Comments Add Comment

अनलाइन शिक्षा : पहुँच कम, प्रभावकारिता झनै कम

८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण सरकारले अति प्रभावित जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले विद्यार्थीलाई अनलाइन सिकाइ प्रणालीमा जोड्न विद्यालयहरूलाई भनेको छ । तर, अनलाइनमा सबै विद्यार्थीको पहुँच र प्रभावकारिता पनि नभएकोले अन्य क्षेत्रको भीडभाड घटाएर कक्षा चलाउनुपर्ने विद्यालयहरूको तर्क छ ।

अनलाइन कक्षाको अभ्यास प्रभावकारी नभएको उनीहरूको भनाइ छ । गत वर्ष अचानक लकडाउन भएपछि केही समय अलमलमा परेको सरकार र विद्यालयहरू संक्रमणको जोखिम बढ्न थालेपछि अनलाइन सिकाइको अवधारणामा गएका थिए ।

लकडाउन भएको दोस्रो महिनादेखि केही निजी विद्यालयले विद्यार्थीलाई फेसबुकको मेसेन्जरमार्फत सिकाइसँग जोडेका थिए । त्यसपछि सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ल्यायो । १ असारबाट लागू हुने गरी दूर तथा खुला शिक्षाको अवधारणा जेठमा ल्यायो ।

अनलाइन कक्षा चलाउन जुम मीटिङ, गुगल मेट जस्ता एपको अत्यधिक प्रयोग भयो । कुन माध्यम कति प्रभावकारी रह्यो भन्ने अध्ययन भने भएको छैन । तर निजी विद्यालय सञ्चालक, शिक्षक र अभिभावक वैकल्पिक माध्यमको सिकाइ अनलाइन कक्षा जस्तै प्रभावकारी नदेखिएको बताउँछन् ।

सरकारले आफ्नो क्षेत्रका विद्यार्थीको अवस्था अध्ययन र वर्गीकरण गरी सोही अनुसार लागू गर्न/गराउन स्थानीय तहहरूलाई निर्देशन दियो । तर, अधिकांश विद्यालयले स्रोत नपुग्ने, विद्यार्थीको पहुँच भन्दा बाहिर रहेको, दक्ष शिक्षक नभएको लगायत कारण देखाएर अनलाइन माध्यममा जान नसकिने बताएका थिए ।

निर्देशिका अनुसार सिकाइ प्रणालीमा जोडिने विद्यार्थीको सिकाइ मूल्यांकन शैक्षिक सत्रमा नजोडिने भएपछि पढाइरहेका विद्यालयले पनि छोडे । त्यसबीचमा संघीय, स्थानीय सरकार र विभिन्न संघ–संस्थाले विभिन्न माध्यमबाट पढ्न, सुन्न, हेर्न सकिने सामग्रीहरू तयार पार्न थालेका थिए । भदौमा सरकारले परिमार्जित ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ ल्याएर १ असोजबाट लागू गराउन स्थानीय तहहरूलाई निर्देशन दियो ।

वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालय, मानव स्रोत विकास केन्द्र र निजी शिक्षण संस्थाहरूले भर्चुअल शैक्षिक सामग्री तयार पार्ने क्रम बढ्यो । अहिले मोबाइल एप, अनलाइन, टेलिभिजन, रेडियो माध्यममा सुन्न, पढ्न सकिने शैक्षिक सामग्रीहरू उपलब्ध छन् । यसबीचमा अनलाइन कक्षा चलाउन जुम मीटिङ, गुगल मेट जस्ता एपको अत्यधिक प्रयोग भयो ।

कुन माध्यम कति प्रभावकारी रह्यो भन्ने अध्ययन भने भएको छैन । निजी विद्यालय संचालकहरूको संस्था प्याब्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ, नेपाल अभिभावक महासंघ वैकल्पिक माध्यमको सिकाइ अनलाइन कक्षा जस्तै प्रभावकारी नभएको बताइरहेका छन् ।

शिक्षा मन्त्रालय र मानवस्रोत विकास केन्द्रले तयार पारेको श्रव्यदृश्य पाठहरू ‘भर्चुअल कक्षा शिक्षण’ एनसीईडी भर्चुअल युट्युब च्यानलमा हेर्न सकिन्छ । नयाँ पाठको आधारमा तयार पारिएका भिडियो सामग्रीहरू यो च्यानलमा अपलोड भइरहेका छन् । यहाँ उपलब्ध भिडियो हेर्दा अनलाइन सिकाइ प्रभावकारी नभएको तर्कलाई बल पुग्ने देखिन्छ ।

लकडाउनयता राखिएका केहीबाहेक बाँकी भिडियो हजार पटकभन्दा कम हेरिएका छन् । जबकि, यी भिडियो देशभरका विद्यार्थीका लागि हुन् । कक्षा ७ भन्दा तलका कक्षाका भिडियो पाठ्यसामग्री कमै हेरिएको देखिन्छ ।

नौ महिनाअघि अपलोड भएको कक्षा ७ को अंग्रेजी विषयको पाठ–२ को भिडियो ३७०० पटक, कक्षा ८ को विज्ञान विषयको पाठ–६ को भिडियो ३१०० पटक, कक्षा ५ को सामाजिक अध्ययन र जनसंख्या शिक्षा विषयको पाठ–७ को १६०० पटक र कक्षा २ को मेरो गणित विषयको एकाइ ४ लाई ५२७ पटक हेरिएको छ ।

मिडास ई–क्लासको वेबसाइटमा भएका भिडियोको भ्यूज पनि उस्तै छ । अनिवार्य अंग्रेजी, विज्ञान, गणितका सामग्री ८ हजार पटकभन्दा कम हेरिएका छन् ।

यी भिडियो हेर्नेहरूको संख्याले शिक्षा मन्त्रालय र निजी विद्यालय संचालकहरूको तर्क पुष्टि गर्छ । नेपालभरका विद्यार्थीका लागि तयार गरिएको सामग्री एकदमै थोरै पटक हेरिएको छ । यसले युट्युबका सामग्री हेरेर बालबालिकाको सिकाइ प्रभावकारी हुनेमा विश्वास गर्न नसकिने देखाएको छ ।

निजी संस्थाहरूको प्रयास

केही वर्ष अघिदेखि मिडास, निमा एकेडेमीलगायतले पाठ्यक्रममा आधारित पाठ्यसामग्री भएका मोबाइल एप ल्याएका थिए । उनीहरूका अनुसार कोरोना अगाडि यस्ता सामग्री प्रयोगबारे विद्यालयहरूले उति चासो दिंदैनथे । कोभिडपछि भने यसको फाइदा बुझेर प्रयोग गर्ने विद्यालयको संख्या बढेको उनीहरूको भनाइ छ ।

अनलाइन कक्षा प्रभावकारी नभएकोले भौतिक उपस्थितिमा नै पढाउनुपर्ने तर्क विद्यालय संचालक र शिक्षकहरूले गरिरहेको बेला निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) निश्चलमान प्रधान भविष्य नै अनलाइन शिक्षाको भएकोले यसैलाई प्रभावकारी बनाउने प्रयास गर्नुपर्ने बताउँछन् ।

‘समय नै अनलाइन शिक्षाको आइसक्यो’ उनी भन्छन्, ‘अब जुमबाट भन्दा पाठ्यक्रममा आधारित सामग्री पढाउन थाल्नुपर्छ । कोभिडपछि पनि कक्षामा मिश्रित माध्यमबाट पढाउन थाल्नुपर्छ ।’

युट्युबका सामग्री राम्रा भए पनि बालबालिकाले आफैं खोजेर नहेर्ने हुँदा प्रभावकारी नहुने प्रधान बताउँछन् । पाठ्यक्रममा आधारित पाठ्यसामग्री बनाउँदै आएको निमा एकेडेमीको एप ५० हजार पटक डाउनलोड भएको उनले बताए ।

शैक्षिक गुणस्तरका लागि काम गर्दै आएको टिच फर नेपालले लकडाउनमा रेडियो कार्यक्रमहरू चलाएको थियो । सिईओ स्वस्तिका श्रेष्ठ भन्छिन्, ‘बालबालिकाले हाम्रो कार्यक्रम सुनेर कति सिके भनेर मूल्यांकन त गरेका छैनौं, तर रेडियो सुन्दै वर्क बुक पढेको प्रतिक्रिया पाएका छौं ।’

बालबालिकाले अनलाइन, रेडियो, टेलिभिजन, युट्युवको सामग्री हेर्दै, सुन्दै वर्क बुक पढे थप प्रभावकारी हुने उनी बताउँछिन् । वर्क बुक एकातिर भर्चुअल सामग्री अर्कोतिर भए प्रभावकारी नहुने उनको भनाइ छ ।

अधिकांश स्थानीय तहले वैकल्पिक माध्यममा सबै विद्यालयको ‘पहुँच नभएको’ भन्दै आएका छन् । त्यस्तो पहुँच नहुँदा अनलाइनमा उपलब्ध पाठ्यसामग्री हेर्न, सुन्न, पढ्नबाट विद्यार्थी बञ्चित भएको बताउँछन्, शिक्षाविद् डा. विद्यानाथ कोइराला ।

‘इन्टरनेटमा एकदमै कम विद्यार्थीको पहुँच छ’ उनी भन्छन्, ‘त्यसकारण, विद्यार्थीको व्यावहारिक सिकाइमा जोड दिनु आवश्यक छ । खुला शिक्षासँगै भान्सा, गोठालो, अन्य घरायसी काम गर्दा सिकेको सिकाइलाई पाठ्यक्रममा जोड्नुपर्छ ।’

दाङ उप–महानगरपालिकाका शिक्षा सल्लाहकार शिशिर खनाल नेपालमा अहिले अनलाइन शिक्षा प्रभावकारी नहुने बताउँछन् । उनी भन्छन्, ‘शिक्षित अभिभावकका बालबच्चामा केही प्रभावकारी होला, तर आर्थिक–सामाजिक रूपमा पछिपरेका समुदायका बालबालिकामा यसले काम गर्ने देखिन्न ।’

रेडियो माध्यममा बढी पहुँच

नेपालमा रेडियो माध्यममा पहुँच भएका अभिभावक धेरै छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार रेडियोमा ८७, टेलिभिजनमा ५० र इन्टरनेटमा १७ प्रतिशत अभिभावकको पहुँच छ । पहुँच भए जति प्रयोग नहुने केन्द्रले उल्लेख गरेको छ ।

लकडाउनको समयमा कुनै पनि विद्यालयले शतप्रतिशत विद्यार्थीलाई अनलाइन सिकाइमा जोड्न सकेनन् । पहुँच भएका विद्यार्थीमा पनि बानी नभएका कारण अनलाइन शिक्षा प्रभावकारी हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment