाँ बलिदान छ पीडा छ, त्यो बलिदान, त्यो पीडा, ती शहीदको गौरवपूर्ण इतिहासको सम्मान, योगदानको सम्मान, देशका निम्ति गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाइको सम्मान आज हामीले गरेका छौं’ उनले भने ।
शहीदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरुको शिक्षादिक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने पनि प्रधानमन्त्री ओलीले बताए । यस्तै कुनै घाइते व्यक्तिको निरन्तर उपचारको आवश्यकता छ भने सरकारले ध्यान दिने पनि उनले प्रतिवद्धता जनाए ।
‘शहीदका परिवारको सामाजिक सुरक्षाको सम्बन्धमा, शहीदको परिवारको रोजगारीको सम्बन्धमा, शहीदका परिवारको स–साना बालबालिकाहरु छन् भने तिनको शिक्षा दिक्षाको सम्बन्धमा र सहिद नभएका तर घाइते भएका अशक्तताबाट पीडितहरुका जीविकाको समस्याहरु छन भने अथवा केही काम गर्न सक्ने तर अनुकुलको काम प्राप्त छ भने त्यस्तो स्थितिमा पनि कसरी त्यसको सम्बोधन गर्न सकिन्छ सरकारले त्यस दिशा तर्फपनि सम्बोधन गर्छ’ उनले भने ।
‘प्रचण्डले क्रान्तिको पीडा बुझ्दैनन्’
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै उनी भूमिगत नभएको टिप्पणी गरे । प्रचण्ड विदेशमा अरुले प्रबन्ध गरिदिएको ठाउँमा बसेर अरुलाई आन्दोलनमा होमिदिएको उनको भनाइ छ ।
‘आन्दोलनको टुप्पामा बसेर दुःखकष्ट नगरिकन, एक दिन जेल नपरी, एकदिन भूमिगत नभई, वास्तवमा त्यसलाई भूमिगत भन्न सकिन्न, विदेशका राम्रै प्रवन्धमा बसेर आफू आन्दोलनको नेतृत्व गरेको भन्ने, अरु बेहाल भइरहदा तिनीहरुको वास्ता नगर्ने प्रवृत्ति, आन्दोलनमा दुःख भोग्दै नभोगेको, कहिल्यै पिटाइ खाएको छैन, कहिल्यै जेल परेको छैन, कहिल्यै नेल हतकडी लागउनुपरेको छैन, कहिल्यै भोकै बस्नुपरेको छैन, क्रान्तिकारी कुरा गरेको छ अरुलाई बहकाएको छ, भडकाएको छ, होमिदिएको छ त्यस्ता मान्छेहरुले यो पीडा बुझ्दैनन्’ उनले भने ।
प्रधानमन्त्री ओलीले बरु आफूले धेरै पीडा भोगेको भन्दै पीडितको पीडा र आँशुको महत्व बुझ्ने बताए ।
‘खानै नदिएर डेढ महिना सम्म तुरुममा राखेर थुनेर लगातार कुटपिट गर्दा कुटाइ खाँदा कस्तो हुन्छ हामीले भोगेका छौं । कोही मान्छे देख्न, भेटन नपाउने गरी चार वर्ष सम्म अध्यारा कोठा भित्र लगेर थुन्दा कस्तो हुन्छ त्यो हामीले भोगेका छौं । परिवारबाट विछोडिएर, आफन्तबाट विछोडिएर लामो समयसम्म दशकौं भन्दा लामो १४/१५ वर्ष जेल बस्दा कस्तो हुन्छ हामीले भोग्या छौं । कुटाई खाँदाको पीडा कस्तो हुन्छ त्यो हामीले भोगेका छौं । त्यसकारण कुटाई खाने भनेको पनि एउटा घाइते जस्तै हो । ति पीडाहरु हामीले बुझेकै हुनाले हामीलाई पीडा कस्तो हुन्छ आँसुको महत्व के छ, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा हामीले भोगेका छौं ।’
तत्कालिन समयमा माओवादीले हिंसात्मक आन्दोलन सञ्चालन गर्दा समेत आफूले विरोध गरेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनले कहिं पुगिदैन भन्ने कुरा अडानका साथ राखेको पनि ओलीले बताए । हिंसात्मक आन्दोलनबाट नागरिकले दुःख पाउने बाहेक केही हुन नसकेको पनि उनको भनाइ छ ।
‘माओवादीले जतिबेला हिंसात्मक आन्दोलन सञ्चालन ग¥यो त्यस बेला पनि यो कहिं पुगिदैन यो भड्काएर युवाहरुलाई आवेशमा ल्यायो । अथवा युवाहरुलाई देशभक्ति उनीहरु भित्र जगाएर परिवर्तनको आकांक्षा जगाएर होमीदिने, उनीहरुको जिन्दगी बर्बाद हुने, उनीहरुको परिवार बर्बाद हुने, उनीहरु मारिने, उनीहरु शहीद हुने, कति अङ्गभङ्ग हुने अनि तिनिहरुका लासमाथि टेकेर आफूचाहिं माथि जाने मात्रै काम बन्द गरौं मैले कडाइका साथ त्यस बेला पनि भनेको थिएँ’ उनले भने ।
प्रतिक्रिया 4