+
+

नेपाल–बेलायत सम्बन्धमा ब्रायन हड्सनको प्रसंग

सुरेन्द्र नेपाल श्रेष्ठ सुरेन्द्र नेपाल श्रेष्ठ
२०७८ वैशाख ९ गते १९:४०

नेपाल र बेलायतबीच सन् १९२३ को सन्धिपछि दौत्य सम्बन्ध कायम भएको हो । बेलायतले नेपालमा आफ्नो उपस्थिति भने १८०२ देखि नै कायम ग¥यो । त्यसबेला विलियम हन्टर डगलस पहिलो ब्रिटिश प्रतिनिधि भएर करीब एक वर्ष नेपाल बसेका थिए ।

१९०३–१८१६ बीचमा नेपालमा कोही ब्रिटिश प्रतिनिधि रहेनन् । १८१६ को केही महीना निमित्त जिम्मेदारी पाएर जोन पिटर बोइलेउ काठमाडौं बसे । लडाइँपछि १८१६ मा भएको सुगौली सन्धि अनुसार इष्ट इण्डिया कम्पनीले नेपालसँगको कूटनीतिक सम्बन्धलाई निरन्तर राख्यो । १८१६ देखि १८२९ सम्म एडवार्ड गार्डनर काठमाडौं बसे ।

बेलायतले नेपालको लागि सन् १९४७ देखि राजदूत नियुक्त गर्न थालेको हो । १९४४ देखि काठमाडौंमा कार्यरत सर जर्ज फाल्कोन १९४७–५१ सम्मका लागि नेपालका लागि पहिलो ब्रिटिश राजदूत नियुक्त भए । सामान्यतः राजदूतको कार्यकाल पाँच वर्ष भए पनि सबैले पूर्ण कार्यकाल सम्हालेनन् ।

गे क्लार्क (१९६२–६३) र एन्टोनी डफ (१९६४–६५) सबभन्दा कम एक–एक वर्ष र जोन डेन्सन सबभन्दा लामो अवधि १९७७ देखि १९८३ सम्म सात वर्ष ब्रिटिश राजदूतको रूपमा नेपाल बसेको देखिन्छ । हालसम्म नेपालमा खटिएका २२ जना ब्रिटिश राजदूतमध्ये हालकी निकोला पोलिट मात्र महिला हुन् ।

हड्सनको कार्यकालमा विशेषगरी नेपाली युवालाई कम्पनीको सेनामा भर्ती गराउने र नेपालमार्फत तिब्बतसँगको व्यापारिक सम्बन्ध बढाउने उद्देश्य थियो । उनले शुरूमा आफ्ना पूर्ववर्तीले झैं मुख्तियार भीमसेन थापासँग सहकार्य गरे । राजा राजेन्द्रविक्रम शाह सक्रिय हुन थालेपछि भने उनैसँग सहकार्य गर्न आवश्यक ठाने ।

१९४७ अगाडि १९२४ देखि १९३४ सम्म दुईजना इन्भोय, १९३४ देखि १९४७ सम्म चारजना इन्भोय एक्स्ट्राअर्डिनरी एन्ड मिनिस्टर प्लेनीपोटेन्सेरीको रूपमा खटिएका थिए । त्यसअघि १८०२ देखि १९२३ सम्म ब्रिटिश रेजिडेन्ट मिनिस्टर्सको रूपमा २१ जनाले २२ कार्यकाल सम्हालेको देखिन्छ ।

दुईपटक रेजिडेन्ट समेत गरी सबभन्दा लामो समय (१८२०–१८४३) नेपाल बस्ने ब्रिटिश प्रतिनिधि ब्रायन ह्युज्टन हड्सन (१८०० फेब्रुअरी–१८९४ मे) थिए । उनले काठमाडौंमा कूटनीतिक कामको अलावा प्रकृति, पशु–पन्छी र धर्म–संस्कृति सम्बन्धी गहिरो अध्ययन गरे । उनले हिमालय भेकका पशुपन्छी, धर्म–संस्कृति र समाजको गहिरो अध्ययन तथा प्रकाशन गरेर नेपाललाई विश्वमा चिनाए ।

हड्सन नेवार बौद्ध धर्मका ज्ञाता बने । उनले नेवारी भाषा र बुद्ध धर्मबारे थुप्रै ग्रन्थ लेखे । स्थानीय भाषा–संस्कृति र सभ्यताको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले भारतमा विद्यालय शिक्षाको मुख्य माध्यम भाषा अंग्रेजी हुनुहुँदैन भनेर राय बझाएका थिए ।

बेलायतको चेसाएरको मध्यम वर्गीय परिवारमा जन्मिएका सात सन्तानमध्ये दोस्रो थिए हड्सन । बुबाको बैंकिङ व्यवसाय डुबेपछि उनको विद्यालय जीवनको अन्तिम दुई वर्ष फुपूबजैको सहयोगमा बित्यो । सन् १८१४ सम्म उनले ग्रामर स्कूलमा पढे । त्यसपछि सरेको रिचमन्डमा दुई वर्ष पढेर हार्टफोर्डशायरमा रहेको इष्ट इण्डिया कम्पनी कलेजमा छानिए ।

कलेजमा उनी स्वर्ण पदक विजेता बने, बंगाली भाषा अध्ययनमा पनि पुरस्कृत भए । उनी संस्कृत र फारसी भाषामा पनि पारंगत थिए । १७ वर्षकै उमेरमा उनले ब्रिटिश इण्डिया कम्पनीका लेखकको रूपमा भारत जान पाए । कार्य दक्षताको आधारमा उनी १८१९ मा कुमाउँको सहायक कमिशनर नियुक्त भए, जुन क्षेत्र नेपालले भर्खरैको लडाइँमा गुमाएको थियो ।

त्यसबेला उनी इष्ट इण्डिया कम्पनी कलकत्तास्थित परराष्ट्र अफिसको पर्सियन विभागको निमित्त डेपुटी सेक्रेटरी भएकोले त्यहीं बस्थे । उनको स्वास्थ्य कमजोर थियो । त्यही बेला उनलाई नेपालको लागि पोस्ट मास्टर बनाइयो । मौसमको अनुकूलता हेरेर नेपाल गएका उनी १८२४ सम्म पोस्ट मास्टर, १८२५ मा सहायक रेसिडेन्ट र १९३३ देखि १८४३ सम्म रेसिडेन्टको जिम्मेवारीमा रहे ।

हड्सनको कार्यकालमा विशेषगरी नेपाली युवालाई कम्पनीको सेनामा भर्ती गराउने र नेपालमार्फत तिब्बतसँगको व्यापारिक सम्बन्ध बढाउने उद्देश्य थियो । उनले शुरूमा आफ्ना पूर्ववर्तीले झैं मुख्तियार भीमसेन थापासँग सहकार्य गरे । राजा राजेन्द्रविक्रम शाह सक्रिय हुन थालेपछि भने उनैसँग सहकार्य गर्न आवश्यक ठाने । त्यसक्रममा थापाका विरोधीहरू रणजंग पाण्डे र कृष्णराम मिश्रसँग नजिक भए ।

१८३७ जुलाईमा राजा राजेन्द्रका ६ महिने छोराको मृत्यु भयो । यसमा भीमसेन थापाको संलग्नता हुनसक्ने आशंका गरिएपछि उनलाई पक्राउ गर्न हड्सनले पनि सहमति दिए । त्यस घटनालाई लिएर नेपाल दरबारमा ब्रिटिश विरोधी भावना बढ्यो । थापाले १८३९ मा कारावासभित्रै आत्महत्या गरे । त्यसपछि रणजंग पाण्डेको अग्रसरतामा सैनिक विद्रोह हुनसक्ने सम्भावना देखिएको र त्यसमा ब्रिटिश रेजिडेन्टको पनि हात भएको प्रचार हुन थाल्यो ।

कलकत्तास्थित गभर्नर जनरल लर्ड अकल्याण्ड त्यो समस्यालाई बलपूर्वक समाधान गर्न चाहन्थे, तर त्यहीबेला अफगान युद्धको अवस्था सिर्जना भएकोले उनले कूटनीतिक कदम चाल्ने आदेश काठमाडौं पठाए । हड्सनले चलाखीपूर्ण ढंगबाट कृष्णराम मिश्र र रंगनाथ पौडेललाई मन्त्री बनाउन राजा राजेन्द्रलाई सुझाए ।

त्यहीबेला राजासँगको लेनदेन विवादमा पक्राउ पर्ने भएपछि व्यापारी काशीनाथ रेजिडेन्सीमा शरण लिन आए । हड्सनले शरणागतको बचाउ गर्न चाहेपछि राजा राजेन्द्रसँग मनमुटावको अवस्था आयो । त्यो घटनाबारे उनले नयाँ गभर्नर लर्ड इलेनबरोलाई जानकारी पनि गराएनन् ।

अन्ततः त्यही घटनापछि इलेनबरोले नेपालको आन्तरिक विषयमा अनावश्यक हस्तक्षेप गर्न नहुने विचारसहित १८४४ मा हड्सनलाई प्रतिस्थापन गर्न हेनरी मण्टगोमेरी लरेन्सलाई काठमाडौं पठाए । हड्सनलाई चाहिं सिमला आयोगमा सहायक भएर जान भनियो ।

हड्सनद्वारा संकलित अधिकांश सामग्री हाल ब्रिटिश लाइब्रेरीमा सुरक्षित छन् । ती सब कहाँबाट, कसरी, कहिले आयो भन्ने पनि खुलाइएको छ । नेपाल मात्र होइन बेलायतको उपनिवेश रहेका, नरहेका संसारका धेरै देशबाट संकलित ऐतिहासिक–सांस्कृतिक सामान ब्रिटिश लाइब्रेरीमा हेर्न, अध्ययन गर्न पाइन्छ ।

त्यसबेला छोटो समयको लागि उनी बेलायत आए, बहिनीलाई भेट्न हल्याण्ड पनि पुगे । १९४५ देखि भने उनी दार्जीलिङमा बसोबास गर्न थाले । त्यहाँ करीब १३ वर्ष बसेर आफ्नो चासोको अध्ययन गरे । उनलाई भेट्न प्रसिद्ध ब्रिटिश बोटानिस्ट जोसेफ डाल्टन हुकर दार्जीलिङ पुगे । हड्सनको अनुसन्धानबारे हुकरले दार्जीलिङबाटै चाल्र्स डार्विनलाई जानकारी गराएका थिए ।

हड्सनको कार्यकालमा भएको एउटा महत्वपूर्ण घटना यस्तो थियो । सन् १८३४ मा नेपाल र बेलायतबीच एउटा व्यापारिक सन्धि हुने तयारी थियो । त्यसका कतिपय बुँदामा विमति राखेर आलटाल भइरहेको थियो । बेलायतको सहयोग–समर्थन जुटाउन भीमसेन थापा १८३५ मा आफैं लण्डनको राजकीय भ्रमण गर्न चाहन्थे । तर, आफैं जान नमिल्ने आन्तरिक परिस्थिति सिर्जना भएकोले भतिजा कर्णेल माथवरसिंह थापाको नेतृत्वमा टोली पठाउने तयारी भयो । त्यसका लागि राजा राजेन्द्रले निमन्त्रणा पत्र माग गर्दै केही उपहारसहित बेलायतका राजा विलियम चतुर्थलाई पत्र पठाए ।

शुरूमा यसबारे रेजिडेन्ट हड्सन र कलकत्तास्थित ब्रिटिश गभर्नर दुवै सकारात्मक देखिएका थिए । यही तयारीका क्रममा नेपाल दरबारले माथवरलाई छोटा जनरल, उनका भाइ रणवीर सिंहलाई पूरा जनरल र माथवरका १६ वर्षे भतिज शेरजंग थापालाई कमान्डिङ कर्णेल बनायो । १ नोभेम्बर, १८३५ मा भीमसेन थापा आफैं पनि प्रधानसेनापति समेत बनेका थिए ।

२७ नोभेम्बरमा माथवरसिंह थापा २०० अधिकारी र ६०० सिपाहीसहित दुई हजार जनाको टोली लिएर लण्डन जान काठमाडौंबाट कलकत्ता रमाना भए । त्यहाँ उनको ठूलो स्वागत भयो ।

हड्सन भने भीमसेनसँग खुशी थिएनन् । उनले माथवरलाई राजकीय भ्रमणको भिसा नदिन कम्पनी मुख्यालयमा पत्र पठाए । परिणाम, सामान्य नागरिकको रूपमा भए जान सक्ने, अन्यथा भिसा नमिल्ने निर्णय सुनेर हीनताबोध गर्दै माथवरसिंह १८३६ मार्चमा काठमाडौं फर्किनुपरेको थियो ।

त्यो घटनाबाट भीमसेन थापाको ठूलो कूटनीतिक हार भयो । राजारानी पनि उनीसँग बेखुश भए । त्यतिबेला माथवरसिंहबाट फजुल रूपमा सरकारी ढुकुटीको एकलाख ५० हजारभन्दा बढी खर्च भएको देखिएपछि भीमसेन आफैंले व्यहोर्न परेको थियो । उनको प्रताप र शानसौकत त्यस घटनापछि कमजोर हुनपुग्यो ।

ब्रायन हड्सनले छोरा हेनरीलाई जंगबहादुर राणाका ज्वाइँलाई पढाउन दार्जीलिङबाट इलाम पठाएका थिए । त्यसरी जंगसँग कायम भएको हड्सनको सम्बन्ध पछिसम्म पनि रह्यो । सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दबाउन जंगबहादुरले गरेको सहयोगको प्रस्ताव स्वीकार गर्न गभर्नर जनरल क्यान्निङलाई हड्सनले नै मनाएका थिए । त्यसपछि नेपालले लडाइँमा गुमाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाएको थियो ।

हड्सन १८५८ मा सधैंको लागि बेलायत फर्के । बेलायत आएर पहिला ग्लस्टरसायरको ड्रस्ली र १८६७ बाट कट्सओल्ड्सको एल्डरलेमा बस्न थाले ।

हड्सनको पहिलो विवाह सन् १९३० मा काठमाडौंमा काश्मिरी मुश्लिम मेहर निशासँग भएको थियो । मेहरलाई कतै नेवार समुदायको भन्ने पनि भेटिन्छ । उनीबाट छोरा हेनरी र छोरी सारा जन्मिए । मेहर १८४३ मा र छोरा हेनरी १८५६ मा दार्जीलिङमै परलोक भएका थिए । हड्सनले छोरी सारालाई भने पहिल्यै बहिनीकहाँ हल्याण्डमा राखेका थिए । उनको पनि १८५१ मै मृत्यु भयो ।

हड्सनले १८६९ मा सुसन ….. सँग दोस्रो विवाह गरेका थिए । सुसन ….. २३ मे १८९४ मा लण्डनस्थित आफ्नै घरमा बितिन् । हड्सनले तीनवटा बोटबिरुवा, दशथरी चराचुरुङ्गी र एउटा सर्पको नामकरण सुसनको नामबाट गरेको पाइन्छ ।

लामो समय काठमाडौं बसेर विविध विषयमा शोध–अनुसन्धान गरेका हड्सनले पुरातात्विक महत्वका लिखित सामग्री धेरै फेला पारे । उनले नेपालका पुराना ग्रन्थ, पृथ्वीनारायण शाहका दिव्योपदेशका सक्कल प्रति, पुराना चित्रकला, तन्त्रमन्त्रका संकलन आदि सामग्रीहरू संकलन गरेर बेलायत र फ्रान्सका संग्रहालयमा पठाए भन्ने विरोध वा विमति पनि प्रशस्त पढ्न पाइन्छ ।

ती सामग्री नेपालमै रहेका भए त्यसको संरक्षणको सम्भावना कति हुन्थ्यो भन्ने बहस पनि आफ्नो ठाउँमा छँदैछ । तत्कालीन समयमा त्यस्ता ऐतिहासिक प्रमाणहरू संकलन–सम्बर्द्धन गर्ने हाम्रो प्रणाली कस्तो थियो, अहिले कस्तो छ भन्ने स्पष्टै छ ।

हड्सनद्वारा संकलित अधिकांश सामग्री हाल ब्रिटिश लाइब्रेरीमा सुरक्षित छन् । ती सब कहाँबाट, कसरी, कहिले आयो भन्ने पनि खुलाइएको छ । नेपाल मात्र होइन बेलायतको उपनिवेश रहेका, नरहेका संसारका धेरै देशबाट संकलित ऐतिहासिक–सांस्कृतिक सामान ब्रिटिश लाइब्रेरीमा हेर्न, अध्ययन गर्न पाइन्छ । संसारभरका अध्ययन–अनुसन्धानकर्तालाई कुनै रोकतोक छैन । बरु प्रोत्साहित गर्ने गरेको पाइन्छ ।

नेपालबाट पनि धेरै विषयका शिक्षक–विद्यार्थी आएर आफ्नो ज्ञानको दायरा बढाएका थुप्रै उदारहण छन् । अनेक विषयका धेरै स्रोत सामग्री एउटै छानामुनि ब्रिटिश लाइब्रेरीमा उपलब्ध छ । अहिले त लाइब्रेरीले सबै सामग्रीलाई विद्युतीय माध्यमबाट हेर्न, पढ्न सक्ने पनि बनाएको छ । विश्वको कुनै पनि कुनामा बसेर विद्युतीय माध्यमले खोज–अनुसन्धान गर्न पाइने भएपछि सशरीर लण्डन आउनुपर्ने बाध्यता पनि हुँदैन ।

विना रोकतोक उपयोग गर्न पाइएका सबै चिज आफ्नो घरमै हुनुपर्छ भन्नुको खासै अर्थ पनि रहँदैन । बरु आफ्नो घरमा व्यवस्थापन गर्न नसकिएको चिजको उपयोग अरूले पनि गर्न सक्तैनन् । आफूले पनि लामो समयसम्म प्रयोग गर्न नसकिने अवस्था हुन्छ । आफ्नो हकमा भए पनि उपभोग गर्न नपाइने वस्तुको कुनै मूल्य रहँदैन ।

संसार विकासको क्रममा महत्व राख्ने सामग्रीमा एउटा देशको मात्र स्वामित्व हुन्छ भन्ने मान्यता राख्नुहुँदैन । हड्सनले त्यसबेला खोज–संकलन र एक हदसम्म व्यवस्थापन गरेका ऐतिहासिक–पुरातात्विक सामग्रीहरूको अध्ययन–अनुसन्धान अहिले धेरैले गर्न पाएका छन् । आफैंले लेखेका आलेख र ग्रन्थदेखि दुर्लभ सामग्रीहरूसम्म नष्ट हुन नदिई सुरक्षित पार्न सफल भएकोमा सारा संसारले हड्सनलाई धन्यवाद दिनुपर्ने हुन्छ ।

कूटनीतिक जिम्मेवारी लिएर सन् १८०२ देखि हालसम्म नेपाल पुगेका ५९ जना स्थायी ब्रिटिश प्रतिनिधिमध्ये ब्रायन हड्सनले आफ्नो विज्ञता प्रयोगबाट गरेका खोज–अनुसन्धान र संकलन अहिले र धेरै पछिसम्मको पुस्तालाई ज्ञानको भण्डार बनेको छ ।

लेखकको बारेमा
सुरेन्द्र नेपाल श्रेष्ठ

झण्डै अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका लेखकका ‘मेरो आधा शताब्दि’ र ‘नेपालः विदेशबाट नियाल्दा’ पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?