News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुनको मूल्याङ्कन विवादका कारण ऋणीहरूले अझै भुक्तानी पाउन सकेका छैनन् ।
- बैंकले लुटिएकै दिनको मूल्यमा भुक्तानी दिने निर्णय गरे पनि ऋणीहरूले भुक्तानी पाउने दिनको बजार मूल्य माग गरेका छन् ।
- गत भदौमा बैंकको बानेश्वर शाखाबाट १७,९४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको थियो ।
७ असार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुन बैंकका ऋणीले अझै फिर्ता पाउन सकेका छैनन् । बैंकले दिने भनेको र धितो राखेका ऋणीले माग गरेको रकममा फरक परेपछि उनीहरुले सुन वा त्यस बराबरको रकम भुक्तानी पाउन नसकेका हुन् ।
बैंकले लुटिएको दिनमा जति सुनको मूल्य तोकिएको थियो सोही बराबरको रकम फिर्ता दिने निर्णय गरेको छ । तर, बैंकमा सुन धितो राखेर ऋण लिएका ऋणीहरूले भने जहिले दिने हो सोही दिनको मूल्यका आधारमा हुनु पर्ने माग गर्दै आएका छन् । पछिल्ला दिनमा केही सुन बाहकले बैंकको केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट कुल ३८ करोड ४० लाख रुपैयाँ बराबरको नगद र सुन लुटिएको थियो । ऋणीले धितो राखेको सुन लुटिएको करिब एक वर्ष पुग्न लाग्दा समेत त्यसको भुक्तानी पाउन नसकेको दिपेन्द्र रावलले बताए ।
‘बैंकले सुनको मूल्याङ्कन र तौलमा अनावश्यक कटौती गरेपछि हामीले त्यसलाई स्वीकार नगरेको हो,’ रावलले भने, ‘ऋणीले धितो राख्दाको तौल र भुक्तानी दिने दिनको मूल्यका आधारमा पाउनुपर्छ ।’
जेनजी आन्दोलनमा बैंकको नयाँ बानेश्वर शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबरको धनमाल लुटपाट भएको थियो । त्यसमध्ये १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद रहेको बैंकले जनाएको छ ।
यो सुन लुट्नेका विषयमा हालसम्म केही खुलेको छैन । धितोमा रहेको सुनको बीमा नेको इन्स्योरेन्समा गराएको र बीमा कम्पनीले पनि लुटिएको दिनकै मूल्यका आधारमा दावी भुक्तानी दिने भएकाले ऋणीलाई सोही बमोजिम गर्ने निर्णय गरेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीले बताए ।
बीमा कम्पनीले हालको बजार मूल्यमा आधारमा दावी भुक्तानी गरेको खण्डमा ऋणीले पनि पाउने उनको भनाइ छ । ‘इन्स्योरेन्समा माग दावी गरेको भएपनि सर्भेयरले अन्तिम मूल्याङ्कन नदिएकाले टुंगिएको छैन,’ उनले भने, ‘बैंकले एउटा निर्णय गरिसकेको छ, त्यो भनेको लुटिएको दिनमा कायम भएको तौल र मूल्यका आधारमा फिर्ता गर्ने ।’
बैंकको निर्णय सुन धितो राख्ने ऋणीलाई चित्त नबुझेपछि पुनर्विचार गरिनुपर्ने भन्दै निवेदन आएको रेग्मीले जानकारी दिए । सुन धितो राखेका ऋणीको निवेदनलाई बैंकको सञ्चालक समितिमा लगिने उनले बताए । बैंक सञ्चालक समितिले पुनर्विचार गरेर भुक्तानी दिने निर्णय सोही अनुसार कार्यान्वयनमा आउने उनले बताए ।
‘तर, अहिले त्यस्तो निर्णय गर्नका लागि सञ्चालक समिति पनि छैन,’ उनले भने,‘ निवेदकलाई पनि सोही अनुसार जानकारी गराएका छौँ ।’
निर्वतमान सञ्चालक समितिले गरेको निर्णय अनुसार करिब एक सय जनाले सुन बराबरको रकम भुक्तानी लिई राफसाफ समेत गरिसकेको उनले बताए । बैंकको लुटिएको सुन कुल २२६ जनाको हो ।
धितो राखी कर्जा लिएका ऋणीको सुन लुटिएपछि ब्याजदर मिनाहा गरिएको उनले बताए । ‘गत भदौदेखि उहाँहरूको ऋणमा बैंकले ब्याज लिएको छैन,’ उनले भने, ‘त्यस्तो भवितब्य नभएको भए धितो राखेको सुन नै फिर्ता हुन्थ्यो, विगतमा पनि यस्ता घटना घट्दाको दिनकै दरमा भुक्तानी हुने गरेको नजिर छ ।’
तर, कर्जा चुक्ता गर्दा धितो रहेको सुन नै फिर्ता दिने सम्झौता भएको ऋणी रावलले बताए । ‘सो सम्झौता अनुसार बैंकले मेरो तौल अनुसार सुन फिर्ता दिन्छ भने पनि हुन्छ,’ उनले भने, ‘घटना घट्दाको दिनको मूल्य फिर्ता दिने भन्ने, त्यो पनि एक वर्ष पछि ।’
कर्जा बाँकी भएका ऋणीका हकमा सुनको मूल्य कर्जा परिपक्व हुँदाको दिनको कायम गर्नु पर्ने उनले बताए । अहिले बैंकले भदौ २४ को दरमा सुन बराबरको रकम दिने र बाँकी रहेको कर्जा भुक्तानी गर्ने प्रस्ताव गरेको उनले बताए । भदौ २४ गते सुनको मूल्य प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँ थियो । अहिले यो मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँ छ ।
‘द्वन्द्वकालीन अवस्थामा पनि बैंकका विभिन्न शाखाका सुन लुटिएको थियो,’ रेग्मीले भने, ‘त्यतिबेला पनि जुन दिन लुटिएको थियो, सोही दिनको दरमा भुक्तानी दिएको अवस्था हो ।’ उनका अनुसार बैंकको अहिलेको निर्णय पनि सोही आधारमा भएको छ । बैंकको सञ्चालक समितिले निर्णय गर्नुपर्ने भएकाले नयाँ आउने समितिमा पनि धितोमा रहेको सुन लुटिएका ऋणीको निवेदन लैजाने रेगमीले बताए ।
प्रतिक्रिया 4