Comments Add Comment

कोरोनाको नयाँ भेरियन्ट र भारतको अनिश्चित भविष्य

१० वैशाख, काठमाडौं । सन् २०२० को जनवरी ३१ मा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको भारतमा यसको विस्तार तुलनात्मक रुपमा सुस्त थियो । संक्रमण उच्च विन्दुमा पुगेको दिन १५ सेप्टेम्बरमा करिब ९८ हजार नयाँ संक्रमित भेटिएका थिए ।

त्यसपछि यो संख्यामा कमी आउन थाल्यो, जुन पाँच महिनासम्म नै जारी रह्यो । सन् २०२१ को सुरुआतमा भारतको अवस्था कोरोना महामारीबाट आक्रान्त अमेरिका वा ब्राजिलको जस्तो नहुने सम्भावना देखिएको थियो ।

सन् २०२१ को फेब्रुअरी मध्यबाट भारतमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या पुनः बढ्न थालेको थियो । त्यसपछि निकै तीव्र गतिमा संक्रमण बढ्न थाल्यो । नयाँ संक्रमित भेटिनेमा महाराष्ट्र प्रान्त सबैभन्दा अगाडि देखिए पनि भारतभर नै यस्तो संख्या बढी छ ।

नयाँ भेरियन्ट

कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गरेपछि यसले ठूलो संख्यामा आफूजस्तै अन्य भाइरस बनाउँछ । नयाँ भाइरसको संक्रमित पार्ने तरिका पनि फरक हुन्छ र यसको विशेषता पनि फरक हुन्छ । भाइरसले आफ्नो स्वरुप परिवर्तन हुनुलाई म्युटेट भएको भनिन्छ ।

म्युटेट भएको भाइरसले ठूलो संख्यामा आफूजस्तै म्युटेट भाइरस बनाउँछ र यसबाट धेरै मानिसहरु संक्रमित हुन्छन् भने त्यसलाई भाइरसको नयाँ भेरियन्ट भनिन्छ । यस किसिमको भेरियन्टबाट संक्रमित हुँदा संक्रमितमा सामान्य भाइरसमा भन्दा गम्भीर लक्षण देखिन्छ भने त्यसलाई भेरियन्ट अफ कन्सर्न (भीओसीएस) भनिन्छ ।

पहिलो लहरमा मुम्बई, दिल्लीजस्ता प्रमुख सहर र अन्य केही सहरी क्षेत्रमा कोरोना संक्रमण सबभन्दा पहिला फैलिएको थियो । यो लहरमा साना भेरियन्टबाट कोरोना संक्रमण फैलिएको थियो, जसको स्वभाव वास्तविक कोरोना भाइरसको जस्तै थियो । यसलाई भाइरसको स्ट्रेन भनिन्थ्यो ।

गत वर्ष लकडाउनको क्रममा सहरी क्षेत्रभन्दा बाहिर तुलनात्मक रुपमा सुस्त गतिमा कोरोना फैलिएको थियो । अगष्टमा लकडाउन खुकुलो भएपछि पनि मानिसहरुले जनस्वास्थ्य मापदण्ड पालना गरे, भेलामा सामेल नहुने तथा मास्क लगाउनेजस्ता बानीलाई कायम राखे ।

तर संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आइनसकेका कारण प्रमुख सहरभन्दा बाहिर विस्तारै संक्रमण फैलियो । विशेषगरी जनस्वास्थ्य सेवा र निरीक्षणको अभावको कारण यसले थप फैलिने मौका पायो । ग्रामीण क्षेत्रमा बसोबास गर्ने युवा र केही हदसम्म बढी प्रतिरोधी क्षमता भएका मानिसको कारण कोरोना असर भने केही कम देखियो । तर यसले संक्रमण नियन्त्रण गर्न सक्छ भन्ने होइन । जसको असर अहिले देखिरहेका छौं ।

पछिल्लो एक सर्वेक्षणको नतिजाअनुसार गत जनवरीको अन्तिमसम्ममा ३० देखि ४० प्रतिशत भारतीय नागरिक कोरोनाबाट संक्रमित भइसकेका छन् । यद्यपि यो हर्ड इम्युनिटी विकास गर्न आवश्यक पर्ने ६० प्रतिशतभन्दा धेरै कम हो ।

भारतमा संक्रमितको संख्या भारतमा स्थानअनुसार फरकफरक छ । प्रमुख सहरमा सुरुको भाइरसबाट संक्रमित हुनेको संख्या ५० प्रतिशत वा सोभन्दा धेरै छ । ग्रमीण क्षेत्रमा भने १० देखि २० प्रतिशत कम छ । यो आँकडाले अझै पनि भारतमा अधिकांश मानिस कोरोनाको वास्तविक प्रकारबाट नै संक्रमित हुन सक्ने आशंका देखाएको छ ।

कोरोना संक्रमण कसरी बढ्यो ?

कोरोनाप्रतिको बेवास्ताले यसमा ठूलो भूमिका खेलेको छ । मानिसहरुले कोरोना नियन्त्रणको लागि जनवरीदेखि लगाइएको प्रतिबन्ध मानिसहरुले पालना गर्दै आएका थिए । यसैबीच नोभेम्बर र डिसेम्बरमा चाडपर्वको मौसममा पनि भारतमा कोरोना संक्रमण उल्लेख्य संख्यामा बढेन ।

मानिसहरुमा सन् २०२१ लागेपछि कोरोना महामारी विस्तारै साम्य हुँदै जान सक्छ भन्ने आशा थियो । तर, भारतका सबैजसो राज्यमा केही न केही मानिसहरु दैनिक संक्रमित भइरहेका थिए । त्यसपछि मानिस जनस्वास्थ्यको नियमप्रतिको विश्वास हट्यो र त्यसलाई मान्न छाडे ।

अहिलेको संक्रमण बढ्नुमा कोरोनाका विभिन्न भेरियन्ट पनि एक कारण हो । विश्वव्यापी रुपमा तीनओटा महत्वपूर्ण भीओसी पहिचान भएका छन् । सामान्य रुपमा यी भेरियन्टहरुलाई मुलुकको नामले चिनिने गरिएको छ । उनीहरुमा बेलायत (बी.१.१७), दक्षिण अफ्रिका (बी.१.३५१) र ब्राजिल (पी १) । कोष्ठकमा राखिएको नाम भेरियन्टको आधिकारिक नाम हो ।

केही भेरियन्ट भारतका केही क्षेत्रमा पनि देखिएको छ । जसमा एउटा बी.१.३६ हो । यो बेंग्लोरमा देखिएको छ । भारतका दक्षिणी राज्यहरुमा यो भेरियन्टको संक्रमण फैलिएको छ । पुनः संक्रमित हुने मानिसहरुमा पनि यो भेरियन्ट देखिएको छ । भारतको पञ्जाबका नयाँ संक्रमितहरुमा बी.१.१.७ भेरियन्टबाट संक्रमित हुनेको संख्या धेरै छ ।

हालै मात्र भारतको महाराष्ट्रमा बी.१.६१७ भेरियन्ट देखिएको छ । यो भेरियन्टमा ई ४८४ क्यु र एल ४५२ आर दुई विशेष म्युटेसन देखिएको छ । यो भेरियन्ट दुई मानिसहरुमा निकै सजिलै सर्न सक्ने पाइएको छ ।

चिन्ताको विषय के हो भने एल ४५२ आर म्युटेसन मानिसको प्रतिरोधी क्षमतालाई पनि छल्न सक्ने किसिमको पाइएको छ । पछिल्लो समय नयाँ र धेरै संक्रामक भेरियन्ट पनि देखिएकाले कोरोना संक्रमणको यो लहर नियन्त्रण गर्न निकै कठिन छ ।

अहिले के भन्न सकिन्छ ?

यहाँ महामारीसम्बन्धी उत्तर थाहा नभएका केही प्रश्न छन् ः के अहिले महाराष्ट्रमा बी.१.६१७ भेरियन्ट पुरानो स्वरुपको कोरोनालाई विस्थापित गर्दै थप प्रभावकारी रुपमा फैलिएको हो ? यो राज्यभन्दा बाहिर पनि कोरोना संक्रमण बढाउन पनि यो भेरियन्टको भूमिका छ ?

बी.१.३६ भेरियन्ट भारतमा निस्किएको हो र वास्तविक स्वरुपभन्दा संक्रामक छ ? यदि छ भने कतिले संक्रामक छ ? नयाँ भेरियन्टहरुमा कोरोनाबाट हुने मृत्युदर कति छ ? के कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित हुनेको मृत्युदर फरक छ ? कुन उमेर समूहमा यो संक्रमण बढी फैलिएको छ ?

यस विषयमा अर्को प्रश्न मानिसको प्रतिरोधी क्षमतताले भेरियन्टलाई कसरी रोक्न सक्छ भन्ने हो । त्यस्तै कोरोनामुक्त भएका र कोरोना खोप लगाएका मानिसलाई नयाँ भेरियन्टबाट संक्रमण हुन सक्छ कि सक्दैन भन्ने पनि स्पष्ट छैन । अर्थात् अवस्था अब कति खराब हुन सक्छ भन्नेजस्ता प्रश्न पनि अनुत्तरित नै छन् । यी सबै प्रश्नको उत्तर अहिले देखिएको कोरोना संक्रमणको लहर सकिएपछि पाउन सकिन्छ ।

बढी संक्रामक देखिएको नयाँ भेरियन्ट सोचेभन्दा झन् ठूलो हुन सक्छ । प्रतिरोधी क्षमतालाई छल्न सक्ने भेरियन्टको संक्रमण पनि बढ्यो भने भारतभर पुनः कोरोना संक्रमण फैलिन सक्छ । यस्तोमा भारतमा पुनः कोरोना महामारी सुरु हुँदाको अवस्थामा पुग्न सक्छ ।

यी सबै प्रश्नहरुको उत्तर आएको अवस्थामा भारतलाई कोरोना महामारीको रणनीति बनाउन सहयोग पुग्छ । अन्तर प्रादेशिक भ्रमणमा रोक लगाउँदा कोरोना संक्रमणको गति कम हुन सक्छ । साथै नयाँ भेरियन्टको जोखिम सबैभन्दा बढी रहेका उमेर समुह थाहा पाउनाले पनि नयाँ भेरियन्टबाट उनीहरुलाई बचाउन सकिन्छ ।

यी सबै तथ्यांकहरु समयमा नै पत्ता लगाउनका लागि पारदर्शिता सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यस्तै कोरोना खोपले यी भेरियन्ट रोक्न कस्तो भूमिका खेल्छ भन्ने जानकारी पनि पाउनु जरुरी छ ।

अशोका युनिभर्सिटीका प्राध्यापक गौतम आई मेनोनको आलेखबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment