Comments Add Comment

भारतमा रोजगारी गुमाएर फर्किनेको नाकामा भीड

फाइल तस्वीर

१० वैशाख, डोटी । कैलालीका शिवराज राना रोजगारीका लागि भारत गएको जम्माजम्मी पाँच महिना भएको छ ।

भारतमा कोरोना महामारी फैलिएपछि गएको जेठमा नोकरी छोडेर नेपाल आएका शिवराजले २१ दिन क्वारेन्टिनमा बिताउँदा अब भारत नजाने निधो गरेका थिए ।

नेपालमै बसेर केही गर्ने सपना बुनेका उनले ६ महिना गाउँमै बिताए । तर कुनै काम सुरु गर्न सकेनन् । ‘पसल गरेर बस्ने सोचेको थिएँ तर लगानीनै भएन’ शिवराज भन्छन् ‘घरमै बसेर जहान केटाकेटी पाल्न पनि गाह्रो भयो, अनि फेरि मंसिरमा भारत पसेँ ।’

ऋण खोजेर मुम्बई पुगेका उनले जागिर त पाए तर जम्मा चार महिनाको मात्रै । भारतमा कोरोनाको संक्रमण बढेसंगै शिवराज फेरि नेपाल फर्किएका छन् ।

अछामको चौरपाटी गाउँपालिकाका मानबहादुर साउँद पनि भारतमा कोरोना महामारी फैलिएका कारण आफ्नै घर फर्किए । दुई महिनाअघि काम खोज्थ्दै भारतको पुना पुगेका साउँद दशैंमा फर्किने सोचमा थिए, तर उनको सोच कोरोनाले फेरिदियो । महाराष्टमा कोरोना फैलिएसंगै रोजगारविहीन हुन पुगे ।

शिवराज र मानबहादुर मात्रै होइन कोरोना महामारीका कारण हजारौं नेपाली भारतमा रोजगारी गुमाएर घर फर्किएका छन् ।

भारतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको त्रिनगर नाकाबाट मात्रै दैनिक सात/आठ सय नेपाली भित्रिन थालेका छन् । भारतमा संक्रमण तीव्र गतिले बढ्न थालेपछि उनीहरु घर फर्कन थालेका हुन् ।

कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किरहेका छन् । कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेको भिड पनि उस्तै छ ।

भारतमा पहिलो चरणको कोरोना संक्रमण फैलिएपछि गत जेठमा यसैगरी भारतबाट फर्किनेको भिड लागेको थियो । स्थिति अलि साम्य भएपछि उनीहरु कामकै खोजीमा मुग्लान पसे । थामिनसक्नु भिड नेपाल भित्रिएपछि सुदूरपश्चिममा कोरोनाको संक्रमण फैलिएको थियो ।

छैन सावधानी

प्रदेश स्वास्थ्य निर्देशनालयले भारतबाट आउनेहरुको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दैछ । बिहीबारसम्म १९ हजार चार सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार चार सय २१ जना पोजेटिभ देखिएका छन् ।

तर उनीहरुको व्यवस्थापन राम्रोसँग भएको छैन । पहिलो चरणको कोरोना संक्रमण फैलिएपछि हात धुने, सेनिटाइजरको प्रयोग गर्ने र मास्क लगाउने बानी परेकाहरुले पनि बिस्तारै छाड्दै गएका छन् । सार्वजनिक यातायातमा उस्तै भिड देखिएको छ । क्वारेन्टिन र आइसोलेसन केन्द्रहरु पनि छैनन् ।

सरकारले अहिले पनि भिडभाड हुने औपचारिक कार्यक्रमहरु रोक्न सकेको छैन । २५ जनाभन्दा बढी मान्छे जम्मा गरेर कार्यक्रम गर्न नपाईनै सरकारी निर्णय सरकारका निकायहरुले नै उल्लंघन गरेका छन् ।

राजनीतिक दलहरुले ठूलो संख्यामा मान्छे जम्मा गरेर बैठक/भेला गर्न छोडेका छैनन् । कोरोना संक्रमण फैलिएकै कारण कैलालीका विद्यालयहरु १० दिनका लागि बन्द भएपनि अन्य जिल्लाहरुमा बिद्यालय सञ्चालन भइरहेका छन् ।

एक सातामा ३१४ संक्रमित

बिहीबार मात्रै सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण देखिएको छ । कैलालीका ४०, कञ्चनपुरका १७, बैतडीका एक, डडेल्धुराका तीन र डोटीका आठ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै सुदूरपश्चिम प्रदेशमा एक सातामा तीन सय १४ जना संक्रमित देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

वैशाख ३ गते कैलालीका २९, कञ्चनपुरका नौ र डोटी र बैतडीका एक/एक गरी ४० जनामा संक्रमण देखिएको थियो । यस्तै ४ गते कैलालीका २९ र कञ्चनपुरका दुई गरी ३१ जना संक्रमित थपिए ।

वैशाख ५ गते कैलालीका १४, डडेल्धुराका पाँच, डोटी, बैतडी र कञ्चनपुरका एक/एक गरी २२ जनामा कोरोना संक्रमण देखिएको थियो । ६ गते कैलालीका ११, कञ्चनपुरका आठ, बैतडीका ६ र डडेल्धुराका एक गरि २६ जनामा संक्रमण देखियो । ७ गते कैलालीका ३५, कञ्चनपुरका २३, डोटीका पाँच, डडेल्धुराका दुई र अछाम र बाजुराका एक/एक गरी ६७ जना संक्रमित थपिए ।

वैशाख ८ गते कैलालीका २३, कञ्चनपुरका २५, बैतडीका आठ, डोटी, बझाङ र डडेल्धुराका एक/एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।

५९ जनाको मृत्यु

बिहीबार बझाङका ४८ बर्षीय एक पुरुष र अछामका ६५ बर्षीय एक पुरुष गरी दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यस्तै वैशाख ४ गते कञ्चपुरमा ८१ बर्षीय एक पुरुषको मृत्यु भएको हो ।

योसंगै सुदूरपश्चिममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । कैलालीका ३१, कञ्चनपुरका १३, बझाङका चार, बैतडी, अछाम र डडेल्धुराका तीन/तीन जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । बाजुरा र दार्चुलाका दुई/दुई जना र डोटीका एक जनाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अस्पताल बनाउँदै प्रदेश सरकार

कोरोनाको दोस्रो चरणको संक्रमण बढ्न थालेपछि सुदूरपश्चिम सरकारले कोरोना विशेष अस्पतालको लागि भवन निर्माण गर्न थालेको छ ।

पहिलो चरणको कोरोना संक्रमण दर घटेपछि सुस्ताएको प्रदेश सरकारले कोरोना संक्रमण दर बढेपछि ५० शय्याको भवन निर्माण गर्न लागेको हो ।

गत बर्ष कैलालीको घनगढी र कञ्चनपुरको महेन्द्रनगरमा ५० शय्या क्षमताका दुई कोरोना अस्पताल निर्माण गरेको धनगढीमा थप ५० शय्याको अस्पताल बनाउन सुरु गरेको छ । निर्माणको ठेक्का पाएको वाईआर कन्ट्रक्सनले वैशाख १ गतेदेखि निर्माण कार्य अगाडि बढाएको छ ।

जिल्ला समन्वय समिति कैलालीको स्वामित्वमा रहेको जग्गामा निर्माण हुन लागेको अस्पतालको लागत एक करोड ४९ लाख रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

क्याबिनसहित ५० शय्या रहने असार मसान्तभित्रै निर्माण भइसक्ने जनाइएको छ । पुषबाटै निर्माण कार्य सुरु भइसक्नु पर्नेमा भवन निर्माण हुने ठाउँमा भएका रुखहरु कटानी आदेश नपाउँदा ढिलाइ भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख धामीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment