Comments Add Comment

प्रदेश २ को नाम ‘जानकी’ राख्न एमालेले दर्ता गरायो प्रस्ताव

८ वैशाख, जनकपुरधाम । नेकपा एमालेले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि नेकपा एमालेले प्रदेशको नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको हो । एमाले संसदीय दलका नेता शत्रुधन महतोले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भनेर प्रस्ताव दर्ता गराएको बताए ।

उनका अनुसार जनकपुरधामसहित पश्चिममा मिथिला माध्यमिकी परिक्रमा सडक, पूर्वमा कमला नदी, उत्तरमा ढल्केबर र दक्षिणमा भारतीय सीमासम्मको क्षेत्रलाई राजधानी प्रस्ताव गरिएको छ ।

यसअघि २०७६ सालमा पहिलो पटक प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रक्रिया शुरु गर्दा एमालेसहितको तत्कालीन नेकपाले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम राख्न प्रस्ताव दर्ता गराएको थियो ।

यसअघि प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै सत्तारुढ जनता समाजवादी (जसपा) र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै रुपमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

नाम र स्थायी राजधानीका लागि दुईतिहाइ बहुमतको आवश्यक पर्दछ । प्रदेश २ का कुल १०७ सांसदमध्ये ६९ जनाले हस्ताक्षर गरेमा नाम र स्थायी राजधानी तोकिन सक्छ ।

प्रदेशसभामा सत्तारुढ जसपाका ५५, नेकपा एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका एकजना सांसद छन् । यसमध्ये माओवादी केन्द्रले कुल ११ मध्ये ४ जनालाई बर्खास्त गरेपछि प्रदेश २ मा अहिले १०३ जना मात्रै सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment