+
+
Shares

अध्यक्ष ओलीलाई माधव नेपालको स्पष्टीकरण : ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तिजनक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १५:३१

वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी खोलेको भन्नु आपत्तिजनक भएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले आफूले पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमवलीविरुद्ध भएका कामकारबाही सच्याउन मात्र माग गरेका बताएका छन् ।

उनले अघि लेखेका छन्, ‘मैले उठाएको आवाजलाई तपाईंले ‘आपराधिक’ देख्नु आफैंमा पार्टीविरुद्ध आपराधिक’ चिन्तन होइन र ? पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईले फागुन २८ गते गर्नुभएको पार्टी विधान विपरितको निर्णय रद्द गर्र्ने माग गर्दा ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तिजनक एवं हास्यास्पद छ ।’

अध्यक्ष ओलीले २८ फागुनमा पार्टी विधानको ठाडो उल्लंघन हुने गरी कार्य गरेको भन्दै नेता नेपालले एमाले स्थापना, नेतृत्व र सञ्चालन तहमा लामो समयसम्म भूमिका खेलेको व्यक्तिका रुपमा त्यसको आलोचना र विरोध गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् । यसलाई दल त्यागसँग लगेर जोड्नु कानूनसम्वद्ध र युक्तिसंगत नहुने भन्दै उनले भनेका छन्, ‘मैले नेपालको संविधानको धारा ८९ (ङ) र राजनीतिक दलसम्बन्धी प्रवधान विपरित कुनै काम गरेको छैन ।’

उनले अघि भनेका छन्, ‘नयाँ राजनीतिक दल खोलेको, खोल्न लागेको, चलाएको वा चलाउन लगाएको पनि छैन । त्यसका लागि कुनै आधार तयार पनि गरेको छैन । नेकपा एमालेलाई सैद्धान्तिक र संगठनात्मक रुपमा कसरी सबल बनाउन सकिन्छ र यसलाई विखण्डन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाउन चाहनेहरुका दुस्प्रयासलाई कसरी विफल पार्न सकिन्छ भन्नेमा म निश्चय नै चिन्तित छु ।’ त्यही कारण सर्वोच्चको फैसलाअनुसार एमालेको सबै संरचना क्रियाशील हुनुपर्नेमा जोड दिएको नेता नेपालले बताएका छन् ।

उनले पार्टी विरोधीहरुसँग साठगाँठ गरेको, राष्ट्रिय हित विपरित काम गरे÷गराएको जस्ता आरोप कपोकल्पित र पूर्वाग्रहपूर्ण भएको बताएका छन् । नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन र विधानमा उल्लेखित राजनीतिक आर्थिक र सांस्कृतिक कार्यदिशा नीति र कार्यक्रमसँग मेल नखाने तथा राष्ट्रिय हितमा आघात पुर्‍याउने सरकारी नीति र गतिविधिको आलोचना भने गरेको उनले बताएका छन् ।

अध्यक्ष ओलीलाई दिएको स्पष्टीकरणमा नेता नेपालले कर्णाली प्रदेशमा आफ्नो निर्देशनमा फ्लोर क्रस भएको भन्नु गुटगत दृष्टिको परिणाम भएको समेत दाबी गरेका छन् । साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष ओली निकट व्यक्तिहरुबाट आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको र अध्यक्ष ओली एक्लैले मुख्यमन्त्रीलाई पत्र लेखेर पार्टीमा अराजकताको स्थिति सृजना गरेको भन्दै उनले भनेका छन्, यो तथ्यको स्मरण गर्नु भएको भए हाल उत्पन्न समस्यालाई आफैंले छरेको विउ उम्रेका महसुस गरेर मलाई आरोपित गर्नुहुने थिएन होला ।’

नेता नेपालले आफूले पार्टी विधान विपरित काम नगरेको, बरु अध्यक्ष ओलीमा दम्भ र संकीर्ण गुटगत चिन्तन रहेको बताएका छन् । आफू नवौं महाधिवेशनको मार्गनिर्देशन तथा त्यसबाट पारित विधान रक्षाका लागि सक्रिय भएको भन्दै उनले भनेका छन्, ‘अर्को राजनीतिक दल खोलेको जस्तो निराधार र हास्यास्पद तर्क गरी जनताको मतबाट निर्वाचित प्रतिनिधिसभाको पद नै समाप्त पार्ने धम्की दिनु नेपालको संविधान, कानून र एमालेको नवौं महाधिवेशनबाट पारित विधान विपरित हुने स्वयंसिद्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?