Comments Add Comment

अश्वमेध यज्ञ : दिग्विजयसँग सम्बन्धित एक राजनीतिक यज्ञ

अश्वमेध यज्ञलाई वैदिक यज्ञहरूको बीचमा महत्त्वपूर्ण स्थान दिने गरिएको छ । यो महाक्रतुहरूमध्ये एक हो । ऋग्वेदमा अश्वमेध यज्ञसँग सम्बन्धित दुईवटा मन्त्रहरू छन् । शतपथ ब्राह्मणमा यसको विस्तृत विवरण पाइन्छ। तैत्तेरिय ब्राह्मण, कात्यायनीय स्रोतसूत्र, आपस्तम्ब, आश्वलायन र शंखायन जस्ता ग्रन्थअरूमा पनि यसको बारेमा उल्लेख गरिएको छ ।

महाभारतमा महाराज युधिष्ठिरले कौरवमाथि विजय हाँसिल गरेपछि पापबाट छुटकारा पाउनको लागि गरिएको अश्वमेध यज्ञबारे उल्लेख छ । अश्वमेध मुख्यतया एक राजनीतिक यज्ञ थियो र उही सम्राटले गर्न सक्थ्यो, जसले अरू सबै राजाहरूमाथि शासन गरेको हुन्छ । आपस्तम्ब:मा लेखिएको छ: केवल सार्वभौम राजाले मात्रै अश्वमेध यज्ञ गरून् । असार्वभौम राजाले होइन । यो यज्ञ आफ्नो संसार विजयको संकेत हो, सबै इच्छाको पूर्ति एव‌ं शक्ति तथा साम्राज्यको वृद्धिको द्योतक पनि हो ।

यज्ञको सुरुवात
दिग्विजय यात्रापछि साफल्य मण्डित भएपछि यो यज्ञको अनुष्ठान हुने गर्दथ्यो । ऐतरेय ब्राह्मणले यस यज्ञ गर्ने राजाहरूको सूची उल्लेख गरेको छ । जसले आफ्नो राज्यारोहणपछि ‘पृथ्वी’ कब्जा गरे र यो यज्ञको पनि आयोजना गरे । यस तरिकाले यो यज्ञ सम्राटको प्रमुख कर्तव्य ठानिन्थ्यो ।

पहिलेको नित्तान्त राजनीतिक यज्ञ थियो । तर बिस्तारै जनताले यसमा भाग लिन थाले र यसको पक्ष धार्मिक पक्षभन्दा सामाजिक पक्षलाई बढी महत्व दिन थालियो । बिस्तारै यो यज्ञमा पनि वाक्चातुर्य, शास्त्रार्थ आदिको प्रदर्शनको यसमा समावेश हुन थाल्यो । यो यज्ञ वसन्त वा ग्रीष्म ऋतुमा सुरु हुन्थ्यो । यसभन्दा पहिले यसको पूर्व अनुष्ठानको लागि करिब १ वर्ष लाग्ने गर्दथ्यो ।

अश्वमेध यज्ञको विधि
यो यज्ञको लागि एउटा चोट नलागेको घोडा छनोट गरिन्थ्यो । यसलाई यज्ञकुण्डमा बाँधेर नुहाइन्थ्यो भने एक वर्षसम्म उसलाई अबन्ध छाड्ने तथा अरू घोडासँग खेल्न दिने गरिन्थ्यो । त्यसपछि यसको दिग्विजय यात्रा सुरु हुन्थ्यो । यसको शिरमा जय पत्र बाँधेर छाडिएको हुन्थ्यो । एक सय राजकुमार, एक सय राज सभाषद्, एक सय उच्च अधिकारीका छोरा र एक सय साना अधिकारीका छोराहरू यो घोडाको रक्षाको लागि सशस्त्र पछाडि हिँड्ने गर्दथे । यसको स्वतन्त्र विचरणमा कुनै बाधा उत्पन्न हुनुहुँदैन थियो । यस घोडा चोर्ने तथा रोक्ने राजासँग तत्कालै युद्ध सुरु हुन्थ्यो । यदि यो घोडा कतै हरायो भने पुन: सुरुवातदेखि अर्को घोडा कुदाउन थालिन्छ ।

दिग्विजय यात्रा
जब यो घोडा दिग्विजय यात्रामा जान्छ, स्थानीय मानिसहरू यसको पुनरागमनको पर्खाइमा बस्छन् । मध्यकालीन समयमा धेरै प्रकारका उत्सव मनाउने गरिन्थ्यो । सवितादेवलाई दैनिक उपहार दिइन्थ्यो । उत्सवको बीचमा राज पुजारीहरू मन्त्रगान गाउने गर्दथे । यस मन्त्रको चक्र प्रत्येक एघारौं दिनमा दोहोरिएको हुन्थ्यो । यस अवसरमा शाही कविले राजाको प्रशंसामा गीत गाउने गर्थे।

मन्त्रगान नाटकको रूपमा विभिन्न पात्रहरू खटिन्थे । जस्तो बुढा मान्छे, जवान मानिसहरू, सर्प मनमोहक, डाकु, मछुवा, चेटर र ऋषिमुनि आदि पात्रमा नाटक गरिन्थ्यो । जब एक वर्ष पूरा हुन्छ र जब घोडा फर्किन्छ तब राजालाई दीक्षा दिएर यज्ञको सुरुवात गरिन्थ्यो ।

वास्तविक यज्ञ तीन दिनसम्म चल्‍थ्यो, जसमा अन्य पशुलाई बलिको लागि स्तम्भमा बाँध्ने गरिन्थ्यो । अर्कोदिन अश्वको साथमा वस्त्रावरणको भित्र प्रतिकात्मक रूपमा मुख्यरानी सुत्नुपर्थ्यो । पुरोहित आदि ब्राह्मणहरू महिलाहरूसँग प्रमोद पूर्वक प्रश्नोत्तर गर्ने गर्थे । जतिबेला रानी उठ्थिन् त्यसपछि चतुरतापूर्वक यज्ञअश्वलाई काटेर आहुती दिइन्थ्यो । त्यसपछि अश्वको विभिन्न भागलाई यज्ञमा प्रजापतिलाई आहुति दिने गरिन्छ । त्यसपछि यज्ञ गर्ने पुजारी र ब्राह्मणहरूलाई दान दिने गरिन्थ्यो ।

अश्वमेध ब्रह्महत्या आदि पापबाट मुक्ति र स्वर्ग प्राप्तिको उद्देश्यका साथमा गरिन्थ्यो । गुप्त साम्राज्यको पतनपछि अश्वमेध लगभग बन्द भयो । त्यसपछिका उल्लेखहरू प्रायः परम्परागत मात्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment