Comments Add Comment

नेपालसँग नेदरल्याण्ड्सले लियो बदला

७ वैशाख काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससंग ३ विकेटले पराजित भएको छ ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनि सन्दीप लामिछानेको ४ विकेटका बाबजुद पनि नेपालले २०६ रनको स्कोर जोगाउन सकेन । २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

यो जितपछि नेदरल्याण्डसले गत शनिबार नेपालसँग व्यहोरेको हारको बदला लिएको छ । सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डसलाई पराजित गरेको थियो ।

नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

नेपालले पनि अहिलेसम्म २ खेल जितेर ४ अंक जोडेको छ । तर रन रेटको आधारमा नेपाल शीर्ष स्थानमा छ ।

नेदरल्याण्ड्सका लागि बास डे लिडले अविजित रहँदै सर्वाधिक ८१ रन बनाए । उनले ४२ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै बेन कुपरले ५५ रन जोडे ।

दोस्रो ओभरमै पहिलो विकेट गुमाएको नेदरल्याण्ड्सका लागि टोबियस भिसे र बेन कुपरले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि बेन कुपर र बास डे लिडले ६८ रनको साझेदारी गरे । बेन कुपरले ३५ बल खेल्दै १० चौका मद्दतमा ५५ रन बनाए । यस्तै कप्तान पिटर सिलारले १५ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३१ रन जोडे ।

नेदरल्याण्ड्सलाई जितका लागि अन्तिम ३ ओभरमा ४५ रन चाहिएको थियो । तर नेपाली बलरमाथि नेदरल्याण्ड्सका बास डे लिड र कप्तान पिटर सिलार हावी बने ।

१८ औं ओभरमा कप्तान सिलारले नेपालका सन्दीपलाई ३ छक्का प्रहार गरे । सन्दीपले १ विकेट लिँदा २० रन दिए । १९ औं ओभर अविनाश बोहराले २ छक्का र १ चौकासहित १९ रन दिएर १ विकट लिए । दुई ओभरमै ३९ रन जोडेपछि नेदरल्याण्ड्सलाई अन्तिम ओभरमा जितका लागि ६ रन मात्र चाहिएको थियो ।

करणले पहिलो बलमै सेबास्टिएन स्टाललाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराएका थिए । तर त्यसपछि बास डे लिडले लगातार दुई चौका प्रहार गर्दै नेदरल्याण्ड्सलाई जित दिलाए ।

नेपालका लागि सर्वाधिक ४ विकेट लिएपनि सन्दीप महंगा सावित भए । उनले ४ ओभरमा ४८ रन खर्चिए । टी-२० अन्तर्राष्ट्रियमा नेपाली बलरले खर्चिएको यो दोस्रो धेरै रन हो । यसअघि बसन्त रेग्मीले २०१९ मा सिंगापुरविरुद्ध ४ ओभरमा ५४ रन खर्चिएका थिए ।

यस्तै करण केसी, अविनाश बोहरा र कुशल मल्लले १-१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २०५ रन बनाएको थियो । भुर्तेलले लगातार तेस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ६२ रन बनाए ।

उनले ४१ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरे । समग्रमा ४६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा ६२ रन जोडे । । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशकको इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बने ।

यसअघि गत शनिबार नेदरल्याण्ड्स र आइतबार मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लेका छन् । पहिलो स्थानमा रहेका पारस खड्काले ५ अर्धशतक बनाएका छन् ।

भुर्तेलले नेदरल्याण्ड्स विरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए ।

यस्तै दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए । उनले १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । उनले २८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अर्धशतक बनाएका थिए । दीपेन्द्रले समग्रमा ३० बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा ६० रन बनाए ।

यसअघि दुई खेलमा लगातार शतकीय साझेदारी गरेका नेपालका ओपनरद्वय कुशल र आसिफ शेखको जोडी मंगलबारको खेलमा भने जमेन । आसिफ शून्यमा आउट भए । पहिलो विकेटका लागि २० रनको साझेदारी मात्र भयो ।

दोस्रो विकेटका लागि कुशल र कप्तान ज्ञानेन्द्र मल्ले ४३ रनको साझेदारी गरे । तर कप्तान ज्ञानेन्द्र २० रन बनाएर आउट हुँदा नेपालले ६३ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै ७८ रनको साझेदारी गरे ।

नेपालका लागि सोमपाल कामीले अविजित २१, कुशल मल्लले १८,  विनोद भण्डारीले अविजित ७ र करण केसीले १ रन जोडे ।

बलिङमा नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र कप्तान पिटर सिलारले २-२ विकेट लिए । यस्तै बास डे लिड र आर्यन दत्तले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment