Comments Add Comment

वीरगञ्जमा संक्रमणले घेरिसक्यो, छैन कोरोना अस्पताल

१ वैशाख, वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य द्वार वीरगञ्ज फेरि एक पटक कोरोना संक्रमणको जोखिममा परेको छ । छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर वीरगञ्जमा पर्ने र विगतमा जस्तै हटस्पष्ट बन्ने आशंका यहाँका सरोकारवालाले गरेका छन् ।

गत वर्ष कोरोना महामारीले सताएको यो शहर यतिबेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको पनि होइन, तर महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा फेरि समस्या पर्ने उत्तिकै जोखिम छ ।

गत वर्ष नारायणी अस्पताल, गण्डक अस्पताल, वीरगञ्ज हेल्थ केयर र नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर व्यवस्था गरेका थिए । गण्डक अस्पताललाई वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको थियो ।

तर अहिले नारायणी अस्पतालमा ३५ बेडको आइसोलेसनबाहेक अरु कुनै पनि आइसोलेसन सञ्चालनमा छैन । शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । १ सय १४ जना होम आइसोलेसनमा छन् । चैत ३१ गते पोजेटिभ आएका २५ जना होम आइसोलेसन वा अस्पताल बस्ने भन्ने टुंगो लागेको छैन ।

नारायणीको आइसोलेसनमा आएका १३ जनामध्ये ५ जना डिस्चार्ज भएका छन् र २ जनाको मृत्यु भएको छ, अरु त्यहीँ उपचाररत छन् ।

वीरगञ्जका सरोकारवाला र जनस्वास्थ्यविज्ञ अब छुट्टै आइसोलेसन सेन्टर नभए भयावह स्थिति आउने बताउँछन् । वीरगञ्जका कोभिड एक्सन टिमका सदस्य एवं जसपाका पर्सा जिल्ला सचिव तवरेज अहमद कोरोनाको मुहानमा राज्यले बेवास्ता गरेको बताउँछन् ।

‘तत्कालका लागि त पर्याप्त देखिएको छ, केस बढ्दा समस्या आउन सक्छ’ नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले भने, ‘जनशक्ति र स्रोत साधन जुटाउने कुरा मुख्य हो । कोभिड संक्रमितको उपचारका लागि छुट्टै अस्पताल हुँदा उत्तम हुन्छ ।’

उनले भने, ‘वीरगञ्ज कोरोनाको मुहान हो । यहाँ गरेको लगानीले देशभरि हुने लगानी जोगाउँछ ।’ सरकारले नाकाको आवागमन व्यवस्थित गर्न र छुट्टै कोभिड अस्पताल बनाउनुपर्ने उनको भनाइ छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले कोभिड अस्पतालको स्थापना वीरगञ्जको मुख्य आवश्यकता भएको बताए । ‘वीरगञ्जमा रहरले कुनै काम कसैले नगर्ने स्थिति छ, सबै मिलेर दवाव दिनुपर्छ । कोरोना महामारी लामो समयसम्म रहने देखिएको छ । क्यान्सर अस्पतालजस्तै छुट्टै कोभिड अस्पताल चाहिन्छ’ उनले भने ।

संक्रमित बढे, समस्या बढ्ने निश्चित

नारायणी अस्पतालमा जनरल सेवा पनि सञ्चालन भएकाले कोरोना आइसोलेसन सञ्चालन गर्न हुने कि नहुने विवाद छ । हाल इमर्जेन्सी वार्डको माथिल्लो तलामा कोभिड आइसोलेसन सञ्चालनमा छ ।

संक्रमित सुत्केरीको शल्यक्रिया मार्फत डेलिभरी गराउन र संक्रमित मृगौला रोगीको डायलायसिस गर्न पनि उहाँ सम्भव छ । तर कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मी अन्यत्र पनि काम गर्नुपर्ने बाध्यता छ । यसले अन्य विरामीमा पनि कोरोना संक्रमण हुन सक्ने सम्भावना छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास कोभिड विशेष अस्पताल छुट्टै सञ्चालन गर्नु उचित हुने बताउँछन् । ‘तत्कालका लागि त पर्याप्त देखिएको छ, केस बढ्दा समस्या आउन सक्छ’ उनले भने, ‘जनशक्ति र स्रोत साधन जुटाउने कुरा मुख्य हो । कोभिड संक्रमितको उपचारका लागि छुट्टै अस्पताल हुँदा उत्तम हुन्छ ।’

लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएकोले कोभिड विशेष अस्पताल सचालनमा ढिलाइ गर्न नहुने चिकित्सकहरु बताउँछन् ।

वीरगञ्जमा अधिकांश अस्पताल एकै क्षेत्रमा छन् । एकैजना चिकित्सक, एकै प्राविधिक जनशक्ति धेरै अस्पतालले प्रयोग गरिरहेका छन् । संक्रमितका लागि छुट्टै ल्याब, सिटिस्क्यान, एक्स–रे, भिडियो एक्स–रे लगायत परीक्षणको सुविधा दिनसमेत सक्ने अवस्था छैन ।

नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. असरफ हुसैन कोरोना महामारीसँग लड्न वीरगञ्ज गत वर्षको भन्दा कमजोर अवस्थामा रहेको बताउँछन् । कोरोना विशेष अस्पताल सञ्चालनमा ढिलाइ गर्न नहुने उनको सुझाव छ ।

‘कोरोनाको पहिलो लहरपछि सम्मान आदान प्रदानमै समय बितेको छ । पहिलाका संरचनाहरु पनि छैनन् । पूर्व तयारीका हिसाबले एकदमै कमजोर अवस्था देखिन्छ’ उनले भने ‘संक्रमितको हेमो डायलायसिस, सीएस (शल्यक्रियाबाट डेलिभरी सेवा), एक्स–रे, भेन्टिलेटर र दक्ष चिकित्सक, स्वास्थ्यकर्मीसहितको छुट्टै कोभिड अस्पताल वीरगञ्जमा चाहिन्छ ।’

वीरगञ्जमा १ सय देखि १ सय ८० बेडको कोभिड विशेष अस्पताल तयारी अवस्थामा राख्नुपर्ने उनले बताए ।

नेपाल चिकित्सक संघ नारायणीले ०७६ चैत १३ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर छुट्टै कोभिड विशेष अस्पताल बनाउन ध्यानाकर्षण गराएको थियो । प्रदेश सरकारले कलैया अस्पताललाई कोभिड विशेष घोषणा गरेपनि सञ्चालन हुन सकेन ।

वीरगञ्जमा कोरोना अस्पताल सञ्चालनका लागि न प्रदेशले पहल गर्‍यो, न केन्द्र सरकारले ध्यान दियो । गत वर्ष महानगरपालिकाले निजी अस्पताललाई आफू मातहत लिएर कोरोना विशेष अस्पताल सञ्चालन गर्‍यो । तर दीर्घकालका लागि कुनै व्यवस्था भएन ।

नेपाल चिकित्सक संघ नारायणीका सचिव डा. उदयनारायण सिंह कोभिड संक्रमित र अन्य विरामीलाई एकै ठाउँमा राखेर उपचार गराउने पक्षमा चिकित्सकहरु नरहेको बताउँछन् ।

‘छुट्टै कोभिड विशेष वा सरुवा रोग अस्पताल तयार गर्नुपर्छ भनेका हौं, धेरै पटक दवाव दिएका पनि हौं, कुनैपनि संयन्त्रले चासो दिएन’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे निजी अस्पताल र मेडिकल कलेजसँग कोरोना उपचारका लागि सहकार्य गर्ने तयारी भइरहेको बताउँछन् ।

‘नारायणी अस्पतालमा तयार गरिएको आईसीयु र एचडीयू वार्डले मात्रै नपुग्ने अवस्था आउन सक्छ’ उनले भने ‘निजी स्वास्थ संस्थाहरुलाई पनि निश्चित संख्यामा बेड छुट्याउन र आवश्यक व्यवस्थापन गर्न भनेका छौं । ’

चैत २९ गते बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निजी अस्पतालले कोभिड शंकास्पद विरामीको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णय गरेको छ । तर यो निर्णय व्यवहारिक नहुने नेशनल मेडिकल कलेजका चिकित्सक हुसेन बताउँछन् । बरु एउटा अस्पताललाई स्क्रिनिङ सेन्टरको रुपमा विकास गर्नुपर्ने उनको सुझाव छ ।

‘निजी अस्पतालले शंकास्पदलाई स्क्रिनिङ सेन्टर पठाउनुपर्छ । पोजेटिभ देखिए आवश्यकता अनुसार कोभिड अस्पताल पठाउने, आइसोलेसन सेन्टरमा राख्ने वा होम आइसोलेसनमा राख्नुपर्छ । नेगेटिभ देखिए सम्बन्धित अस्पतालले नै आवश्यक उपचार गर्छ’ उनले भने ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी एक सय बेडको कोभिड अस्पताल बनाउन पहल गरेको तर सहयोग नपाएको गुनासो गर्छन् । ‘शुरुदेखि नै कोभिडका लागि १ सय बेडको अस्पताल तयारी अवस्थामा राखौं भनेको हो’ उनले भने ‘न प्रदेश सरकारले सुने, न केन्द्रले नै सुन्छ ।’

अघिल्लो वर्ष महानगरपालिकाले कोभिड अस्पताल सञ्चालन गरेर १० करोड रुपैयाँ खर्च गरेको भन्दै उनले अब एक्लै अस्पताल व्यवस्थापन गर्न नसकेको मेयर सरावगी बताउँछन् ।

लापवाहीको पराकाष्ठा

पछिल्ला दिनमा वीरगञ्ज क्षेत्रमा युवा पुस्तामा बढी संक्रमण देखिएको छ । उनीहरुको ट्राभल हिष्ट्री भारततिर छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. दास लापरवाही गरेमा भयावह अवस्था आउने बताउँछन् ।

‘अघिल्लो साता ६७ पोजेटिभ केस भेटिएको थियो, पछिल्लो तीन दिनमै ९६ वटा केस देखियो’ उनले भने, ‘समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । मास्क लगाउनुपर्छ, बढी भिडभाड गर्न भएन । सावधानी अपनाउनुपर्छ ।’

पर्सामा स्थानीय तहहरुलाई क्वारेन्टिन बनाउन र भारतबाट आएकालाई १० दिन अनिवार्य होम क्वारेन्टिन बस्न भनिएको छ । दिनहुँ सयौं नागरिक भारतका विभिन्न प्रान्तबाट आएका छन् । कति जना क्वारेन्टिनमा छन् भन्ने कुरा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी छैन । विगतमा विद्यालयलाई नै क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाइएको हो । तर अहिले विद्यालय सञ्चालनमा भएकाले त्यो सम्भव छैन ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तव सबै पक्ष जिम्मेवार नहुँदा समस्या देखिएको बताउँछन् । ‘पालिकालाई क्वारेन्टिन र आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न, भारतबाट आएकालाई १० दिन अनिवार्य क्वारेन्टिन राख्न भनेका छौं’ उनले भने, ‘पालिकाले तयारी भए नभएको बारे कुनै जानकारी दिएका छैनन् ।’

वीरगञ्ज महानगरपालिकाभित्रै संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । महानगरपालिकाले ५ वटा केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सीआईसीटी) टिम गठन गर्नुपर्ने भए पनि गरेको छैन । अरु स्थानीय तहको पनि त्यस्तै अवस्था छ ।

महानगरप्रमुख सरावगी सीआईसीटी टिम गठन गरेर खट्न निर्देशन दिइसकेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment