Comments Add Comment

कुशलको लगातार तेस्रो अर्धशतकको कीर्तिमान

७ वैशाख काठमाडौं । नेपाली क्रिकेटर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतकको कीर्तिमान बनाएका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका हुन् । यद्यपि नेपाल ३ विकेटले पराजित भयो ।

उनले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन जोडेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा डेब्युसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका हुन् ।

विश्व टी–२० अन्तर्राष्ट्रियमा न्युजिल्याण्डका ब्रेण्डन म्याकुलम र वेष्ट इन्डिजका क्रिस गेलले लगातार चार–चार अर्धशतक प्रहार गरेका छन् । यो दुबै डेब्युमा थिएन । लगातार तीन अर्धशतक प्रहार गर्ने खेलाडीहरुको सूचीमा सनथ जयसूर्या, साहिद अफ्रिदी, मार्टिन गुप्टिल, विराट कोहली जस्ता क्रिकेटर छन् ।

पछिल्लो पटक एडिन माक्रमले लगातार तीन अर्धशतक बनाएका थिए । यो सूचीमा कुशल पनि थपिए । यद्यपि व्यक्तिगत उपलब्धी हासिल गरेपनि टीम हरेका कारण कुशल त्यति खुसी छैनन् । ‘आफ्नो खेल राम्रै भयो, तर म्याच हारेका कारण फिलिङ अलिकति डाउन नै छ’ कुशलले अनलाइनखसरसँग भने ।

उनकाअनुसार कीर्तिमानबारे सोचेको थिएन । खेलपछि अरुले भनेर थाहा पाएका हुन् । ‘म्याचपछि दाइहरुले कीर्तिमानबारे भन्नुभयो । खुशी लाग्यो, तर खेल हारेकाले दुःखी छु ।’

नेपालले २०६ रन बनाएर पनि त्यसलाई रक्षा गर्न सकेन । अघिल्लो दुई खेलमा लक्ष्य पछ्याएको नेपालको ओपनिङ जोडीले शतकीय साझेदारी गरेको थिए ।

कुशलका अनुसार मंगलबार पनि त्यस्तै खेल्ने चाहना थियो । तर अर्का ओपनर आसिफ शेख खाता नखोली आउट भए । ‘पहिला वा दोस्रो जुन इनिङमा ब्याटिङ गरेपनि अघिल्ला दुई खेल जस्तै खेल्ने भन्ने थियो । दुर्भाग्यवश आज आसिफ आउट भयो । बीचमा दीपेन्द्र सिंह ऐरीले राम्रो खेल्यो ।’

नेपालले बिहीबार मलेसियासँग खेल्नेछ । त्यसअघि बुधबार मलेसिया र नेदरल्याण्ड्सबीच खेल हुनेछ । यो खेलमा मलेसिया पराजित भए नेपाल अन्तिम खेलअघि नै फाइनल पुग्नेछ । समीकरण जे भएपनि जितकै लागि खेल्ने कुशलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment