Comments Add Comment

म नेपाल फर्केपछि…

१५ वर्षभन्दा बढी समय बेलायत बसाइपछि नेपालमै बस्ने र काम गर्ने निर्णय सहित गत मंसीर अन्तिम हप्ता म नेपाल फर्कें । नेपाल बसाइको करीब चार महीनापछि नेपाल बसाइको अनुभवबारे केही लेख्ने जमर्को गरेको छु ।

नेपालबाट विदेश गएर उतै घरजम र काम गर्नेहरूको मनमा नेपाल फर्कने विचार बारम्बार आउने भए पनि व्यावहारिक रूपमा नेपाल फर्कन केही कठिनाइ छन् । तर पनि मनमा नेपाल फर्कने र यतै काम गर्ने अठोट छ भने यो असम्भव छैन ।

म नेपाल फर्कने निर्णय गर्दा बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवाको वरिष्ठ व्यवस्थापक र लण्डनको एक विश्वविद्यालयमा आंशिक समय काम गर्ने एशोसिएट प्रोफेसर थिएँ । म बेलायतको मूलधारको लेबर पार्टीको राजनीतिमा पनि सक्रिय थिएँ ।

यी सबै काम वा पेशा छोडेर म नेपालमा नै बस्ने गरी मातृभूमि फर्कंदैछु भन्ने कुरा धेरै जनासँग शेयर गर्दा कसैले विश्वास गर्नुभएको थिएन । हुन पनि नेपाल छोडेर धेरै जनशक्ति विदेश पलायन हुने र उतै बस्ने गरेको परिप्रेक्ष्यमा मैले लण्डन छोड्ने कुरा अस्वाभाविक पनि थियो ।

मलाई चिन्ने धेरैको लागि म नेपाल फर्कने कुरा अस्वाभाविक लागे पनि मेरो यो निर्णय हठात् भने थिएन । म नेपाल आउने कुरा धेरै वर्षदेखिको मेरो सोचाइले मूर्त रूप लिएको हो । मानिसको जीवनमा धेरै सोचाइ आउँछन् र जान्छन् । त्यस्ता सोचाइमध्ये कुन सोचलाई मूर्तरूप दिने भन्ने आफैंमा भरपर्ने कुरा हो । म नेपाल आउने कुरा पनि यसैको उपज थियो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ र अर्गानिक गाउँ नेपालमा नै छन् । आफूले खोजेको माटोको सुगन्ध यहीं छ । आफू जन्मे, हुर्के र पढेको ठाउँ यहीं छ । आफ्ना मान्छे, भाषा, भेषभुषा आदि सबै यहीं भेटिन्छन् ।

विदेशमा बस्ने धेरैलाई नेपालको माया लागे पनि धेरैले नेपालप्रति नकारात्मक सोच्ने प्रवृत्ति छ । हुन पनि नेपालको राजनीति, प्रशासन, समग्रमा शासन सञ्चालन प्रणाली र आम मानिसको व्यक्तिवादी सोचाइमा धेरै सुधार गर्नुपर्ने कुरा छन् । यी कुरामा केही सुधारका संकेतहरू देखा परे पनि सुधार गर्नुपर्ने कुराको सूची धेरै लामो छ । सुधार ल्याउन पनि धेरै लामो समय लाग्न सक्छ ।

कामको सिलसिलामा मलाई धेरैले सोध्नुहुन्छ, ‘बेलायत र नेपालमा काम गर्ने शैली र प्रवृत्तिमा के फरक पाउनुभयो ?’ यो प्रश्नको सरल जवाफ छ । बेलायतमा आफूले काम गर्न सक्छु वा सक्दिनँ त्यसैको चिन्ता गरे पुग्छ, नेपालमा हरेक मान्छेलाई खुशी पार्न सक्छु वा सक्दिनँ त्यसैको चिन्ता गर्नुपर्ने हुन्छ । नेपालमा व्यक्तिवादी प्रवृत्ति हावी छ । धेरै कुराको लागि भनसुन गर्नुपर्ने अवस्था छ । बेलायतमा भने काम गर्न व्यक्तिको मुख ताक्नु पर्दैन, कसरी के काम हुन्छ त्यो सबैको प्रक्रिया तय हुन्छ र त्यही अनुसार काम हुन्छ ।

विकसित देशमा बस्ने धेरैको लागि नेपालको बाटोघाटो, सार्वजनिक यातायात, सरकारी सेवा आदि अस्तव्यस्त लाग्छन् । धेरै ठाउँमा बिचौलियाको बिगबिगी छ । सीधै वा नियमानुसार हुनुपर्ने कामहरूको लागि पनि घूस खुवाउनुपर्ने अवस्था छ । अस्पतालमा बिरामी भएर जाँदा पनि भनसुन गराउनुपर्ने मानसिकता छ । देखासिकीको प्रभाव धेरै छ । यी सबै कुराले कहिलेकाहीं मन निरास हुन्छ ।मैले अनुभव गरेको नेपालमा धेरै कुरा ‘यसरी नै चलेको छ र अब पनि चलिरहन्छ’ भन्ने मनोविज्ञानले गाँजेको छ ।

धेरैले सुनेको, देखेको र भोगेको अनुभवको आधारमा कुनै कमी–कमजोरीलाई सुधार गर्न सबैको पहलमा तत्काल प्रयास गरिहाल्नुपर्छ भन्दा पनि ‘यस्तै छ यहाँको चलन’ भन्ने सोचाइले सुधार हुनसकेको छैन । नेपालमा धेरै कुरा लोकप्रियता वा बोल्नका लागि बोलिन्छन् । बोली अनुसार कामको गति भने शून्य वा आशा गरेभन्दा निकै कम हुन्छ ।

तर पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ र अर्गानिक गाउँ नेपालमा नै छन् । आफूले खोजेको माटोको सुगन्ध यहीं छ । आफू जन्मे, हुर्के र पढेको ठाउँ यहीं छ । आफ्ना मान्छे, भाषा, भेषभुषा आदि सबै यहीं भेटिन्छन् । विदेश बस्दा पनि सपनामा देखिने साथीभाइ, आफन्त, गाउँ, ठाउँ आदि सबै यतै छन् । नेपालीको लागि नेपाल भनेको नेपाल नै हो । जे जस्तो भए पनि मनले नेपाल नै रोज्छ र सम्झन्छ ।

मैले सबैका लागि नेपालमा काम गर्ने प्रशस्त अवसर देखें । नयाँ कामको शुरुआत गर्नका लागि नेपाल एउटा ‘भर्जिन ल्याण्ड’ नै हो । स्वदेशमा बस्ने हुन् वा विदेशमा; नेपालीले नेपालको लागि योगदान गर्न सक्ने धेरै ठाउँ र काम छन् । सबैले आ–आफ्नो ठाउँबाट इमानदार भएर योगदान गर्ने हो भने नेपालको विकास गर्न धेरै कुर्नुपर्दैन ।

विदेशमा बस्नेले पनि नेपालका लागि धेरै योगदान दिएको र नेपालमै बसेर पनि मातृभूमिको बोझ भएर बसेका धेरै उदाहरण छन् ।

विदेशमा बस्ने नेपालीले आर्जेको पूँजी मात्रै हैन, उनीहरूले सिकेको सीप र ज्ञान नेपालको हितमा मात्रै लगाउन सक्ने हो भने नेपालमा थुप्रै काम हुन सक्छन् । विदेशमा ठूला आयोजनामा काम गर्ने इन्जिनियर, स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी लगायत शिक्षा, वित्तीय क्षेत्र, अन्य प्राविधिक र व्यवसायमा काम गर्ने धेरै नेपाली छन्, जसको सीप नेपालको लागि उपयोग गर्न सकिन्छ । त्यसमाथि विदेशमा बस्नेले सिकेको लगनशीलता, अनुशासन र मिहिनेतको छुट्टै महत्व छ ।

कोही कसैको लागि विदेश बस्ने गलत वा नेपाल बस्ने मात्रै सही भन्ने पनि होइन । मेरो विचारमा आफ्नो मन जहाँ बस्दा आनन्दित हुन्छ, त्यहीं बस्ने हो, त्यही ठाउँ रोज्ने हो । यो कुरा आ–आफ्नो परिस्थिति र विचारमा भरपर्ने कुरा हो । विदेशमा बस्नेले पनि नेपालका लागि धेरै योगदान दिएको र नेपालमै बसेर पनि मातृभूमिको बोझ भएर बसेका धेरै उदाहरण छन् ।

म नेपाल फर्के पनि मेरो परिवार विदेशमा बस्ने हुँदा उनीहरूको निकै याद आउँछ । कहिलेकाहीं मनलाई सम्हाल्न कठिन हुन्छ । तर पनि यो मेरो आफ्नै निर्णयको प्रतिफल हो सम्झेर, यो अवस्था वा परिस्थिति केही कुरा नमिलेसम्मको लागि मात्र हो भन्ने सोचेर चित्त बुझाएको छु । अहिले सामाजिक संजाल र संचारमाध्यमको सहज पहुँचले पनि चाहेको बेला कुराकानी र भर्चुअल भेट गर्न सम्भव छ । त्यसैले पनि मनलाई अलिकति शान्त पार्न सजिलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment